Posted by: poudelu September 7, 2013
समयान्तरका (लघु) कथाहरू:
Login in to Rate this Post:     0       ?        
समयान्तरका (लघु)कथाहरू:
- उत्तम पौडेल

१. ‘रिभर्स डीस्क्रीमीनेसन’

पत्रिकाबाट आँखा उठाउँदै श्रीमतीले सोधिन् –
“ बुढा, यो reverse discrimination भनेको के हो हँ ?”

मैले पनि सहज पाराले उत्तर दिएँ –“ बाउ बाजेले गरेको शोषण, अन्यायको, अत्याचारको ब्याज र क्षतिपूर्ति निर्दोष नाति-पनातिबाट लिइनु” |
“जस्तै ?” उनले स्वाभाविक जिज्ञासा पोखिन् |

मैले पनि आफ्नो विद्वता छाँट्ने मौकाको फाइदा उठाउँदै सक्दो ‘वजनदार’ शब्दमा भनें -

“मेरी बुढी-बुढी हजुरआमाहरुले आफ्नो ख्वामितको दु:खद देहान्तमा मृत शरीरसंगै आत्मदाह गरे, सती भए | मेरी हजुरआमाहरुले सुत्नुपुर्ब आफ्ना स्वामीको गोडामा तेल लगाएर मालिस मात्र गरेनन् ,बिहान सखारै उठ्नेबितिक्कै ढोगे पनि | मेरी आमाहरुले घरका सम्पूर्ण कामको कार्यभार र हामीलाई हुर्काउने जिम्मा समेत आफ्नै काँधमा लिए | तर आज तिमी दिनभरी घरमा  तीन-न-तेह्रका सिरियल हेरेर बस्छेउ | म दिनभरीको अफिसको बोझिलो कामपश्चात बेलुकी मायालु बोलीले तिमीलाई ‘चिया बनाउ न सानु’ भन्दापनि टेरपुच्छर लाउन्नौ, उल्टै कुचो लिएर झम्टदैँ मलाई नै बेलुकाको खाना पकाउन लाउँछेउ | यहि हो ‘रिभर्स डीस्क्रीमीनेसन’ भनेको |”

मैले यत्ति बोलेको मात्र के थिएँ, मिलिक्क गर्दै एकैछिनमा श्रीमती गायब भईन् | यता-उता जताततै खोजें तर कहिँ कतै भेटिन | एकछिन पछि श्रीमतीको मोबाइलबाट फोन आयो | उठाएँ, सासु रहिछिन् | मैले ‘हेल्लो’ भन्न नपाउँदै बुढी फोनमै कड्किन्- “ छोरी रुँदै माइत आ’र बसेकी छ ज्वाईसाप | तपाइँको यो पारा ठिक भएन | तपाइँलाई हामीले छोरी दे’को गाली गर्न, हेप्न, खिसिट्युरी गर्न हो र ? महिला अधिकारकर्मी लगाईदिम् ?”
---------------------
२.भिनाजुको जुत्ता:

रामचन्द्रको काठको जुत्तालाई भाई भरतले अयोध्या ल्याए | एउटा समारोहमा पूजाआजा पश्चात उक्त खराउलाई राजगद्दीमा विराजमान गराए | मान्दबी र श्रुतकृती, जो भरत र श्रत्रुधनको श्रीमती मात्र नभएर सीताकी बहिनी र रामकी साली थिए, पनि उक्त पुजामा सरिक भए | भाईहरुले खराउमा दाईको रुप देख्थे | सालीहरुले खराउमा भिनाजु, र भिनाजुमा भगवान देख्थे |.

मेरो हजुरबाको बिहेमा चाहिँ सालीले उसिनेको आलु उहाँको जुत्तामा राक्नुभएको थियो रे | सालीको मन राख्नकै खातिर उहाँले जुत्ता लगाउँदा पैताला पोलेको अभिनय गर्नुभयो | उपस्थित सबै गललल हाँसे, रमाइलो भयो, परिवारबीच आत्मियता बढ्यो | बिहेपछि सालीले आफ्नी संगीनिहरुलाई भन्नुभयो- “ मेरो भिनाजु त कस्तो शालीन” |.

मेरो बुवाको पालामा भने सालीले जुत्ता लुकाएर पैसा माग्नुभयो | केटा पक्षकाले “यो हाम्रो संस्कृति होईन, आयतित बिकृति हो” भनेर सम्झाएपछी जुत्ता फिर्ता भयो | बुबाकी साली ( मेरी सानीमा ) ले बिहेपश्चात आफ्नी साथीहरुलाई भन्नुभयो- “मेरो भेंनाको परिवार त कस्तो ज्ञानी बाई!”.

मेरो पालो आयो | मेरो बिहेमा पनि सालीले जुत्ता भूमिगत परिन् , जुत्ताको मोल २० हजार तोकेर मेरो ओठतालु सुकाइन् | “आयतित बिकृतिको” कुराले उनलाई चूँ पनि छोएन | गोलमेच सम्मेलन भयो | दुबैतर्फका २० बर्ष मुनिका ठेट्नाहरु बीच घरि श्लील त घरि घुमाउरो अश्लिल बाणीले एकअर्कालाई होच्याउँदै, चर्काचर्की बार्ता सम्पन्न भएपछि १० हजारमा कुरा मिल्यो | परिवारकै इज्जत दाउमा भएको हुनाले दाँतबाट पसिना चुहाउंदै मैले दश वटा हात्ती उनको हातमा थमाएँ |.
बिहेपछि सालीले आफ्ना दोस्त र यारहरुलाई ग्रुप SMS, र फेसबुकमा लेखिन् –“ मेरो जिजुको परिवार त लास्ट चुँइया पो रैच यार... LOL!”


Read Full Discussion Thread for this article