Posted by: _____ September 24, 2013
तपाई कतिवटा नेपाल बनाउनुहुन्छ ?
Login in to Rate this Post:     0       ?        
 

तपाई कतिवटा नेपाल बनाउनुहुन्छ ?

 

२०७० असोज ८ गते ११:४७ मा प्रकाशित

अम्बर गुरुङ, कुलपति, संगीत नाट्य प्रज्ञाप्रतिष्ठान

राष्ट्रियगानका संगीतकार अम्बर गुरुङलाई पञ्चायतकालीन महेन्द्रका पालामा भन्दा अहिले राष्ट्रिय एकताको भावना कमजोर भएको महसुस भइरहेको छ । उमेरले त्यति धेरै नेटो काटिसकेको नभए पनि ७५ वर्षीय गुरुङ ३ वर्षदेखि हिँडडुल गर्न नसक्ने रोगबाट पीडित हुनुहन्छ । पुरानो पुस्तामा मुर्धन्य नेपाली संगीतबार गुरुङसँग अनलाइनखबरले गरेको अन्तरंग कुराकानी :Amber-Gurung-1

अहिले स्वास्थ्य अवस्था अवस्था कस्तो छ ?

यो रोगलाई ‘पार्किन्सन डिजिज’ भनिन्छ । यो ‘मुभमेन्ट डिअर्डर’ अर्थात् हिँडडुलमा अप्ठ्यारो हुने, खुट्टाहरु राम्रोसँग नटेकिने, लड्ने सम्भावना बेसी हुने रोग हो । कसैलाई त ब्रेनलाई पनि असर गर्छ । तर, मेरो ब्रेनलाई असर गरेको छैन ।

कहिलेदेखि, कसरी भयो यस्तो ?

यो कसरी भयो, भन्न सक्दिँन म । यो वंशानुगत रोग पनि होइन । यो कसरी र केबाट भयो भन्ने डाक्टरले पनि पत्ता लगाउन सकेका छैनन् । यो विस्तारै बढ्दै जाँदोरहेछ । शुरुमा त मलाई थाहै भएन । थाहा पाउनेखालको रोग पनि होइन रहेछ यो । यसको असर बढ्दै जाने र पछि नराम्रो अवस्थामा पुर्‍याउँदोरहेछ ।

मलाई यस्तो हुन थालेको झण्डै ६ वर्ष भयो होला । मैले थाहा पाएको चाँहि ३ वर्ष भयो । मेरो हिँडाइ विस्तारै हुन थालेको परिवार र छोराछोरीले याद गरेछन् । त्यसपछि जचाँउन जाँदा थाहा भयो । यो राम्रो रोग होइन । एडभान्स देशहरुमा यो रोग लागेपछि प्रेमिकाले प्रेमीलाई छाड्ने, स्वास्नीले लोग्नेलाई डिभोर्स गर्नेखालको रोग हो यो । शरीरले कामै गर्न सक्दैन । ‘एक्टिभिटी’ गर्नै सक्दैन ।

कुन डाक्टरले हेरिरहनुभएको छ ?

डाक्टर प्रदीप श्रेष्ठ हुनुहुन्छ । डा. अग्रवाल हुनुहुन्छ । मैले थाहा भयो नेपालमा एकदम राम्रा डाक्टरहरु पनि रहेछन् । म नर्भिक अस्पतालमा पनि जचाउन गएँ । टिचिङ अस्पतालमा पनि गएँ । डा. प्रदीप र डा. अग्रवाल पनि टिचिङमै हुनुहुन्छ । उहाँहरु एकदम कम्पिटेटर एवं आफ्नो पेशामा डेडिकेट डाक्टरहरु हो । पैसाको लोभ नगर्ने, एकदम राम्रो सेवा गर्ने । एकदमै भलाद्मी हुनुहुन्छ । यस्ता राम्रा डाक्टरहरु हुनुहुन्छ नेपालमा भनेर मलाई त गर्व लाग्छ । हामीसँग राम्रा डाक्टर, राम्रा कलाकार, राम्रा लेखक, राम्रा वैज्ञानिक, राम्रा बिजनेश म्यानहरु हुनुहुन्छ । हामीमा अब राष्ट्रियता भन्ने भावना आउनुपर्छ । किनभने देश बनाउने जिम्मेवारी हामी सबैको हो ।

भनेपछि तपाई नेपालका डाक्टरहरुको स्वास्थोपचारबाट सन्तुष्ट हुनुहुन्छ ?

म सन्तुष्ट छु । कहिलेकाँहि यहीँ विदेशका डाक्टरहरु, भिजिटिङ प्रोफेसरहरु आउनुहुन्छ । एकपटक फिनल्याण्डका डाक्टर आउनुभएको थियो, मलाई भेट्नुभयो । डा. प्रदीपले नै भेट गराइदिनुभएको हो ।

उपचार खर्च कति लाग्छ ?

औषधि त दिनमा झण्डै १४/१५ वटा ट्याब्लेट खाइरहनुपर्छ । महिनाको १०/१२ हजार औषधिमा खर्च हुन्छ ।

कसले ब्यहोर्छ यो खर्च ?

आफ्नै परिवार छोराछोरीले ।

राष्ट्रियगीतका संगीतकारलाई राज्यले केही भत्ता दिएको छैन ?

दिएको छैन ।

राज्यले सहयोग गरोस् भन्ने त होला नि ?

हैन, उसैले जानेर गरे हुने हो, मेरो त्यस्तो माग छैन । मेरा साथी संगातीहरु हुनुहुन्छ, प्राज्ञ साथीहरु हुनुहुन्छ, उहाँहरुकै मायाले अहिलेसम्म अडिएको छु । सबैले सम्मान गर्नुभएको छ ।

कोको हुनुहुन्छ परिवारमा ?

मेरो तीनजना छोरा र एकजना छोरी छन् । मेरो छोरी पनि बाहिर -विदेश) छ, कान्छो छोरो पनि उतै छ, नातिहरु पनि उतै छन् ।

० छोराछोरी नाति नातिना विदेशमा रहेछन् र तपाईलाई उपचारखर्च जुटिरहेको छ, अरुलाई भए त यस्तो रोग लागेपछि उपचार गर्न गाह्रो रहेछ नि हैन ?

बहुत टे्रजेडी हुन्छ । म अरुका बारेमा सोच्छु । मलाई त आफ्ना सन्तान छन्, मेरो संगीतलाई माया गर्ने मान्छेहरु हुनुहुन्छ, तर जसको कोही छैन, यसलाई कत्ति साह्रो पर्छ होला ? त्यस्ता मानिसहरुलाई हामीले सहानुभूति राख्नुपर्छ ।Amber-Gurung-2

शरीरले नगर् भने पनि मनले काम नगरी बस्न दिँदैन जस्तो छ नि ?

म कामविना बस्न सक्दिँन । एकेडेमी पनि दिनहुँ गइराखेको छु । कार्यक्रमहरुमा अतिथि बोलाउँदा त्यहाँ पनि गइरहखेको छु । रोग लागेपछि केही समय रियाज गर्न छाडेको थिएँ । तर, यसरी नहुँदोरहेछ भनेपछि अहिले फेरि थालेको छु । विहानै त सक्दिँन तर, शुरु गरेको छु । योग पनि गर्छु, ध्यान पनि गर्छु । चेलाहरु पनि आउँछन् । तर, नयाँलाई भने म सिकाउन सक्दिँन । रोगले गर्दाखेरि पलेंटी मारेर बस्न मिल्दैन, मेच चाहिन्छ ।

त्यसैले म रिटायर्ड लाइफमा गाउन सकिँन भने कम्पोज त गर्न सक्छु । कम्पोज गर्दा त भ्वाइस चाहिँदैन । यो बाहेक किताव पनि लेख्न सकिन्छ । त्यसैले म संगीतज्ञ, रेकर्डिस्टहरुलाई यही भन्छु । तपाईहरुले प्रवचन पनि दिनुपर्छ । प्रवचन गराउनोस्, म आउँछु । संगीत भनेको के हो भनेर बुझ्नुपर्यो । नबुझ्नेहरुलाई बुझाउनुपर्‍यो । नत्र कसरी संगीत फस्टाउँछ ? सांगीतिक सभिलाइजेसन समाजलाई चाहिन्छ ।

तपाईको विचारमा संगीत भनेको के हो ?

संगीत भनेको चाँहि बायलोजी हो । यसलाई स्वर चाहिन्छ, बच्चामा एउटा स्वर हुन्छ भने वृद्ध भएपछि अर्कै स्वर हुन्छ । मान्छेले संगीत भनेको खाली गीत गाउनुमात्रै हो भन्ने ठान्छन्, गीत गाउनुमात्रै संगीत होइन । संगीतमा त विज्ञान पनि छ, नाच छ, दर्शन छ, मनोविज्ञान छ, मानवीय भावनाको प्रचुरता छ । हरेक चिज छ । यसमा बाजासम्बन्धी भिन्नै शाखा, भिन्नै शास्त्र हुन्छ ।

तपाईले भोग्नुभएको आधा शताब्दीमा संगीतका साधनहरुमा पनि धेरै परिवर्तन आएकाछन्, यसले पुरानो संगीतकारलाई सजिलो हुन्छ कि अप्ठ्यारो ?

जस्तो गितार अहिले इलेक्टि्रक पनि छ । हामीले यसमा पनि विकास गर्नुपर्छ । विश्वको मात्रै होइन, हामीले आफ्नो पनि विकास गर्नुपर्छ । चाइनिजहरुले पनि एकदमै प्रगति गरिसकेका छन् । पश्चिमाहरुले हाम्रो म्युजिक बजाउन सक्दैनन्, तर हामी उनीहरुको सक्छौं । यसबाट झन हामीलाई फाइदा छ । यसमा चाहिँ हाम्रो अलि कमजोरै छ ।

नेपालमा पुराना स्रष्टाका गीत संगीत कालजयी खालका छन्, नेपाल र नेपालीको पहिचान दिने खालका छन्, तर नयाँ पुस्ताल भने त्यस्ता कालजयी गीत संगीत दिन नसकेको भन्ने गुनासो छ नि ? जस्तै, नारायणगोपाल, फत्तेमान आदिलाई सम्झँदा……

यो पनि हो । तर, कस्तो हुन्छ भने संगीत एकदमै परिवर्तनशील हुन्छ । यसमा प्रशिद्धी र महानता फरक कुरा हो । महान मान्छे प्रशिद्ध नहुन पनि सक्छ । सबै गीतहरु अमर हुँदैनन् । हाम्रो आइडियल गीतमा इन्टरटेनमेन्ट बेसी भयो । मान्छेहरुले ह्युम्यान फिलिङ अहिले धेरै छाडेको छ । मान्छे एकदम मेकानिकल भए, रोबर्टजस्तै । त्यसैले यस्तो हुनु स्वाभाविक हो ।

यो जमाना हो, यसलाई रोक्न सकिन्छ कि सकिँदैन तर, हामीले के बुझ्नुपर्छ भने मानवीय भावना भन्ने चानचुने कुरा होइन । भावना भनेको के हो ? अहिलेका गीतमा मष्तिष्कको कुरा बढी र इमोशन कम भयो ।

मलाई के लाग्छ भने ६५ प्रतिशत भावनाको कुरा हुनुपर्छ र ४५ प्रतिशत मष्तिष्क हुनुपर्छ । तर, मष्तिष्कमात्रै चलाउने हो भने मष्तिष्कले बिगार पनि गर्छ । भावनाले विगार गर्दैन । भावनाले संवेदना सिकाउँछ, मष्तिष्कले तर्क गर्न सिकाउँछ । सुक्ष्मताले भरिएको, दया, माया, प्रेम, सहानुभूति, संवेदनशीलता, सौन्दर्यवोध, गहिरो मानवीय भावना यसबाट बन्ने हो कालजयी ।

भनेपछि हाम्रो संगीतक्षेत्र कस्मेटिक बन्दै गएको हो ?

हो । अहिलेको समाजै त्यस्तै भयो नि त । पहिले हामी जूनलाई हेरे पूजा गर्थ्यौ, अहिले चन्द्रमा त एयरपोर्ट हुन लागिसकेको छ ।

अबको संगीत कस्तो हुन्छ ? कि मेकानिकल मान्छेले गीतै गाउँन छाड्छ ?

मान्छेले गीतै गाउन छाड्ने त हुँदैन । तर, ठूलो परिवर्तन हुन्छ । किनभने मान्छेको भावना पनि प्रबोधन हुन्छ नि । तर, अब कस्तो हुन्छ भन्न सकिँदैन । एउटा जमानाको कलाको स्टायल अर्कोमा निरन्तरता पनि हुन्छ । जबसम्म मान्छे रहन्छन्, दुर्यप्रकारका हुन्छन्, एउटा राम्रो मान्छे र अर्को खराब मान्छे ।

हाम्रो नेपाली संगीत मौलिक हो कि होइन ?

म्युजिक छुट्टएिको छैन । भारत पाकिस्तान र बंगलादेशको राग उस्तै छ । बागेश्वारी वा जे भने पनि गाउने स्टायल बेग्लाबेग्लै होला, तर, त्यो छुट्टएिको छैन ।

पञ्चायतकालमा राजा महेन्द्रले जति अहिले कला साहित्यलाई कम माया गर्न थालेको हो राज्यले ?

हो, अहिले धेरै कमी आएको छ ।

तर, त्यो त महेन्द्र राष्ट्रवाद हो रे नि, ‘नेपाली’ भनेर मधेसीलाई नसमेट्ने ?

मचाहिँ पहिले नेपाली भन्छु । मेरो गीत रेकर्ड हुँदैछ, ‘म बाहुन हुँ कि क्षेत्री या कुनै मतवाली, जात नसोध मलाई म त खाली नेपाली ।’ यो गीत आउँदैछ । मलाई अरुले पनि यो प्रश्न सोधेका थिए । तर मैले भनें, तपाईहरु कतिवटा नेपाल बनाउनुहुन्छ ? कतिवटा नेपाल ठान्नुहुन्छ ? गुरुङको नेपाल, बाहुनको नेपाल, नेवारको नेपाल, तामाङको नेपाल ? हाम्रो नेपालमा संसारको प्रशिद्ध सगरमाथा छ, नदीनालाले भरपुर छ । मंगोलियन र आर्यनहरुको जातीय विविधता र सुन्दरता छ । यसको समन्वय भयो भने कत्ति ठूलो कुरा बन्छ ? संसारमा नभएको सौन्दर्य छ, विविधता छ नेपालमा ।

आर्य र मंगोलको मिश्रणबाट जन्मिएको बच्चा कति सुन्दर र बुद्धिमान हुन्छ, यसले राष्ट्रको हित हुन्छ । त्यसैले यस्तो जातीय भावना बाहुनहरुमा पनि नआओस् र अरु जातिमा पनि नआओस् । बाहुनहरु ‘सुपेरियर’ होइनन् । तर, प्रचण्ड, एमाले, कांग्रेस सबै बाहुनै बाहुन, यसो पनि होइन । सबै बाहुन उस्तै हुँदैनन्, जो त्यस्ता हुन्छन्, उनीहरुको विरोध गरौं । तर, के हामी सबै नेपाली हैनौं ? हामीलाई यस्तो भन्न लाज लाग्दैन ? कुन माटोमा जन्मिएका हौं हामी ? कुन भाषा बोल्दैछौं हामी ?

- See more at: http://www.onlinekhabar.com/2013/09/119328/#sthash.Th8RyXRs.dpuf
Read Full Discussion Thread for this article