Posted by: _____ November 26, 2013
ताम्सालिङमा डम्फू बजेन, खसको ढाल तलबार काम लागेन
Login in to Rate this Post:     0       ?        

ताम्सालिङमा डम्फू बजेन, खसको ढाल तलबार काम लागेन

धरौटी जोगाउन सकेनन् जातीय पार्टीका उमेद्वारले

२०७० मंसिर ११ गते १४:५३ मा प्रकाशित

ज्ञानेन्द्र खड्का

११ मंसिर, काठमाडौं । च्याउसरि खुलेर चुनावी प्रतिस्पर्धामा उत्रेका जातीय पार्टीहरुले मंसिर ४ को चुनावी परिणामबाट आफ्नो लाजसमेत ढाक्न सकेनन् । एकल जातीय पहिचान र अग्राधिकारको नारा बोकेर चुनावी मैदानमा उत्रेकादेखि संघीयताको विपक्षमा रहेका दलका उम्मेदवारहरुले समेत यसपालि धरौटी जोगाउन सकेनन् ।

जातीय नारा उठाएर भोट झार्ने दाउमा चुनावी ढडिया थापेका क्षेत्री बाहुन, राई, लिम्बू तथा अन्य जनजातिका नाममा खोलिएका पार्टीले योपटक नराम्ररी पछारिनुपरेको छ ।

ताम्सालिङमा डम्फुलाई झरेन भोट

तामाङ समुदायको बाक्लो बसोबास रहेको ताम्सालिङ क्षेत्रमा जातीय पार्टी प्रभावहीन रहे । तामाङ समुदायको प्रमुख बाजा डम्फुलाई समेत तामाङहरुले नै पत्याएनन् । तामाङ समुदायको बाक्लो बसोबास रहेको सिन्धुपाल्चोकमा सबै जातीय पार्टीका उम्मेदवारले लाज ढाक्न सकेनन् ।

तामाङ समुदायको भोट झर्ने आशमा तामाङ जातिकै उम्मेदवार खडा गरेको संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपालले २ सय भोट पनि ल्याउन सकेन ।

डम्फु चुनाव चिन्ह राखेर चुनावी मैदानमा उत्रेको संघीय गणतान्त्रिक समाजवादी पार्टीको जस्तै बेहाल अशोक राईको संघीय समाजवादीको पनि भयो । उसका तीनवटै क्षेत्रका उम्मेदवारको जम्मा भोट १ हजार पनि पुगेन ।

तामाङ समुदायको बाहुल्यता रहेको हिमाली जिल्ला रसुवामा पनि जातीय पार्टीको अवस्था नाजुक रहयो । त्यहाँ पनि जातीय पार्टीले २ सय भन्दा बढी ल्याएनन् । डम्फु चुनाव चिन्ह पाएको संघीय गणतान्त्रिक नेपाल पार्टीले जम्मा २ सय ६ मत मात्र पायो । रसुवामा कांग्रेस, एमाले र एमाओवादीबाहेक अरु सबै पार्टीको जमानत जफत भयो ।

नुवाकोटमा ३ वटै क्षेत्रमा तामाङ समुदायको भोट तान्न खोलिएका स्थानीय र अन्य जातीय पार्टीले धरौटी गुमाउनुपरेको हो । त्यसैगरी अधिकाशं तामाङ जातिका उम्मेदवार चुनावी मैदानमा रहेको काभ्रेमा पनि जातीय पार्टीलाई मतदाताले बहिष्कार गरिदिएका छन् । काभ्रेका ४ वटै क्षेत्रमा जातीय पार्टीले लाज जोगाउन सकेनन् ।

लिम्बूवान र किरातमा जातीय पार्टीको बेहाल

एमालेबाट छुट्टएिका नेताहरुले खोलेको संघीय समाजवादी पार्टी नेपाललाई यो चुनावमा ठूला दलहरुको प्रतिस्पर्धीका रुपमा हेरिएको थियो । तर, सो पार्टीका उमेदवारहरुले आदिवासी जनजातिहरुको बाहुल्यता भएकै क्षेत्रमा पनि धरौटी गुमाउन पुगेका छन् ।

किरात राई र लिम्बू समुदायको बाहुल्यता रहेको इलाममा पनि जातीय पार्टीले छाप छोड्न सकेनन् । संघीय समाजवादीबाट इलाम १ मा उठ्नुभएका देवेन्द्रकुमार राईले धरौटी जोगाउन सकेपनि मतपरिणाम भने निराशाजनक रह्यो । इलाममा उठेका अधिकांश जातीय पार्टीका उम्मेदवारहरुले धरौटी जोगाउने मत ल्याएनन् । इलाम १ मा उठेका मंगोल नेशनल अर्गनाइजेशन, लिम्बूवान मुक्ति मोर्चा, खस समावेशी पार्टी र संघीय लिम्बूवान राज्य परिषद्का उम्मेद्वारले भोटको आँकडा तीन अंकमा लान नसकी धरौटी जफत भयो ।

इलाम २ मा उठेर ठूला पार्टीलाई चुनौति दिने ठानिएका संघीय समाजवादीका उमेदवार विनोदकुमार नेम्वाङसहित सबै जातीय पार्टीले लाज ढाक्न सकेनन् । त्यसैगरी क्षेत्र नं. ३ मा पनि जातीय पार्टीको उठीबास भयो । त्यहाँ पनि संघीय समाजवादीसहितका जातीय पार्टीले धरौटी फिर्ता लिन नसकेका हुन् ।

पाँचथर १ र २, ताप्लेजुङ १ र २ मा पनि संघीय समाजवादीसहितका सबै जातीय पार्टीले धरौटी जोगाउन सकेनन् । ताप्लेजुङमा सबै जातीय पार्टीका उम्मेदवारलाई मतदाताले नपात्याउँदा धरौटी गुमाउन पुगे ।

संघीय समाजवादीले जित्ने दाबी गरेको भोजपुर क्षेत्र नं. १ मा उमेदवार बन्नुभएका सो पार्टीका उमेवदार अजम्बर काङमाङ राईको धरौटी जोगिए पनि सदर मतको १० प्रतिशत भन्दा कम मत आए पछि क्षेत्र नं. २ का उमेदवार आशकुमार राईको धरौटी जफत भएको छ । भोजपुरमा किरात राईहरुको करिव ३३ प्रतिशत बसोबास रहेको छ ।

किरात राईहरुले भोट हाल्ने अपेक्षासहित संघीय समाजवादीले जित्ने दावी गरेका भोजपुरसहितका संखुवासभा, धनकुटा, ओखलढुंगामा समेत उसका उमेदवारले लाज जोगाउन सकेनन् । संखुवासभा १ का नारदकुमार राई, क्षेत्र नं. २ का दीपककुमार याख्खा राईको पनि धरौटी जोगिएन । त्यसैगरी धनकुटा १ मा संघीय समाजवादीका वरिष्ठ उपाध्यक्ष रकम चेम्जोङले धरौटी जोगाउन सक्नुभयो भने क्षेत्र २ का उम्मदेवार राजकुमार राईको धरौटी जफत भयो । संघीय समाजवादीले चुनाव जित्ने दावी गरेको तेह्रथुममा पनि उसका उमेदवार कपिलदेव सिंघकले पनि १० प्रतिशतभन्दा कम मत ल्याएर धरौटी गुमाउनुपर्‍यो ।

अशोक राईकै गृहजिल्लामा बिजोग

संघीय समाजवादीका केन्द्रीय अध्यक्ष अशोककुमार राईको गृहजिल्ला खोटाङमा पनि संघीय समाजवादीका उमेद्वारहरुले लाज जोगाउन सकेनन् । क्षेत्र नं. १ देवराज राई र क्षेत्र नं. २ का सनबहादुर राई दुवैको धरौटी जफत भयो । किरात राई समुदायको करिव ३५ प्रतिशत बसोबास रहेको खोटाङमा पनि संघीयले छाप छोड्न सकेन ।

संघीय समाजवादीबाट सुनसरीमा उम्मेद्वारी दिएका ६ जनाकै जमानत जफत भएको छ । क्षेत्र १ नं. बाट चुनाव जित्ने दावी गरिएका धरान नगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको समेत जमानत जफत भएको छ । समाजवादीका राईले सदरमतको १० प्रतिशत भन्दा कम ल्याएपछि उहाँको जमानत जफत भएको हो ।

समाजवादीका क्षेत्र नं. दुईका तेजकुमार आले, क्षेत्र नं. ३ का अशोक विश्वास, क्षेत्र नं. ४ का भिखानीदेवी राम, क्षेत्र नं. ५ का देवनाथप्रसाद यादव र र क्षेत्र नं. ६ का लालबहादुर प्रधानको पनि जमानत जफत भएको हो ।

खम्बूवान राज्यको माग गर्दै खोटाङ, सुनसरी, उदयपुर र सुनसरीसहितका जिल्लामा सकृय रहेको अर्को जातीय संगठन खम्बुवान राष्ट्रिय मोर्चाका उम्मेदवारले त हजार भोट पनि पाउन सकेनन् । धनकुटा क्षेत्र नं. १ का खरामोका उमेदवार नेपालधन राईले ५ सय ९९ मत पाउनुभयो भने २ का सुवास राईले २ सय ४० मत पाउनुभयो । त्यसैगरी भोजपुर क्षेत्र नंं. १ र २ का खरामोका उमेदवारहरु अशोककुमार राई र राजकुमार हाङखिमले ५ सय मत पनि पाउन सक्नुभएन ।

किरात राईहरुमाझ पहिलो पार्टी बताइरहेको खम्बुवानले उमेदवारी दिएको सबै जिल्लामा उसका उमेदावरले भोटको आँकडालाई तीन अंकमा पुर्‍याउन नसकेर धरौटी गुमाउनुपर्‍यो । यो पटकको चुनावमा एकल जातीय संघीयताको नारा बोकेर मतदातासम्म पुगेका पार्टीले नराम्ररी हार भोग्नुपर्‍यो ।

खसक्षेत्रीको ढाल तरवारले काम गरेन

मध्यपश्चिम र सुदुरपश्चिमी पहाडमा बाक्लो बसोबास रहेका खसक्षेत्री समुदायको भोट तान्न खोलिएको खस समावेशी राष्ट्रिय पार्टीलाई खस क्षेत्री मतदाताले नै पत्याएनन् । देशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार उठाए पनि केही व्यक्तिले फाइदा लिन खोजेपछि खस समावेशी पार्टीले पनि अन्य जातीय पार्टीले जस्तै लाज जोगाउन सकेन ।

युवराज कार्कीले नेतृत्व गरेको खस समावेशी पार्टीले चुनावअघि सुदुरपश्चिमका पहाडी जिल्लामा केही सिट जित्ने दावी गर्दै उम्मेदवार उठाएको थियो । खस समावेशी पार्टीले जित्ने दावी गरेको क्षेत्रमा पनि धरौटी जोगाउन सकेन ।

ठूला दललाई चुनौति दिने भनिएको बझाङ १ मा सो पार्टीका उम्मेदवार प्रेमबहादुर खत्रीले जम्मा ७ सय ११ मत मात्र पाउनुभयो । बझाङ २ मा सो पार्टीका उम्मेदवार भिमबहादुर थापाले १ सय ८६ मतमात्र ल्याएर धरौटी गुमाउनुभयो ।

खस क्षेत्रीहरुको बाक्लो बसोबास रहेका अन्य जिल्लाहरु हुम्ला र बाजुरासहितका जिल्ल्ामा खस समावेशी पार्टीका उम्मेदवारहरुले २ सय भोट पनि ल्याउन सकेनन् । पूर्वी पहाडमा पनि उम्मेदवारी दिएका खस समावेशीका उम्मेदवाहरुले एउटा क्षेत्रबाट २ सय भोट पनि ल्याउन सकेको पाइएन ।

अखण्ड सुदुरपश्चिमलाई पनि लोप्पा

यसपटकको चुनावमा मतदाताहरुले जातीय संघीयताका पक्षधरहरुलाई मात्रै नभएर संघीयताको खुलेर विरोध गर्नेहरु अर्का अतिवादीहरुलाई पनि मन पराएनन् । संघीयताको खुलेर विरोध गर्ने राष्ट्रिय जनमोर्चालाई समेत मतदाताले खासै रुचाएको देखिएन । सुदुरपश्चिमबाट उम्रेको अखण्ड पार्टीले पनि हल्ला गरेजस्तो मत ल्याएन ।

अखण्ड सुदुरपश्चिमका लागि एक वर्षअघि भएको नागरिक आन्दोलनपछि त्यसबाट फाइदा उठाउन खोलिएको अखण्ड सुदुरपश्चिम पार्टीलाई पनि योपटक मतदाताले बहिष्कार गरेका छन् ।

संघीयतामा जाँदा सुदुरपश्चिमलाई टुक्राउन नहुने आन्दोलन चलेपछि त्यसबाट फाइदा लिन खोलिएको सो पार्टीका उम्मदेवारले धरौटी जोगाउन त परै जाओस् एउटा क्षेत्रमा भोट संख्या ३ अंकको आँकडा पार गर्न सकेनन् ।

अखण्ड सुुदुरपश्चिमबाट कन्चपुरमा १ मा उठ्नुभएका श्यामराज भट्टको भागमा जम्मा ३६ मत मात्र पर्‍यो । त्यसैगरी २ की अम्बादत्त जोशीले ७३ भोट ल्याउनुभयो । क्षेत्र नं. ३ का उत्तरदेव भट्टले १ सय ७२ मत क्षेत्र नं. ४ का पुष्करराज जोशीले २ सय ३० मत मात्र ल्याउनुभयो । त्यसैगरी कैलाली ४ का उम्मेदवार दिनेशराज भट्टले ६ मत मात्र ल्याउनुभयो । अखण्ड सुदुरपश्चिम पार्टीले उठाएका सबै क्षेत्रका उम्मेदवारलाई मतदाताले अन्य पार्टीको भन्दा कम मत दिएर उनीहरुको एजेन्डा अस्वीकृत गरिदिए ।

- See more at: http://www.onlinekhabar.com/2013/11/139320/#sthash.zfPOI8WK.dpuf
Read Full Discussion Thread for this article