Posted by: _____ May 18, 2013
म यसरी जेल परें
Login in to Rate this Post:     0       ?        
 

म यसरी जेल परें

 
(2 Votes)
 
 
 
 
Dorje
 
 

काठमाडौ, जेष्ठ ४ - कतारको एउटा स्कुलका शिक्षक दोर्जे गुरूङ इस्लाम धर्मको अपमान गरेको अभियोगमा दुई साताअघि थुनिए । १२ दिन थुनामा बसेर यसै साता उनी नेपाल फर्किएका छन् । युरोपदेखि अफ्रिकासम्मका देशमा शिक्षक भएर डुलेका फिरन्ता दोर्जे ले कान्तिपुरका देवेन्द्र भट्टराईसँग आफ्नो कथा यसरी सुनाए ।

म सेन्ट जेभियर्सको विद्यार्थी । मुस्ताङको पुरानो घर हुँदै पोखरा र काठमाडौंसम्म आइपुगेको मेरो घर-परिवारमा छोराले 'पढोस्, गरिखाओस्' भन्ने चिन्ता मात्रै रहेको हुन्थ्यो । स्कुले जीवन होस्टलमै बित्यो । साथीभाइ, हाहु । सपना बदलिरहने समय । स्कुलको अलिक तल्लो तहमा पढ्दा भविष्यमा इन्जिनियर बनौंला भन्ने थियो । अलिकपछि सिभिल इन्जिनियर र स्कुलपछि उच्च शिक्षामा इटाली पुगेपछि कम्प्युटर साइन्सतिर लागें । तर यो कम्प्युटरको प्रोग्रामिङले टाउको खान थालेपछि यो सपना पनि तुहियो । अनि सुरु भयो-रूखो र अमूर्त भनिने रसायनशास्त्रको सोधखोज ।

सानैदेखि 'ठूलो मान्छे' बन्नुपर्छ भनेर सबैले भन्थे । यो ठूलो, पपुलर, धनी हुनुको स्लोगन जति सुनिदै गयो- उति जीवनका भोगाइ र सपनाहरू भिन्न बन्दै गए ।

पढाइका सुरमा सन् १९८८ देखि घरबाट निस्किएको म इटाली, अस्ट्रेलिया, बेलायतसहितका ५ मुलुकमा फिरन्ता विद्यार्थी बनें । काठमाडौंमा 'ओ' लेभल सकेर निस्किएको म अन्तर्राष्ट्रिय पहिचानको 'आईबी डिप्लोमा' (इन्टरनेसनल ब्याच्लर) लिएर जागिर खोज्न थालेको थिएँ । त्यही क्रममाशिक्षक बनेर भियतनाम, अजरबैजान, नर्वे, इटाली, मलावी, कतारसहितका १२ मुलुकमा छरिएका अन्तर्राष्ट्रिय विद्यार्थीमाझ हराइरहें । यसैगरी २५ वर्ष बितिसकेछ, घर छाडेर हिँडेको ।

हुन त सेन्ट जेभियर्सका त्यसबेलाका ब्याचमा ममात्रै बाहिरी दुनियाँमा पुगेको थिइनँ । केमेस्ट्रीमा मबाहेक अर्को एउटा साथी छ, एउटै ब्याचको-सुमन पोखरेल । सायद ऊ जर्मनीमा छ क्यारे । उसलाई अमेरिकाको एउटा रिसर्च सेन्टरले तान्न चाहिरहेको छ, ऊ ब्याट्रीको नवीनतम उपयोग/उत्पादनमा काम गरिरहेको छ । यस्तै अरू साथीहरू अमेरिका, जर्मनी, स्विजरल्यान्डतिर पनि छरिएका छन् । किरणकृष्ण श्रेष्ठसहितका केही मात्रै नेपालमा अडिएका छन् ।

फिरन्ता रसायन-गुरु बनेर हिँडिरहेकै बेला अहिले कतार हुँदै म घर फिरेको छु, डिपोर्ट भएको छु ।

खासमा म किन बाहिरिएको हुँ भन्ने जिज्ञासाले सधैंभर आफैंलाई पनि सताइरहन्थ्यो । राम्रो स्तर रहेको अन्तर्राष्ट्रिय डिग्री हात परेपछि त्यहीअनुरूपको काम खोज्नु स्वाभाविक थियो । सुरुकै दिनमा काठमाडौंका अन्तर्राष्ट्रिय स्कुल (लिंकनसहित) मा पनि मैले शिक्षक बन्न ट्राई गरेको हो तर मेरो नेपाली चिनारी (पासपोर्ट) का कारण कतै ठाउँ पाउने अवस्था थिएन । यहाँ अरू विदेशीले अपार्टमेन्ट, सुविधासहित २ हजार डलर मासिक तलब खाइरहेका बेला म उही योग्यता र दक्षता भएको नेपाली शिक्षक ले ३ सय डलर मासिकमा चित्त बुझाउनुपर्ने अवस्था थियो । पछि जेभियर एकेडेमी, काठमाडौं भ्याली स्कुल, रातो बंगलामा पनि केही समय पढाएँ ।

अर्कातिर अर्कै संसारको उत्खनन, उद्बोधन गर्ने अभिलासा मनमा थियो । यो संसार हेर्ने इच्छा थियो । खासमा म ६५ वटा देशका विद्यार्थीहरूमाझ पढेको हुँ, इटालीमा । त्यो कलरफुल संगत र दुनियाँको मोहले मलाई बाहिरी जगत्मा तानेर लगेको हो । अझ भन्ने हो भने बाहिर जानु 'नशा' झैं भइदियो । म एकै ठाउँमा लामो समय अडिएर बस्नै सक्दिनँ, यसकारण फिरन्ता बनें । कुनै नयाँ ठाउँमा जाने र शून्य बिन्दुबाट काम थाल्ने बानी सानैबाट हुर्कियो । नयाँ ठाउँ भन्नासाथ सामान किन्ने, नयाँ रहनसहन पहिल्याउने, खाने, स्वाद खोज्ने आदि काम पनि नयाँ हुन्छ । यो स्वादले झन्डै २५ वर्षसम्म मलाई पछ्याइरह्यो । हो, मेरानिम्ति सुरुमा नयाँ ठाउँ जानुमा स्वाद र नशा थियो, अहिले यही कुरा पीडा बनेको छ ।

सबैले मलाई सोधिरहेका छन्, खासमा कतारको स्कुलमा के भएको हो ? तिमीले के-कस्तो अपमानजनक शब्द बोल्यौ ? किन तिमी जेल पर्‍यौ ? आदिआदि । दोहास्थित कतार एकेडेमी इन्टरन्यासनल स्कुलमा म दुई वर्षअघि (२०११ अगस्ट) गएको हुँ । त्यहाँ माध्यमिक तहमा म केमेस्ट्री पढाउँथें । मलाई कतिपय साना कक्षाका विद्यार्थीले मेरो अनुहार, हुलिया हेर्दै चिनियाँ भनेर जिस्क्याउने गर्थे । कहिले ज्याकी चाङ भन्थे, कहिले चिनियाँ भाषाको नक्कलमा जिस्क्याउँथे । अपि्रल १६ का दिन कक्षाकोठाबाट बाहिर निस्कँदा पनि त्यस्तै स्थिति फेस गर्नुपर्‍यो । कक्षा ७ मा पढ्ने विद्यार्थीले मलाई मेरो नाम, पहिचानसहित जिस्क्याएकोमा 'मलाई त्यसो नभन, म नेपाली हुँ' मात्रै भनेको हुँ । अझ जिस्क्याउने क्रम बढेपछि कसैले तिमीलाई 'टेरोरिस्ट' भनेर भनिदियो भने कस्तो हुन्छ भनेर अंग्रेजीमा भनेको हुँ ।

यो कुरा यत्तिकैमा सकियो ।

तर मैले जनाएको प्रतिवादको अनर्थ लगाउँदै ती विद्यार्थीले घरमा गएर अभिभावकलाई भनेपछि मेराविरुद्धमा स्कुलमा उजुरी परेको रहेछ । म आफ्नै सुरमा रहेका बेला अपि्रल २१ देखि स्कुल छाडनुपर्ने नोटिस मलाई दिइयो । ठीकै छ, मेरो कार्य सम्झौता पूरा भएर म मे ३ मा घर फिर्ने भएकै थिएँ । त्यसैबीच मलाई मे १ मा प्रहरीले फोन गरेर बोलायो, अल रायन स्टेसनमा गएँ । मलाई त्यही चौकीमा थुनिहाल्यो ।

'इस्लाम धर्मकै अपमान गरेको' भन्ने चार्ज ममाथि लगाइएको रहेछ ।

त्यसपछि बयानहरू सुरु भयो, जेलभित्रको बास सुरु भयो । अल-रायनको कारागारमा अरू नेपालीहरू पनि भेटिए । अढाइ वर्षदेखि गुमनाम स्थितिमा बसिरहेका नेपाली पनि थिए । मेरै कोठामा १० जति नेपाली थिए । तिनका छेउमा न कोही भेटघाटमा आएको रहेछ, न दूतावास वा अरू निकायको सम्पर्क रहेछ । म भने एउटा शिक्षक भएकाले हो कि, बाहिरतिर चासो र चर्चा छाइसकेको रहेछ । मे ९ तारिखमा अदालत लगेपछि मलाई दुई सातापछि अर्को म्याद दिइएको थियो, तर एकाएक १२ तारिखमा जेलका इन्चार्जले मैले छुट्कारा पाएको खबर ल्याए । पछि कारण थाहा भयो, मविरुद्धको उजुरी सम्बन्धित उजुरीकर्ताले फिर्ता लिएका रहेछन् ।

त्यो १२ दिनको अनाहकको जेलयात्राले आज मेरानिम्ति जीवनको अर्को परिभाषा, अर्को मोड निम्त्याएजस्तो अनुभव भइरहेको छ । मेरासामु धेरै खालका संस्कृति, सभ्यता, जीवनशैली आए र गए । शिक्षक बनेर बसेकै बेला अफ्रिकामा आफ्नै गाडी थियो, भियतनाममा पब्लिक बस चढ्थें । यति मुलुकमध्ये भियतनाममा भने शैक्षिक स्थिति निकै नाजुक पाएँ । त्यहाँ इन्टरनेसनल स्कुल भने पनि ९० प्रतिशत विद्यार्थी स्थानीय थिए । अजरबैजान, मलावी निकै गरिबीको स्थितिमा रहेछन् । यसरी म गरिब मलावीदेखि सबैभन्दा धनी कतारसम्म पुगें । यसपाला म घर र्फकनमा संसारभरका मेरा विद्यार्थी र साथीभाइले समर्थन जनाए, सपोर्ट दिए । समयमै परराष्ट मन्त्रालयमा गएर चिफ अफ प्रोटोकललाई भेट गर्दै मेरो बुबा कर्मछिरिङ गुरुङले आवेदन दिएपछि यो औपचारिक प्रक्रियाले पनि मलाई जेलमुक्त गराउनमा मद्दत गरेको हुनुपर्छ । तर मजस्तै अप्ठ्यारोमा परेका, थुनामा बसेका कैंयौं छोराहरूका लागि यति औपचारिक प्रक्रिया थालिदिने पनि यहाँ कोही छैन, धेरै कुरा भाग्यभरोसा छ ।

कतार सम्झनासाथ एउटा घटना सम्झन्छु, भिलाजियो मलमा खाना खान बसिरहेका बेलाको एउटा घटना छ । भुइँमा पोखिएको केहीमा चिप्लिएर हुन सक्छ, हामी नजिकै एकजना महिला नराम्ररी लडिन् । नजिकै त्यस्तो अवस्था आएपछि स्वभावतः म र मेरो एकजना बि्रटिस साथी टेबुलबाट उठेर ती महिलालाई उठाउन गयौं । तर फेरि एकाएक एउटा चेतनाले काम गर्‍यो, 'होइन, उठाउन मिल्दैन । उठाउनु हुँदैन ।'

फेरि केही अवगाल आइपर्ला, नियतबस महिलालाई छुन गएको अनर्थ लाग्ला । अनि हामी सम्हालियौं । यति सावधान र सचेत भइरहेका बेला मैले कसरी अरूको धर्म, दर्शनमाथि कुरा गर्न सक्थें ? अर्कातिर म बुद्धिस्ट पृष्ठभूमिको व्यक्ति हुँ । रसायनशास्त्र, दर्शन र धर्मको तादात्म्य रहन्छ नै । तर फरक के मात्रै हो भने अरू सबै देशहरूमा धर्म र दर्शनसँग जोडेर विज्ञानको गफ गर्न सकिन्थ्यो भने कतारमा रसायनशास्त्रबाहेक कुनै कुरा भएन । कहिल्यै त्यसरी जोडेर कुरा गरिनँ ।

कतारस्थित मेरै स्कुलमा पनि केही गार्ड, सेक्युरिटी, स्विपर र बाहिरबाट बच्चा लिएर पुर्‍याउन आउने नेपाली हाउसमेड थिए, देखिन्थे । 'वर्कस एपि्रसिएसन डे' भनेर स्कुलका विद्यार्थीसँग मिलेर कामदारहरूबीच खेलकुद, चिठ्ठा कार्यक्रम आदि हुन्थे । म सनैया इन्डस्टि्रयल एरियामा गएको छु । नेपाली श्रमिकको श्रम-पसिनाको महत्त्व नजिकबाट बुझेको छु । हाउसमेडको बिजोग स्थिति देखेको छु, सुनेको छु । हामी प्रोफेसनलहरू (दक्ष श्रमिक) कै सामुमा पनि स्कुलका पेभमेन्टमा हिँड्दा हाउसमेडहरू छेउ लाग्थे, उनीहरू आफूलाई तल्लो दर्जामा रहेको अनुभूत गरिरहेका हुन्थे । मलाई थाहा थियो, खाडी मुलुकका श्रमिकको स्थितिबारे । ह्युमन राइट वाच अथवा लेबर अर्गनाइजेसनका रिपोर्ट पढ्थें, फेसबुकमा लिंक पनि राखेको छु ।

मेरो एउटा भाइ अहिले पनि गुम्बामा लामा छ । म मानवतावादी बुद्धिस्ट हुँ, पुरातनवादी होइन । मैले बाहिरी दुनियाँमा थुप्रै असल मानिसहरू पनि देखें । काला, गोरा मानिस देखें । धार्मिक, अधार्मिक भेटें । तर मानवता भन्ने कुरा एउटै हो । मैले मलावीमा शिक्षक भएर सम्मानको उचो अनुभूति गर्न पाएँ भने कतारमा आइपुगेर नेपाली भएकाले सबैभन्दा तलको 'मानव' भन्ने फिल पनि गरें । यो सामाजिक प्रतिष्ठा भन्ने कुरा केमा निर्भर छ भन्ने आधारमाथि बहस गर्नु निरर्थक छ । यो सबै हामीले बनाएको हो । एउटा बच्चा गुमाउँदा अफ्रिकामा हुने आमा जति प्रताडित हुन्छिन्, त्यति नै नेपालकी आमा पनि आफ्नो सन्तान गुमेकोमा रोइरहेकी हुन्छिन् । यो भावना, यो संवेदना सबैतिर उही हो । तर कतै नेपाली भनेर, कतै गोरे भनेर, कतै काले भनेर हेपिनुपर्ने स्थिति छ । यो परसेप्सन हो, हेराइ र आ-आफ्नै बुझाइ मात्रै हो ।

अब म घर फर्केर आएको छु, सधैंका लागि । मैले सानैदेखि चाहेको र केही योजनासमेत बनाइसकेको च्यारिटी काममा म अब लाग्नेछु । यहाँ निजी र सरकारी दुई तहको शिक्षाका कारण दुई तहकै नागरिक जन्मिरहेका छन् भन्ने थाहा छ । सरकारी तहको कुरा गर्दा १ कक्षामा भर्ना भएका १ सय विद्यार्थीमध्ये एसएलसी पास गर्दासम्म १५ जना हुन्छन् भन्ने मलाई थाहा छ । यसकारण सरकारी/सामुदायिक स्कुल मेरो चासोको विषय बनेको छ । अब सरकारी र सामुदायिक स्कुलमा विज्ञान विषयको प्रवर्द्धनलाई च्यारिटीमा लाग्नेछु । ल्याब, साइन्स सेन्टर खोल्ने काम हुनेछ । यहाँ प्राविधिक शिक्षा छैन, 'स्किल-डि्रभन' शिक्षा छैन, यसतर्फको सचेतना अब मेरो केन्द्रमा रहनेछ । मैले सिन्धुपाल्चोक, मुस्ताङका केही स्कुल हेरिसकेको छु ।

अर्कातिर मेरो आफ्नै कुरा पनि छ । मेरो अर्को पुस्तासँग सम्बन्ध नरहेको अवस्था छ । घरपरिवारमा ' दोर्जे अंकल' भन्ने धेरैले सुनेका छन् । तर योदोर्जे को हो, धेरैले चिन्दैनन् । हो, म यही पातलिएको सम्बन्ध अब बाक्लो बनाउन चाहन्छु । मेरो एउटा भतिज जापानमा छ जसलाई मैले आजसम्म भेटेकै छैन । मलाई यस्ता कुरामा केही खेद छ । ' दोर्जे बाहिर छ' भन्छन् सबैले । परिवार, आफन्त र आफ्नै समाजमा जोडिने दिन कहिल्यै आएन । मेरो इच्छा थियो, २२/२५ को उमेरमा बिहे गर्नेछु । बेलैमा छोराछोरी हुर्काउनेछु । तर यो सम्भव भएन । फिरन्ता बनेरै जीवनमा 'सिङ्गल' रहिरहें ।

र, अर्को कारण हो म अब थाकें, अब कति घुमिरहने ? पैसा कमाउनु थियो, कमाएँ । मलाई पुग्यो भन्ने स्थितिमा कहिले पुग्ने ? मलाई थाहा छैन । यसपटक 'रियलाइजेसन' अलिक बढी भएको पक्कै हो ।

मैले आफ्नो घर फिर्तीलाई कताकता भगवान् बुद्धको जीवनचक्रको अर्को रूप ठानेको छु । फरक यत्ति छ- भगवान् बुद्ध भित्री दुःखको कारण पहिल्याउन घर छाडेर हिँडेका थिए । म भने बाहिरी दुःखको कारण हैरान बन्दै घर फिरेको छु ।

Read Full Discussion Thread for this article