Posted by: Rahuldai January 13, 2014
नयाँ नेपालको यात्रा
Login in to Rate this Post:     3       ?         Liked by

नयाँ नेपालको यात्रा भाग ४

फेसबूक र फेस टू फेस

धेरै दिन बेरोजगार भएकोले होला फेसबुके नशाले गाँजेको | नेपाल भ्रमणको केही समय अघि देखि नै फेसबुकमा/च्याटमा कुरा भएका पुराना तथा नयाँ मित्रहरुलाई छोटो  नेपाल भ्रमणको जानकारी गराएको थिएँ | हामीले सोचेको नेपाल भन्दा अहिलेको नेपाल व्यस्त र बिजी दुवै छन् | ब्यस्त यसमानेमा कि साँच्चै नै काममा र दाम मा व्यस्त छन् कोइ कोइ भने , कोइ कोइ चाहि बिजी मात्र | 

“ दाई भेट्नु पर्छ है, नेपालमा आउनु भए पछी फोन नम्बर दिनुस, रमाइलो गर्नु पर्छ “

“ भाइ, नेपाल पुग्ने बित्तिकै फोन गर्नु,  साँझ रंगिन बनाउनु पर्छ “

“ धेरै बर्ष पछी संगै पढेका साथीहरुको गेट टुगेदर गर्नु पर्छ, टाइम मिलाउ है “

हस प्रभु भन्दै नेपाल बसाइको साँझहरुको मन मनै भागबण्डा गर्न थालेको थिएँ |  गृहमन्त्रीलाई खुशी भएर सुनाउँदा – “ती सब भन्ने कुरा हुन् है , बुरुक्क उफ्रिनु पर्दैन” भन्दै थचारेकी थिइन् |


नेपाल पुगेकै दिन एउटा सिमकार्डको बन्दोबस्त गरी फेसबुकमा “ ९८१८ -*६*६ *५ “ सार्बजनिक गरी दिएँ | लाटो हिसाबले फोनको घन्टी बजेको बजेई हुनु पर्ने , एउटा नि कल आउंदैन बाइ .... घरीघरी फोन हेर्छु , चार्ज पनि छ , सिग्नल पनि | धैर्यको बाँध टुट्यो – आफै पुराना साथीहरुलाई नम्बर खोज्दै फोन लागाउन थालें |

“कहिले आइस, कहिले जाने “  “ भेट्नु पर्छ है , अहिले बिजी छु , पछी कल गर्छु | संभवत एन्सेल भन्नेको सेल फोन लिएर होला, गर्ने नि त्राहिमाम त्राहिमाम , उठाउने नि त्राहिमाम | ट्याक्सीको मिटर घुमे जस्तो फोनको मिटर घुम्ने रहेछ | यसमानेमा गल्तीले मिस्टेक गरेछु , एन्सेल लिएर |

 

केही आश्चर्यजनक र सुखद कल न आएको हैन, जस्तो पोखराबाट साझा डट कम का पुराना मित्र डा. गौतमजी ले फोन गर्नु भयो | बडा खुशी लाग्यो | जजसले भेट्नु पर्छ है , फोन नम्बर दिनुस भनेर फेसबूक भरि पोत्या थिए, ती प्राय अन लाइन देखिन्थे तर फोन नम्बर देखेनन् वा देख्न चाहेनन् , थाहा भएन |


पर्सि पल्ट फेरी राखें “............. नम्बरमा घण्टा बजाई पुण्य कमाउनु होला” भनेर  | त्यसो त पारिवारिक र केही प्रशासनिक काम लिएर आएकोले दिनमा अड्डा अफिस र साँझ पारिवारिक र मित्रगणको भेलामा व्यस्त नै थिएँ | तै पनि केहीलाई भेट्ने रहर थियो, केही भेट्न आओस भन्ने चाहना थियो | आफुले भेट्न चाहेको, मनले खाएको अग्रजहरुलाई आफैले सम्पर्क गरी भेट्न गएँ | पुराना कबि, गजलकार – रबि प्रान्जल , बलराम बन्जरा संगको भेटघाट र भलाकुसारीलाई शब्दमा उतार्न सकिन्न | उच्चास्तरीय लेखकहरुको सादा ब्यतित्व | नयाँ जोगीहरुले न त सम्पर्क गरे , न मैले नि गरें |


तर ३१ दिन बसुन्जेल न त भेट्नु पर्छ भन्नेहरुको फोन आयो न त भेट्न नै  | गेट टुगेदर गर्नु पर्छ , म अर्गनाइज गर्छु भन्नेहरु पनि नेपथ्य मै बिलाए |  फेसबूक्मा अनेक तर्कना गरेर न थाक्ने प्राय मित्रहरुले फेस टू फेस , फेस गर्न किन हिच्किचाएको होला, रि-सोचको बिषय नै बनेको छ | त्यसैले मैले फेसबुक मै लेखें “ यसपाली नेपालि भ्रमणको सारांश – कोइ आफ्ना पराइ देखें , कोइ पराइ आफ्ना भेटें |

साझा बाटै चिनजान भएको आशुजीले एउटा भब्य पार्टी आयोजना गर्नु अर्को सुखद साँझ रह्यो | इलाहाबादका मित्रहरुले आश्चर्यजनक पार्टी र उल्लेख्य उपस्थितिले आल्हादित बनायो नै | |  फेसबूके साथीहरु भन्दा आफ्ना अनि पुराना साथीहरुको फोन भने आइरह्यो |

साझाका हालका  जल्दाबल्दा मित्रहरु संगको भेटघाट बारे अर्को इपिसोडमा बर्णन गर्ने नै छु |

”शनिबार के छ ? सांझ यसो मेरो घर आउनु नि” सबको आग्रह यहि हुन्थ्यो |  ४ शनिबार थियो म संग, कति जनालाई शनिबारे साँझ बाडुं म ??

“शनिबार भ्याउँदिन, अर्को ठाउँमा निम्तो छ “

“एह म भन्दा ठुलो अर्को मान्छे भे छ हैन, अम्रिकाबाट फर्के पछी मान्छे चेन्ज भए छ , ठुलो मान्छे भए छ ठिकै छ” |

ए बाबा , एक आग्रह स्वीकार गरिसके पछीको बाध्यता न बुझेका हुन् कि आफ्नो रवाफ देखाएका, एउटा पेटलाई दलीय भागबण्डा गर्न सकिन्न, त्यो पनि पुष महिनाको जाडो याम मा |

धेरै संग कुरा भो, सबको एकै स्वर थियो, देश खत्तम भो | कसै कसैले चाहि तिमीहरु जस्तो मान्छे बिदेशमा बस्ने अनि देश खत्तम न भए के हुन्छ भनेर घुर्की सुनाए | भन्नाले देश खत्तम पार्न ती महाशयको हात खुट्टा रहेछ नै |

विदेशमा बस्ने,  मोज गर्ने  अनि देशको बारेमा चिन्ता लिएको ढोंग गर्ने भनेर नि खाइयो मनग्य  सम्बाद | धुलो खाने हामी , अँध्यारो सहने हामी, महंगी साट्ने हामी – तिमीलाई के को चिन्ता भन्दै हकार्ने नि आए |

तर धेरैको भित्री आशय चाहि .... अमेरिका जान पाए हुन्थ्यो झल्किन्थ्यो... भित्र भित्र | जसले अनेक पल्ट असफल प्रयास गरे वा डिभी भर्दा भर्दा आजित भए तिनले भने  भन्नु न भन्नु सुनाए ..........” अमिलो अंगुरको झुसिलो डकार “ खोके |

मोरल अफ दी इपिसोड “ फेसबूके गफ मा बिश्वास गरे झ्याल धोका सब पाइन्छ “

क्रमश :

 

Read Full Discussion Thread for this article