Posted by: Rudramati January 21, 2014
मेरो विरानो नेपाल
Login in to Rate this Post:     2       ?         Liked by

महेश्वर पन्त
(source )

मैले नेपाल छोड्नु पर्ने नै थिएन । जति बढ्दै गएं त्यती नै पढ्दै गएं । गाउंका सारा स्कुल पढेर सकें । एक दिन कलेजकालागि खानेकुराको पोको बोकेर गाउंबाट टाढा दिन भरि हिडेर फेरि बस चढें र शहर आइपुगें । केहि चहल पहल, नयां ठाउं, ठुला अग्ला घर, मोटर बाटो, ठुला साना गाडी ट्यार ट्यार टुर टुर, जता ततै आवाज कोलाहल । थोरै समयको लागि मग्न भएं । संसारै भुलें । पृथ्वीको सबैभन्दा राम्रो ठाउं त्यही हो जस्तो लाग्यो । नयां साथी भाइहरु बनाएं ।

ति केही दिनमा समाप्त भए । फेरि गाउंको याद आयो । मनमा जुन नयां पन थियो बिस्तारै बिस्तारै घट्न थाल्यो । रमाइला आवाजहरु अब हल्ला लाग्न थाले । मान्छेको भिड कोलाहल, ब्यस्त मान्छेहरु स्वार्थी मेला जस्तो लाग्न थाले । गाउंको यादले सताउन थाल्यो ।

आफुले दौडेका ति फांटहरु, पौडेका खोलाहरु, साथिभाइहरु संगको जमघट, धुलो मैलो भएर खेतबारीमा लडिबुडी खेलेका ती दिनहरु, क्षितिजमा घाम अस्ताउने बेला सम्म साथि संगिनीहरुसंग  कोलाहल मच्याउदै उफ्रेका ती दिनहरु फेरि यो मन मस्तिस्कमा घुम्न थाले । दशैंका चर्खे र लिंगे पिङहरु, तिहारमा रात रात भर खेलिने भैलोहरु, फागुपुणिमाको रंगी बिरंगी रङहरुको छेपाछेप आंखा अगाडी घुम्न थाले । घरबाट भागेर बसेका ती रोदी घरहरु, रोदी सकेर विहानी पख विस्तारामा गरेका सुत्ने प्रयास, बिहानै आमाले उठाउंदा रातभरी घरमै सुतेको थिएं भन्ने देखाउन जबरजस्ती च्यातेका ति आंखा सम्झेर हास्न थालें ।

लामा ती कल्पनाका दुइ बर्ष ब्यतित भए । त्यतिले पनि पुगेन । उच्च शिक्षको कुरो चल्यो । म दंग भएं । फुर्तिले मेरा कांधहरु फुले, छाति चौडा भएजस्तो भयो । ग्ाउंघर इष्ट मित्र सबैले आर्शिवाद दिए । ”ठुलो मान्छे भएस, गाउको देशको सेवा गरेस । वाबु आमाले दुख गरेर तलाई पढन पठाएका छन । खोले, फापर, साग र सिस्नो खाएर भए पनि, रातलाई रात नभनेर ... दिनलाई दिन  नभनेर केहि बचाएर तँ घरको जेठो बाठो छोरालाई पढाएका छन । कहिल्यै ती आमा बुवालाई दुख नदिएस ।” मेरो थाप्लोमा एउटा सानो बोझ थपिएको भान भयो । गर्वले नाकका टोटा फुर्रर फुले ।

म फेरि पुरै जिम्मेवारी र महत्वाकांक्षा ले लादिएको सरिर बोकेर अझै ठुलो शहरमा आइपुगें, उच्च शिक्षा हासिल गर्न । फेरि नयां शहर । अझै ठुलो शहर । त्यो भन्दा पनि धेरै मान्छेहरुको भिड । अझै ठुला घरहरु । म फेरि एक पटक अचम्ममा परंे । संसारमा यस्तो पनि ठाउं रहेछ । मलाई अव चाहिं शत प्रतिशत लाग्यो यो त संसारको सब भन्दा ठुलो र राम्रो शहर हो ।

तिनै भविष्यका महत्वाकांक्षी सपनाहरुलाई संझेर साकार पार्ने मनमा अठोट गरेर आफ्नो प्यारो गाउं, आफ्ना आमा वुवा, भाइ बैनी, इष्ट मित्र, साथिभाइ  सबैलाई भुलेर केहि बर्षमा उच्च शिक्षा पनि हासिल भयो । 

एक प्रकारले सपना  नै पुरा भए जस्तो लाग्यो खुसिले गद गद हुदै गाउं पुगें । सबैलाई खुशी पारें । सबैको बधाइ पाएं । सबैले स्याबास भने । ”फर्केर आइस् अव गाउंको सेवा गर” । मैले केहि बुझ्न सकिन । कसरी गाउंको सेवा गरिन्छ जवकि गाउंमा उच्च शिक्षाको कदर गर्ने जागिर छैन । केहि दिन त्यसै भौंतारिएं । सबै साथि भाइ हुर्के, विवाह वारी भै परिवार सहित साना तिना काममा लागे । कति त बिदेश तिर जागिर खान लागे रे । म एक्लो भएं काम बिनाको मान्छे । म शिक्षित मान्छे । गांउले मलाई मेरो नाम अनुसारको काम दिन सकेन । बुवा आमाको कमाईमा कति दिन बाच्नु । फेरि मैले पढदा लागेको ऋण पनि तिर्नु छ । मैले शहरै गएर जागिर खाने प्रस्ताब  गरें । घरबाट स्विकृति आयो ।

निराश अनुहार, केहि खोजि रहेका आंखा, थाके जस्तो शरीर लिएर फेरि शहर पसें । सानातिना अस्थायी जागिर जीबिकोपार्जनको ब्यावस्था बाहेका शहरले पनि केहि दिन सकेन । आमा बुवा, भाइ बैनीको रेखदेख र पर्ढाई, आफुले पढदाको ऋण तिर्न पनि सक्ने सम्भाबना रहेन । त्यसै भौतारिदै हरेक दिन नयां केहि पाउने आस बोकेर एक ठाउंबाट अर्को ठांउ, एकटा मन्त्रालयबाट अर्को मन्त्रालय धाउन थाले । तर हातमा सुन्य मात्र पर्‍यो । कहिले काहीं त्यसै एक्लै गुन गु्नाउथे ”केहि नहुने भए यतिका धेरै पढेर के काम, किन पढें मैले” । सरकार पनि यस विषमा सचेत छैन किन ? आफैं प्रश्न गर्छु तर उत्तर दिने कोही छैन ।

संसार कै चलन चल्ती अनुसार जीवन चलाउनु पर्ने रहेछ । विवाह भयो । मगि विवाह । प्रेम गर्ने फुर्सद पनि भएन । कहिल्यै मनग्य पैसा पकेटमा भएन, घुम्नलाई माया प्रेम गर्नलाई ।    विवाहपछि सन्तानको आर्शिवाद पाएँ । त्यो पनि पुरा भयो । तर आर्थिक उन्नती भएन । स्वास्निको कच-कच, आमा-बुवा भाइ-बैनिको आश, गाउंलेको आर्शिवाद कहिल्यै पुरा गर्न सकिन । कति नै प्रयास गर्दा पनि पैसाले मलाई साथ दिएन । आफु भन्दा पछिका साथि भाइहरु मोटर साइकल, गाडि, घर, घन सम्पत्ती सुख सयलका भोगि भए । रिस र  इर्ष्याले जल्न थाले । तर चोर्न सकिन । कसैलाई ठग्न सकिन । घुस खाने ठाउंमा कहिल्यै परिएन ।

साह्रै भए पछि मान्छे मन्दिरमा ढोग्न पुग्छन भने जस्तै मनमा कत्ती विश्वास नहुंदा पनि स्वास्नीको पछि लागेर हात हेराउन, ज्योतिस कहां पुगे । अरु के के भन्यो मनमा कुनै वाक्याले घर गरेन । तर ”नेपाल त्रि्रो कर्म घर हैन, यो त मात्र जन्म घर, तिमी विदेश जान्छौ, विदेश नै ति म्रो कर्म घर हो । थुप्रो पैशा कमाउने योग छ ।” मेरि स्वास्नीको अनुहारमा हेरे मैले । चहकिलो मुस्कान थियो । मानौ यतिखेर नै उस्ले ठुलो बिजय हासिल गरी । म तिर हेरि हास्दै भनि ”देख्नु् भो त” । कत्तिन उसैले जान्या जस्तो । हरेक नेपाली युवा जो हात हेराउन आउछन तिनीहरु दुखमा हुन्छन र हरेकलाई ति ज्योतिषले एउटै कुरा भन्छन् । किनकी नेपालमा बसेर केहि गर्ने सम्भावना धैरै कम छ । धेरै बाठा हुन्छन ति ज्योतिषहरु ।

मेरो मनको कुनै छेउमा सानो टुकि बलेको भान भयो मलाई, जब म त्यो ज्योतिषकोमा बाट फर्कें । रात भर सुत्न सकिन । यता उता कोल्टे फेरेर रात काटें । जन्मेको थलो, आफ्नो बाल्यकाल, गाउमा भए घटेका रमाइला नरमाइला घटना, आमा बुवा, आफ्नो खेतिपाती, पाखा पखेरा, खोला नाला, साथि संगिनी, सबै यो मानसपटलमा एक पटक प्रवेश गरे निस्कदै गए । अन्तरआत्मामा पनि भित्रिए क्यारे आंशुको एक थोपा हातमा टप्केर सिरानीमा पुग्यो । मुन्टो उठाएर ति स्याना अबोध छोरा छोरीलाई हेरें । कसैले सम्पूर्ण सुरक्षा दिए जस्तै निर्धक्क सुतेका । मलाई मारे पनि पाले पनि तिमी नै हौ । म यो जिन्दगी त के अर्को सात जिन्दगी भए पनि तिमी नै मेरो सम्पूर्ण भन्दै आफ्नो एउटा हात मेरो छातिमा फालेर सुडोल शरीरलाई लमतन्न पार्दै जीबनकै सबै भन्दा मिठो न्रि्रामा आजै परे जस्तरी सुतेकी ती मेरी संगिनीलाई पुलुक्क हेरें । फेरि निदाउने प्रयासतिर लागें ।
 
महत्वाकांक्षा र जिम्मेवारीको पोको ठुलो हुंदै जांदा मान्छेमा हुने समान्य प्रकृया मै छु म । म मात्रै त्यस्तो बहादुर हैन जस्ले आफ्ना बाल बच्चा पाल्न आफ्नो मातृभुमीमा नसकेर विदेशको शरण लिन पुगेको होस् । सवैले गर्वका साथ यो सत्यतालाई अंगालेकै हुन् । आफुलाई संसारकै भाग्यामानी पुरुष संझेकै हुन् । बाटोमा कसैले आफुलाई उछिन्दाएं विदेशबाट कैले ? ”... तंपाई त त्यती हिड्न सक्नु हुन्न होला ....  विस्तारै आउदै गर्नुस है” भन्दा जुंगामा ताउ दिदै हस नभन्ने को चै नेपाली छ र । म पनि तिनै भित्रको एउटा बहादुर गोर्खाली न परें । आखिर मेरो पनि विदेश जाने ढ्याङ्ग्रो पिटियो । गाउंमा, शहरमा सबैजनालाई थाहा भयो । ससुराली, मावली, बुढा मावली, इष्ट मित्र, फुपू फुपाजु सबैबाट बधाई पाइयो ।  सबै दंग भए । कसैले मेरो आसय सोधेन । मलाई कस्तो लागेको छ । म कति खुशी छु ।

ससुराली, घर सबैतिरबाट ऋण धन गरी पैसा जम्मा गरेर टिकट र खर्चको ब्यावस्था भयो । सासू ससुरा आइ पुगे- खुसी मुद्रामा । छोरी संग गफ दिन थाले । बहादुर ज्वाइंको उदांगै बखान गरे । मेरी स्वास्नी पनि दंग । घरमा पनि ठुलै चाढ आए जस्तो । बुवा-आमा आइपुगे । मलिनो झिनो अनुहार लाएर । हाम्रो सरिरको टुक्रा जेठो छोरा । कहां बस्ला ? के खाला ? दुख पाउलाकी ? बिरामि होला की ? यसलाई धेरै चिसोले दुख दिन्छ, खोक्छ । आदि आदि । भाइ-बैनी आइपुगे । दाजुको सहयोग सल्लाह पाउने समयमा दाजु नै विदेश जादै छ । बुवा आमाको रेखदेख,  हाम्रो पढाइको खर्च पानी समाल्ने बेलामा । जस्ता अभिब्यक्ती सकारात्मक नकारात्मक प्रश्नहरु र उत्तरहरुको दोधारे अनुहार लिएर भाइ-बैनी आएका थिए ।

बिहानै बिदा-वादीकालागि टिकाटाला तयार भइसकेको थियो । बुवाले मन्दिर ढोग्ने र तिन पुस्ताको फोटो खिच्ने प्रस्ताव गर्नुभयो । मैले प्रस्ताव स्वीकार गरे । म, मेरो छोरा र बुवाको ठुलो पोजमा फोटा खिच्यौं । आमाले विदाइका अक्षता लगाई दिनु भो । मेरी आमाका आंखाबाट बगेका बलिन्धारा आंशु  संगै टिका थापें । त्यो कांपेको स्वरबाट निस्केका अष्पस्ट शब्दमा मैले बुझेका दुइ सब्द ”हामि बुढा बुढीलाई नर्बिसेस, देशको माया नमारेस (हामी रहुम नरहुम)” । दुबै शब्दले कलेजो सम्म छोयो । भक्कानो छोडेर रुन मन लाग्यो । तर आफ्नो बहादुर पुस्तालाई विर्शन सकिन । जुगाको महत्वलाई कम गर्न पनि सकिन । कठोर बन्न बाध्य भएं । स्वास्नीको मलिन अनुहार । टाढा उभिएर हेरेका भाइ-बैनीको सुक्क सुक्क । रुञ्चे आवाजमा आंखा भरि आंसु जमाउदै आमालाई सम्झाएका बुवाका ती स्वरहरुले म पनि धेरै बेर बच्न सकिन । बुवा आमालाई खुट्टामा बिदायी ढोग गर्दा आंसुले भिजाएको थिएं । यो भावविव्हल स्थिति एक पटक मात्र हैन एयरपोर्टमा पनि आयो । आमा टाढा बसेर रोइरहनु भयो । टाढाबाट मलाई अन्तिम नजरले हेर्नुभयो । टाढैबाट आर्शिवाद दिनुभयो । बुवाले फोन गर्नु, स्वास्थ्यको ख्याल गर्नु भन्नु भयो । छोरा छोरीलाई काखमा लिएं । दुबैले वाई वाई बावा भने । भाइ-बैनीलाई सुम्सुम्याएं । प्रेयसीलाई आंखा लगाएं । कुममा ढाप लगाएं । उनका नसालु आंखाबाट झरेका ति आंशुले मुटुलाई ति ब्र बनायो । अंगालोमा बेरेर रुन मन लाग्यो तर मिलेन । ”पैसा कमाएर चांढै आउनु है” भनि मैले हुन्छ भने । अन्तिममा टाढा उभिएकी मेरी आमालाई रुञ्चे स्वरमा सम्बोधन गरें ”आमा जान्छु है” । आमा केबल रुनु भयो मात्र । केहि बोल्न सक्नु भएन । म अगाडि बढें । माथि जहाज बाट धमिलो देखिने मातृभूमिलाई नियालेर हेर्ने प्रयास गरें । एकै छिनमा सारा संसार ओझेल पर्‍यो ।
क्रमश. . . . .

Read Full Discussion Thread for this article