Posted by: Rudramati May 23, 2013
कथा– घृणा
Login in to Rate this Post:     0       ?        
यो सब सोचिसकेपछि पनि ममा त्यो बूढीप्रतिको धारणामा कुनै परिवर्तन आउँदैन । बूढाबूढीको बुद्धि नष्ट हुँदै जान्छ रे । बुझेको छु । तर पनि मलाई त्यो सत्य बुझेर त्यस बूढीप्रतिको व्यवहारमा कुनै परिवर्तन ल्याउन मन लाग्दैन । 'बूढी चाँडोभन्दा चाँडो मरोस्,' मनमा यही भाव निरन्तर विद्यमान छ ।

बूढी दिन बिराएर मेरो घरमा पनि आउँछे । नआओस् पनि किन ? गुलियो चिया खान पाउँछे । पाक्दै गरेको तरकारी र अचार चाख्न पाउँछे । बूढीकै भाषामा भन्दा 'उसकी बुहारीले बनाएको भन्दा मीठो' खान पाउँछे । तर सबभन्दा ठूलो कुरा बुहारीका बद्ख्वाइँ गर्न पाउँछे । खूब दोस्ती छ बूढीको मेरा घरका महिला सदस्यसँग । दोस्ती नहोस् पनि किन ? बूढीले आफ्नी बुहारीलाई तथानाम गर्दा आगोमा घ्यू थप्ने काम गर्न जो पाइन्छ !

तर पुरुष सदस्य कोही पनि बूढीलाई फुटेका आँखाले देख्न सक्तैनन् । भाउजूहरू बूढीलाई मज्जैले उकासिदिन्छन्, 'हजुर त साख्यै हाम्रै आमाजस्तै लाग्छ । एकदिन आउनुभएन भने पनि कस्तो शून्य लाग्छ !'

अनि निस्कने बेलामा सबैजनाजसोको कोठा कोठामा पस्दै 'गएँ है बाबु,' वा 'गएँ है नानू' भन्दै चियो गर्ने निहुँले संस्कारी हुनुको ढोङ्ग गर्छे । म सकेसम्म बूढीलाई मेरो कोठामा नपसोस् र चियो गर्ने अवसर ननिक्लोस् भन्ने हेतुले बूढी आफ्नो कोठामा आउँदै गरेको भेउ पाउनासाथ ट्वाइलेटतिर लस्किहाल्छु ।

lll

.....र एकदिन बूढी मर्छे । यता धेरैदिनदेखि बूढी अस्वस्थ थिई । बूढीलाई दम थियो रे । गाउँघरतिरको हल्ला । बूढीलाई वीर हस्पिटलमा आईसीयू मा भर्नै गरिएको थियो । टोलछिमेकका सबैजसो बूढीलाई हेर्न गइरहेको चर्चा भने म निरन्तर सुनिरहेको थिएँ । मलाई लागिरहेथ्यो, बूढीले चाहिने भन्दा बढ्तै सहानुभूति पाइरहेकी छे । मेरा घरका पनि सबै सदस्य लावालस्कर लागेर फलफूल, हर्लिक्स आदि बोकेर गएको म जानकारी पाइरहेको थिएँ । 

'तँ पनि जा एकपल्ट, अब अन्तिमैजस्तो छ । फेरि देख्न नपाउलास् !' एकपल्ट मलाई पनि यसो भनियो । म भने यता नभएको एक्जाम तेस्र्याएर आफू बेफुर्सदी भएको बताइरहेको थिएँ । 

'फेरि देख्न नपाउलास् ।' आहा ! यो सुनेर चैँ मनमनै रमाएँ । कति आनन्द हुन्थ्यो होला बूढीलाई फेरि देख्न नपाए । उसै पनि बूढी हस्पिटलाइज भएदेखि मलाई मेरो घरको आँगन १९४७ पछिको भारतको भूमिझैँ लागिरहेथ्यो ।

'एक्जाम छ' भन्ने कुरा सुनेर चैँ सबै चुप । 

अनि एकदिनमध्ये दिउँसो १२ बजे बूढी खसेको जानकारी घरमा आइपुगेछ । 

मलामी जानुपर्ने भो ।

मलामीचैँ खुरुक्क गइदिएँ । कुनै बहाना बनाइनँ । अबउप्रान्त बूढीको चियो र चासोको झन्झटमा फस्नुपर्नेछैन । अन्तिमै हो । 

सिधै आर्यघाट गएँ । बूढीको दाहसंस्कारको अन्तिम तयारी हुँदै रै'छ । मनमा उमङ्ग थियो । त्यो बाहिर पनि प्रकट होला कि भन्नेमा धेरै नै चनाखो भइरहेँ । अनुहारमा जबरजस्ती गाम्भीर्य सोहोरेर आफूलाई त्यो माहोलमा बस्नयोग्य तुल्याउने प्रत्यत्न गर्दै थिएँ । 'मैले दुःखी हुनैपर्छ, यो दुःखको क्षण हो ।' भनेर आफूलाई भित्रैदेखि दुःखी तुल्याउने चेष्टा गरिरहेको थिएँ । 

केही छिनमा म भित्रैदेखि साँच्चै दुःखी नै पो हुन थालेँ । 

'ज्या ! बूढी मरी त ! कठैबरी च्व च्व !' एकाएक बूढीप्रति सहानुभूति पो आयो है !

म मलामी आएका एक एक मान्छेलाई नियालिरहेको थिएँ । सब दुई वा तीनजनाको समूहमा एकदमै नर्मल भएर कुराकानी गरिरहेका थिए । कोही कोही हाँसिरहेका पनि थिए । बूढीकै छोरा बुहारी पनि आमा/सासू मरेको पीरभन्दा पनि 'काम' सक्नुपर्ने चटारोको पीर बढी लिइरहेका थिए । 

मैले मेरो विगत नियाल्न लागें । यसो सोचिहेर्दा पत्तो लगाएँ, म जीवनमा पहिलोपल्ट मलामी आइरहेको रै'छु । मलाम आउँदा के गर्छन् ? रुनुपर्ने हो कि ! मृतकका नजिकका आफन्तसित कस्तो व्यवहार गर्नुपर्छ ? केही पत्तो थिएन । त्यसैले एक किसिमले रनभुल्लमा परेको थिएँ । एक्लै कुनामा बसिरहेको थिएँ । यसो हेर्दा सब विनोदमा देखिन्थे । मचैं बित्थामा किन नचाहिँदो भावुकता सोहोरेर त्यसलाई मरेको बिरालोझैं काखी च्यापिरहेछु ?

बूढीलाई जलाउन लागियो । दागबत्ती दिइसकेपछि बूढी तिहारमा केटाकेटीले पड्काउने बारुदझैं पट् पट् पडि्कन लागी । कति मीठो आवाज त्यो ।

म 'बूढी मरे पनि हुन्थ्यो,' भनेर सराप्थें । आज साँच्चै बूढी मरी नै । अब बार्दलीमा सुइटर बुन्ने काँटाझैं तीखो दृष्टिले हेर्दै 'टाढै बाबु ?' भनेर सोध्ने आवाजले मलाई हरेक दिन घोच्नेछैन । दिन बिराएर मेरो घरमा गुलियो चिया र पाक्दै/बन्दै गरेको तरकाली/अचार चाख्न र त्योभन्दा बढ्ता चासो राख्ने निहुँले मेरो कोठामा बूढी आउन पाउनेछैन ।

म फेरि फुरुक्क परें । अनि तुरुन्तै आफैंलाई धिक्कारेँ । दुःखी हुनुपर्ने ठाउँमा म किन फुर्केको ? मान्छे मर्‍या ठाउँ आएर पनि कोही फुर्किन्छ । कसैले नोटिस गर्‍यो भने ? मलाई गाउँभरि 'पापी, मान्छे मर्दा खुसी हुने' भनेर हल्ला फिजाइनेछ । 

फेरि मनको तर्कनाले कोल्टो फेर्छ । मर्ने बेला भएकी बूढिया मरिन् त के ? मैले मार्‍या हो र ? भित्रभित्रै खुसी हुन पनि नपाउनु ?

मन यस्तै यस्तै तर्कना गर्दै थियो । बूढीको लास जल्दै थियो । एकपल्ट त्यहाँ भावुक माहोल बन्यो । बुहारीचैं रोइदिइन् । छोरो पनि आँखा पुछ्दै थियो । स्थिति ह्वात्तै मोडियो । अघि विनोदमा भएका सब मलामीहरू नाटकीय पारामा भावुक हुन लागे । म पनि सतर्क भएँ । आँसु ल्याउन सके सायद रोइदिन्थे नै हुँला । तैपनि सक्दो कनी कनी भावुक हुन खोजिरहेको थिएँ । र केहीबेरमै मनस्थितिलाई सन्तुलनमा ल्याउन सफल भएँ पनि । बस्, आँखामा आँसु थिएन । अनुहारमा हुनुपर्ने भाव भने आइसकेको थियो । 

काम सकियो । अब त्यहाँ 'मलामी ख्वाउने' भन्ने चर्चा सुनिन लाग्यो । लौ ! मलाम आएकालाई पनि ख्वाउनुपर्ने अरे ! मान्छे मरेको ठाउँमा पनि कोही खान्छ ? मलामीहरू पनि खान नपाएका झैं गरी ताँती लागेर खान गए ।

'खाइदिनैपर्छ ।' भित्रभित्र खान पाइँदै छ भन्दै फुर्कदै गइरहेका हुँदा हन् । तर मचैं फुत्त एकातिरबाट भागें । त्यस्तो किसिमको माहोलमा मुखमा केही हाल्नै मन लागेन ।

घर आइपुगें । गेट खोलेर भित्र छिर्ने बेलामा बूढीको बार्दलीमा आँखा परिहाल्यो । 

'कता गएर बाबु ?' बूढीले मलाई यो प्रश्न गरेको जस्तो लाग्यो ।

'तपाईंको मलामी गएर आएको ।' मनभित्र यस्तो कुरा फुरेछ । ताज्जुब ! एक्लै हाँसें ।

घरभित्र छिरें । जनै फेरें । नुहाएँ । बाहिर आँगनमा निस्कें । किन किन निस्किउँ निस्किउँ लाग्यो । आँखा बूढीकै बार्दलीमा गएर ठोक्कियो । रित्तो बार्दली । किन किन बूढीको घरको त्यो रित्तो बार्दली देखेर पहिलोपल्ट मजा आएन । शून्य लाग्यो ।

बाहिर निस्केर ब्रस गर्न थालें । हावाको स्वाद अघाउँन्जेल लिन थालें । कति निस्किनु बाहिर ? कसैले भित्र जा भन्दिए हुन्थ्योजस्तो लाग्न थाल्यो ।

अनि निकै दिनपछि मस्तिष्कमा एउटा चेत आयो । बूढीलाई म धेरै घृणा गर्थें । चरम घृणा । त्यसमा पनि एउटा मजा रै'छ । फेरि जीवनको उही थोत्रो दर्शनको आत्मबोध हुन्छ । बूढी थिई । घृणा थियो । मजा थिएन । आज बूढी छैन । घृणा पनि छैन । र मजा पनि छैन । मेरो जीवनबाट मैले धेरै घृणा गर्ने एउटा मान्छे यस धरतीबाट शून्यमा विलीन भएको छ । प्रेम गर्नलाई मात्र कोही चाहिन्छ र ? घृणा गर्ने कोही भएन भने पनि त जीवन खल्लो हुँदो रहेछ । 

र आजकाल साँच्चै म बूढीलाई खूब मिस गर्न थालेको छु । 

प्रकाशित मिति: २०६९ आश्विन २७ १०:५३
Read Full Discussion Thread for this article