Posted by: fucheketo September 24, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     2       ?         Liked by
Altijdgoede,kya jhoor, serial- Thank you very much
kalikopoi- malai paap bata jogaidium prabho
Jhapalithito,gonecrazy- thank you very much..here comes the next part...
thanks to all the readers and who liked the previous post...


"म चाहिँ सुत्छु अव" गरीमाले आंग तन्क्याई।

"किन , सिरियलहरु सिद्दी सके र?" मैले पनि जिस्क्याइदिएँ।

"अव यहाँ वोल्ने कोही छैनन्, सुन्ने कोहि छैनन् ।रिमोट घुमाउने बाहेक मेरो काम नै के रह्यो र?"

"मलाई एक कप चिया अरु बनाइदेउ न त ! अनि सुत !" मैले उसको हात समाउँदै आग्रह गरेँ।म तलतले छु चियाको अनि गरिमाको हातको।

"हैन कति खानुपरेको चिया पनि, दुई घण्टा पनि भको छैन ,अघी खाको !" उसले रित्तो कप उठाई अनि फेरि किचन तिर लागि।

सुधाको डायरी – पेज ५८

जे होस् ग्यानकुन्ज आएर पनि एउटा साथि पाएँ मैले छायाँको रुपमा। अरु त सवै वच्चा जस्ता।काँचा,जीवन नबुझेका। उसको गिटार बजाई पोलिस्ड हुँदै थियो। दुई चारवटा उसले बजाएका धुनहरु म चिन्न थालेकी थिईँ। हुन त संगितको भाषा हुँदैन, यसले त मनसँग मनलाई जोड्छ। मलाई उसले यो बजाउनेछे भन्ने थाहा भएर पनि मलाई मन परेको हुन सक्छ। उ पनि कितावका कुरा गर्थी । उसले धेरै पढेकी रहिछे। म त म मात्रै कितावी किरो हुँला जस्तो लागेको थियो होइन रहेछ। तर  सामान्य कितावहरु उ मन पराउन्नथी। जव जव किताबका कुरा गर्थी म मनमनै ति कितावहरुका नाम दोहोर्याउँथे। लाइव्रेरी गएर खोज्थेँ। भेट्टाएपछि पढ्थेँ। अनि अर्को दिन हामी विषय दोहोर्याउँथ्यौँ। साँझ रमाइलो हुन थालेको थियो।स्पिरिचुअल।

एकदिन उसले मलाई अचानक सोधी,

"तिमीले साकेतका कितावहरु पढेका छौ?"

मैले टाउको हल्लाए। मैले त त्यो राइटरको नाम पनि सुनेको थिइन।

"पढ राम्रो लेख्छ, तिमीलाई मन पर्छ होला! अनी जिम्मी हेन्ड्रिक्स?" उसले गिटारको स्ट्रिंग कस्दै भनी।

"त्यो त मेरो छेवैमा छिन्, मैले किन नचिन्नु ?" म जिस्किदिएँ।

"थाहा छ हि वाज चेन स्मोकर ?....म्मम जौँ चुरोट खान !" उ जुरुक्क उठी। म उसलाई हेरीरहेँ। उसका डिसिजनहरु यस्तै हुन्थे। इन्स्टिंक्टिभ।

"कसरी जाने? अस्ति म गए जस्तै ?"

"अरु आइडिया छ ?" उसले मतिर पुलुक्क हेरी।

म सँग अरु आइडिया थिएन। मैले टाउको हल्लाइदिएँ।

"त्यसो भए जौँ न त !"

उ कदमा म भन्दा छोटी थिई। उसलाई मैले ठेल्नु पर्ने भयो।तर उ वारम्वार नसकेर चिप्लिरहेकी थीई त्यो पानी परेको चिप्लो भित्तामा। म खितित्त हाँसे।

"किन हाँसेको ? पाँच तिन त केटीको एभरेज नै हो नी !"

"हो हो !" मैले समर्थन जनाइदिएँ। उसले मलाई प्याट्ट हिर्काई विश्वास नलागेर।

"अव हो भन्दा पनि नहुने, हैन भन्दा पनि नहुने !" मैले माथि चढीसकेकी उसको हात समातेँ। उसका व्रेसलेटहरु फेरि बजे।

************ ***************** **************** *************** ************ ****

बाटो सँधै जस्तै आज पनि अध्यारो नै थियो। विचमा गाडीले वनाएको खाल्डोमा जुनको किरण टल्किरहेको थियो। हामीलाई बाटो खुट्याउन अलि सजिलो भयो। दोकान पुग्यौँ,चुरोट लियौँ।

"वैनीको साथि हो ?" फेरि दोकानेले नचाहिने कुरामा चासो देखायो। उसलाई राम्री केटी मान्छे देख्नु हुन्न। मिल्ने भए मावली के थरी समेत सोध्छ आफ्नो चुच्चो नाक कन्याउदै।

"हैन गाउँबाट आको, मेरो दिदी !" छायाँले मलाई पुलुक्क हेरी।शायद ढाँटिदिएकोमा धन्यवाद दिँदै थिई मलाई। उसले पालै पिलो हामी दुई लाई नियाल्यो। अनुहार मिलेन। शायद पत्याएन त्यसैले।

"अनि गाउँमा सवै आइमाइले चुरोट खान्छन् ?" उसको अविश्वासी आँखाले भने अरु प्रश्न पनि सोधिरहेका थिए।

"हाम्रो घरकोचाहिँ सवैले खान्छन् आमा ,दिदी अनि म !"

छायाँ हाँसो थाम्न नसकेर अर्को तिर फर्किसकेकी थीई। पसले भने छायाँको व्याक भिउको सुन्दरताको मजा लिँदै थियो। छिनेको कम्मर , अनि टाइट जिन्सले बनाएको वक्ररेखा.. मनमनै उसले छायाँलाई नंग्याउन भ्याइसके जस्तो।

"ओ दाइ , छिटो फिर्ता दिनु न !" मलाई रिस उठेर आयो। मलाई  थाहा छ ,छायाँ आकर्षक छे। तर सोमतै नभएको। क्वारक्वार्ति हेर्नु पर्ने।

"किन रिसाकी ?" छायाँले बाटोमा मलाई सोध्दै थिई।

"आँखाले तिमीलाई  छाम्दै थियो। थाहा पाएनौ ?"

"ए जावो त्यतिमा ! राम्रो छ नि त , उ मलाई देखाउन फेरी फर्किदिई !"

"गज्जप छ ,गज्जप !" मैले हाँस्दै उसलाई ढकेलेँ। झण्डैले लडिन। फेरि समातेँ।

*************** ************** ************* ************** *********** *********

हामी दुवै मिलेर तारा हेर्दै धुवाँ उडायौँ।

"तिमीलाई चुरोट खाएको देखेको थिइन !"

"कहिलेकाहिँ !" उसले ठुटो निभाउँदै जवाफ फर्काई।

"अरु के के छन् त नराम्रा वानी ?"

"धेरै, संगत गर्दै जाउ अनि थाहा हुन्छ ! अव फेरि ठेल्ने हैन ?" उ पर्खालको छेवैमा उभिई। मैले फेरि ठेलिदिएँ।

"को हो?" झर्दै गर्दा पालेदाईले हाम्रो आवाज सुनेको थियो । हामी एकैछिन त्यहि ठूटोमा लुकेर वस्यौँ। उसले सँगै ल्याएको सोलो चवाई, मलाई हात हल्लाई,  आफ्नो गिटार टिपी अनि क्वार्टर तिर लागी।जानेवेलामा मलाई हेर्दै फेरि भनी

"त्यो साकेतको किताव खोज है लाइव्रेरीमा ।इट्स नाइस् !"

************* ****************** ***************** **************** ************

मैले डायरी वन्द गरेँ। कथाहरु जोडिए जस्तो भए। साकेतलाई म चिन्छु। उ साकेतका कितावहरु असाध्यै मन पराउँथी। नयाँ निक्लिने वित्तिकै किन्न पुग्थी।सुधा जुन दिन हराएकी थिई त्यो दिन भन्दा दुई दिन अघि उसका टेवलमा साकेतका दुई कितावहरु एक अर्कामा खप्टिएर वसेका थिए।"अल्छि आइमाई" र "तिम्रो परिदृश्यमा मेरा छायाहरु" ।उ तिनैलाई हेरीरहेकी थिई। म कफिमेशिनमा जाँदा देखेको। म उसको नजिकै गएँ।

"एनी प्रोव्लेम सुधा ?" मैले उसको नजिकै गएर सोधेको थिएँ।

उ कहिलेकाहिँ वोल्दिन। खोइ के अर्थ निकाल्नु त्यो मौनताको। म एकछिन उसको उत्तर पर्खेर वसेँ।उसले धेरैवेरको मौनता तोड्दै भनी।

"तिमी वुझ्दैनौ प्रतिक,मेरो आँशु पनि बुझ्दैनौ,मेरो हाँसो पनि वुझ्दैनौ। जति वुझ्न खोज्छौ त्यति उल्झिनेछौ!बरु त्यो तिम्रो काम सिद्दिएको छैन नी! म त्यो सघाउन आउँछु। पन्ध्र मिनटमा ! अनि त्यसपछि कफि खान बाहिरै निक्लिनुपर्छ।"

म कफि मेशिन नपुगिकन फर्किएँ। सुधा ति दुई कितावलाई सुम्सुम्याउँदै थिई।


Happy dashai to all sajhabasis....


Read Full Discussion Thread for this article