Posted by: Rudramati June 21, 2013
शिवानीसिंह थारुको पहिलो प्रेमकथा- हरियो घर
Login in to Rate this Post:     0       ?        

हरियो घर

छतबाट आशिष मुसुक्क मुस्कुरायो । सोचेँ, हाँस्दा पनि हिस्सी नदेखिने केटोसँग के नारिनु ! मुस्कानको जवाफ फर्काइनँ । चुप लागेर त्यहाँबाट फर्कें, अनुहार चुकिलो बनाउँदै । कस्तो ताइँ न तुइँको केटोले मन पराएछ भनेर साथीहरुले रेल्ला गर्छन् भन्ने थाहा थियो । त्यसैले मैले आफ्नो मुटु स्टेनलेस स्टिलझैँ दह्रो बनाए । पाँच बजेतिर डाइनिङ हलमा छिर्दा देखेँ, साथीहरु त अझ पनि छड्के नजर हरियो घरतिर लाउँदै रैछन् । मलाई देख्नेबित्तिकै साथीहरुले भने, ‘क्या टल है !’ लगत्तै नम्बर सेभेन्टी फोरले भनी, ‘क्या रफ एन्ड टफ है !’ रफ एन्ड टफ ? हैन कुन छेउबाट त्यस्तो देखी उसले ।

‘हो र भन्या ? मलाई त ….,’ मैले मुख बिगार्दै भनेँ । तर मेरो मन नपराइ मेरा प्यारा साथीहरुले पढ्न सकेनन् वा पढ्न चाहेनन् । मैले आफ्नो कुरा राख्नुभन्दा अगाडि नै उनीहरु आशिषको लम्बाइको चर्चामा जुटे । ‘पाँच पाँच कि पाँच छ ?’ केटाको हाइटसँग अलि बढी नै लगाव भएकी हामीभन्दा अग्ली नम्बर ‘एट’ अनुमान लगाउन थाली । टुप्लुक्क पि्रती आइपुगी, मुस्कुराउँदै । हामी बसेको टेबलमा बस्दै सोधी, ‘कस्तो लाग्यो त ?’ साथीहरुले उसको मुस्कान सापटी लिएर मुसुमुसु हाँस्दै मलाई हेरे ।

म भने अलि कूटनीतिक प्रतिक्रिया फुराउनुपर्‍यो भनेर कपाल कनाउन थालेँ । पि्रतीको मुखेन्जी आशिषको अनुहार मन परेन भन्न त भएन । भनेँ, ‘म भन्दा कान्छोलाई कसरी लभ गर्ने ? मलाई त भाइभाइजस्तो फिलिङ्स आइराछ ।’ ‘प्लिज शिवा, एभ्री थिङ इज फेयर इन लभ एन्ड वार ।’ नम्बर सेभेन्टिनले अटोबुकमा भर्ने गरेको ‘क्लिसे’ दोहोर्‍याई ।


(फाइनप्रिन्टले जेष्ठ १८ मा सार्वजनिक गर्न लागेको विभिन्न १० लेखकहरुको संस्मरणहरुको संग्रह ‘फस्ट लभ’मा रहेको शिवानीसिंह थारुको संस्मरणको अंश।)

Read Full Discussion Thread for this article