Posted by: Rahuldai April 21, 2014
घोडे हात
Login in to Rate this Post:     10       ?         Liked by

घोडे हात

धेरै बर्ष अघिको कुरा हो, हामी साना छंदाको कथा हो | काठमाण्डौमा हिजो अस्तिको जस्तो बाक्लो बस्ति थिएन | गाडी बिरलै गुद्थ्यो | मोटर साइकल धनीको शान थियो | साइकल आम थियो | धाराबाट चौबिसै घण्टा पिउन लायकको पानी झर्थ्यो , बिजुली बत्ती सधै हुन्थ्यो | तर .......सडक बत्ति हुँदैनथ्यो | जरुरत सम्झेन होला त्यतिबेला | ८-९ न बज्दै शहर मुर्दा शान्त हुन्थ्यो | रेडियो नेपालबाट रातको १० बजे मुख्य समाचारका साथ् सभा टुंग्याई श्रीमान् गम्भीर नेपाली बज्थ्यो र त्यो धून बज्नु अघि नै  अधिकांश शहरले १-२ इपिसोड सपना देखिसकेको हुन्थ्यो |

८-९ बजे पछी हिड्ने भनेको सडक नापेर हिड्ने पियक्कड, गुठीबाट फर्केर हल्लिएर आउने गुठियार र रातमा गुल्जार गर्ने चोर महाशय र खाकी ड्रेस र रातो टोपीवाल पुलिस | कोइ कोइ चाहीं आफुलाई हिरो ठान्ने उरुन्ठेउला लौकाहरु पनि रातको निस्तब्धतामा केही खोजी हिड्ने वा घर टोल सुते पछी चुरोस सल्काउन निस्कनेहरु |

अलि ढिला सुत्नेहरु अर्थात श्रीमान् .. आए पछी सुत्नेहरुमा हामी केटाकेटीहरु हुन्थेंम | मक्क्ल निभ्न लागेको आगो को न्यानो  ताप्दै डरवाना कहानीहरु सुन्थेम |

------------------------------------------------------------------------------------------------------

एक दिन मरुहिटीको एक जना (राम दाइ ) गुठीमा गएर  बुराँख्यो ( भुरुंगखेल)बाट फर्किंदै थियो रे | ९ साढे ९ बजे तिर | आधा शहर सुति सकेको समय आक्कल झुक्कल चुरोस पसल त्यो नि आधा कवल खोलेर लेट नाइट सेवा गरेर पुण्य कमाउन खोलेका हुन्थे | हिउँदयाममा अझ मुश्किलले भेटिन्थे त्यस्ता धर्मात्माहरु ! राम दाइलाई आयला ( रक्सि ) चढेको बेला चुरोस न खाइ नहुने | अरुबेला चुरोस खानेहरुलाई सात जुनीको सरापेर बस्थे | ठण्डी मौसमले पनि होला सडकमा भुक्ने कुकुरहरु पनि बासस्थान पुगिसकेका थिए | सडक सुनसान मशान जस्तो थियो | अयलाले हिम्मत बढाए नि अलि अलि डर लागेर ल्यायो | नर देबी मन्दिर वरिपरी कवंचाहरु निस्कंन्छन रे राती राती .. उसले सानोमा सुनेको कथा सम्झ्यो | कवंचा अर्थात  कंकाल |

साला एउटा चुरोस पसल नि खुलेको छैन | त्यसको बाउलाई सकसक लागेर मर्न लाइ सक्यो – उ मन मनै डर भगाउन खोज्दै थियो | नर देबी मन्दिर छेउमा एउटा पसलको आधा कवलबाट उज्यालो परावर्तन भएको देख्यो | के खोज्छस जड्याहा ?  जाँड .... भने जस्तो भन्दा पनि कोइ भेटिए झैँ , डर मेटिए झैँ लाग्दो हो |  चुरोस पासल नै हो रहेछ |

“साहुजी गेरा चुरोस २ ओटा भन्दै”  १० पैसे पीतलको ढ्याक हुर्र्याई दिए | साहुजी माकल टोपीलाई , दोलाई ओढी अगाडी मक्कलमा आगो फुकी राखेको थियो |

साहुजी चुरोस ....

आफै लिएर जाउ  बाउ – साहुजीले मुन्टोले गौंडा चुरोस तिर संकेत गरे |

“साहुजी पनि आफै न दिई, कति अल्छी भा भने ...  दोलाईबाट हात झिक्न पनि अल्छी गर्ने .. यो त भएन नि ‘ डर हराएकोले फुर्तीका साथ् राम दाइले टिप्पणी गरे |

“हैन बाउ  आफै लेउ” .. साहुजीले हात झिक्न मानेन |

ह्या साहुजी त्यस्तो अल्छी भएर देश कसरी बिकास हुन्छ ?? ८ किलास पढेको विद्वतता देखायो राम दाइले |

“लौ बाउ यस्तो हातले म कसरी चुरोस निकालेर दिउँ”  भन्दै दोलाईबाट हात झिकेर अन्जुलीमा पानी भरे जस्तो  गरि हात देखाई दिए ...

हात मान्छेको जस्तो हात थिएन ...... घोडाको गोडा जस्तो थियो अर्थात घोडे हात |

राम दाइको होस् हवास उड्यो ... अयला सयलाले साथ् छोड्यो र त्यहांबाट सुइकुच्चा ठोक्यो | नरदेबीबाट यतखा के पुगेको थियो बिरलै भेटिने रिक्सा देख्यो | रिक्सावाल बाटो छेउमा रिक्सा रोकेर सुति राख्या |

“ए दाइ  ए दाइ छिटो जाम न तल मरु सम्म “ घच्घच्याएर उठाए |

कस्तो मुन्छे  यो  त,  मस्त संग सुत्यालाई .. रिक्सावालले खाउला झैँ हेर्र्यो |

“मरु सम्म जान्न, आफै हिडेर  जाउ “  रिक्सावाल फेरी घुर्न थाल्यो |

‘हैन दाइ आपतै  परो, छिटो जाम न ‘ राम दाइ हतासले करायो |

किन डर लाग्यो जवान हट्टाकट्टा भएर पनि | रिक्सावालले नि दनक दियो |

हैन दाइ  भर्खर चुरोस किन्न एउटा पसल गएको थिएँ, साहुजीलाई चुरोस दिनु भनेको त .. साहुजी हात त ....

डरले काप्न थाल्यो राम दाइ |

“येह , साहुजीको हात यस्तो थियो हो “ भन्दै रिक्सावाल ले आफ्नो हात देखाए ...........

राम दाइ संग होस् हवास केही थिएन , १०० मिटर ड्यास हानेको गतिमा दक्षिण तिर लाग्यो | मरुहिटी मोड तिर नै भूत स: अर्थात भूत बस्ने सत्तल ( पाटी) छ | भूत स: को छेउ मै एक जना मान्छे संग ठोक्किए | बल्ल अलि अलि होस् आए छ |

त्यो व्यक्ति पनि हल्लन झुल्लन थियो | मिखा मरुला (आँखा छैन ?), मै कहाँ ठोक्किनु पर्यो  तलाई ?? झोक्कीयो  बुढो |

“त:बा ( ठुलोबुबा) मलाई बचाउ मलाइ बचाउ ....” मलाई भूतले लखेट्यो | उ बेहोस मै करायो |

खोइ भूत , अहिलेको जमानामा नि भूत हुन्छ ? जाँडले लखेत्या होला | आँखा खोलेर बिस्तारै घर जाउ, सानै उमेरमा धेरे नखानु |

“ हो भन्या यही आँखाले २-२ जनाको हात देखें “

“कस्तो हात बाउ , यस्तो हो ......”

बुढोले पनि त्यही हात देखाए छ र राम दाइ अब भने उठ्न सकेन |त्यहीं ढल्यो |

 --------------------------------------------------------------------------------------

यही हो  घोडे हातको कथा | त्यो कथा सुनेर हामी धेरै दिन सम्म एक्लै ट्वाइलेट जान पनि डराउँथेम | नर देबीको मन्दिरबाट आयुर्वेदिक अस्पताल जाने मोडमा एउटा चुरोस पसल देखेर आंग सिरिंग हुन्थ्यो | भूत स: निर पुग्यो भने पाइला छिटो बढाउथेम |

घोडेहातको कथा कथा मात्र थियो | तर बिजुली बत्ती, धाराको पानी पनि अब कथा भैसके छ | केही बर्ष पछी यो पनि डरावना कथा बन्ने छ | 

अस्तु!!!

 

 

Last edited: 21-Apr-14 01:09 PM
Read Full Discussion Thread for this article