Posted by: _____ May 9, 2014
मूल भट्टको मासिक तलबभत्ता २ लाख २५ हजार
Login in to Rate this Post:     0       ?        

कमिसन विवादले एक महिनादेखि पशुपतिमा 


विशेष पूजा ठप्प

  • शुक्रबार २६ बैशाख, २०७१
  • रुबी रौनियार

(0 votes)
काठमाडौं— पशुपति क्षेत्र विकास कोष र भट्टबीच पूजामा कमिसन विवादका कारण एक महिनादेखि विशेष पूजा हुन सकेको छैन। भट्टले विशेष पूजाको दक्षिणामा कमिसन बढाउनुपर्ने माग गर्दै चैत २६ देखि विशेष पूजा बन्द गरेपछि मन्दिरमा पूजा लाउन आउनेहरु निराश भई फर्कन बाध्य छन्। मन्दिरमा हुने विशेष पूजामा २० प्रतिशत कमिसन बढाउनुपर्ने भट्टहरूको माग छ।
उनीहरूले सरकारले उपलब्ध गराउँदै आएको तलबभत्तामा कर काट्न नहुने मागसमेत राखेका छन् । पशुपति क्षेत्र विकास कोषले २०६८ साउनदेखि पुरानो बक्यौता र नया" तलबको कर काट्दै आएको छ ।

पशुपतिनाथ मन्दिरमा विभिन्न अवसरमा ११ सयदेखि ९ लाख रुपैयाँसम्मको रसिद काटेर विशेष पूजा गराउनसक्ने व्यवस्था छ । विशेष पूजामा चढाइने भेटी र दक्षिणाको साढे ७ प्रतिशत रकम २०६२ देखि भट्टहरूले पाउँदै आएका छन् ।

भक्तहरुले मन्दिरमा जन्मदिन, विवाह वार्षिकोत्सव, जंकु, विशेष तिथिलगायतमा विशेष पूजा लगाउने गरेका छन् । कोषका सदस्यसचिव गोविन्द टन्डनले विशेष पूजा बन्द हुँदा विभिन्न अवसरमा विशेष पूजा गराउने भक्तहरु निराश बन्दै गएको बताए ।

'विशेष पूजा रोकिएको एक महिना हुन लाग्यो,' सदस्यसचिव टण्डनले नागरिकसँग भने, 'मलगायत कोषका सदस्यहरुले भट्टजीसँग धेरै पटक छलफल र वार्ता गर्दासमेत उहाँहरु आफ्नो अडान छाड्न तयार हुनुभएको छैन ।' भट्टहरुको आन्दोलनले दिनहुँ २ सय भक्त विशेष पूजा नलगाएरै फर्कंदा राज्यलाई दैनिक ३ लाख क्षति भएको कोषले जनाएको छ ।

एक्कासि २० प्रतिशत कमिसन बढाउन माग गर्दा कोष नै अप्ठेरोमा परेको उनले बताए । उनका अनुसार कोषले मन्दिरमा चढ्ने विशेष पूजाको दक्षिणा तथा भेटीलाई पारदर्शी बनाउन २०६८ चैत २६ गते नियमावली बनाएर भट्टहरूलाई तलबलगायत सुविधाको व्यवस्था गरेको थियो ।

पछिला सदस्य सचिवले विशेष पूजाको कमिसन साढे ७ प्रतिशतबाट वृद्धि गरेर १५ प्रतिशत पु¥याएका थिए । तर, उनको निर्णय पशुपति विकाष कोष सञ्चालक परिषदले पास गरेन, जसका कारण भट्टहरूले साढे ७ प्रतिशत नै कमिसन पाउँदै आएका छन् ।

'भट्टहरूले पुरानो बाँकी कमिसन पनि मागेका छन्,' सदस्य सचिव टण्डनले नागरिकसँग भने, 'सरकारले कानुनबमोजिम पाँच महिनादेखि तलबभत्तामा ३५ प्रतिशत कर काट्न थालेपछि भट्टहरू आक्रोशित बन्नुभयो र विशेष पूजा नै रोकिदिनुभयो ।'

सदस्यसचिव टण्डनका अनुसार ०६८ अघिसम्म भट्टहरूले फर्माइसी पूजा भनेर आफूखुसी पूजा गर्थे । त्यतिबेला कति पूजा भयो, कति दक्षिणाभेटी चढ्यो भन्ने लेखाजोखा हुँदैनथ्यो ।

पशुपति क्षेत्र विकास कोषले भेटी र दक्षिणा पारदर्शी बनाउन २०५० सालमै ऐन बनाएर ल्याएको थियो । 'त्यसबखत पशुपति दक्षिणा भेटी पारदर्शी ऐन २०५० विरोधका कारण लागू गर्न सकिएन,' टण्डनले भने, 'त्यही ऐन २०६८ मा संशोधन गरी दक्षिणा भेटी पारदर्शी गर्न फर्माइसी पूजालाई विशेष पूजा नामकरण गरियो,' उनले भने ।

कोषका निर्देशक रमेश उप्रेतीका अनुसार धेरै भक्तजनले ११ सयदेखि २१ सयको पूजा गराउँछन्, यस्ता पूजा गराउने दैनिक २ सय हुन्छन् । पशुपतिनाथ मन्दिरमा मूल भट्टको मासिक तलबभत्ता सरकारले २ लाख २५ हजार रुपैयाँ तोकेको छ । उनका तीन सहयोगी भट्ट छन् । तिनीहरूको मासिक तलबभत्ता १ लाख ६० हजार रुपैयाँ छ । यस्तै, एक बासुकी भट्ट पनि छन् ।

कोषका निर्देशक भरत मरासिनीका अनुसार कोषले २०६८ देखि विशेष पूजाको भेटी दक्षिणा पारदर्शी गर्ने नियमावली लागू गरेपछि हालसम्म ३८ हजार भक्तजनले ७ करोड रुपैयाँको विशेष पूजा गराइसकेका छन् ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषले प्रशासनिक कामकारबाही व्यवस्थापन गर्न सञ्चालक परिषदको सदस्य पदबाट मूल भट्टलाई हटाउने सुझाव दिएको छ ।

परिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई इमेल गरी भट्टहरुको मुख्य काम पूजापाठ गर्नु भएकाले प्रशासनिक कामका लागि समय अभाव भएको कारण सदस्य नराख्दा उचित हुने सुझाव दिएको हो ।
- See more at: http://www.nagariknews.com/main-story/story/17755#sthash.tiYYzNXb.dpuf
Read Full Discussion Thread for this article