Posted by: _____ September 25, 2014
नलेखिएको एउटा लेखोट
Login in to Rate this Post:     0       ?        

नलेखिएको एउटा लेखोट

    २२ भदौको दिन बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा आधिकारिक व्यक्तित्व पी.नागले एकाएक भने- मकरधारा नेपालको मौलिक देन हो।



    saurav
    'यस विषयमा नलेख्नुस् है, यो हाम्रो मौलिक होइन', एकाएक हिमालय बुक सेन्टरमा भेटिएका त्यस विषयविज्ञ प्रा.डा. शुभचिन्तकले यस्तो भनेपछि यो विषय तीन वर्ष थन्कियो। तर आज पंक्तिकार लेख्न बाध्य भएको छ। बाध्यताको कारण पुछारमा छ पनि।


    प्रारम्भ: 'डेन्टल एनाटमी'

    मानिसका दाँतका चार वर्ग हुन्छन्। (क) टुकह्रा: अघिल्ला दाँतहरू, जसले टोक्छन् (टुथ/इन्सिजर्स्) (ख) दाह्रा: जसले दार्छ (क्यानाइन टुथ) (ग) मकह्रा: जसले मक्याउँछ (मोलर्स) (घ) बङ्गाह्रा: जसले बंग्याउँछ (बेन्डर्स)। पाठकहरूलाई टुकह्रा र मकह्रा बनावटीजस्तो लाग्नेछ। तर संस्कृतमा लोपजस्तै भइसकेको यो शब्दको अवशेष हिन्दीमा 'दो टुक' -ओठे) को रूपमा अझै छ र अंग्रेजीमा मकह्रा सदृश मोलर, पि्रमोलर शब्दहरू अद्यापि छन्।

    यसर्थ मकह्रा भनेको दाह्रा र बङ्गाह्रा बीचका चार दाँत हुन्, जुन लुकेका हुन्छन्। बोभिडेइ परिवारको भेडालाई पनि मकर भनिन्छ। किनभने त्यसका चपाउने दाँतहरू बीचमा केही खाली रही भित्रपट्टि फेरि सुरु हुन्छन्। यसैले दाह्रा नभएको हात्तीलाई मकुना भनिन्छ। उसका पनि भित्री चपाउने दाँतमात्र हुन्छन्। यसै नियम अन्तर्गत घडियाललाई पनि मकर भनियो। मकर शब्द पहिलोपल्ट यजुर्वेद संहिताहरूमा प्रयोग भएको छ। एउटाचाहिँ जनकपुरमा लेखिएको मानिने वाजश्येनी संहिता हो। यसरी मानिसको दाँतको बनावट -एनाटमी) को अध्ययन नेपाल तराईको वैदिक कालकै हो।

    (संयोग नै होला 'फरेन्सिक मेडिसिन'ले दाँतको माध्यमबाट मृतकको पहिचान गर्ने विधिलाई पहिलापल्ट नेपाल तराईबाटै सुरु गरेको कुरा उतिबेला डेसमन्ड डोइगको सम्पादनमा छापिने 'जुनियर स्टेट्सम्यान'मा पढेको पंक्तिकारलाई अझै सम्झना छ। जसरी दक्षिण भारतीय नाकको पुनर्संरचना/राइनोप्लास्टीबाट 'प्लाष्टिक सर्जरी' सुरु भएको मानिन्छ।)

    संस्कृतमा मकरका मात्रै दर्जन अर्थ छन् र उपसर्गहरू जोडेर अरु दर्जन अर्थ बन्छन्। उदाहरणका निम्ति पारो हो। किनभने यो खियाउने प्रकृतिको (कोरोजिभ) हुन्छ।

    तर आयुर्वेदिक भियाग्रामा प्रयोग हुन्छ, यसैले त्यो भियाग्राको नामै मकरध्वज, कामदेवको झण्डामै मकर हुन्छ। पारोले सुनको कण समेट्छ, यसैले कुवेरको झण्डामै मकर हुन्छ।

    यहींनेर रोमन देवता मर्करीको जन्म/परिकल्पना गराउँछ पारोले। ऊ आधि कामदेव, आधि कुवेर हो। उसले बोक्ने 'कडेयस' हिन्दीको कडाही, हाम्रो कराही हो। किनभने कराहीमा आगो फुक्छ बाँडाले, पारो अरु तताउँछ वैद्यले। मकर यसरी अक्षर तलमाथि पारेर रोमन देवता बन्न पुग्छ। पारो, जे छोए पनि सुन बनाउने कथित पारसमणि हुनपुगेको छ। अर्थात् यतिबेला विश्व लोकपि्रय पुस्तक 'अलकेमिस्ट'को मौलिक ज्ञान र परिकल्पना नै पश्चिमको होइन।

    प्रारम्भ: 'भाले मकर'

    कार्लस लिनस पूर्व नै ब्रह्माण्ड पुराणले भनेको थियो, अमिनाले चारवटा मकरलाई जन्म दिई। नभन्दै पृथ्वीमा लोप भएका र रहेका गरी चार किसिमका मात्रै मकर/घडियालहरूको अस्तित्व पुष्टि भएको छ। अर्थात् लिनसको वर्गीकरण सिद्धान्तभन्दा कम्तीमा १२ सय वर्षअघि नै मकरको जैविक भिन्नता (स्पेसिज) माथि अध्ययन भइसकेको थियो।

    नेपालमा पाइनेचाहिँ एउटा निश्चित किसिमको हो। तर गोही र भ्यागुतोहरू हुँदाहुँदै मकर विशेषलाई ढुङ्गेधाराको रूप किन दिइयो भने भाले मकरको थुतुनोमाथि मात्र पानीको घडा आकारको अङ्ग हुन्छ। अर्थात् शुद्ध शब्द घडावाल हो।

    मकर धाराको क्रम: विदेश

    १) भारतको वैशाली: पाँचौं शताब्दी। २) भारतको बङ्गालस्थित पुरुलियामा छ। तर पुरुलियाकै उल्लेख पाँचौं शताब्दीमा मात्र हुन्छ। ३) सारनाथ: इस्वीको सातौं शताब्दीको हो। ४) इलाहावाद: पहिलोदेखि तेस्रो शताब्दी। ५) भरहुत: इसापूर्व दोस्रो शताब्दी। यद्यपि गोही आकारको हो। ६) अजन्ता: इसापूर्व दोस्रो शताब्दी।

    मकरधाराको क्रम: नेपाल

    १) हाँडीगाउँको सत्यनारायण मन्दिर: इस्वीको ५ सय ५० को समय दिइएको छ। २) पाटनको मंगहिटी: समय र निर्माता उही भारवी। ३) कैलाशकुटको मकरधाराको उल्लेख: इस्वीको ६ सय ५। ४) सैनामैना: कसै-कसैका भनाइमा इस्वीको ३ सय २० -५ सय ५० को। ५) हाँडीगाउँको मकरका टुक्राहरू: इसापूर्व पहिलो शताब्दी। ६) बिकुली: कसै-कसैको भनाइमा सुँगकाल अर्थात् इसापूर्व दोस्रो शताब्दी।

    अब मकरधाराको आविष्कारक भारत हो कि नेपाल हो? भन्ने प्रश्न उभिन्छ नै। शुभचिन्तक मित्रको अन्योलको कारण अब बुझ्न सकिन्छ।

    अन्योलमाथि टिपोट

    नेटमा सन् २००९ मितिको गौतमबज्र बज्राचार्यको एउटा टिपोट छ, 'दक्षिण एसियाइ कलाको इतिहासमा गङ्गासँग मकरको सम्बन्धलाई इसाको दोस्रो, तेस्रो शताब्दीपछि सुरु भएको मान्ने प्रक्रिया चलिरहेको छ। यसअघि सुन्दरी यक्षी सुदशनाको जीव वाहनको रूपमा मकर इसापूर्व दोस्रो शताब्दीको कलामा आएको थियो।'

    यसले सैनामैना र बिकुलीमा पी.सी. मुखर्जीले उत्खनन गरेर निकालेका मकरधाराको -यदि नेपालसँग अझै छन् भने) भारी वैज्ञानिक अध्ययन गर्नुपर्ने स्थिति टडकारो पारेको छ।

    टिपोटमाथि मूलप्रश्न

    अहिले भारतमा जुन गङ्गा भनिरहिएको छ, त्यो मूलमा गङ्गा होइन। भारतको गङ्गा उत्पन्न भएको मानिन्छ देवप्रयागबाट, जहाँ भागीरथी र अलखनन्दा मिल्छन्। तर भागीरथीभन्दा लामो अलखनन्दाको मुहान १८ किलोमिटर उत्तरतिर लाग्दा पनि तिब्बती सीमाबाट तीन किमिवरै पर्छ।

    जुन खास कैलाशको छेउबाट निस्कन्छन् वा जसलाई गङ्गा भन्न मिल्छ, त्यो तिब्बतमा साङ्गपो, आसाममा ब्रह्मपुत्र र बङ्गलादेशमा मेघना नाम लिएर बङ्गालको खाडीमा र्झने नदी हो। जुन खास कैलाशको छेउबाट निस्कन्छ वा जसलाई गङ्गा भन्न मिल्छ, त्यो सिन्धु नदी हो, जो सतलजलाई समेटेर पाकिस्तान हुँदै अरबसागरतिर बढ्छ। ऋग्वेदको दसौं मण्डलमा गङ्गा शब्द पर्दापर्दै पनि त्यसलाई पाकिस्तानको स्वातमा लेखिएको मानिनुको कारण सम्भवतः यही हो।

    र जुन खास कैलाशको फेदी मानसरोवरबाट निस्केर नेपाल हुँदै भारतमा पुग्छ, त्यो गङ्गा कर्णाली नदी हो। किनभने कैलाशको नाम नै तिब्बतीमा गाङ्गरी हो। नेपालीहरू राक्षसतालबाट कर्णाली निस्कन्छ भन्छन्। तर भूगोलले भन्छ, एउटा कुनाको मानसरोवरको पानी अर्को कुनाको राक्षसतालमा प्राकृतिक खोला नै भएर पुग्छ, जसको नामै हो गङ्गा छ। (सांग‍्रिला शब्दका जन्मदाता उपन्यासकार जेम्स हिल्टनले यही साङ्गपो खोलामा गाङ्गरी र भञ्ज्याङ बोधक तिब्बती शब्द ला मिसाएका हुन्।)

    यसैले कणर्ाली भारतमा पुगेपछि अल्पप्राण व्यञ्जन (लो पिच कन्सोनेन्ट) ग को ठाउँमा महाप्राण व्यञ्जन (हाइ पिच कन्सोनेन्ट) घ हुँदै घाघरा हुनपुग्छ, त्यसलाई भरिने भाँडो फेरि अल्पप्राण गाग्री हुन्छ। बालगीत 'घेघे रानी यतियति पानी'को मूल यही हो। कर्णालीको स्थानीय परम्परागत नाम नै हो घोङज्यु (गङ्गाछु)।

    यही कारण कणर्ालीको कमाण्ड एरियाबाट केही परमात्र बस्ने खाम मगरहरू खोलालाई गाङ भन्छन्। यही गाङमा बागलुङ-पाल्पा भेगका मगरहरूको खोलाबोधक दी मिलेर बन्ने गाङदी कालान्तरमा कौशिकीजस्तो भएर गण्डकी हुनपुग्छ। र पटनाबाट आठ किमिपूर्व पुगेर कथित गङ्गासँग मिल्छ। कथित भन्नुपरेको कारण पश्चिमपट्टि पहिला नै कर्णाली नदी नमिसिदिएको भए त्यो गङ्गा हुनै सक्दैनथ्यो।

    मकरमाथि गंगा

    यही कर्णाली गङ्गानदी हो, जहाँ मकर/घडियाल पाइन्छ। यसैले उसको नाम नै 'गाभालियस गाङ्गेटिकस'। गण्डकीको पछिल्लो भाग नारायणीमा त पछिमात्रै मकर छोडिएको हो।

    गर्गोयल (बलेंसीबाट पानी बग्ने डुंड) पश्चिमा शब्द हो। गार्गलको अर्थ कुल्ला गर्नु हो। गर्गोयल इस्वीको पाँचौं शताब्दीको फ्रेन्च शब्दबाट लिइएको पश्चिमा कथन छ। तर यो गर्गोयल शब्द घडावालको पश्चिमीकरण हो भन्ने कुरा स्पष्ट नै छ। त्यसभन्दा पर इसापूर्वको पाँचौं शताब्दीमै ग्रीसको 'जियसको मन्दिर'मा यसको निर्माण भइसकेको थियो। गर्गोयलको ग्रीक पर्यायवाची अगालम हो। यो उकेल्नु, उगाल आउनुको संस्कृत मूल उदगिरणको अपभ्रंश हो, जसमा पाणिनीको ल्युट् -उद्  गिर  ल्युट् -आप्टे) धातु लाग्छ। यसले पाणिनी नै पनि कम्तीमा इसापूर्व छैठौं शताब्दीका हुन् भन्ने पुष्टि हुन्छ।

    तर हामीसँग भने त्यस शताब्दी र त्यस अघिका नमुनाहरू यात छैनन् या चिन्न सक्ने खुबी छैन। मकरधाराको निर्माण बुद्धको समयभन्दा अघि नै निर्माण भइसकेको थियो भन्ने टडकारै छ। लुम्बिनीबाट कर्णालीसम्मको २ सय ४१ किमिको दूरी कुनै युगका निम्ति पनि महादेशीय दूरी होइन। लुम्बिनी र मिथिलासँग दक्षिण युरोपको प्राचीन व्यापारिक सम्बन्ध पटक-पटक पुष्टि भइसकेको कुरा हो।

    बाध्यताको कारण

    २२ भदौ २०७१ को दिन बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयको योगहलमा एउटा विद्वत् सभा भएको थियो। महात्मा गान्धी काशी विद्यापीठका उपकुलपति र कुनै बेला आर्कियोलोजिकल सर्वे अफ इन्डियाका निर्देशक रहिसकेका पी.नागले एकाएक भने, मकरधाराको मौलिक आविष्कारक नेपाल हो। बिरुधकले चौथो शताब्दीमा लुम्बिनी ध्वस्त पारेपछि कोलिय शाक्यहरू पहाड लागे भन्ने, तर तिनले मकरधारा कुँद्ने शिल्प लुम्बिनीबाट त्यतिबेलै उपत्यका भित्र्याए, जतिबेला भरहुतको प्रणेता सुङ्ग साम्राज्य त परको कुरा, मौर्य साम्राज्यसमेत जन्मेको थिएन भन्न नसक्ने, उल्टो अर्कोले 'तिमी सार्वभौम सत्तासम्पन्न हौ, तिम्रा देशमा बुद्ध जन्मेका हुन्' भन्दा टेबल ठोक्न पुग्ने कस्तो नवऔपनिवेशिक 'प्रोसाउथ हिस्ट्रीयोग्राफी' नेपाली विज्ञहरूको?

    पुछारमा

    'पाँच सय फोहराको सहर रोम' भन्ने चलन छ, युरोपमा। काठमाडौं उपत्यकामा पनि ५ सयभन्दा बढी ढुङ्गेधाराहरू छन्। हिउँरेखा माथि उक्लिँदो छ, पानीको अभाव छ, ढुङ्गेधारा व्युँझाएर पानीको चुहावट बढाउने अवस्था छैन। तर व्यवस्थापन गर्न सकिन्छ भने भोटाहिटी माथिबाट साझाको भवन भत्काए हुन्छ, भाष्कर मल्लका मन्त्री झङ्गल ठाकुरले बनाएको झङ्ग थकुहिटी माथिबाट एनआरटीको भवन भत्काए हुन्छ, काठमाडौंलाई कुनै बेला सुवर्ण प्रणाली नगर नाम दिने कुसुम बियालाछी, ठहिटीको सुवर्ण प्रणाली माथिबाट चैत्य सारे हुन्छ। अब भोटाहिटी अगाडिको ढुङ्गेधाराबाट पर्खाल भत्काए हुन्छ, महांकाल थानछेउबाट सात धारा खोतले हुन्छ।

    इसापूर्व पाँचौं शताब्दीदेखि दक्षिण युरोप र उत्तर अफ्रिकामा पानी बग्ने डुंडका रूपमा त गयो नै। एघारौं शताब्दीमा एक नेपालीले यसलाई इन्डोनेसिया लगे, तेह्रौं शताब्दीमा सम्भवतः एक श्रीलङ्कनकै हातबाट त्यहाँको पोलन्नवारा पुग्यो। त्यसपछि क्याम्बोडिया, भियतनाम, लाओस त छ नै, अफगानिस्तानको बाग्रामसम्म पुगेको छ, यो नेपाली कला। वास्तुकलामा यो जति नेपालको पहिचान दिने अरु कुनै प्रतीक छैन।

    Read Full Discussion Thread for this article