Posted by: _____ March 9, 2014
त्यस बेलाको पाकिस्तानमा नेपाली बस्ती--त्रिलोकसिंह थापा
Login in to Rate this Post:     1       ?         Liked by

त्यस बेलाको पाकिस्तानमा नेपाली बस्ती


ब्रिटिसहरू जहिले पनि गोर्खालीहरूलाई 'भाडाका सिपाही'को नीति अनुरूप नै व्यवहार गर्छन्। सिंगापुरमा गोर्खा सैनिकको संख्या घटाउनेबारेको बैठकमा ब्रिटिस कर्णेल कलिन स्कटले त मुखै खोले, 'गोर्खालीहरू भाडाका सिपाही नै हुन्।' उनको कुरामा केही बोलेको भए ममाथि कोर्टमार्सल हुन्थ्यो। त्यसैले चोट सहेर पनि म चुपचाप बसेँ। 

ब्रिटिस सेनामा भर्ती भएर जब म पहिलोपटक सन् १९४२ मा बलुचिस्तानको क्वेटानजिकैको एउटा गाउँमा पुगेँ, त्यहाँ दुई किसिमका मुसलमान भेटेँ। एक किसिमका सिया र अर्का सुन्नी। त्यहाँका सुन्नी मुसलमान त तक्षशीलाबाट विस्थापित भएर भागेका हाम्रै नेपाली दाजुभाइ पो रहेछन्। लडाइँमा सहभागी भएका ती योद्धाहरू अमरसिंह थापा युद्धमा हारेपछि बिछोडिएर त्यहाँ पुगेका रहेछन्। उनीहरू काराकोरम शृंखला हुँदै क्वेटा छिरेका रहेछन्। 

अमरसिंह थापा बहादुरीपूर्वक लड्दालड्दै तक्षशीलासम्म पुगेको इतिहास छ। तक्षशीलाको युद्धमा पराजित भएपछि नै उनी त्यहाँबाट फर्किएका हुन्। राजासँग माफी माग्न काठमाडौँ जाने क्रममा अमरसिंहले आत्महत्या गरेको कुरा साँचो होइन। वास्तवमा उनी नेपाल फर्किएपछि सीधै रसुवाको गोसाईंकुण्डतर्फ लागे र त्यहीँ आउँले थलिएर उनको मृत्यु भयो।

ब्रिटिसहरू गोर्खालीलाई गर्नसम्म प्रयोग गर्छन्। कुनै पनि युद्ध होस्, अघिल्लो मोर्चामा गोर्खालीलाई नै तैनाथ गर्छन्। तर, जब गोर्खालीलाई सानो सहयोग गर्ने कुरा आउँछ, उनीहरू पछि हटिहाल्छन्। तक्षशीलाको युद्धमा पनि ब्रिटिसहरूले त्यही गरेछन्। सहयोग माग्न पुगेका अमरसिंहलाई पटियालाका राजा रञ्जित सिंहले ब्रिटिसहरूलाई खबर गरी धोका दिएपछि गोर्खा फौज त्यहाँ पराजित भएको थियो। त्यहाँ कति संख्यामा नेपाली मारएि र भागे भन्ने यकिन संख्या अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। 

क्वेटानजिकैको त्यो मुसलमानबहुल सुन्नी गाउँ नेपालीले नै बसाएका रहेछन्। हामी त्यहाँ पुग्दा उनीहरूले भव्य स्वागत गरे। अपनत्वको महसुस भएर होला, उनीहरूले त हामीलाई चाचा (काका) भनेरै सम्बोधन गरे। नेपालीपन र भावनाका साथ उनीहरूले हामीलाई त्यहाँ सम्मान गरेका थिए। विदेशी भूमि, त्यसमा पनि क्वेटा सहरनजिकैको त्यो गाउँमा उनीहरूले दर्साएको अपनत्व म भुल्नै सक्दिनँ। 

त्यति मात्र होइन, दोस्रो विश्वयुद्धपछि सन् १९४६ मा जब हामी बर्माबाट बाहिरँिदै थियौँ, समरसट्टा रेल्वे स्टेसनमा पनि गोर्खाली फौजको एउटा सानो टुकडी फेला पारेका थियौँ। जकोवाबादका सुल्तानको राज्य रहेछ त्यो। उनले आफ्नो सुरक्षाका लागि आठ सयजतिको गोर्खाली फौजको त्यो टुकडीलाई उपयोग गरेका रहेछन्। उनीहरूको परिवार त्यहाँबाट २५ किलोमिटरको दूरीमा एउटा सानो बस्ती नै बनाएर बसेको रहेछ। 

उनीहरूको भेषभूषा पनि मुसलमानको जस्तै थियो तर अनुहार र बोलीचाली नेपाली। हामीहरू त्यहाँ पुगेको देखेपछि उनीहरूले सलाम गरे र आफूहरू नेपाली भएको जानकारी गराए। उनीहरू 'हामी पनि नेपाली हौँ ∕ यहाँ त हामी घेरामा पर्‍यौँ। हामीलाई पनि सँगै लिएर जानुपर्‍यो' भन्न थालेका थिए। सायद त्यो आहट भारत-पाकिस्तान अलग हुने क्रममा मच्चिएको हिन्दु-मुस्लिमबीचको दंगाको थियो। अनाहकमा उनीहरू त्यस युद्धको घानमा पिल्सिएका थिए।

समरसट्टा रेल्वे स्टेसनदेखि २५ किलोमिटरको दूरीमा रहेका उनीहरूका परविारलाई तत्काल उद्धार गर्न सक्ने अवस्था हाम्रो थिएन। किनभने, त्यो स्टेसनमा हामी केही समयका लागि मात्र रोकिएका थियौँ। करबि २० मिनेटको विश्रामपछि रेल चलिहाल्यो। हामी पनि गन्तव्यतर्फ लाग्यौँ। उनीहरूलाई त्यहाँबाट उद्धार गर्न सकेनौँ। अन्यत्र पनि मैले नेपालीमूलका बासिन्दा यसरी नै जीवन गुजाररिहेको भेटेको छु। युद्धमा खटिरहेकै अवस्थामा त्यस्ता नेपाली भेट्दा अपनत्व त महसुस हुन्छ नै, उनीहरूबारे सम्बन्धित निकायले चासो र सरोकार राखिदिए कति बेस हुन्थ्यो ! 

यी दुई उदाहरणले विश्वभर िनै नेपाली फैलिएको तर उनीहरूको अवस्था र स्थितिका बारेमा परापूर्वकालदेखि नै हामी अनभिज्ञ र बेसरोकार रहेको तथ्य उजागर गर्छ। किनभने, त्यस्ता नेपाली बस्ती अन्य ठाउँमा पनि देखेकाले तत्कालीन नेपाल सरकारलाई यसबारेमा घचघच्याएको थिएँ। तर, कुनै सरोकार वा चासो व्यक्त भएन। राजीखुसी भनौँ या करकाप, जसरी बसेका भए पनि उनीहरूप्रति चासो देखाउनु राज्यको कर्तव्य हो। मैले पेन्सन आएपछि तत्कालीन प्रधानमन्त्री तुलसी गिरीदेखि मन्त्री द्रोणशमशेर राणासम्मलाई भेटेरै यस्ता गाउँ र नेपाली बस्तीका बारेमा विस्तृतमा कुराकानी गरेको थिएँ। तर, कसैले चासो दिएनन्। उनीहरूप्रति राज्यको दायित्व पनि सम्झिएनन्।

Read Full Discussion Thread for this article