Posted by: dog5 June 20, 2013
About ANA, personal opinion
Login in to Rate this Post:     0       ?        
 

 एएनएप्रतिको मेरो तीतो यात्रा

 

वर्षभरि सुस्ताए पनि मेलाकै लागि मात्र खोलिएको संस्थाजस्तो आभास हुने एएनए, प्रत्येक वर्ष मेला आयोजनाको केही महिना बाँकी हुँदादेखि प्रचारप्रसार र हल्लाखल्लामा जुट्ने गर्दछ । अझै पनि मेरो मानसपटलमा ताजै छ, एएनए बोस्टन भेलामा मेरो सहभागिता । मानिसको घुइँचो, त्यसमा पनि धेरै युवा वर्ग र विद्यार्थी संख्या बाक्लो भएको मेला । दिनको उज्यालोमा खासै चहलपहल नदेखिए पनि रात छिप्पिंदै जाँदा चहक–महक बढ्दै गएको थियो । कतै फेसन प्रतियोगिता त कतै दोहोरीको रौनक । जति रात ढल्दै गयो, त्यति युवायुवतीहरु तातिदै र जोसिदै गएका दृश्यहरु । आधुनिक समाजले त्यसलाई पचाए पनि मदिराले लट्ठिएका युवायुवतीहरु एकआपसमा झगडा गर्ने अनि अंग्रेजीका फोहोरी शब्द बर्साउने सभ्य समाजका लागि पाच्य नहुने दृश्य पनि मेरो लागि नौलो नै थियो ।

 

एएनए अमेरिकाको सबैभन्दा पुरानो नेपाली संस्था रे । यो आफैंमा नेपाली संस्कृतिको जगेर्ना र अमेरिकाका विभिन्न राज्यहरुबाट भेला भएका नेपालीहरुबीच एकआपसमा परिचित गराउने एक माध्यम भएको मेरो सामान्य बुझाइ थियो । तर, बोस्टनको भेलामा मैले सामान्य महसुस गर्नसम्म पाइन । हुन त एएनएको विशाल भेलामा दिनको समयमा विभिन्न असल कार्यक्रम पनि नभएका होइनन् । तर दिउँसो सम्पन्न भएका राम्रा कार्यक्रममा रातिको जस्तो चहलपहल देखिएन । मदिरामा लट्ठिएका ती जमातलाई मैले दिउँसो सम्पन्न भएका कार्यक्रमहरुमा भने पटक्कै देखिन । कता–कता मनमा लाग्यो, युवा जमातलाई एएनएका बुद्धिजीवि र अगुवाहरुले उद्देश्यमूलक कार्यक्रममा किन समावेश गर्न सकेनन् ? के यो भेला मोजमस्ती र नाफा कमाउनका लागि मात्रै हो त ? एएनएको बोस्टन भेलामा न्युयोर्कबाट ३–४ दिनको फुर्सद मिलाएर सहभागिता जनाएको म स्वयम् पटक्कै खुसी हुन सकिन ।

 

बोस्टन भेलाको ह्याङओभरका कारण भर्जिनियामा सम्पन्न भेलामा सहभागिता जनाउने आवश्यकता महसुस गरिन । मैले एएनएलाई लगभग बिर्सिसकेको थिएँ, तर भर्जिनिया भेलाको केही महिनापछि मलाई एक जना मित्र एचपी भण्डारीले फोनमा गर्र्दै भन्नुभयो– ‘मनमोहनजी हामीहरु एक शिक्षित युवा अनि प्रजातान्त्रिक शक्तिले एएनएजस्तो पुरानो संस्था र यस भेलामा आउने सम्पूर्ण बुद्धिजीवि र युवा जनशक्तिलाई नेपालको सांस्कृतिक, धार्मिक र नेपालीको पहिचानका लागि परिचालन गर्ने सोचका साथ अघि बढ्ने अवसरमा तपार्इंले आउने एएनए २०११–१३ कार्यसमितिको चुनावमा सचिव पदमा उठ्नु पर्‍यो ।’ एचपीजीले राखेका प्रस्ताव सही थिए र उहाँका कुरामा मैले नेपाल र नेपालीलाई केही गर्नुपर्छ अनि यो एएनएको भेलालाई सार्थक बनाउनुमा हामी युवावर्ग नै लाग्नुपर्छ भन्ने कुराले मलाई पनि एएनएमा आबद्ध हुने फेरि इच्छा जगायो । मैले मेरा केही असल मित्रहरुसँग सल्लाह लिएँ । उहाँहरुले सकारात्मक कदमको सुरुवात हो भनी मलाई अघि बढ्न प्रोत्साहन गर्नुभयो । मैले एचपीजीलाई फोन गरें र मेरो सहमति रहेको अवगत गराएँ । एएनए चुनावको सबै तयारी पूरा भएको चुनाव सञ्चालन समितिको जानकारीसँगै सदस्य वितरण अनि चुनाव प्रचार–प्रसारमा सबै जुटेका थिए । मलाई थाहा छ, हाम्रो प्यानलका सबै साथीले आ–आफ्नो नाम १०० डलर तिरी एएनए चुनाव सञ्चालक समितिलाई पे–पलमार्फत आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

 

चुनावको केही दिनअगाडि नाटकीयरुपमा मेरिल्याण्ड राज्यको अदालतमा एएनएविरुद्ध मुद्दा दायर भयो । एक पक्षले एएनएमा गड्बडी भएको जनाउँदै मुद्दा दायर गरेका थिए । लगत्तै एचपीजीले हाम्रो प्यानललाई चुनाव स्थगित भएको जानकारी गराउनुभएको थियो । जब अदालतमा मुद्दा प¥यो, त्यसपछि त एएनए सन् २००२ देखि अमेरिकाको कानूनबमोजिम नवीकरण नै नगरी हावाकै तालमा चलिरहेको सार्वजनिक भयो । मैले सदस्यता वितरण गर्ने क्रममा लगभग ६०–६५ जना साथीभाइलाई सदस्यता वितरण गरिसकेको थिएँ र सदस्यता शुल्क एकमुष्ठ एचपीजीले एएनएलाई पठाउनुभएको मलाई जानकारी पनि गराउनुभएको थियो । त्यसपछि एएनएका सम्पूर्ण कुराहरु सतहमा आएपछि मैले सदस्यता वितरण गरेका मित्रहरुले ममाथि प्रतिप्रश्न ओइ¥याउन थाले– ‘नवीकरण नभएको संस्थामा तिमीले कुन आधारमा हामीलाई सदस्यता बनायौ ?’ उहाँहरुले सदस्यतावापतको पैसा फिर्ता गराउन मलाई आग्रह गर्नुभयो । तर माग्ने कसलाई, मलाई पनि थाहा थिएन । मसँग कुनै उत्तर पनि थिएन । म साथीभाइसामु लज्जित हुनुबाहेक अर्को विकल्प थिएन ।

 

सन् २००२ देखि एएनएले नेपालीसँग कार्यक्रमको नाममा सदस्यता बनाउने र पैसा उठाउने कार्यमा जुटेकोमा यसबारे जान्दाजान्दै पनि एएनए अग्रज र अन्तरिम समितिले ३० औं एएनए टेक्ससको घोषणा गर्‍यो । मलाई जहाँसम्म लाग्छ, एएनए अन्तरिम समितिलाई अदालतले एएनएलाई कानुनी दायराभित्र ल्याई चुनाव गराउने भन्ने आदेश दिइएको थियो होला । तर, एएनएको यो अन्तरिम समितिले २ वर्ष नाघिसक्दा पनि चुनाव हुने छाँटसम्म देखाएको छैन । केही साथीहरुले प्रक्रियाको विरोध पनि नगरेका पनि होइनन् । तर, एएनए अन्तरिम समितिले उल्टै अदालतमा मुद्दा दायर ग¥यो । मैले पनि मुद्दाको एक कपी पाएँ र एएनए चिनोको रुपमा आजसम्म सम्हालेर राखेको छु । मुद्दाको कपी पाएपछि समाजका बुद्धिजीविहरुसँग सल्लाह गर्न उचित ठानें र गरें पनि । समाजका बुद्धिजीविहरुले मिल्नुपर्ने सल्लाह, सुझाव दिनुभयो । तर, विडम्बना मिल्नकै लागि पनि केही दस्तुर तिर्नुपर्ने प्रस्ताव आयो । अचम्मको कुरो, कुनै गल्ती नै नगरीकन आत्मसमर्पण गरी केही दस्तुर तिर्नुपर्ने, कागजमा सहीछाप गरी माफी माग्नुपर्ने जानकारी पाएँ । समाजका बुद्धिजीवि तथा समुदायका नेता भनाउँदाको कुरा सुनेर म अवाक् भएँ । मैले समाजका अगुवाको सल्लाह लिनुभन्दा कानुनी उपचार लिने निक्र्योल गरें । त्यसपछि एक जना मित्र तथा कानून व्यवसायी दिल्ली भट्टकोमा गएँ । पहिलो पटक बोस्टनमा सम्पन्न एएनएमा उनै कानून व्यवसायीसँगसँगै भाग लिएको संयोग पनि थियो । उहाँले मुद्दा पढ्नुभयो र भन्नुभयो– ‘मनमोहनजी तपाईंले कुनै गल्ती गर्नुभएको छ र ?’ मैले अहँ, छैन भने । मैले एएनएमा लागेर धेरै अमूल्य समय र पैसा गुमाएको तथा अनावश्यक झन्झट बोक्नुपरेको तीतो अनुभव सुनाएँ । उहाँको सल्लाह थियो– ‘आफूमा स्वाभिमान छ, गल्ती गर्नुभएको छैन भने तपाईंले अमेरिकामा पक्कै न्याय पाउनुहुन्छ । समय लाग्न सक्छ र कष्ट पनि हुन सक्छ तर जित तपार्इंको नै हुन्छ, त्यसकारण तपार्इंले सम्माननीय न्यायाधीशसमक्ष सबै आरोप र लाञ्छना झूटा भएको भनी पत्र लेख्नुस् ।’ एचपीजीले मलाई समय–समयमा फोन गरी अमेरिकाका लागि नेपालका राजदूतमार्फत मिल्ने कुरा भएको छ र तपाईंले १२००–१५०० डलर पठाउनुपर्छ भन्नुभयो । मेरो जबाफ थियो– ‘मैले गल्ती गरेको छैन र गल्ती नगरेको कुरामा झुक्न पनि सक्दिन । तपाईंलाई जे मन लाग्छ गर्नुस् ।’ मैले न्यायाधीशलाई पत्र लेख्ने निर्णय गरिसकेको उहाँलाई जानकारी दिएँ । त्यस दिनदेखि आजको मितिसम्म मेरो एचपीजी र प्यानलका अन्य साथीहरुसँग कुनै पनि कुरा भएको छैन र मलाई थाहा पनि भएन उहाँहरुले के गर्नुभयो तर मैले एएनएको वकिल डिपो–अकिन–डेकोलाई मुद्दामा लगाइएका आरोप र लाञ्छना गलत भएकाले मुद्दा फिर्ता लिन अनुरोध गरें अनि युनाइटेड स्टेट कोर्ट फर डिष्ट्रिक अफ कोलम्बिया, सिविल डिभिजनको सम्माननीय न्यायाधीशसमक्ष एएनएले ममाथि लगाइएका लाञ्छना सबै गलत भएको र मलाई गलत र झूटा ल–सुट गरेकोमा पर्न गएको मेरो खर्च तथा मानसिक तनावका लागि न्याय पाउँ, झूटा ल–सुट गर्ने संस्था र व्यक्तिलाई कारबाही गरिपाउँ र ममाथि लगाइएको मुद्दा रद्द गरियोस् भनी सेप्टेम्बर १४, २०१२ मा निवेदन दिएँ र अक्टोबर १६, २०१२ मा कोर्टबाट मुद्दा रद्द भएको जानकारीसहितको चिट्ठी पनि प्राप्त गरें ।

 

एएनएकै कारण केही साथीहरुसँग टाढा हुनुपर्‍यो र नेपाली समाजमा हुने–गरेका कार्यक्रमहरुबाट पनि आफूलाई टाढा राखें । एएनएलाई फेरि पनि बिर्सिसकेको थिएँ तर केही हप्ताअगाडि मेरा एक असल पत्रकार मित्रले एक टेलिभिजन च्यानलका लागि एएनएको विषयमा विशेष कार्यक्रम तयार पार्दैछु तपाईंले केही बोलिदिनुहुन्छ कि भनेर प्रश्न गर्नुभयो । मित्रको अनुरोधलाई नकार्दै एएनएको शब्द सुन्नासाथ मैले कुनै इच्छा नभएको बताएँ । त्यसपछि पत्रकार मित्रले भन्नुभयो– ‘एएनएको सत्य–तथ्य बाहिर ल्याउने मनसायले तयार पार्न लागिएको कार्यक्रम हो, तपाईंले पनि मुद्दा खेप्नुभएको सुन्नमा आयो । तपाईंले सही र खरो उत्रनका लागि के कदम चाल्नुभयो भन्ने कुरा यो समाजलाई जानकारी हुनु अति जरुरी छ । तपाईंको जबाफ दिन एएनएका सम्बन्धित पदाधिकारी ‘हट सिट’मा हुनेछन् ।’ पत्रकार मित्रको कुरा सुनेपछि कार्यक्रममा सहभागी भएँ । उक्त कस्तो खाले कार्यक्रम हो यो –मैले प्रश्न गरें । उहाँको जबाफ थियो– एक छलफल सत्य–तथ्यका लागि ।

 

उक्त सम्प्रेषण कार्यक्रममा बोल्ने अवसर त दिइयो तर मेरो मूल आशय नै मैले व्यक्त गर्न नपाउँदा कताकता कार्यक्रम सत्य–तथ्यको खोजभन्दा पनि एएनए न्युयोर्क भेलाको प्रचार–प्रसारका लागि हो कि भन्ने आभास हुन पुग्यो । एएनएका अन्तरिम समितिका केयर टेकरले माफी त मागे तर कार्यक्रममार्फत सबै साँचो, सत्य–तथ्य बाहिर आयो त ? सायद समय र परिस्थितिका कारण होला, पूर्व एएनए स्टेक–होल्डरको उपस्थिति नरहेको वा अरु कुनै कारणले गर्दा हो, भगवान जानुन् । कार्यक्रममा धेरै प्रश्न–उत्तरको दोहोरी चल्यो । तर, मैले पूरा उत्तर नपाएको अनुभव गरें । यदि २००२ सालदेखि एएनए भन्ने संस्था अमेरिकाको कानुनको दायराभित्र नै थिएन भने कानुनको आँखामा छारो हाली नेपालीलाई भ्रममा राखी सदस्यताको नाममा उठाइएको सदस्यता शुल्क र नाफा नेपाल र नेपालीको नाममा किन उठाउँदै आएको र यदि संस्था नवीकरण नभएको थाहा भएपछि एएनए अन्तरिम समितिले सबै सदस्यलाई लिखित जानकारी गराउनुपर्ने जिम्मेबारी हुनुपर्ने होइन र ? चुनावका लागि उठाइएको उमेदवारीको रकम चुनाव नभएपछि फिर्ता दिनुपर्ने होइन र ? अनि त्यो रकम उम्मेदवारहरुलाई कहिलेसम्म फिर्ता गर्ने र कसले गर्ने ? के अहिलेको अन्तरिम समितिले असन्तुष्ट पक्षलाई सँगै मिलाएर हातेमालो गर्दै हिँड्नुपर्ने होइन र ? आखिर असन्तुष्ट पक्षका साथीहरु पनि नेपाली नै होइनन् र ! एएनएको चुनाव कहिलेसम्म हुने त ? कि नेपालको सरकार केयर–टेकरले चलाएजस्तै, एएनएको पनि अन्तरिम जिम्मेवारी पाएका व्यक्तिबाटै चल्ने ! मैले एएनए अन्तरिम समितिबाट पाएको मुद्दाका लागि खर्चेको समयको मूल्य तथा सो मुद्दाको दौरानमा लागेको खर्च, कसले पूति गर्ने ? न्यूयोर्क राज्यमा हुन गइरहेको यस एएनए भेलामा जम्मा हुने एएनए स्टेक–होल्डरले माथिको उत्तर खोजी सदस्य र नेपालीलाई जानकारी गराउने छन् भन्ने आशा राखेको छु । अरु पनि थुप्रै अनुत्तरित प्रश्नको खोजी गर्दै मेरो तीतो अनुभव तपाईंको सामु पस्केको छु । आशा छ मेरो यो लेख र अभिव्यक्तिले कसैको पनि हानि वा मानहानि हुने छैन ।

- मनमोहन सिंह घिमिरे
न्युयोर्क

Read Full Discussion Thread for this article