Posted by: Laalmon February 25, 2014
आमाघरकी दिलशोभाविरुद्ध गम्भीर आरोप, सिडिओमा उजुरी, बालबालिकालाई सुरक्षित राख्न रेस्क्यु गरिने
Login in to Rate this Post:     0       ?        
दिलशोभाले वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाएको खुलासा
आमाघर'को नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ ‘आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको' तथ्य फेला परेको छ। उनको आश्रममा वृद्धासहित ५३ बालबालिका छन्।

उनले राजधानीको रविभवनस्थित आफ्नो वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

नागरिकलाई प्राप्त ३ मिनेट ३९ सेकेन्डको अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर खुवाउने एक छाक, बिहान खुवाउनुपरेन, तपाईंलाई माया लाग्छ भने एक कप चिया खुवाएर पठाउनू, बेलुका आएर तपाईंलाई पकाएर खुवाउँछ, रातभरि तपाईंसँग सुत्छ, माया माया माया गरेर बस्छ।'

मोबाइलबाट रेकर्ड गरिएको उक्त संवादमा दिलशोभाको मात्र स्वर सुनिन्छ। ‘हजुर यहाँ आउनुपरेन, हजुरको सेवा गर्न त्यहीँ पठाएको छु मैले, फरक पर्दैन भोलि आउँछ,' अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘पहिलाको बूढीको कुरा नगर्नू, अहिलेको बुढीको कुरा गर्नुस्।' उनले कसैलाई मन्दिरमा पठाइदिने र लुगा लगाएका आधार चिनजान गर्नूसमेत भनेकी छन्।

नागरिकलाई अडियो रेकर्ड उपलब्ध गराउने स्रोतका अनुसार दिलशोभाको गतिविधि शंकास्पद देखिएपछि उनको फोनसंवाद रेकर्ड गरिएको थियो। स्रोतले यही रेकर्ड जिल्ला प्रशासन कार्यालय, प्रहरी र केन्द्रीय बाल कल्याण समितिलाई बुझाएको छ। त्यसै आधारमा दिलशोभामामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दियो।

जिल्ला प्रशासनले केही दिनदेखि दिलशोभासँग लगातार बयान लिइरहेको छ। बाल यौन दुराचारको आशंकामा जिल्ला प्रशासन, प्रहरी र बाल कल्याण समितिको संयुक्त टोलीले बुधबार आमाघरमा आश्रित बालबालिकालाई उद्धार गर्ने निर्णयसमेत गरेको छ। अनुसन्धान जारी रहे पनि बच्चाहरूलाई सुरक्षित राख्नुपर्ने देखेर उद्धारलाई प्राथमिकता दिएको अनुगमनमा संलग्न बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए।

आमाघरसँग जोडिएको यौन दुराचारबारे केही कुरा आएकाले अनुसन्धान भइरहेको पुष्टि गर्दै उनले मंगलबार नागरिकसँग भने, ‘न्यूनतम आधारसमेत पूरा नगरेर बालगृह चलाएको पाइएकाले बुधबार त्यहाँ आश्रित बालबालिका उद्धार गर्न लागेका छौं।'

‘अनुसन्धान क्रममा अनुमतिबिनै बालबालिका राखेको पाइयो, उनीहरूको अवस्था एकदमै दयनीय थियो,' उनले भने, ‘अरू अनुसन्धान चल्दै गर्दा उनीहरूको उद्धारलाई हामीले पहिलो प्राथमिकता दियौं।'

काठमाडौंका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले पनि आमाघर अनुगमन गर्दा गम्भीर त्रुटी देखिएकाले अनुसन्धान प्रक्रिया अघि बढेको बताए। फोन रेकर्डको विषयमा भने उनी प्रवेश गर्न चाहेनन्। ‘हामीले अनुगमन गर्दा अनुमति नै नलिई बालगृह सञ्चालन गरेको पाइएकाले पहिलो काम त्यसलाई कानुनी दायरामा ल्याउने हो,' उनले नागरिकसँग भने, ‘अन्य विषय पनि देखिएका छन्, त्यसको छानबिन भइरहेको छ।'

श्रेष्ठले आफ्नो आश्रममा रहेका बालबालिका तथा वृद्धामाथि अमानवीय व्यवहार गरेको र यौन दुराचारसमेत गर्दै आएको भन्दै १० दिनअघि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। त्यही आधारमा अनुगमन थालिएको हो। अनुगमन टोली उजुरीको वास्तविकता बुझ्न आमाघर पुग्दा दिलशोभाले अनुमति नै नलिई बालगृह खोलेर बालबालिका राखेको खुलेपछि थप अनुसन्धान अघि बढाइएको छ।

‘घरभित्र छिर्नासाथ दुर्गन्धको बास बाहिरैसम्म आइरहेको थियो, भित्र त गन्धले बस्नै नसक्ने अवस्था थियो, निकै बिजोग रहेछ,' अनुगमनमा खटिएका एक अधिकृतले भने, ‘वृद्धाहरूको सेवाका लागि भनेर धेरै स्थानबाट राम्रै सहयोग आएको देखिन्छ, तर आश्रम हेर्दा त्यस्तो केही देखिएन।'

प्रारम्भमा आमाघरको सुविधा अवस्था अवलोकन गरेर सुधारको सुझाव दिने योजनासहित त्यहाँ पुगे पनि अनुमति नै नलिई बालगृह चलाएको खुलेपछि टोली झस्किएको थियो। त्यससँगै दिलशोभाले दोस्रो व्यक्तिसँग गरेको फोन संवादको रेकर्ड नै प्राप्त गरेपछि केन्द्रीय बाल कल्याण समिति, जिल्ला प्रशासन कार्यालय र प्रहरी टोली गम्भीर बनेको थियो।

‘फोन संवादले वृद्धाश्रमको आवरणमा गलत गतिविधि भइरहेको प्रस्ट हुन्छ,' एक अुनसन्धान अधिकारीले भने, ‘यो अतिगम्भीर विषय भएकाले विस्तृत अनुन्धानमा छौं।' अनुसन्धान चल्दै गर्दा अनधिकृत रूपले बालगृह चलाएर राखिएका बालबालिकालाई उद्धार गर्न जरुरी ठानेर अन्यत्र सार्न लागेको उनले जानकारी दिए। ‘ती केटाकेटीलाई सुरक्षित राखेपछि थप अनुसन्धान अघि बढ्छ,' उनले भने।

दिलशोभाले भने आफू शुद्ध मनले समाजसेवा गरिरहेको बताउँदै यौन दुराचार लगायत कुनै पनि किसिमको अनधिकृत कार्यमा संलग्न नरहेको दाबी गरेकी छन्।

source: setopati.com
Read Full Discussion Thread for this article