Posted by: _____ June 2, 2013
किसान कंगाल, नेटवर्कवाला मालामाल
Login in to Rate this Post:     0       ?        
 

 

हचुवाका भरमा खेती


  • घिउकुमारी र स्टेभिया

- गिरिराज त्रिपाठी 

अहिले किसानहरू बिस्तारै नयाँ खेती प्रणालीमा आकषिर्त भइरहेका छन्। तर, त्यसले जोखिम बढाइरहेको छ। घिउकुमारी र स्टेभियामा जस्तै। उत्पादन त गर्ने तर त्यसको बजार कहाँ हो ? त्यसको ग्यारेन्टी छ कि छैन ? उत्पादनको सम्बन्ध उद्योगसँग छ कि छैन भन्ने अहिलेको अहं प्रश्न हो। व्यावसायिक रूपमा जानका लागि हाम्रो उत्पादन गुणस्तरीय हुनुपर्छ,  प्रविधि पनि उच्चस्तरको चाहिन्छ।  यसको ठीक उल्टो छ, घिउकुमारी र स्टेभियामा। उत्पादनको गुणस्तरको ग्यारेन्टी कसरी र कसले गर्ने भन्ने अर्को महत्त्वपूर्ण पक्ष हो।

हाल स्टेभिया उत्पादनमा चीन संसारमै अग्रणी स्थानमा छ। चीन यसको औद्योगिकीकरणमा गइसक्यो। जापानले चीनबाटै स्टेभिया आयात गर्छ। हालको अवस्थामा हामी चिनियाँ बजारसँग गुणस्तर र मूल्य दुवैका हिसाबले प्रतिस्पर्धा गर्न सक्दैनौँ। अहिलेको ढंगले उत्पादन विदेश निर्यात हुने कुरामा विश्वास गर्न सकिँदैन। गुणस्तरको प्रत्याभूति त्यसको पहिलो सर्त हो। अहिले न हाम्रो उत्पादन विदेश निर्यात हुने गुणस्तरको छ, न त त्यसको नेपाली बजारमा सम्भावना सुनिश्चित गरिएको छ। 

नेपालमा उत्पादनमा भइरहेको स्टेभियाको गुणस्तर कमसल छ। कतिपय किसानले त झन् कमसल खालको स्टेभिया लगाइरहेका छन्। त्यसका निम्ति सरकारी अनुसन्धान निकाय या विश्वविद्यालयले चासो देखाउनुपर्ने हो। तर, दुवैले त्यस्तो काम गरेका छैनन्। घिउकुमारी पहाडी भेगमा र अरू बाली उत्पादन नहुने जमिनमा पनि भएको देखिन्छ। तर, व्यावसायिक रूपमा हामीले प्रतिस्पर्धा गर्न सक्ने कुनै आधार देखिँदैन। अहिले जसरी भारतबाट बिरुवा ल्याइरहेका छौँ, त्यसको जाँच गर्ने पद्धति पनि हामीले लागू गरेका छैनौँ। विदेशबाट बिरुवासँग हामीले रोग पनि ल्याइरहेका हुन्छौँ। नेपालमा भित्रिएका धेरै वनस्पतिजन्य रोग विदेशबाटै भित्रिएका हुन्। जस्तो ः आलुमा लाग्ने रोग बंगलादेशबाट आएको हो। सुन्तलामा लाग्ने रोगहरू पनि विदेशबाटै भित्रिएका हुन्। 

नेपाल भित्रिएका स्टेभियाका अधिकांश बिरुवा कि कटिङ्बाट निकालिएका बिरुवा छन् कि माउ बोटबाट थारेर। जसले गुणस्तरीय उत्पादन दिन सक्दैन र बिरुवा छिट्टै बूढो हुन्छ। यसैले किसानहरू बिरुवामा धेरै ठगिएका छन्। सरकारले जिम्मेवारी नलिँदा कृषि क्षेत्रमा धेरै विसंगति निम्तिएका छन्। सरकारले कुनै जिम्मेवारी लिइरहेको छैन। यो पंक्तिकारले नै पछिल्ला आठ महिनायता नेपालभित्र स्टेभियाको बिरुवाका कति प्रकार रहेछन् भनेर संकलन गररिहेको छ। झन्डै १० प्रकारका बिरुवा त संकलन भइसके। तीमध्ये कतिपय अत्यन्तै कम गुणस्तरका छन् भने कतिपयमा गुलियोको मात्रा भए पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गुणस्तर छैन। 

घिउकुमारी र स्टेभिया विदेश निर्यात गर्नका निम्ति पनि पहिले गुणस्तरका आधार तयार हुनु जरुरी छ। हाम्रो उत्पादनको गुणस्तरको आधार के हो भन्नेबारे सरकार वा विश्वविद्यालयका अनुसन्धान निकायले अध्ययन र अनुसन्धान गर्नु जरुरी छ। अहिले उत्पादन भइरहेको स्टेभियाको बिरुवामा स्टेभियोसाइट र रेभिडियोसाइट 'ए'को मात्रा कति छ भन्ने कसैलाई थाहै छैन। हल्लाका भरमा किसानहरू ठगिने शृंखला जारी छ। भारतबाट सस्तोमा बिरुवा किन्ने र नेपालमा ल्याएर महँगोमा बेच्ने काम केही वर्षयता निकै फस्टाइरहेको छ। यसलाई नरोक्ने हो भने कृषि क्षेत्रबाट धेरै निरुत्साहित हुनेछन्। 

घिउकुमारी र स्टेभिया खेतीका लागि माटो परीक्षण गरी अम्लियपन पत्ता लगाएर मात्रै पुग्दैन। माटोमा हुने क्यालसियम, फस्फोरस र म्याग्नेसियमजस्ता अन्य तत्त्वको पनि परीक्षण गर्न जरुरी हुन्छ। तर, किसानहरूले गररिहेको अन्धाधुन्ध खेतीले गर्दा बेर्ना बेच्नेले कमाउने र खेती गर्ने सधँै घाटामा जाने भइरहेको छ। केही समयअघि मात्रै भक्तपुरमा मेगा एग्रोटेकले भारतबाट बिरुवा ल्याएर गरेको झन्डै ४० रोपनी स्टेभिया खेती असफल भएको थियो। यस्ता उदाहरणबाट किसानले पाठ सिक्नु जरुरी छ।

आम्दानीको लोभमा भइरहेको अन्धाधुन्ध खेतीबाट किसान कहिल्यै उँभो लाग्न सक्दैनन्। सरकारी निकायको मौनताले पनि यस्तो अन्धाधुन्ध खेतीलाई मलजल गररिहेको छ। सरकारले नीति-नियम ल्याएर व्यवस्थित नगरेसम्म केही हुनेवाला छैन। तर, नेपालमा सरकारी तवरबाट यस्तो काम हुन सकेको छैन। नयाँ खालका बिरुवाको खेती प्रणालीमा कम्तीमा सरकारी अनुमति लिने व्यवस्था गर्ने हो भने किसानको लगानी डुब्दैन। समुचित अनुसन्धानबिना हचुवाका भरमा भइरहेको स्टेभिया र घिउकुमारी खेती दिगो हुने देखिँदैन। 

-त्रिपाठी त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी केन्द्रीय विभागका सह-प्राध्यापक हुन्।)

Read Full Discussion Thread for this article