Posted by: fucheketo July 8, 2013
संस्करणमा
Login in to Rate this Post:     0       ?        
Bhakte dai- तँपाइलाई पनि कपि गर्ने वनाउन सक्नु,मेरो अहोभाग्य, अन्य पढीदिनुहुने,लाइक ठोकीदिनुहुने सवै साथीहरुलाई धन्यवाद 
तेस्रो भाग

फ्रिजभित्रको उज्यालोमा टमाटर अझै कलिलै देखिए। धनिया गिलासमा डुवेर टमाटर लाई नै नियाल्दै थियो, अह्ररो धनिया अह्ररै देखियो।वस्तु,जीव अनी मान्छे सवैले आफ्नो आन्तरिक गुणहरु चेपेर राख्छन्।छुट्याउन गाह्रो नै हुन्छ।लिसो जस्तो गरेर टाँसिन्छ अनि त्यहि नै परिचय वन्छ उसको! परिचय भनेकै लिसो जस्तो त हुन्छ। एकचोटी टाँसिन्छ ,छुट्टिनै गाह्रो।भित्र छिर्छ,कण कणमा गएर वस्छ, तन्तु तन्तुलाई आफुमा समेट्छ।

छेवैका सिमी त्यो रातमा लम्पसार निदाइ नै रहे भोलीको फिक्री नै नगरेर निदाए जस्तो। मलाई लाग्यो निन्द्रा पनि सिमी जस्तै हरियो हुन्छ। तर निन्द्राको रंग त कसलाई के थाहा र? निन्द्रा त मात्र निश्चिन्त हुन्छ भावमा अनी मस्त हुन्छ नशामा।निन्द्रामा नशा हुन्छ वा नशामा निन्द्रा छुट्याउनै गाह्रो, पानीमा रंग घोलिदिए जस्तै!

उसले वाइनको वोटल झिकेर फ्रिज वन्द गरेपछि म फेरि वाहिरकै संसारमा फर्केँ। वाहिर सिर सिर हावा चलिरहेको थियो।झ्यालको एउटा पल्ला खुलै हुनुपर्छ। पानी पर्दा पनि वन्द गरिनछे।आशा सँग रिस पनि उठ्यो।केहि भन्न सकिन।

"रुमपार्टनरको नाममा!" उसले गिलास उठाई !

"मेरो पनि रुमपार्टनरकै नाममा !" मैले पनि गिलास उठाइदिएँ। गिलास जुधे।मैले जुधेका गिलास हेरेँ। छचल्किएको अस्थिरता हेरेँ। मान्छेलाई कति धेरै मन पर्छ अस्थिरता , जुधाएर पनि अस्थिरता उत्पादन गर्छ मान्छे।भोको मान्छे!

"अजयमा केहि त थियो वुझिस् , आँखा गहिरो भएर होला भाव हराउँथे,डुव्थे त्यहि आँखामा थाहै हुन्नथ्यो उ खुशी थियो वा दुखी थियो। थाहा हुन्नथ्यो उसको आँखाले के खोज्थ्यो।थाहै हुन्नथ्यो उसको आँखाले के भेट्टाउँथ्यो ।अनि थाहै हुन्नथ्यो उसको आँखा सन्तुष्ट थियो वा थिएन !"

उसले दोस्रो घुट्कीमा आफुलाई थोरै छचल्क्याई।मैले छचल्किएकी उसलाई हेरेँ । उ वाइनमा केहि नियाल्दै थिई। त्यो वाइनको ग्लास उसले ठमेलको एउटा दोकानवाट किनेकी थीई। भन्थी "वाइन भन्दा गिलास मा वढी नशा हुन्छ बुझिस् ? लोग्ने मान्छे त सवै एउटै नै हो नी अन्त्यको सारांश एउटै चाहना एउटै मात्र प्रस्तुती भिन्न। वाइन पनि त्यस्तै हो, एउटै नशा मात्र प्याला भिन्न!! " म टाउको हल्लाइदिन्थे। उ सन्तुष्ट हुन्थी।

"मलाई के थाहा ? उ त तँलाई मन पराउँथ्यो तैँले नै चिनेकी होलिस् नि !" मैले रुखो जवाफ फर्काएँ। वाइन तितो लागेर आयो।कुहिएको ह्वास्स गन्हाए जस्तो।

"तँ उसलाई मन पराउँथिस् नि त !" उसले मेरो अनुहारमा हेरी। मलाई भाव लुकाउन मन छ।अनुहारले साथ नदिए झैँ लाग्यो।

"त्यो त क्षणिक आवेग थियो,अहिले सम्झिन्छु के नै थियो र उसमा गम्भिरता वाहेक ?"

"म भने आजकल सोच्छु , के नै चाहिने रहेछ र गम्भिरता वाहेक , लोग्नेमान्छे पातलो हुन्छ वुझिस् धुवाँ जस्तै पातलो ! फुकेर उडाउन सकिन्छ,एकैछिन विलाउने वनाउन सकिन्छ! तर विलाए पछि फर्काउन गाह्रो,अर्को धुवाँको चक्का खोज्नुपर्छ फेरि फुक्न! जीवनको वाध्यता! "

"एउटा पुरुषले किन पुग्दैन तँलाई ?"

"त्यो कुरा छोड्दे, के तँ मलाई दोषी नजरले हेर्छेस् ?त्यो भन मलाई !" उसले मेरो आँखा नियाली । उ सत्यता खोज्दैछे।

म अतितमा फर्केँ। मैले आँट गरेर अजयलाई भनेकै हो। उसले त्यतिखेर धेरैवेर मौनता पस्कियो मेरो भागमा ।अनि मौनता तोडेर तिक्तता ! भन्यो "जीवन अचम्मको हुँदो रहेछ, खोजेको पाइन्न रहेछ, अनि नखोजेकाहरु खोज आफु वनिदो रहेछ!" म त उसको लागे उसले नरोजेको,नखोजेको थिएँ। आशालाई मैले त्यहि रात सुनाएकी थिएँ। त्यसको केहि दिन पछि आशाले अजयको खोजको वारेमा खोली! मलाई थाहा भएन मेरो प्रतिकृया के हुनुपर्ने हो! दुइ दिनको घोत्ल्याई पछि मेरो लागी पुरानी आशा र पछिकी आशामा केहि फरक नपार्ने निर्णय गरेँ। न आशाले अजयको खोजको विचार गरी, न अजयले मेरो मनको विचार गर्यो। असन्तोक पर्याय वन्यो अजय र म विचको।

"के थियो र तेरो दोष ?"

"थाहा छैन, शायद मेरो अल्लारे वानी तेरो गम्भिर अजयलाई मन पर्यो ! "

"तँ मन पराउने खालकै छेस् त !" मैले उसको प्रसंशा गरेँ।

" म त पोखिनुपर्छ, खाली ठाउँ पुर्नु पर्छ भन्ने मान्छे पो त ! तेरै भाषामा भन्ने हो भने एउटा पुरुषले नपुग्ने ,भोगी,ढोंगी !"

" मैले तँलाई कहिल्यै त्यसरी हेरिन , तर खाली ठाउँ त खाली नै रहे पनि त हुन्छ नी !" मैले लठ्ठिएकी उसलाई नियाँले। रसिली छे आशा!धेरै पटक पोखिएर पनि अझै भरी छे। म भने खालीको खाली छु, उ माथीको इर्ष्या नै पोखेको हुनुपर्छ मैले।

"खाली राखे त म पनि सुधा भइहाले नी ! आशाको आफ्नो परिचय के त ?" उसले मेरो जिव्रो खोसी।मेरो सोच खोसि,मेरो इर्ष्या पनि खोसी अहिलेको अहिले।

"ठिकै भनिस् खाली सुधा,अनि पोखिएकी आशा ,यहि वाइन जस्तै !" मैले हलुका गिलास उठाएर गिलासको वाइन देखाएँ।

"अझै सिध्याएकी छैन रैछे,भोली विहान सम्म जतन गरेरै राख्छेस् की के हो?"

"मलाई आशा वन्न मन छ नि त , अजयकी मन पर्ने !" म अचानक भावुक भएँ। रित्तो आँखा रसाएर आयो।अतितले थोरै निचोर्यो मलाई।

"मोरो, नहुँदा पनि दुख दिन्छ,हुँदा पनि दुख दिन्छ मेरी सुधालाई !" उ ढलमलिदै मलाई अँगालो मार्न आई। उसको पर्फ्युम दलेको शरिर ले मलाई टाउको दुखायो। तर पनि खपेँ। मेरो त उ रोल मोडेल हो। अजयकी ढुकढुकी नै थिई।

"दुख त मनले पो दिएको त !" मैले पनि एक घुट्की घुट्क्याएँ। अहँ स्वादमा अझै केहि फरक छैन। यो वाइन अझै पनि तितै छ। मेरो पहिलो घुट्की जस्तो।खै आशा के देख्छे यसमा र घुट्की माथी घुट्की थप्छे!

क्रमश:

 

 

Read Full Discussion Thread for this article