Posted by: _____ April 2, 2014
काठमाडौंले एकै दिन ७ सय राँगा खान्छ !
Login in to Rate this Post:     0       ?        
काठमाडौंले एकै दिन ७ सय राँगा खान्छ !

एक वर्षमा विदेशबाट ६० हजार राँगा भित्र्याइयो
२०७० चैत १९ गते १९:२९ मा प्रकाशित


१९ चैत, काठमाडौं । भैंसीको ममःका लागि प्रख्यात काठमाडौं उपत्यकामा एक दिनमा ७ सय राँगा काटिने गरेको सरकारी अधिकारीले बताएका छन् । उपत्यकामा कुखुराको मासु दैनिक २ लाखदेखि अढाइ लाखसम्म खपत हुने गरेको छ ।

भारतीयले भन्दा नेपालीले बढी मासु खाने गरेको र एकै वर्षमा ६० हजारभन्दा बढी राँगा विदेशबाट नेपाल भित्र्याइएको तथ्यांक बुधबार सिंहदरबारबाट सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले मासुसम्बन्धी रोचक तथ्यांक सार्वजनिक गरेका छन् ।

उपत्यकामा सुँगुर थोरै, राँगा धेरै

सचिव बास्कोटाले दिएको जानकारीअनुसार काठमाडौंमा दैनिक करिव ७ सयवटा राँगाको खपत हुने गरेको छ । त्यस्तै ९ सय ८० देखि ११ सय वटासम्म खसी/बोकाको दैनिक खपत हुने गरेको छ ।

बास्कोटाका अनुसार काठमाडौंले दैनिक १ सय ५० वटासम्म बंगुर/संगुरको खपत गर्छ । कुखुराका मासु भने उपत्यकामा मौसमअनुसार दैनिक २ लाखदेखि अढाइ लाख किलोसम्म खपत हुने गरेको छ बास्कोटाले बताएका छन् ।

वर्षमा करिब ३ लाख मेट्रिकटन मासु खपत

पशु सेवा विभागलाई उधृत गर्दै सचिव बास्कोटाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा नेपालमा कुल २ लाख ९५ हजार ४ सय ८६ मेट्रिकटन मासु उत्पादन र खपत भएको छ ।

उनका अनुसार नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष मासुको उपलब्धता गत वर्ष ११ केजी रहेकोमा चालू चालु आर्थिक वर्षमा ११.३ केजी प्रतिव्यक्ति रहेको छ । साथै आगामी वर्ष मासुको सपत ११.५६ केजी र अझ अर्को वर्ष ११.८७ केजी पुग्ने सरकारी अनुमान छ ।

यसैगरी चालू आर्थिक वर्षमा २ लाख ९९ हजार मेटि्रक टन मासुको उत्पादन हुने र आगामी बढेर ३ लाख ११ हजार मेटि्रक टन पुग्ने बास्कोटाले पशु सेवा विभागलाई उधृत गर्दै जनाएका छन् ।

कुन देशको नागरिकले कति मासु खान्छ ?

वर्षेनी प्रतिव्यक्ति मासुको खपत सबैभन्दा बढी हुने देशमा लक्जमवर्ग पर्छ । लक्जमवर्गमा वर्षेनी प्रतिव्यक्ति १३६ केजी मासु खपत हुन्छ । त्यसैगरी अमेरिकामा १२३ केजी, अष्ट्रेलियामा १२१ केजी, न्यूजील्याण्डमा ११६ केजी र स्पेन ११० केजी प्रतिव्यक्ति मासु खपत हुने गरेको बास्कोटाले तथ्यांक पेश गरेका छन् ।

त्यसैगरी कम मासु खपत गर्ने देशहरुमा स्आण्डा ५.४ केजी, बुरुण्डी ५ केजी, कंगो ४.५ केजी, बंगलादेश ४.१ केजी र भारत ३.२ केजी रहेका छन् । यस क्रममा नेपालको औषत प्रतिव्यक्ति वाषिर्क खपत १०.६ केजी रहेको पनि सचिव बास्कोटाले बताए ।

दक्षिण एशियामा नेपाल मासुको राम्रै खपत गर्ने मुलुक भएकाले यसको उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने बास्कोटाको तर्क छ ।

विदेशबाट मासु आयात गर्नु विडम्बना

छलफलमा पशु सेवा विभागका महानिर्देशकले गत गत आर्थिक वर्ष नेपालले विदेशबाट ६० हजार ५ सय ६६ वटा राँगा आयात गरेका जानकारी गराएका थिए । त्यसैगरी सो आर्थिक वर्षमा ४ लाख ११ हजार ८८ वटा खसी/बोका आयात भएको महानिर्देशकले बताए ।

सचिव बास्कोटाले कृषि प्रधान देशले खाद्यान्न, हरियो तरकारी, फलफूल, माछा मासु विदेशबाट आयात गर्नुपर्ने स्थिति विडम्वना पूर्ण भएको बताए । बास्कोटाले कृषि विकास मन्त्रालयका सचिव र पशु सेवा विभागका महानिर्देशकलगायतका पदाधिकारीलाई मासुमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउनसमेत आग्रह गरे ।

नेपाललाई मासुमा आत्मनिर्भर तुल्याउन विभिन्न कार्यक्रम सञ्चालन भएको बास्कोटाले बताएका छन् । जस्तै, पाडा हुर्काउने कार्यक्रम, बंगुर तथा कुुखुरा पालनको सहकारी खेती कार्यक्रम, बाख्रा तथा भैसीको वृद्धिका लागि वृहत्तर प्याकेज कार्यक्रम तथा युवा लक्षित कार्यक्रम रहेको कुरा बास्कोटाले छलफलमा जानकारी दिए ।

त्यसैगरी सरकारी अधिकारीहरुको छलफलमा साना किसान बैंकका प्रतिनिधिले ३१ हजार ७ सय ४९ किसानलाई मासु उत्पादन कार्यक्रम अन्तर्गत २ अर्ब २७ करोडको ऋण प्रवाह गरेको बताए ।

छलफलमा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले पशु विमाको पि्रमियममा ५० प्रतिशत छुट दिइएको तर कम भएकाले यसलाई ७५ प्रतिशत पुर्‍याउनुपर्ने बताएका थिए । त्यस्तै १ करोडसम्मको मात्रै विमा पि्रमियम रकममा छुट दिने सीमा हटाउनु पर्ने र कृषि क्षेत्रको ऋण प्रवाहमा ३ प्रतिशत ब्याज अनुदान दिने सरकारी नीति आउनुपर्ने खनालको माग थियो ।

त्यस्तै बाख्रामा पनि कृत्रिम गर्भाधानको कार्यक्रमलाई बढावा दिनुपर्ने र कृषि क्षेत्रका केही पैठारीमा अझै पनि भन्सार लाग्ने गरेकाले सो छुट हुनुपर्ने, वैदेशिक तालीममा किसानलाई पठाउनुपर्ने, यान्त्रिकीकरण नीति शीघ्र जारी गर्नुपर्ने र करार खेती ऐन जारी गर्नु पर्ने खनालले बताए ।

सचिव वास्कोटाले नेपालमा प्रशस्त चरन क्षेत्र भएको र मासुको माग पनि बढी रहेकाले पशु पालनमा जोड दिन सम्बन्धित मन्त्रालयका अधिकारीहरुसँग आग्रह गरे ।

नेपालमा कति छन् चौपाया ?

बास्कोटाका अनुसार हाल नेपाल ७२ लाख ४५ हजार गाईगोरु, ५१ लाख ३३ हजार भैसी, ९५ लाख १२ हजार बाख्रा, ८ लाख ७ हजार भेडा, ११ लाख ३७ हजार सुंगुर/बंगुर, ४ करोड ५१ लाख ७१ वटा कुखुरा र ३ लाख ७७ हजार हाँस रहेका छन् । यिनको संख्या वर्षेनी ५० प्रतिशतका दरले वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बास्कोटाको राय छ ।

स्त्री चौपायाको मासु बेच्नेलाई चेतावनी

सिंहदरबारमा भएको छलफलमा सचिव वास्कोटाले सबै मासु पसलले अनिवार्यरुपमा मूल्य सूची टाँस गर्नुपर्ने, सर-सफाइमा ध्यान दिनुपर्ने, सिसाको फ्रेम लगाउनुपर्ने, वधशालाको व्यवस्था गर्नुपर्ने र मासुमा स्त्री चौपाया मिसाई बिक्री गर्ने र बासी तथा सडेगलेको मासु बिक्री गर्नेउपर कडा कारवाही गर्नु पर्ने बताए ।
- See more at: http://www.onlinekhabar.com/2014/04/183769/#sthash.rKZRHczy.dpuf
Read Full Discussion Thread for this article