Posted by: fucheketo May 8, 2014
ध्वाँसे
Login in to Rate this Post:     3       ?         Liked by
Thaney,kaliko poi, bachata,baramase, bhaktadai thanks a lot , अन्य पढिदिनुहुने ,लाइक गरिदिनुहुनेहरुलाई धन्यवाद.....


मेरो आत्मस्विकृती:ध्वाँसे

मेरो कथाको पहिलो अध्याय टुंग्याउँदैछन् मेरा छेउछाउका, मेरा समाजका ,मेरा नजिकैका, मलाई मन पराउने, मेरो शरिर मन पराउने, मेरो आत्मा मन पराउने, मेरो सुगन्ध मन पराउने, मेरो वोली मन पराउने , मेरो कपाल मन पराउने अनि मलाई घृणा गर्ने, मेरो छायाँलाई घृणा गर्ने, मेरो कपाललाई घृणा गर्ने, मेरो व्यक्तित्वलाई घृणा गर्ने हरु मिलेर। कथा , मेरो आत्मवृत्तान्त आज दोसाँध मा उभिएको छ । माथिको मेरो जीवनका चिरा चिरा नियालेर केस्रा केस्रा केलाएर पढ्नेहरुले पक्कै मलाई अहिले सम्म घृणा नै गर्दैछन्। म उनीहरुलाई दोष पनि दिन्न। किनकी मान्छे , वाचक , जहिलेपनि सत्यलाई टेकेर उभिन्छ। हामी त उसको छायाँलाई पो सत्य भन्छौ। उसले के टेकेको छ त कसैले हेर्दैनौँ। मात्र उसले जन्माएको छायाँ हाम्रो लागि सत्य वन्छ । उसले परावर्तन गरेको प्रकाश हाम्रो लागि सुर्य वन्छ । मेरो कथा पनि त्यसवाट अछुतो छैन, म अरुको प्रकाशमा देखिँदैछु। नाम जस्तै म ध्वाँसो परेको कालो देखिनु कुनै नौलो हैन।तर कथा खुल्दै जानेछ। मेरो यात्राका नयाँ नयाँ सहयात्रीहरुसँग मेरो कथाले अर्को आयाम पाउनेछ भन्ने मलाई आशा छ।

सानैदेखि म स्कुलमा कहलिएको गुण्डो। खै मान्छे मलाई किन गुण्डा देख्थे । म त आफुलाई नाइके ठान्थे। अरु मेरो पछि लाग्थे भने त म नेतृत्व कर्ता पो भएँ त!नेतृत्व जहिले पनि आश वाट जन्मन्छ। मलाई लाग्छ म सानैदेखि अरुको आशलाग्दो पात्र थिएँ।पढाईमा म कमजोर नै हो। तर यो मान्छे अनुसारको नहुने पढाई, खै के पढाई। यदि म नेतृत्वमा ठिक थिएँ भने त मलाई त नेतृत्वकला , वाककला पो सिकाइनु पर्थ्यो त, वा योजना कसरी वन्छ भन्ने खाले केहि सिकाइनु पर्थ्यो, तर मलाई पनि उहि शाहवंशका राजा कहिले जन्मे ,कहिले मरे, रामायणमा राम कति वर्ष वनवास गए, खरायो र कछुवाको दौडमा कछुवाको जित किन र कसरी भयो नै सिकाइयो। खरायो जस्तो विजुलीको गति भएको विध्यार्थीलाई न त्यो कथाले तान्यो न ति कितावहरुले नै !

स्कुलमा तान्ने त एउटी मात्र थिई "शान्ती " ! मोरीको हाँसोको कुरै नगरौँ। दाँत हुनकी अनारदाना।आँखा भुक्लुक्क परेका ,ठूला, पिर्लिक्क उठ्दा हजारौँ भाव एक्कै चोटी समुन्द्रका लहरहरु जस्तो उठेर आउने। कम्मर छिनेको ! उसले हिँडेको मात्रै हेर्न पनि म उसको घरको अलि पर साइकल रोक्थेँ।

"जान्छेस् ?" नजिकै साइकल लगेर आँटले एक दिन भनेथेँ। उ मुसुक्क मुस्काइदिई ! त्यो मुस्कान "जान्छु " हो वा " जान्न" मैले परवाह नै गरिन। साइकल रोकेँ। उ सुस्तरी पछाडी चढी। किन अघी चढिन ? त्यहि दिक्क लाग्यो।तर पनि उसको सुवाष मेरो साइकलले वोकेको थियो।

****************** ***************** ******************* **********************

"तेरी शान्तीलाई त त्यो खुइले सरले पनि मन पराउँछ जस्तो छ !" एउटा साथिले मलाई खुसुक्क सुनायो।

"नचाहिने कुरा गर्छस् ?" मैले उसको कलर समाएँ।

"यसो याद गर त कस्तो इत्तरिएर कुरा गर्छ शान्ति सँग!" उसले मेरो हात अलि खुकुलो पार्न खोज्दै भन्यो। हुन पनि हो, उ त मात्र मलाई सचेत गर्न खोज्दैछ। विध्यार्थिमा त शान्तीलाई आँखा लाउने हिम्मत कस्को । उ त ध्वाँसेकी शान्ती हो !

********************** ***************** ****************** ****************

त्यो दिन प्रार्थनामा शान्तीले स्कुलको ड्रेस लाएकी थिईन। आठ र नौको लाइन नजिक नजिकै नै हुने गर्थ्यो।

"ड्रेस किन नलाएकी ?" खुइलेले शान्तीको फ्रक हेर्दै सोध्यो।

"सर धोएको सुकेन !" उसले डराउँदै जवाफ फर्काई । म शान्तीलाई हेरीरहेँ।

"ल ल ,भोली देखि चाहिँ लाउनु है, यस्तो राम्रो पढ्ने मान्छे अनुशासनमा पनि वस्नुपर्छ!" उसले शान्तीको टाउको मा हात राख्दै भन्यो। मलाई उसको हात त्यहिँ काटिदिउँ जस्तो लाग्यो। मैले त छोएको छैन अहिले सम्म शान्तीलाई।

"तैँले कपाल कहिल्यै नकाट्ने भइस् हैन, लाइनवाट वाहिर निक्ली !!!" उसले मलाई लाइनवाट वाहिर निकाल्यो ! हो मलाई खुइले कहिल्यै मन परेन। म स्विकार्छु ,खुइले मरेर गयो तर मन परेन।

****************** *************** *************** ********************* ******

हामी दिउँसो कक्षा हाँपेरै भए पनि साहिँली भाउजुकोमा क्यारेम खेल्न जान्थ्यौँ। तिनी मलाई हेरीरहन्थिन। के देख्थिन देख्थिन हेरी रहन्थिन।एक दिन मैले खुइलेलाई पनि देखेको थिएँ साहिँली भाउजुको दोकानमाँ। उ निस्केर गएपछि पनि भाउजु हाँस्दै थिइन्। खुइले भने कसैले देख्लानकि जस्तो गरी फटाफट हिँडेको थियो। तिनी तिस त कटेकी पक्कै थिइनन् । मात्र व्यवहारले थिचेको, तर पनि पोटिलो शरिर, वैँश त चुहिन्थ्यो तप तप! मलाई उनीसँग वोल्न खुव रमाइलो लाग्थ्यो। राती राती सपनामा शान्ती र साहिँली भाउजुलाई पालैपिलो देख्थेँ। साहिँली भाउजुलाई देखेको दिन भने ओछ्यान भिजेको हुन्थ्यो।तर मेरो सपना सपना मात्र रहेन।एक दिन एक्लै पारेर साहिँली भाउजु र मैले सपना साकार गर्यौँ।त्यसपछि सपना देखिन वन्द भयो। उसको वुढो मगर दाई केहि थाहा पाउँदैन थियो। मलाई भने घरमा वहाना वनाउनको धौ धौ। साँझमा चियावारीमा शान्तीलाई भेट्न जा, अनि वेलुका साहिँली भाउजुलाई। वा आमा छोरो पढ्न थाल्यो भनेर खुशी हुन्थे। म पनि खुशी नै थिएँ।

शान्ती वेला वेलामा खुइलेको कुरा गर्थी। किन किन उसलाई आदर गरेर राम सर भनेर वोलाएको मलाई मन पर्दैन थियो। उसले गर्दा स्कुलको रिजल्ट राम्रो भएको यस्तै यस्तै कुरा गर्थी। मलाई साह्रै रिस उठेपछि म सोध्थेँ

"तँ मलाई वढी माया गर्छेस् की तेरो राम सरलाई ?"

 उ मात्र छ्या भनेर टारिदिन्थी। मेरो प्रश्न पुरा हुन्थ्यो। उसको उत्तर अधुरै !

वरु साहिँली भाउजुसँग रातमा जे मन लाग्यो त्यो रजाईँ गर्न पाइन्थ्यो।शान्ती सँग सकपकाएर वस्नु पर्थ्यो।एक दिन भाउजुले अनायसै भनिन्

"तँ सँग चुपचाप केहि नगरी वस्न त केटी मान्छे अघाएकै हुनुपर्छ!"

त्यो दिन मैले शान्तीलाई घुर्की लगाएँ। तै पनि शान्तीले टेरिन। के उ अघाएकी नै हो त ? कसले मेट्यो त उसको प्यास ? किन किन खुइले को तस्विर मेरो दिमागमा घुमिरह्यो! हुन त उसले विहे गरिसकेको थियो। तर पनि म पनि त साहीँली भाउजुको मा जान्छु। लोग्नेमान्छे सवै मै जस्तै त हुन् !

******************* ***************** *************** ***************** *********

त्यति वेला जनक्रान्ति जोडतोडमा थियो। म पनि वाध्यताले क्रान्तिमा तानिएको थिएँ। तर त्यहाँ छिरेपछि मलाई त्यहाँको संसार गज्जपको लाग्यो। परिवर्तनको समाज, हाम्रो समाजको परिकल्पना। जहाँ शक्तिशाली हरु परास्त हुनेछन् । अनि हामी जस्ता सर्वहारा हरु शक्तिमा हुनेछौँ। शासन हामीले चलाउनेछौँ। म विस्तारै विस्तारै घुलमिल हुँदै गएँ।

त्यो साँझ हामी पार्टीको आगामी कार्यक्रमको लागि चन्दा उठाउन खटिएका थियौँ। पहिलो चरण सिद्दिए पछि चन्दा दिन नमान्नेलाई डराउने निति स्वरुप मलाई छानेर पठाइएको थियो। राम प्रसाद काफ्ले को नाम देख्ने वित्तिकै मेरो आँखा चम्किएको थियो।हामी योजना अनुरुप नै उसको घरमा पुग्यौँ। ढोका ढक ढक गर्यौँ । उसलाई वाहिर तानेर लिएर आयौँ र कुरा शुरु गर्यौँ। तर उसले डराउने छाँटकाँट देखाएन। मलाई अचानक शान्तीको याद आयो।साहिँली भाउजुको कुराको याद आयो।मैले खुकुरी माँगे अनी छप्काइदिएँ। रगतको फोहोरा घाँटीवाट निस्कियो। मेरो अनुहार रक्ताम्मे भयो। साथैमा आयो एउटा आइमाइको आवाज "नाई !!!" भनेर। उनीहरुको घर थोरै भित्र थियो। खेतहरुको विचमा आवाज त्यहिँ विलायो।

म भित्र छिरेँ। उसकी श्रीमति अचेत ढलेकी थिई।एउटा साथिले अचानक नसोचेको कुरो खुट्यायो।

"ला यसले त भुँडी वोकेकी छे कि के हो?"

मेरो अनुहार पसिना पसिना भयो। आवेश सेलायो। पछुतो लाग्यो। नमारेकै भए हुन्थ्यो। यो मेरो पहिलो थिएन। तर यसमा कारण थीएन। मैले आफूलाई मन वुझाउने धेरै कारणहरु खोजेँ ।अहँ उसको भुँडीभित्रको वच्चाले मेरा सवै कारणहरुलाई परास्त गर्यो। त्यसको दुई तिन दिन सम्म म झोक्राएर वसेँ। पार्टीले मेरो स्थितिलाई ध्यानमा राखेर मलाई पश्चिम सरुवा गर्यो। मैले गाउँ छोड्नुपर्ने भयो।तर त्यो चित्रले मलाई छोडेन। अचेत स्त्री,ढलेकी । उठेपछि उसलाई एक्लो संसारको आभाष हुनेछ। हो मैले गल्ती गरेँ।के सवै गल्ती माफि लायक हुन्छन ? वा यो थिएन ?

 

 

 

 

 

Read Full Discussion Thread for this article