Posted by: _____ August 4, 2013
भ्रष्टाचार प्रकरणमा प्राधिकरणका सहायक प्रबन्धकसहित ७ पक्राउ
Login in to Rate this Post:     0       ?        
 

भ्रष्टाचार प्रकरणमा प्राधिकरणका सहायक प्रबन्धकसहित ७ पक्राउ

दुई चिनियाँ नागरिकसमेत मुछिए


 

२० साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरुसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा दुई चिनियाँसमेत छन् ।

अख्तियारले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्राधिकरणका सह-निर्देशक हरिशबहादुर पाल, सहायक प्रबन्धक मदनराज चापागाई, इन्जिनियर प्रज्वल पाण्डे र भण्डार प्रमुख भरत रुपाखेती रहेका छन् । यस्तै ट्रान्सर्फमर आपूर्तिकर्ता चिनियाँ कम्पनी हुवेई सनलाइटका हु झेङ खियाङ र जोउ यी तिआन रहेका छन् ।

विद्युत प्राधिकरणले न्यून गुणस्तरको ट्रान्सर्फमर खरिद गरी अनियमितता एवं भ्रष्टाचार गरेको उजुरीको अनुसन्धानका क्रममा संकलित प्रमाण कागजातका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारका सह न्यायाधिवक्ता एवं प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभएको छ ।

के हो ट्रान्सर्फमर खरीद प्रकरण ?

विद्युत् प्राधिकरणले वि.सं २०६४ देखि ०६८ सालसम्म खरिद गरेको करिव ५ हजार ट्रान्सर्फमर गुणस्तरहीन भएको पाइएको छ । हुवेइमार्फत आयात गरेको ट्रान्सर्फमरमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएपछि विवाद चर्किएको थियो ।

सिन्धुपाल्चोकसहितका केन्द्रका सातवटा ट्रान्सर्फमर परीक्षण गर्दा तामाको तारको सट्टा अल्मुनियम भेटिएको थियो । हुवेईले प्रधीकरणलाई २५, ५०, १००, २०० र ३०० किलोभोल्टको ट्रान्सर्फमर विक्री गरेको थियो । ती ट्रान्सर्फमरबाट अत्याधिक विद्युत चुहावट हुनुका साथै जल्ने र पड्कने समस्या देखिएको थियो ।

प्राधिकरण सञ्चालक समितिको टोलीले गरेको छानविनमा समेत अनियमितताको आशंका भएपछि अख्तियारले फाइल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
 

Read Full Discussion Thread for this article