Posted by: mahoday May 7, 2014
नेपाल अमेरिका पत्रकार संघको चौथो अधिवेशन सम्पन्न,नयाँ नेतृत्व चयन
Login in to Rate this Post:     0       ?        
नेपाल अमेरिका पत्रकार संघको चौथो अधिवेशन सम्पन्न,नयाँ नेतृत्व चयन

न्यूयोर्क,अमेरिका, मे ६ | उत्तर अमेरिकामा छरिएर रहेका नेपाली मूलका प्रवासी पत्रकारहरुको छाता संगठन यस नेपाल अमेरिका पत्रकार संघ (नेजा) को चौथो अधिवेशन नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको छ | अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यही मे २,३ र ४ तारिख टेक्सासको ह्युस्टन शहरमा नेजाको तीन दिने अधिवेशन भएको थियो | अधिवेशनले आगामी दूई वर्षका लागि संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष गौतम दाहाललाई अध्यक्षमा निर्वाचित गरेको छ | मे ३ तारिख शनिवार सम्पन्न निर्वाचनमा ४९ जना संचारकर्मी सदस्यहरुले मतदान गर्नुभएको थियो | जसमध्ये एक मत अध्यक्षका कुनै पनि उम्मेदवारलाई परेको थिएन भने बाँकी ४८ मध्ये दाहाल ३२ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनु भयो | उहाँका प्रतिष्पर्धी प्रदीप थापाले १६ मत ल्याउनु भएको थियो | अधिकांश पदमा निर्विरोध नेतृत्व चयन भएता पनि अध्यक्ष र पश्चिम क्षेत्रीय संयोजकमा भने निर्वाचनमार्फत नेतृत्व चयन भएको थियो | जस अनुसार पश्चिम क्षेत्रीय संयोजकमा जाङ्ग्बु शेर्पा ३० मत ल्याई विजयी भए भने अर्का प्रतिष्पर्धी गोकुल ढकालले १९ मत प्राप्त गरे | नव निर्वाचित नेतृत्वमा उपाध्यक्ष शिव विष्ट र महासचिवमा भोला आचार्य रहनु भएको छ | यसैगरी सचिवमा सुदीप पन्त,कोषाध्यक्षमा बिटु केसी र क्षेत्रीय संयोजकहरुमा शेर्पाका अतिरिक्त विश्वराज थापा (डिसी मेट्रो),विकासराज न्यौपाने (मध्य क्षेत्र) र भुपेन्द्र थापा (पूर्वी क्षेत्र) रहनु भएको छ | १५ सदस्यीय कार्य समितिको कार्यकारी सदस्यहरुमा अग्निप्रसाद चौलागाँई, शैलेश पोखरेल, मधुकर अधिकारी, श्रीकृष्ण गौतम र तेम्वा दोंग्वा ह्योल्मो रहनु भएको छ |

निर्वाचित भए लगत्तै नेजाको निवर्तमान नेतृत्वले नव निर्वाचित नेतृत्वलाई पद तथा कार्यभार हस्तान्तरण गरेको थियो भने निर्वाचन समितिले खादा पहिराएर नवनिर्वाचित नेतृत्वलाई बधाई ज्ञापन गरेको थियो | सोही अवसरमा निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै दाहाल नेतृत्वको नयाँ समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो | अध्यक्षका प्रत्यासी प्रदीप थापाले पनि आफु पराजित भएता पनि निर्वाचित नेतृत्वलाई पूर्ण सहयोग गर्ने भन्दै बधाई ज्ञापन गर्नु भएको थियो | नव निर्वाचित अध्यक्ष दाहालले नेजाको हितमा समर्पित भएर जिम्मेवारी बहन गर्ने आफ्नो प्रतिवद्धता व्यक्त गर्नु भयो |

निर्वाचित भए लगत्तै बसेको नयाँ नेतृत्वको पहिलो बैठकले पत्रकार तारा बरालसहित संस्थाका संस्थापक अध्यक्ष गिरिश पोखरेल,पूर्व कार्यवाहक अध्यक्ष कृष्ण शर्मा र निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पालाई संस्थाको सल्लाहकारमा मनोनयन गर्ने अध्यक्ष दाहालको प्रस्तावलाई अनुमोदन गरेको छ | यसैगरी क्यानाडाको क्षेत्रीय संयोजकमा गोविन्दसिंह रावत (पीएचडी) लाई मनोनयन गर्ने निर्णय पनि पारित गरेको छ | पहिलो बैठकले अधिवेशन सफल बनाउन हरतरहले सहयोग गर्ने ह्युस्टनको नेपाली समुदाय र व्यवसायीहरु,संयोजक बिटु केसी र सल्लाहकार तारा बराल एवम अधिवेशनमा सहभागी सबै पत्रकार सदस्य, निवर्तमान कार्य समिति,निर्वाचन समितिलगायत सबैलाई धन्यवाद ज्ञापनको प्रस्ताव पनि पारित गरेको छ |

यस अघि अधिवेशनको पहिलो दिन मे २ तारिख शुक्रवार सहभागी सदस्यहरुका बीच भेटघाट,परिचय आदानप्रदान र रात्रीभोज सम्पन्न भएको थियो | सहभागी सदस्यहरुले अधिवेशनका बारे अनौपचारिक छलफल समेत गरेका थिए | सोही साँझ नै नेजा कार्य समिति र निर्वाचन समितिको संयुक्त बैठक समेत सम्पन्न भएको थियो | बैठकमा निर्वाचन प्रक्रिया र अधिवेशन उद्घाटनको कार्यक्रमका बारे छलफल भएको थियो |

यसैगरी अधिवेशनको दोश्रो दिन शनिवार मध्यान्ह पन्चकन्याले संस्थाको चौथो अधिवेशनको पानसमा बत्ती बाली उद्घाटन गरेका थिए | नेजाका अध्यक्ष आङछिरिङ शेर्पाको सभापतित्वमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो | महासचिव किशोर पन्थीले संचालन गरेको उद्घाटन सत्रमा सहभागी अतिथि,आमन्त्रित पाहुना एवं प्रतिनिधि सदस्यहरुलाई चौथो अधिवेशन आयोजक समितिकी संयोजक एवं यस संस्थाकी क्षेत्रीय उपाध्यक्ष बिटु केसीले स्वागत गर्नु भएको थियो | उद्घाटन सत्रमा एनआरएन अमेरिकाका अन्तरिम अध्यक्ष शिवकुमार राई,अमेरिका नेपाल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सानुबावु सिलवाल,नेपलिज एशोसियसन अफ ह्युस्टनका अध्यक्ष मधुकर अमात्य,नेजाका संस्थापक अध्यक्ष एवं सल्लाहकार गिरिश पोखरेल र सल्लाहकार तारा बरालले अधिवेशन सफलताको शुभकामना सहित मन्तव्य व्यक्त गर्नु भएको थियो | सोही अवसरमा अध्यक्ष आङछिरिङ शेर्पाले यस संस्थाका संस्थापक अध्यक्ष गिरिश पोखरेललाई सम्मान पत्रसहित खादा ओढाएर सम्मान गर्नुभयो | कवि विप्लव प्रतिक र नेजाका सदस्य कविन्द्र सिटौलाले कविता वाचन समेत गर्नु भएको उद्घाटन सत्रमा क्यानाडाबाट प्रतिनिधित्व गर्नुहुने पत्रकार गोविन्दसिंह रावत (पीएचडी) ले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो | सोही अवसरमा यस संस्थाका वरिष्ठ उपाध्यक्ष गौतम दाहालले प्रधानमन्त्री सुशील कोइरालाको अधिवेशन सफलताको कामनासहितको शुभकामना संदेश पढेर सुनाउनु भएको थियो | दाहालले नेजाले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आइरहेको नेजा बद्री-कूल ग्रामीण पत्रकारिता पुरस्कारका बारे संक्षिप्त जानकारीसहित यस वर्षको सोही पुरस्कार नेजाले पत्रकार कलेन्द्र सेंजुवाललाई प्रदान गरेको र सो पुरस्कार शनिवार नै नेपाल पत्रकार महासंघको अधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले राजधानीमा आयोजित कार्यक्रममा पत्रकार सेंजुवाललाई प्रदान गरेको जानकारी गराउनु भएको थियो | नेजाका पूर्व क्षेत्रीय उपाध्यक्ष शेखर ढुंगेलले आफ्ना आमाबुवाको नाममा चार वर्ष अघि स्थापना गर्नुभएको यो पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ |

नेजाको वार्षिक प्रकाशन 'प्रयास' का संयोजक समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष दाहालले सोही प्रकाशनका बारे पनि जानकारी दिनुभएको थियो | उद्घाटन सत्रमा सल्लाहकारद्वय तारा बराल र गिरिश पोखरेलले 'प्रयास' को विमोचन समेत गर्नु भएको थियो | यसैगरी सल्लाहकार बरालले अधिवेशन सफल बनाउन आ आफ्नो तर्फबाट सहयोग गर्ने ह्युस्टनवासी नेपाली समुदाय र व्यापार व्यवसायीहरुलाई धन्यवाद दिनुभएको थियो भने त्यस्ता सबै सहयोगीलाई कदर पत्र प्रदान गरिएको थियो |

उद्घाटन सत्रको समापनपछि अधिवेशनको बन्द सत्र र निर्वाचन प्रक्रिया सुरु भएको थियो | निर्वाचनलाई विधिसम्मत ढंगले सम्पन्न गर्नका लागि नेजाले सल्लाहकार तारा बरालको संयोजकत्वमा अमृता लम्साल,गुणराज लुइँटेल,सुरेशचन्द्र पोखरेल र विष्णु पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो | अध्यक्ष आङछिरिङ शेर्पाको सभापतित्वमा सम्पन्न अधिवेशनको बन्द सत्रमा सांगठनिक विषयमा सहभागी सदस्यहरुले छलफल गरेका थिए | साथै संस्थाको विधानका बारे पनि बन्द सत्रमा छलफल भएको थियो | सहभागी सदस्यहरुले दिएको सुझाव र बन्द सत्रले पारित गरेका संशोधनका बुँदाहरुलाई समेटेर संस्थाको नयाँ नेतृत्वले विधानलाई अन्तिम रुप दिने निर्णय भएको छ | नेजाको विधिवत स्थापना सन् २००७ मा भर्जिनियामा सम्पन्न पहिलो अधिवेशनसंगै भएको हो |
Read Full Discussion Thread for this article