Posted by: _____ April 13, 2014
सिकेलाल - 'नेपाली' भाषा अंग्रेजले गोर्खाली सिपाहीका लागि बनाइदिएका
Login in to Rate this Post:     0       ?        
नेपाली भाषाको लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ


नेपाली भाषाको इतिहासको कुरा गर्ने हो भने आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो। यो बिक्रम सम्वत १०३८ को हो। यसमा लेखिएको छ–
 
ओ... (मणि?) पद्मे हुँ।... दामुपाल भुपाल रेख भई। किष्णु अडैको भाइ सउंपाल अडै सा (के?) ९०३।
 
दामुपाल पुण्य मल्लका पूर्वज आदि पालका नातेदार कत्युरी नरेश हुन्। रेख भनेको सीमाङि्कत रेखाकंन हो। अडै एक प्राचीन उच्च पदवी हो भने सउंपाल भनेको सोमपाल हो।
 
अहिलेसम्म भेटिएकै नेपाली भाषाको सबैभन्दा पुरानो लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ भने बोलीचालीका भाषाका रुपमा कति लामो समयदेखि यो समाजमा फैलँदै आएको थियो होला भन्ने हामी यसबाटै अनुमान लगाउन सक्छौँ।
 
बोलीचालीको भाषाका रुपमा नेपाली भाषा धेरै पहिलेदेखि समाजमा रहँदै आए पनि संस्कृत सुसंस्कृत भाषा मानिने भएकाले लेख्य रुपमा भने लामो समयसम्म संस्कृत भाषाकै प्रधानता थियो।
 
म पुतलीसडकमा बस्छु। मेरो घरनजिकैको शंकरदेव क्याम्पस शंकरदेव पन्तले स्थापना गरेका हुन्। त्यस्तै यदुनाथ खनाल नेपालका ठूला कुटनीतिज्ञ हुन्। तर, रामप्रसाद मानन्धरको नाम पन्त वा खनालको भन्दा ठूलो मानिन्थ्यो। धेरैजनाले मानन्धरकै नाम बढी सुनेका छन्।
 
मानन्धर टेनिसनको जस्तो मीठो अंग्रेजीमा कविता वाचन गर्नसक्थे। अंग्रेजी मीठोसँग बोल्ने भएरै उनलाई धेरैले चिन्थे।
 
अंग्रेजी वा संस्कृतमा लेख्नु वा बोल्नुलाई ठूलो मान्ने चलन समाजमा अहिलेसम्म पनि छँदैछ। त्यसैले पनि नेपाली हाम्रो समाजको बोलीचालीको भाषा नै बढी थियो। भानुभक्त आचार्यले बाल्मिकीको रामायण नेपाली भाषामा अनुवाद गरेर घरघर पुर्‍याएपछि नै नेपाली भाषा लेख्य रुपमा बढी प्रयोग हुन थालेको हो। तर, त्योभन्दा कयौँ वर्षअघि नै, आजभन्दा हजार वर्षअघि नै नेपाली भाषामा आयुर्वेदको जानकारी भएको लेख 'बाज परीक्षा' शीर्षकमा भाषाशास्त्री बालकृष्ण पोखरेलको किताब 'पाँच सय वर्ष'मा जोकोहीले हेर्न/पढ्न सक्छ।
 
भाषाशास्त्री तारानाथ शर्मा नेपाली भाषालाई तीनजनाले बिगारेका हुन् भन्छन्। उनको भनाइमा ईश्वर बराल, इन्द्रबहादुर राई र अर्को एकजनाले नेपाली भाषाको रुप बिगार्न सुरु गरेका हुन्।
 
मेरो विचारमा नेपाली भाषा बिगार्ने काम विश्वराज आत्रेय र पुर्णप्रकाश नेपाल 'यात्री'ले पनि गरेका हुन्। उनीहरुले भाषामा लालित्य थप्ने निहुँमा तथ्यलाई नै चलाइदिए जसले भाषा बिगार्यो।
 
नेपाली समाजमा धेरै लामो समयदेखि, हजारौँ वर्षदेखि प्रचलनमा रहेको नेपाली भाषाबाट कयौं शब्द संस्कृत भाषामा गएका छन्। जसरी ४ सय तमिल शब्द संस्कृत भाषामा मिसिएर संस्कृतलाई अझ समुन्नत भाषा बनाएका छन्, त्यसैगरी पनि नेपाली भाषाबाट पनि थुप्रै शब्द संस्कृतमा गएका छन्। यसको अनुसन्धान र गहिरो खोज हुन आवश्यक छ।
 
अहिले नेपाली भाषामा एक देखि सवा लाख शब्दहरु छन्। यदि एउटै शब्दको अनुसन्धान गर्दै गयौँ भने ठेलीका ठेली किताब बन्छन्।
 
एउटा शब्द एउटा भाषामा थपिनु नै ठूलो घटना हो, ठूलो प्रक्रिया हो त्यो, अझ एउटा भाषा निर्माणको प्रक्रिया कति बृहत र ठूलो हुन्छ भन्ने यो सानो लेखमा बुझाउन सकिँदैन।
 
समीको रुख नेपाल र भारतमा मात्र पाइन्छ। समीको रुखमा हुने शारीरिक प्रतिक्रियाबाटै जन्मेका हजारवटा क्रिया छन्। यसरी नै बुझ्न सकिन्छ, नेपाल र भारतबाटै व्याकरणलाई हजारवटा क्रियापद प्राप्त भएका छन्।
 
भानुभक्तको रामायणभन्दा धेरै अगाडि नेपाली भाषाको स्तर र गुण निकै परिष्कृत र माझिएको थियो तर यसबारे अझै राम्रोसँग अनुसन्धान हुन सकेको छैन। जंगबहादुर राणाका भाइ कमाण्डर इन चिफ कृष्णबहादुर राणाको सहयोगमा रामायण छापिएको कारण पनि यो धेरैको पहुँचमा पुग्न सकेको हो।
 
नेपाली भाषालाई दलितहरुले सम्बृद्ध गरेका हुन्। यसको जस दलितहरुलाई दिनैपर्छ। सीमित समुदायमा रहेको नेपाली भाषालाई देशभरि फैल्याउने काम दलितहरुले नै गरेका हुन्। फलामको काम गर्न वा लुगा सिलाउन राईलिम्बु वा अन्य समाजमा दलितको प्रवेशसँगै नेपाली भाषाले पनि त्यहाँ विस्तार पायो। यो तथ्य समाजशास्त्री जगमान गुरुङले आफ्नो लेखमा उल्लेख गरेका छन्।
 
नेपालमा तीनवटा सभ्यता छन्। एउटा जीवित र चलायमान नेवारहरुको सभ्यता। अर्को खसहरुको अर्धमृत सभ्यता। तेस्रो मैथिल मृत सभ्यता।
 
नेपालमा भएका अन्य जातजाति, समुदाय भने कुनै सभ्यता होइनन्। यी त मात्र संस्कृति हुन्।
 
'मैथिल' बिक्रमको पन्ध्रौँ शताब्दीदेखि विकास भएको भाषा हो। ज्योतिश्वर ठाकुरको 'वर्णरत्नाकर' नै मैथिल भाषाको अहिलेसम्म भेटिएको पुरानो लिखित दस्तावेज हो जसको इतिहास आजभन्दा करिब ५ सय वर्षअघिको छ।
 
मैथिल महाकवि विद्यापतिले लेखेका करिब हजारवटा गीतहरुमध्ये केहीमात्र पढ्ने हो भने थाहा हुन्छ, कति सम्पन्न, कति सभ्य र सुसंस्कृत छ यो भाषा।
 
छिमेकी भारतको लोकप्रिय हिन्दी भाषालाई 'खडीबोली' भनिन्थ्यो। यसको इतिहास धेरै पुरानो छैन। यो भाषा करिब २ सय वर्षयतामात्र विकास भएको हो। हिन्दी भाषा धेरै जनसंख्या भएका भारतका राज्यहरु उत्तर प्रदेश, मध्य प्रदेश, बिहारमा बढी प्रचलित छ।
http://setopati.com/bichar/10308/
Read Full Discussion Thread for this article