Posted by: _____ March 10, 2014
आरोपीलाई नै बालगृहको अनुमति
Login in to Rate this Post:     0       ?        

आरोपीलाई नै बालगृहको अनुमति


    पोखरा, फाल्गुन २६ - सञ्चालक समिति र भरपर्दो आर्थिक स्रोतबिनै बालगृह चलाएर बालबालिकालाई जोखिमपूर्ण अवस्थामा पुर्‍याउनेलाई कास्की जिल्ला प्रशासनले कारबाही गर्नुको सट्टा पुनः अर्कै नामबाट सञ्चालन अनुमति दिएको खुलासा भएको छ ।

    तत्कालीन सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर गुरुङ फरार भएपछि श्रीमती ज्योतिले चलाउँदै आएको नारेश्वरस्थित एभरेस्ट बालगृहका सञ्चालकलाई प्रशासनले न्यु भिजन चिल्ड्रेन होमको स्वीकृति दिएको हो । मापदण्डविपरीत सञ्चालित एभरेस्ट बालगृहबाट ६ देखि ११ वर्षका ४ बालक र ४ बालिकालाई ०६९ कात्तिक १५ मा जिल्ला बालकल्याण समितिले उद्धार गरेको थियो । समितिले उक्त बालगृहलाई कारबाहीका लागि प्रशासनसमा सिफारिस गरेको थियो ।

    प्रशासनले भने कारबाही गर्नुको सट्टा ०६९ चैत १२ गते संस्थापक/अध्यक्ष ज्योति रहेको न्यू भिजनका लागि अनुमति दिएको हो । प्रशासनले संस्था दर्ता खारेज किन नगर्ने भन्दै सञ्चालकलाई पत्र पठाए पनि कुनै कारबाही नगरी अर्को दर्ता गर्नुले गम्भीर शंका जन्मिएको समितिका एक सदस्यले बताए ।

    आवासीय बालगृह सञ्चालन तथा ब्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ मा १० बालबालिकाको आश्रय दिन सक्ने क्षमता र सुविधा नभएसम्म कुनै पनि सञ्चालन गर्न नपाइने र स्थानीय प्रशासनले अनुमति दिन नहुने व्यवस्था छ । काठमाडौंबाहिरका जिल्लामा बालगृह चलाउन जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयबाट समेत अनुमति लिनुपर्नेमा त्यस्तो गरिएको छैन । संस्था दर्ता गर्ने निकाय प्रशासन तथा राय/सुझाव दिने बालकल्याण समितिलगायत निकायले संस्थाका पदाधिकारीका आचरण सम्बन्धमा पनि आवश्यक खोजबिन गरी सिफारिस वा दर्ता प्रकृया अघि बढाउनु कर्तव्य हुनेछ भन्ने मापदण्डमा छ । 'तर बालगृह दर्ता गर्ने क्रममा कुनै पनि मापदण्ड पुगेको देखिँदैन,' समितिका एक सदस्यले भने, 'आफैंले कारबाहीका लागि स्पष्टीकरण सोधको व्यक्तिलाई बिनाछानबिनै अर्को दर्ता गरिनु आश्चर्यजनक छ ।' नयाँ बालगृह दर्ता तथा नवीकरणका लागि बालकल्याण समितिको सिफारिससमेत आवश्यक रहेकामा त्यो पनि छैन ।  

    संस्थाले गत भदौमा लेखेको नवीकरण पत्र बालकल्याण समितिमा भर्खरै प्राप्त भएपछि दर्ताको रहस्य खुलेको हो । त्यसपछि समितिका केही पदाधिकारीले अनुगमन गर्दा सञ्चालक भेटिएका थिएनन् । 'पहिला र अहिलेको अवस्थामा भौतिक पूर्वाधारलगायतमा कुनै परिवर्तन छैन,' जिल्ला बालअधिकार अधिकृत भरतराज बरालले भने, 'यसमा अझै अनुगमन बाँकी छ ।'  

    ज्योतिले परिवारविहीन भन्दै आफ्नै दुई छोरी र बाबुआमासमेत भएका बालबालिकालाई बालगृहमा राखेकी थिइन् । पटकपटकको अनुगमनमा बालगृहको अवस्था नाजुक र बालबालिकाको भविष्य अनिश्चित देखिएपछि उद्धार गरिएको थियो । संस्था नवीकरणसमेत भएको थिएन । साथै नियमित आर्थिक स्रोत र कोष थिएन ।

    प्रकाशित मिति: २०७० फाल्गुन २६ ११:३८

    - See more at: http://www.ekantipur.com/np/2070/11/26/full-story/385463.html#sthash.svlBPWFs.dpuf
    Read Full Discussion Thread for this article