Posted by: _____ May 10, 2014
'लिभिङ हेरिटेज’
Login in to Rate this Post:     0       ?        

'लिभिङ हेरिटेज’


satya-mohan.jpg
सत्यमोहन जोशी ।
सत्यमोहन जोशी, यो नामलाई कुनै चिनारीको आवश्यकता छैन । यी 'जीवित सम्पदा' (लिभिङ हेरिटेज) ले नेपाली जन-जनबाट सम्मान पाएका छन् । जीवनको उत्तरार्द्धमा हिँडिरहेका जोशीको अध्ययनशीलता र सक्रियता लोभलाग्दो छ । वि.सं. १९७७ साल बैसाख ३० गते जन्मेका जोशी ९३ वर्ष पुरा गरेर ९४ वर्ष प्रवेश गर्दैछन् । यो उमेरमा पनि उनको फुर्तिलो छवि सबैका लागि अनुकरणीय हुनसक्छ । हिजोआज पनि उनी संस्कृति र साहित्यसम्बन्धी विविध कार्यक्रममा सहभागी भैरहेका छन् । महत्त्वपूर्ण, नयाँ, नौलो मन्तव्य दिइरहेका

छन् । आमा राजकुमारी र बाबु शंकर जोशीको सन्तानको रूपमा पाटन बखु बहाल -मंगल बजार नजिकैै) मा जन्मिएका उनी आज वरिष्ठ संस्कृतिविद्को रूपमा प्रसिद्ध छन् । मदन पुरस्कारबाट तीन पटकसम्म सम्मानित हुने जोशी एकमात्र स्रष्टा हुन् ।

वि.सं. २०१३ सालमा उनले 'हाम्रो लोकसंस्कृति' नामक ग्रन्थका लागि गद्य विधामा पहिलोपल्ट मदन पुरस्कार प्राप्त गरेका थिए । दोस्रोपटक वि.सं. २०१७ सालमा 'नेपाली राष्ट्रिय मुद्रा' ग्रन्थका लागि र तेस्रोपल्ट वि.सं. २०२८ सालमा संयुक्त रूपमा 'कणर्ाली लोकसंस्कृति' नामक ग्रन्थका लागि मदन पुरस्कार पाए ।

संस्कृतिविद् अर्थात संस्कृतिसम्बन्धी ज्ञाता जोशी संस्कृतिको विस्तृत क्षेत्रको अध्ययन, अनुसन्धान, संरक्षण र प्रचार-प्रसारमा निरन्तर लागिरहेका छन् । वि.सं. २०१९ सालमा पुरातत्त्व विभागको पहिलो निर्देशक -डाइरेक्टर) भएपछि सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार-प्रसारमा ज्यान दिएर लागे । लाजिम्पाट, टुकुचामा रहेको राजा मानदेवले स्थापना गरेका अभिलेख र मिति भएको त्रिविक्रम वामन विष्णुको मूर्ति, पशुपति जयवागेश्वरी ढुंगेधाराको बुद्ध जन्म-दृश्य दर्शाइएको मायादेवीको मूर्ति संरक्षण गर्न उनले राष्ट्रिय संग्रहालयमा पुर्‍याए । जनकलाल शर्माको सहयोगमा उनलाई काम गर्न सजिलो भएको थियो । स्थानीय जनतालाई कुरा बुझाएर दैनिक पूजा पाइरहेको मूर्ति पुरातत्त्वको संरक्षणमा लग्नु भनेको चानचुने आँटको काम होइन । जोशीको कार्यकालमा नेपालका महत्त्वपूर्ण पुरातात्त्विक सामग्रीले संरक्षण पाएपछि नेपालको इतिहासमा नयाँ नौलो तथ्यहरू प्रकाशमा आएका छन् ।

नेपालको विस्तृत संस्कृतिको शोधखोजसँगै उनले नेपाल भाषा -नेवारी भाषा) साहित्यको सम्बर्द्धनका लागि व्यक्तिगत र संस्थागत रूपमै लागेर महत्त्वपूर्ण योगदान दिएका छन् । नेपाल भाषा एकेडेमीका चान्सलर भएर जोशीले विभिन्न रचनात्मक कार्य गरेका छन् । नेपाल भाषामा लेखिएको उनका दुईवटा महाकाव्य प्रकाशित छन् । (१) जयप्रकाश र (२) श्वेतचैत्य ।  ती दुवै महाकाव्य स्तरीय लेखन र सहज प्रस्तुतिका लागि चर्चित छन् । जोशीले च्वसापासाको अध्यक्ष भएको बेला पनि नेपाल भाषाको साहित्य लेखन र सम्बर्द्धनका लागि थुप्रै प्रशंसनीय कार्यहरू गरेका छन् । यिनले नेवारी भाषाको शब्दकोश पनि प्रकाशित गरेका छन् । वि.सं. २००३ मा शारदामा रचना प्रकाशित भएपछि हौसिएका उनको कलम आजसम्म अनवरत चल्दैछ । राणा शासनकालमा बनेको एउटा नाचघर सिंहदरबारभित्र थियो । सर्वसाधारणका लागि नाचघर बनाउने सोच उनको थियो । अर्थात् उनकै पहलमा वि.सं. २०१६ सालमा राष्ट्रिय नाचघरको निर्माण भएको थियो । पाटनको पुरातत्त्व बगैंचा र भक्तपुरको संग्रहालयमा महत्त्वपूर्ण सामग्रीको संकलन र संरक्षणमा पनि उनको ठूलो भूमिका छ । वीर पुस्तकालयमा टिनका बाकसमा थुप्रै पौवाचित्रहरू थिए । तिनै पौवाचित्र भक्तपुर संग्रहालयको लालदरबारमा प्रदर्शन गर्न उनले पहल गरे । नेपालबाट विदेश लगिएका पुरातात्त्विक वस्तुहरू फेरि देशमा नफर्किएकोमा उनी अहिले पनि दुखेसो पोख्छन् ।

'विदेशी कला पारखी टुचीले 'कालचक्र पौवा' नेपालबाट स्मरण गर्दै नेपालका सम्पदाहरूको सुरक्षा महत्त्वपूर्ण पक्ष भएको विचार व्यक्त गरेका छन्', उनी भन्छन्-'नेपालमा पुरातात्त्विक अध्ययन, अनुसन्धान गर्न कोलम्बो प्लान अन्तर्गत आएका एस.एम. भण्डारकर र जनरल ए. घोषले त्रिपुरेश्वरको गेष्ट हाउसमा बसेर खोला-खोला घुमेर प्रागैतिहासिक औजारहरू जम्मा पारेको सम्झँदा आज पनि मन प्रसन्न हुन्छ । नेपालकै पुरातत्त्वविद्हरूले पनि धेरै महत्त्वपूर्ण कार्यहरू गरेका छन् ।'

प्रखर अनुसन्धानकर्ता जोशीले संस्कृतिको विविध फाँटमा स्थलगत अध्ययन गरेर कलम चलाएका छन् । नेपाली राष्ट्रिय मुद्रा, हाम्रो लोकसंस्कृति, कणर्ाली लोकसंस्कृति, नेपाली मूर्तिकलाको विकासक्रम र नेपाली धातुमूर्तिको विकासक्रम नामक ग्रन्थ धेरैले पढेका र रुचाएका ग्रन्थहरू हुन् । उनले वि.सं. २०२४ मै रचना गरेका कृति 'नेपाली मूर्तिकला' आजसम्म प्रकाशित भएको छैन । उनका अनुसार पाद टिप्पणीसहित रचना गरिएको 'नेपाली मूर्तिकला' प्रकाशित भएपछि मूर्ति विज्ञान र निर्माणसम्बन्धी नौला-नौला तथ्यहरू उजागर हुनेछन् ।

सेतो रङ्ग मनपराउने उनले आफ्नो निवास पाट बखु बहालको बगैंचामा स—साना चराहरू बस्ने कटेरो र माछालाई पोखरी बनाइदिएका छन् । प्रकृतिप्रेमी उनी नाङ्गो खुट्टाले दुबोमा हिंँड्न रुचाउँछन् । प्रज्ञापारिमिता र सद्धर्म पुण्डरिकसूत्र नामक ग्रन्थबाट उनले जीवनमा मार्गदर्शन पाएका छन् । उनलाई आजकल लाग्छ, सुखदुःख भनेको मनको भाव हो । त्यस्तै कमलको फूलबाट मानिसले ग्रहण गर्ने दर्शन विशिष्ट छ । हरेक मानिसले दलदल हिलोबाट उठेर माथि फुल्ने प्रयत्न गर्नुपर्छ । ईश्वर र ईश्वरहरूको अस्तित्व स्वीकार्ने वेदान्ती, आत्मा मान्ने सनातनी र अनात्मवादमा विश्वास गर्ने बौद्ध दर्शन सबैले चेतन साक्षीलाई नकार्नसकेका छैनन् । सबैले चेतन तत्त्वलाई उजागर गरेर लानुपर्छ । आत्मा, अनात्मा, प्रकृति, पुरुष, याव, युव जे भने पनि त्यो तत्त्व चेतन-तत्त्व हो ।

नेपालको राष्ट्रिय संस्कृति नीतिको बारेमा चिन्तित उनी मूर्त र अमूर्त संस्कृति जोगाउन हरेक नेपाली सचेत भएर लाग्नुपर्छ भन्दै पुर्खाको नासो हाम्रोे सम्पदा, धरोहरलाई हामीले हाम्रा नवपुस्तालाई जोगाएर हस्तान्तरण गर्नुपर्नेमा जोड दिन्छन् । उनले चीनमा नेपाली भाषा सिकाउने र रेडियो पेकिङबाट नेपालीमा समाचार प्रचार-प्रसार गर्ने कार्य पनि चार वर्षसम्म गरे । वि.सं. २०२२—२०२५ सम्म नेपाली भाषामा समाचार प्रसार गर्ने क्रममा वि.सं. २०३६—२०३८ सम्म अरनिकोको अध्ययन गर्ने काममा चीनमा थिए । तीनपल्ट मदन पुरस्कार, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट वि.सं. २०५३ मा त्रिभुवन प्रज्ञा पुरस्कार, वि.सं. २०५९ मा भानु पुरस्कार, वि.सं. २०६१ सालमा भूपालमानसिंह कार्की प्रज्ञा पुरस्कार, श्रेष्ठ सिरपा पुरस्कार, काठमाडौं विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको सम्मान पाएका छन् । गोरखा दक्षिणवाहु, त्रिशक्ति पट्ट, उज्ज्वल कीर्तिमान राष्ट्रिय आदि पदकबाट उनी सम्मानित भैसकेका छन् ।

पत्नी राधादेवीसँगै बखु बहालमा बस्दै आएका जोशीका तीन छोरा र तीन छोरी छन् । छोरीहरू विवाह गरेर पाटन, भीमफेदी र अमेरिकामा छन् । छोराहरू ताहाचल, क्यानाडा र बेलायतमा छन् ।

वि.सं. २००१ म्ाा 'औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा'बाट आफ्नो जागिरे जीवन सुरु गरेका सत्यमोहन जोशीले वि.सं. २०१५ मा पुरातत्त्व विभागको प्रथम डाइरेक्टरजस्तो गरिमामय पद सम्हाले । जीवनमा धेरै उकाली-ओराली काटे पनि यिनलाई कुनै पद वा पदवीप्रति विशेष लगाव छैन । धेरैले आफ्नो राम्रो स्वास्थ्यको राज सोध्दा जोशी हाँसेर यस्तो जवाफ दिन्छन्— 'खै त्यस्तो विशेष नियम केही छैन, साधारण मांसहारी खाना खान्छु, सकेसम्म हिंँडेरै गन्तव्यमा पुग्छु, ठूलो इच्छा-आकांक्षा छैन, सकारात्मक सोच राख्छु, आफूलाई सधैं सक्रिय राख्छु । आज पनि खुल्लामञ्चमा मैले लेखेको नाटकहरू मञ्चन भैरहेका छन् । बत्तीसपुतली शिल्पी नाटकघरमा मझिपा लाखे नाटक चल्दैछ । यस नाटकमा प्रसङ्ग जङ्गबहादुरको भाकल सबैको प्रस्तुति रोचक छ ।'

- See more at: http://www.ekantipur.com/np/2071/1/27/full-story/388915.html#sthash.xkEMDYmJ.dpuf
Read Full Discussion Thread for this article