Posted by: fucheketo July 6, 2013
संस्करणमा
Login in to Rate this Post:     2       ?         Liked by
 Serial, thaney,sanjubaba,timimerosathi-Thank you very much

भाग-२

आशाले एउटा जीवनको अनौठो पाटोमा थोरै हलचल गरिदिएकी थिई। जतन गरेर समाल्हेर राखेको पाटो, हल्लिन्छ भनेर काम्रो लगाएको पाटो ।त्यो पाटो जसको थोरै अस्थिरताले पनि पुरै मलाई हल्लाइदिन्छ।कहिलेकाहिँ म सोच्छु म कमजोर भएर हो जसले पनि मलाई हल्लाइदिन्छ।फेरि सोच्छु म हल्लिएरै टिकिरहेकी छु,जडहरु त टुक्रिन्छन् वाँच्नलाई पेण्डुलम हुनुपर्छ।

कथा केहि समय अघिकै हो। अजय आशालाई मन पराउँथ्यो।अथवा भनौँ मलाई लाग्थ्यो अजय आशालाई मन पराउँथ्यो। आशा धेरैलाई मन पराउँथी एकैचोटी।आशाका परिभाषित जीवनमा अजयको गम्भिरता चट्टानमा छाल परेर चट्टान भिजाउन चाहेजस्तै टक्राउँथे। आशाका वरीपरी अजयका आँखा डुल्दथे।टाढावाट डुल्दथे।तर उसको मौनता वुझ्ने आशालाई फुर्सद थिएन।उसको आफ्नो संसार थियो। जसमा भिँड थियो,आवाज थियो जसमा अजयको मौनता भेट्टिनु असम्भव प्राय थियो।

म खोइ त कथामा ?

 म त आशाकै छायाँ थिएँ। आशा मेरो साँचो थिई, उसको आकारमा आफुलाई ढाल्ने प्रयास गर्थेँ। आशा मलाई सिकाउँथी परिभाषाहरु , अनि म कण्ठाग्र पार्थेँ जीवनलाई। तर जीवन सुत्रवद्द हुन्न।आशाको जीवन एउटा भिन्नै धागो थियो, मेरो जीवन भिन्नै धागो। दुइवटा धागोका दुइटा परिधिलाई जोड्ने प्रयास गर्दा त जीवन उल्झिनु त अवश्य नै थियो।

"के सोचेकी ,भयो छोड्दे ,कति घोत्लिन्छेस् !" आशाले मेरो अतितको जरा काटिदिई । म वर्तमानमा फर्केँ।किचनको झ्यालमा भिजेको रुपी आएर वस्यो।मलाई हेरिरह्यो।थाहा छैन के हेर्छ उसले म मा , फेरि मनको अर्को कुनाले सोध्छ म पनि उसलाई हेरीरहेकी छु र न उसले मलाई हेरेको थाहा हुन्छ। आँखा ऐना हो, मलाई ग्यानवोध भयो , मैले आँखा अन्त मोडेँ।

"आइज खाना वनाकी छु ,खाना खान आइज !" आशाले मलाई कोट्याउँदै भनी।

आशा खासै मिठो खाना वनाउदिन।कहिले के डढाउँछे, कहिले केहि काँचै छोडिदिन्छे। लतपत पारेर काम गर्ने वानी छ। किचन फेरि सफा गर्नु पर्छ आँफैले।त्यसैले प्रायजसो भान्छाको काम म आँफै गर्छु। उसलाई वजारका काम गर्न लगाउँछु। वजारकै काममा पनि उ किनेकै चिजहरु पनि राम्ररी हेर्दिन। साग पहेँलै पनि लिएर आउँछे, आलु कुहिएको पनि वोकेर आउँछे।कहिलेकाहिँ दिक्क लाग्छ उसको काम गराइ देखेर।उ वेफिक्री छे, पहिला पनि थिई अहिले पनि छे।उसको परिचय नै त्यहि अनि किन पो वदलियोस् आफुलाई अरुको आकारमा। उसको आफ्नै आकारका प्रशंसक को भीँड छन्।उ भिँडमा छिर्छे,हराउँछे त्यसैले त वेफिक्री हुन्छे।

 म किचनमा छिरेँ। फोहर फालेको भाँडोवाट वन्दाकोपीको पत्ता चियाइरहेको थियो। थोरै कुहिएको पत्ता! पहिलो पत्र हुनुपर्छ। उसले फ्याँकिदिछे। मान्छे पनि त्यस्तै होला। किराले खाएको पत्ता फ्याँक्छ, नयाँ आफु भेट्टाउँछ। थोरै हरियो, थोरै रसिलो ,कुमारत्व भएको, कसैको स्पर्श नपाएको!

"आज वन्दा पकाइस हो?" मैले थाहा हुँदा हुँदै प्रश्न राखेँ । थाहा हुँदा गरेका प्रश्नको एउटा फाइदा छ ,दोस्रो पक्षको उत्तर कुर्नु पर्दैन।अनी एउटा वेफाइदा पनि त्यो प्रश्न रहस्य विहिन हुन्छ।

"किन? वन्दा खान मन छैन ?" उसले प्रश्नवाचक चिन्ह तेर्स्याई।

"तैँले पकाको , खानै पर्यो नी !"

"अनि घरवाट आमाले ल्याएको अचार पनि खाने !"

"आँपको?" यो पनि रहस्यविहिन प्रश्न! उसले स्विकारोक्तिमा टाउको हल्लाई। टाउको हल्लाउँदा उसको केश अनुहारमा झर्यो।उसले हातले कपाल फेरी पुरानै ठाउँमा फर्काई। म आशा जति सुन्दर छैन, मलाई विश्वास छ।

मैले सम्झे उसकी आमाले धेरै कचकच गरेकी थिइन।त्यो स्वच्छन्द हावालाई कैद गरीदिने प्रयास गरेकी थिइन् भनौँ ।तर उ किन मान्थी , उसले प्रस्तावको अनुहार,वानी व्योहोरा पनि नवुझी टारीदिई।उसलाई त छोटा भेट मनपर्छन्।स्वच्छन्द उडान मन पर्छन् उ किन चाहोस् उसको यात्राको पुर्णविराम?

"अनी साँच्चै आमाले भनेको केटोको के भयो अरे ?" मैले उसको अनुहार नियाल्ने प्रयास गरेँ।

उसले मेरो अनुहार तिर पुलुक्क हेरी !

"केहि न केहि, त्यो त केटालाई नै थाहा होला नी !" उसले म तिर हेर्दा पनि नहेरी जवाफ फर्काई।

"केटाको वारेमा तँलाई भन्दा वढी कसलाई पो थाहा हुन्छ र ?" मैले कटाक्ष गरेँ।

"म पनि करिव करिव तेरै यात्राको यात्री त हुँ नी !" उ खिस्स हाँसी

"तँ त मेरो गुरु नै होस् नी !" म पनि हाँसिदिएँ।

"तँ वाठी छेस् , त्यो तँलाई पनि थाहा छ !"

"तँ भन्छेस् भने होला ! मलाई त तैँले जे भने पनि हो जस्तो लाग्छ !" उ चुप भई । अनी खाना मुछ्न थाली।

उसले मिठो मानेर आफुले पकाएको खाना खाई।मैले पनि उसकै सिको गरेँ मिठो माने जस्तो गरीदिएँ।

"छोडी दे आज भाँडा पनि मै सफा गरिदिन्छु !"

"किन यती दया म माथी म्याडम ?" मैले आशालाई थोरै जिस्क्याएँ।

"आज वाइन खानुपर्छ ,टेवल तैले पुस्छेस् की भनेर !" उसले मेरो अनुहार हेरी। अनी थोरै मुस्काई। उ नशा खोज्दैछे। उ अचम्मकी छे, उसलाई जीवनमा नशा चाहिन्छ। म पनि अचम्मकी छु म उसको नशाको सिको गर्छु। कहिल्यै मात्न सक्दिन मात्र माते जस्तो गर्छु।

क्रमश:

 

 

 
Read Full Discussion Thread for this article