Posted by: _____ August 27, 2013
यसरी दुःख दियो मलाई अध्यागमनले
Login in to Rate this Post:     0       ?        
 

यसरी दुःख दियो मलाई अध्यागमनले


 
 

mikaअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा धमाधम कर्मचारी पक्राउ गरिरहेको छ। यसै क्रममा धेरै कर्मचारीहरु अध्यागमन विभागका पनि रहेका छन्। नेपालको अध्यागमन यात्रुहरुलाई अनावश्यक झण्झट दिने गरेकोमा बदनाम छ। घुस खाने मात्र हैन, इज्जत लुट्ने काम पनि अध्यागमन कै कर्मचारीहरुबाट भएको जगजाहेर छ। अहिले जुन कर्मचारी अख्तियारको हिरासतमा छ, त्यही मध्येका एकबाट पीडित भएकी थिइन् बेल्जियम निवासी एक महिला। बेल्जियमबाट नेपाल ओर्लँदा र उताबाट नेपाल फर्कँदा उनले निकै दुःख पाए। कर्मचारीहरुले आफूसँगै गएका नाबालक छोराहरुको पासपोर्टलाई नक्कली भने, फर्कँदा छोराहरुलाई इल्लिगल भने। बेल्जियममा रहेका पत्रकार सन्तोष न्यौपानेले पीडितसँग कुरा गरेका छन्। थप विवरण पीडित कै शब्दमा-

 नाम मिका राई हो। म बेल्जियमको ब्रुज शहरमा बस्छु। नेपाल जान नेपाली दूतावास ब्रसेल्सबाट मेरो र मेरा छोराहरु १० वर्षका रोशन घिमिरे र ८ वर्षका रोहन घिमिरेको अस्थायी पासपोर्ट बनाएको थिएँ। एमआरपीको लागि समय लाग्ने हुँदा फर्किएपछि मात्रै एमआरपीको आवेदन दिने सोच थियो। हामी ३ हप्ताको विदामा नेपाल जुलाई २९ तारिखका दिन पुग्यौँ। हामीलाई कुरेर आफन्तहरु बाहिर बसिरहनुभएको थियो। निस्कने क्रममा अध्यागमनमा पासपोर्टमा छाप हान्ने बेला मेरो बच्चाहरुको पासपोर्ट सुरुमा नक्कली भनेर आरोप लगाए। अनि त्यही विषयमा हामीलाई घण्टौँ भित्रै राखे।

त्यहाँ घुस खान खोजेको भन्ने प्रस्टै भयो। तर नखाएको विष लाग्दैन, घुस दिने कुरै भएन। पछि पासपोर्ट उनीहरुसँगै राखेर हामीलाई बल्ल बल्ल ३ घण्टापछि बाहिर निस्कन दिइयो। पछि पासपोर्ट लिन आउनको लागि अध्यागनम विभागको कार्यालय कालिकास्थान बोलाउँदै यस्तो चिट दिइयो।

विमानस्थल अध्यागमन कार्यालयले दिएको चिट। पासपोर्ट नम्बर र फोन नम्बर व्यक्तिगत जानकारी भएकोले सम्पादन गरिएको हो।

विमानस्थल अध्यागमन कार्यालयले दिएको चिट। पासपोर्ट नम्बर र फोन नम्बर व्यक्तिगत जानकारी भएकोले सम्पादन गरिएको हो।

 

पासपोर्ट ब्रसेल्स दूतावासबाट बनाएको हुँदा उनीहरुले तत्काल सोधपुछ गर्न सक्थे। तर ती कर्मचारीले त्यसो गरेनन्। बरु उल्टै केरकारको लागि भनेर पासपोर्ट नै जफत गरिदिए। अहिले ५ जना कर्मचारी अख्तियारमा जो रंगेहात पक्राउ परे, तिनै मध्यका हुन् हामीलार्इं सास्ति दिएर घुस खान खोज्ने।

३ घण्टा त्यसरी राख्दा मेरो समय बर्बाद त भयो-भयो, मलाई र बच्चाहरुलाई कम्ता मानसिक तनाव भएन। उता मेरो श्रीमान आत्तिरहनुभएको थियो, यता मलाई कुरेर बस्ने मेरा आफन्तहरु। अझै त्यसमा पनि बच्चाहरुको पासपोर्ट नै जफत गरिदिँदा कुन साइतमा बिदा मनाउन आएछु जस्तो भयो।

पासपोर्ट लिनको लागि अध्यागमन विभाग, कालिकास्थान आउनु भनेर कर्मचारीहरुले भने। तर भनेको समयमा पासपोर्ट कहाँ पाउनु ! मेरो श्रीमानले बेल्जियमदेखि अध्यागमन विभाग कालिकास्थानमा बारम्बार सम्पर्क गर्नुभयो। तर ती कर्मचारिले आफनो वास्तविक परिचयनै लुकाए। एक जना हरिनारायण श्रेष्ठ बताउने कर्मचारीले छोराहरुको पासपोर्ट सक्कली नक्कली बुझ्नको लागि ब्रसेल्स पठाउने भने। तर कर्मचारीले पासपोर्ट लिएको १२ दिनपछि मात्रै बुझ्नको लागि ब्रसेल्स पठाएछन्। नक्कली हैन भन्ने भएपछि पनि मैले उल्टो ३ सय ५५ रुपियाँ तिरेर पासपोर्ट फिर्ता लिनुपर्यो। त्यो रकममात्र हैन, मेरो कति धेरै समयको बर्बादी भयो। कति धेरै मानसिक तनाव मैले भोग्नुपर्यो।

सुरुमा कालिकास्थान जान भनियो। गएँ। तर त्यहाँका कर्मचारीले यहाँ छैन त्रिपुरेश्वरको कन्सुलर शाखा जान भने। फेरि अर्को दिन त्रिपुरेश्वर लागेँ। त्यहाँ पनि बच्चाहरुको पासपोर्ट रहेनछ। फेरि त्यहाँका कर्मचारीहरुले नारायणहिटी दरबार स‌ङ्ग्रहालय भवनमा रहेको राहदानी शाखामा जान भने। त्यहाँ बल्ल मैले पासपोर्ट पाएँ। त्यो पनि बिना कुनै दोष उल्टो रकम तिरेर आफनै खोसिएको पासपोर्ट लिनुपर्‍यो। बेल्जियम फर्कने समयभन्दा तीन दिन अगाडि २० अगस्टको दिन बल्ल पासपोर्ट हात पर्‍यो। उता ब्रसेल्स दुतावासबाट भने काम छिटो नै भयो, जति दुःख पाउने हो हामीले आफनै स्वदेशमा पायौँ।

हैरानी यत्तिमा सकिएन। अब फेरि बेल्जियम फर्कने बेलामा सास्ती पाउन बाँकी रहेछ। जाँदा पासपोर्ट नक्कली भनेर रोकेका थिए, फर्कन लाग्दा बच्चालाई इलिगल भनिदिए। मलाई एकातिर, मेरा नाबालक बच्चाहरुलाई अर्कोतिर लगियो। हेर्नु त आपत्, हामीले त्यतिखेरसम्म लगेज दिएर पनि बोर्डिङ पास लिइसकेका थियौँ। आफनै सन्तानलाई अवैधानिक भनिदिँदा अनि मलाई र छोराहरुलाई अलग-अलग बनाइदिदा मेरो मन कति रोयो?

आखिर उनीहरुले घुस खानकै लागि मलाई र बच्चाहरुलाई अलग-अलग बनाएका रहेछन्। पछि एकजना चिनेको भाइको कारण बल्ल सबै कुराहरुबाट मुक्ति मिल्यो। मैले बच्च्चाहरुको सबै विवरण जन्मदर्ता, नाता प्रमाणित लगायत चाहिने जति सबै कागजपत्र लगेको थिएँ। ती कर्मचारीहरुलाई देखाएको पनि थिएँ। तर ती कागजपत्र कतिखेर कुन बहानामा पैसा झारौँला भनेर बसिरहेका भ्रष्ट कर्मचारीको लागि कुनै तुक नै भएन।

२१ दिनको मेरो नेपाल बसाईमा मेरो दिनचर्या पासपोर्टको टेन्सनमा बित्यो। अनि फर्कने बेलामा थप सास्ती। यी सबै सम्झँदा फेरि स्वदेश फर्कन पनि के फर्कनु जस्तो भएको छ। के एयरपोर्टका कर्मचारीहरुलाई घुस नखाई खान पुग्दैन ? अहिले घुसखोरहरुलाई प्रमाणसहित पक्रँदा ‘मनोबल गिर्ने’ भन्दै कर्मचारी नेताहरुले आन्दोलन गर्ने चेतावनी दिएछन्। मजस्ता सयौँ नेपालीलाई यसरी अध्यागमनमा दुःख दिँदा हाम्रो मनोबल गिरेको हिसाबकिताब चाहिँ कसले राख्ने ? कसैले जवाफ दिनसक्छ ?

Read Full Discussion Thread for this article