Posted by: ashishme October 4, 2013
Login in to Rate this Post:
3
?
Liked by
अंग्रेजी बोल्न नआएर धेरैले उडाएका सुदर्शन सुवेदीजीको असाध्यै राम्रो पढ्नै पर्ने जवाफ:
पत्रकारिताको धर्म यही हो ? अमेरिकामा यस्तै हुन्छ कि कुन्नि! मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन ! मैले अंग्रेजी बोल्न जान्नु र नजान्नु प्रसंगमा संसारभर बस्ने नेपाली दाजु भाइ दिदी बहिनीहरुले राखेको धारणा पढ्दै गर्दा मन बुझाउन पुरानो याद ताजा गर्न मेरो फोटोपत्र पल्टाएँ। मलाई संयुक्त राष्ट्र संघ पुर्याउन योगदान गर्ने यी समुदाय मेरो प्रेरणाका पात्रहरु, जहां घर-घरमा चन्दा उठाएर यी भाइबहिनी पाल्ने पढाउने कार्य भएको छ। मेरो जीवन १४ वर्षको उमेरदेखि यस्तै कार्यमा बित्यो। अंग्रेजी फरर बोल्न र पढ्न कुनै आवश्यक्ता नै महसुस भएन मलाई। किनकि मैले कार्य गर्ने समुदायमा त नेपाली अनि थारु, मैथिली, नेवार, भोजपुरी, राई, लेप्चा, राउटे, जिरेललगायत थुप्रै स्थानीय भाषा बोलिन्छ। क्याम्पस जानु त मेरा लागि केवल भर्नाको दिन र परीक्षा दिने दिनमा मात्र थियो। बाँकी समय समुदायकै सेवामा। नेपालका सबैभन्दा गरिब अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा कार्य गर्दा अंग्रेजी बोल्ने जरुरत कहिल्यै परेन मलाई। त्यो आवश्यकता पनि भएन। मानव अधिकार पुरस्कार, गैर आवासीय नेपालीहरुबाट परिवर्तनका सम्वाहक पुरस्कार, अशोका फेलोसिप आदि आदि पाउँदा पनि अंग्रेजी बोल्ने सूचक पक्कै थिएन होला, खोई कसैले यस विषयमा प्रश्न उठाएन। जीवनमा मैले धेरै सिक्नुछ, धेरै गर्नुछ, यो देशको लागि। मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन। भाषा भनेको संचार हो र संचार जसरी पनि गर्न सकिन्छ। म अंग्रेजी बोल्ने सीप भन्दा पनि कसरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सीप सिक्न समय खर्चिन चाहन्छु। यस विषयमा अरु मलाई केही भन्नु छैन। मात्र फ्यउरो समाचार च्यानलले मलाई गिज्यायो। प्रश्न सरल ढंगबाट सोधिन्छ कि, अन्तर्वार्ता सहज तरिकाबाट लिइन्छ कि बाटोमा हिँडेको मानिसलाई जबर्जस्ती बोलाएर आफै अशिष्ट रुपमा सोधिन्छ? पत्रकारिताको धर्म यही हो ? अमेरिकामा यस्तै हुन्छ कि कुन्नि, चार दिनमात्र बसेर फर्कने मलाई यस विषयमा अनुभव भएन। (सुदर्शनजीको फेसबुकबाट)