Posted by: _____ September 26, 2013
आयल निगमका कार्यकारी निर्देशकसहित ४ उच्च अधिकारी समातिए
Login in to Rate this Post:     0       ?        
 

दबाबमा निर्णय फिर्ता गराएर बोनस वितरण

 
(1 Vote)
 
 
 
 

काठमाडौ, आश्विन १० - कर्मचारी संगठनको दबाबमा आयल निगम सञ्चालक समितिको निर्णय फिर्ता गराएर बोनस वितरण गरेको खुलेको छ ।

२५ अर्ब रुपैयाँ सञ्चित घाटामा रहेको निगमले आर्थिक वर्ष २०६५/६६ मा ३ अर्ब १९ करोड रुपैयाँ नाफा गरेपछि सञ्चालक समितिले ६ प्रतिशत बोनस बाँड्ने निर्णय गरेको थियो । पछि अख्तियारले 'घाटामा गएका संस्थानलाई बोनस नबाँड्न' निर्देशन दिएलगत्तै निगम सञ्चालक समितिले पनि आफ्नो निर्णय उल्टाएको थियो । समितिको यो निर्णयविरुद्ध निगमका विभिन्न कर्मचारी संगठनले आन्दोलन गरेका थिए । त्यस बेला उच्च पदस्थ कर्मचारीलाई थुन्ने कामसमेत गरेपछि सञ्चालक समितिले बोनस नबाँड्ने निर्णय उल्टाएको थियो ।

निगम स्रोत अनुसार अख्तियारले बोनस वितरणमा रोक लगाएपछि कर्मचारी संगठनहरूले १३ बुँदे माग राखी आन्दोलन गरेका थिए । त्यसपछि २०६७ साउन २० मा समितिले कर्मचारीका माग अनुमोदन गर्नुका साथै बोनस रोक्ने निर्णयसमेत फिर्ता लिएको थियो । कर्मचारी मागको छैटौं बुँदामा 'सञ्चालक समितिको २०६७ साउन ५ को निर्णय फिर्ता लिने' उल्लेख छ । यसको अर्थ बोनस वितरण गर्ने भन्ने भएको कर्मचारीको दाबी छ ।

समितिले यस्तो निर्णय गरेपछि निगमले बोनस वितरण गरेको थिएन । कर्मचारी संगठनले २०६९ माघमा फेरि बोनसका लागि आन्दोलन चर्काएका थिए । त्यसबेला निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवाललाई राति ८ बजेसम्म कार्यकक्षमा थुनेका थिए । थुनामुक्त हुन अग्रवालले 'समितिको निर्णय अनुसार काम गर्ने' सहमति गरेका थिए । त्यसलगत्तै उनले बोनस बाँडेका थिए ।

निगमले सुटुक्क बोनस बाँडेको समाचार प्रकाशित भएपछि अख्तियारले निमित्त कार्यकारी अग्रवाल लगायत चार जनालाई मंगलबार गिरफ्तार गरेको छ । उनीहरूमाथि अनधिकृत रूपमा बोनस वितरण गरेको आरोप छ ।

यता कर्मचारी संगठनहरूले बुधबार संयुक्त पत्रकार सम्मलेन गरी समितिको निर्णयअनुसारै बोनस खाएको दाबी गरेका छन् ।

'अख्तियारले हामीलाई बोनस वितरण नगर्न निर्देशन दिएको छैन, सञ्चालक समितिलाई दिएको हो,' निगम कर्मचारी संघका अध्यक्ष देवीप्रसाद न्यौपानेले भने, 'समितिले बोनस वितरण नगर्ने निर्णय गरे पनि हामीसँग सहमति गरी उक्त निर्णय फिर्ता लिएको छ । त्यसैले बोनस कानुनअनुसारै खाइएको हो ।'

उनले अख्तियारले 'कुरै नबुझी' र 'नियोजित रूपमा' निगमका कर्मचारी गिरफ्तार गरी मनोबल गिराउने काम गरेको बताए । 'निगमका उच्च कर्मचारीलाई ससम्मान रिहा गरियोस्,' उनले भने, 'अन्यथा हामी चरणबद्ध रूपमा आन्दोलनमा जान बाध्य हुनेछौं ।' बोनस ऐन र नियमावलीले एक आर्थिक वर्षको बोनस अर्को आर्थिक वर्षभित्र पनि वितरण गरिसक्नुपर्ने व्यवस्था गरेको छ । वितरण हुन नसकेको अवस्थामा के गर्ने भन्ने प्रस्ट व्यवस्था ऐन र नियमावलीमा छैन ।

उच्च अधिकारीलाई हिरासतमा लिए पछि निगम कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी युनियनले बुधबार दिउँसो २ बजेसम्म काम ठप्प पारे । उनीहरुले विहीबारदेखि पनि आफ्नो आन्दोलनको कार्यक्रम राखेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा आएको तेल मुल्यको गिरावटका कारण निगमले आर्थिक वर्ष २०६५/०६६ मा करिब ३ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको थियो । त्यसबाट बोनस शिर्षक अन्तर्गत १९ करोड ८८ लाख छुट्याएको थियो । निगमले अख्तियारको निर्देशनपछि बोनस बाँड्ने निर्णय फिर्ता लिए पनि उक्त शीर्षकको रकम फिर्ता गराएको थिएन । त्यस शीर्षकमा छुट्याएको रकम अन्य प्रयोजनमा खर्च गर्न नपाईने व्यवस्थाअनुसार निगम व्यवस्थापनले कर्मचारीको दबाबमा परी वितरण गरेको थियो । निगमले बोनस रकममध्ये कर कट्टी गरी १ करोड ७२ लाख रुपैयाँ वितरण भएको थियो । बाँकी १७ करोड रुपैयाँमध्ये ७० प्रतिशत कर्मचारी कल्याण कोषमा छुट्याइएको थियो । त्यो रकम पनि वितरण गर्ने तयारी भइरहेका बेला अख्तियारले हस्तक्षेप गरेको हो ।

सञ्चालक समिति सदस्य दीपक सुवेदीले भने बोनस खाने निर्णय समितिले फिर्ता लिए पनि बाँड्न स्वीकृति नदिएको दाबी गरे । उनले निगमबाट बोनस खाने स्वीकृतिका लागि आएको प्रस्तावलाई समितिले अस्वीकार गरेको बताइसकेका छन् ।

गत फागुनमा सुटुक्क बोनस बाँडेको पाइए पछि अख्तियारले पटक-पटक गरी निगमको आर्थिक कारोबार, नीतिगत निर्णय तथा डिपोको गतिविधिसम्बन्धी कागजात छानबिनका लागि लगेको छ ।

निगमकै कर्मचारी र सरोकारवालाले बोनस खाएको तथा आर्थिक अनियमितता गरेको लिखित र मौखिक उजुरी दिएपछि अख्तियारले कागजात लगेको हो । निगम करिब ३० अर्ब रुपैयाँ ऋण र करिब २५ अर्ब रुपैयाँ सञ्चित घाटा रहेको सार्वजनिक संस्थान हो ।

 

- See more at: http://www.ekantipur.com/np/2070/6/10/full-story/376424.html#sthash.OSoajNk6.dpuf
Read Full Discussion Thread for this article