Posted by: cybernepali February 6, 2014
१८ बर्षे युट्युव युवती, जसले कमाउँछिन महिनामै ४० हजार डलर
Login in to Rate this Post:     0       ?        

१८ बर्षे युट्युव युवती, जसले कमाउँछिन महिनामै ४० हजार डलर

टीनएज युवतीको सफलताको कथा

२०७० माघ २१ गते १०:५१ मा प्रकाशित

Bethany-Mota-1

एउटी १८ वर्षीया केटीको तरक्की सुन्नुस् । उनी सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रियको सूचिमा छिन् । गायिका लेडी गागाभन्दा उनका फलोअर बढि छन् । भउग, एल्ली, ग्लामर, कस्मोपोलिटनजस्ता ख्यातिप्राप्त पत्रिकाका कुल फ्यानभन्दा उनका फ्यान धेरै छन् ।

अमेरिकाको क्यालिफोर्नियाकी बेथानी मोता नामकी यी केटीको युट्युब च्यानलमा ५१ लाख सब्सक्राइबर छन् । ‘इन्स्टाग्राम’ मा उनको खोजी गर्नेहरु २३ लाख छन् । त्यस्तै, ट्वीटरमा पनि उनका फलोअर १० लाखभन्दा बढी छन ।

उनलाई मोडल बनाउन चर्चित ब्राण्डहरुको लाइन छ, सोसल मिडियाका सम्मेलनमा उनी अतिथि बनेर प्रबचन दिन्छिन, अनलाइन टीभी च्यानलहरुमा आफ्नै उमेरका युवाहरुसँग मस्कामस्की गरेर बात मार्छिन् । यही हाँसखेलबाट उनले महिनामा ४० हजार डलर(झण्डै ४० लाख रुपैयाँ) कमाउँछिन् ।

उनको यो कमाई फेसबुक, गुगल, याहु, अमाजोन लगायतका कम्पनीका प्रमुख कार्यकारीकै हाराहारी हो ।

आखिर को हुन यी १८ बर्षे सुन्दरी जसले यति धेरै नेटिजन्सको दिल चोर्न सफल भइन ? के गर्छिन यी ? टीनएज प्रवेशसँगै नाम र दामको कसरी ओइरो लाग्यो ? अमेरिकी पत्रिका बिजनेस इनसाइडरको रिपोर्टमा आधारित यो अनुबाद–

Bethany-Mota-4

मोता, गत वर्षमात्रै विद्यालय शिक्षा पुरा गरेकी युवती हुन् । उनी क्यालिफोर्नियाको उत्तरी कुनामा अझै पनि बाबुआमाकै आश्रयमा बस्दै आएकी छिन् ।

उनी एक साधारण युवती हुन् । फेसन डिजाइनर, सम्पादक, मोडल कोही होइनन् । उनको कोठामा केही ब्यागहरुको चाङ छ । जसमा उनी कपडा, कपाल, सौन्दर्य प्रशाधन, सूर्यमुखी फूलको कपडा आदिका भिडियोहरु अपलोड गरिरहन्छिन् । ‘मलाई सूर्यमुखी फूल सबभन्दा मन पर्छ’ उनी भन्छिन् ।

क्रिसमसअघिको घटना हो । गार्मेन्ट कपडाहरुको बजार खस्केको बेला थियो । एरोपोस्टल नामक किशोरलक्षित कपडा उद्यमीले नयाँ रणनीति ल्याए । मोता ब्राण्डमा कपडा र गहना बजारीकरण गरे । बेथानी मोता ब्राण्डमा स्वेटर, स्कर्ट आदि नाम दिइएपछि बजारमा राम्रो हिस्सा लियो ।

मोता अहिले लोकप्रिय युवती भएकी छिन् । उनी किशोर पुस्ताकेन्द्रित युट्युब टेलिभिजन नेटवर्कमा संवाद गर्छिन् । किशोर पुस्ताको चाहना र आवश्यकता वोध गर्दै संवाद चलाउनु उनको विशेषता हो । तथापि, उनी यो विषयमा औपचारिक तालिम र शिक्षा नलिएकी युवती हुन् । स्वअध्ययन र स्वस्फूर्त रुपमा उनले किशोरलक्षित कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् ।

मोता किशोर पुस्तामा निकै लोकप्रिय छिन् । ‘उनी चर्चित र राम्री छिन्’ अकल्याण्ड, क्यालिफोर्नियाकी १५ वर्षीया मेलिना म्याक्नले भनिन् ‘उनको भिडियोहरु निकै मन छुने छन् । हेर्दाखेरि लाग्छ उनी मसँगै बोलिरहेकी छिन् ।’

‘मोता सँधै मुस्कुराइरहेकी हुन्छिन्’ अर्की एल्ला फिलिप्सले भनिन् ।

त्यसो भनिरहँदा उनको नजिकमा निकै किशोर, किशोरीहरु थिए । मोताद्धारा प्रवद्र्धित टि सर्ट र कपडाहरु लगाइरहेका थिए । मोतालाई देखेपछि उनीहरु खुसीले आत्तिएका थिए । हत्तपत्त मोतासित नजिकिने, गफ गर्ने र अटोग्राफ लिन खोजे ।

युट्युवसँगको नाता

Bethany-Mota-2मोता युट्युबको प्रयोगबारे साथीले जानकारी दिएपछि यसको प्रयोग थालेका बताउँछिन् । ‘म कसैसँग बोल्न र घर छाड्न चाहन्नथेँ’ उनी भन्छिन् ‘युट्युबले मलाई सहयोग ग¥यो । म आफैं व्यक्तिगत रुपमा आउटलेट (बिक्री कक्ष) बन्न पुगेकी छु ।’

मोताको पहिलो उत्पादन जुन २००९ मा आएको थियो । म्याक र सेफोराको सौन्दर्य सामाग्रीबारे क्यामेरा कुशलताबाट फोटो सेसन गरिन् । यो बेला मोता जम्मा १३ वर्षकी थिइन् । उनीसित ट्राइपोड नहुँदा साधारण क्यामेराबाटै काम चलाएकी थिइन् ।

उनले यस्ता वस्तुको बजारीकरणमा सहयोग पुग्नेखाले सामाग्रीहरु राख्न थालिन् । विस्तारै उनको दर्शक फलोअर्स बढ्दै गए । अहिले उनको संयौं भिडियो सामाजिक सञ्जालहरुमा राखिएका छन् । उनको सिपालु हातले गरिएको सम्पादनले थप लोकप्रिय बनाइएको छ ।

उनले सुरुमा कपाल श्रृँगार, आन्तरिक सजावट आदिको सामाग्री अपलोड गरिन् । सन् २०१० मा उनले दोस्रो युट्युब च्यानल, बेथानिसलाइफ ल्याइन् । यो च्यानल झनै लोकप्रिय भइदियो । धेरैले आफ्नै लागि बनेको महसुस गर्न पुगे । यसमा हाल १६ लाखभन्दा बढी सब्सक्राइबर छन् ।

मोताको आम्दानी बढ्दै गएको छ । तर उनी आफ्नो आम्दानी बारे प्रतिक्रिया दिन चाहन्नन् । तर युट्युव बिज्ञापनका ज्ञाताहरुले गरेको अनुमान अनुसार उनको मासिक आम्दानी ४० हजार डलर छ, जुन उनले आफ्नो भिडियो अपलोड गरेवापत कमाउँछिन् ।

किशोर अवस्थामै उचालिएको मोताको कमाइबारे धेरैलाई लोभ लाग्न सक्छ । तर मोता आफूले गरेको काम खासै नौलो नभएको बताउँछिन् । उनी भन्छिन् ‘जब म फूर्सद पाउँछु, बेडमा बस्छु अनि भिडियो अपलोड गर्छु ।’ उनी आफू व्यक्ति नै उद्यमी भएकोमा दङ्ग पनि छिन् ।

अब उनी नियात्रा विशेष भिडियो राख्ने सोचमा छिन् । उनले हालै एसिया र पेरिसको यात्रा थाल्ने भएकी छिन् । ‘म भ्रमणसँगै स्थानीय खानेकुराहरुको पनि प्रवद्र्धन गर्न चाहन्छु’ उनले भनिन् । उनी चलनचल्तीको खानेकुरा र तिनको पोषण गुण बारे जानकारी प्रवाह गर्न चाहेको बताउँछिन् ।

मोताको प्रगतिबाट उनका बुबा टोनी मख्ख छन् । तर छोरीको प्रगति र कमाइबारे खासै प्रतिक्रिया दिन चाहेनन् । उनी एउटा डेरी उद्योगमा काम गर्छन् ।

मोताको भनाइमा अहिलेको जमानामा इन्टरनेटको अथाह सदुपयोग गर्न सकिन्छ ।

तर मानिसहरुको चाहना फरक–फरक हुने भएकोले खास क्षेत्रमा आफूलाई उभ्याउनुपर्ने उनको सुझाव छ ।

Bethany-Mota-3

अनलाइनमा उनको आलोचना गर्नेहरु पनि निकै भेटिन्छन् । तर उनी निकै तर्कपूर्ण जवाफ दिन्छिन् । विस्तारै उनको जवाफबाट आलोचकहरु फ्यानमा परिणत हुन्छन् ।

मोता सन् २०१३ मा सामाजिक सञ्जालहरुको सम्मेलनमा हङकङमा सहभागी थिइन् । त्यतिबेला उनले विभिन्न विधामा तीन पुरस्कार हात पारिन् ।

तर अहिले वस्तुको बजारीकरणमा सामाजिक सञ्जालको निःशुल्क प्रयोग भइरहेकोमा आलोचना पनि भइरहेको छ । मोताकी कानुन व्यवसायी र समर्थकहरु भने कुनै वस्तुप्रति उपभोक्ताको रुचि आउनु र उपभोक्ताले प्रचार गर्नु मुनासिब भएको तर्क गर्छन् । ‘मोता एक प्राकृतिक बजारकर्मी हुन्’ उनका वकिल भन्छन् ।

- See more at: http://www.onlinekhabar.com/2014/02/162960/#sthash.yozJPsuu.dpuf
Read Full Discussion Thread for this article