Posted by: _____ May 14, 2013
Accused of insulting Islam Nepali teacher fired, detained in Qatar
Login in to Rate this Post:     0       ?        
 

दोर्जे गुरुङ स्वदेश फिरे

  • उजुरीकर्ताबाट अभियोग फिर्ता

 
(0 Votes)
 
 
 
 
dorje
 
 

दोहा (कतार), वैशाख ३१ - धार्मिक अनादरको अभियोगमा कतारमा पक्राउ परेका नेपाली शिक्षक दोर्जे गुरुङ रिहाइ भएको केही घन्टामै सोमबार दिउँसो स्वदेश फर्केका छन् । उनीमाथि लगाइएको अभियोग उजुरीकर्ताबाट फिर्ता भएपछि उनी आइतबार दिउँसो चार बजे कतारको रियान जेलबाट रिहाइ भएको थियो ।

गुरुङले रिहाइ हुनुको कारण सोमबार दिउँसो १२ बजे स्वदेश फिर्ने अनुमति पाएलगत्तै जानकारी पाएका थिए । 'उजुरीकर्ताबाट फिर्ता लिएकोलाई मलाई छोडिदिएको भन्ने कुरा थाहा पाइयो,' उनले कान्तिपुरसँग भने ।

कतार छोड्नका लागि कतार फाउन्डेसनले राहदानी र एक्जिट पेपर दिएलगत्तै गुरुङ सीधै दोहा विमानस्थलमा पुगेका थिए । उनी ३ बजे कतार एयरवेजमार्फत नेपाल गएका हुन् । मुस्ताङको उपल्लो क्षेत्रस्थित छुसाङ गाविसका ४२ वर्षीय गुरुङले यहाँ कतार फाउन्डेसनअन्तर्गत रहेको कतार एकेडेमीमा रसायन विषय पढाउने गर्थे । 

उनलाई असन्तुष्ट आफ्नै विद्यार्थीले धार्मिक अनादर गरेको उजुरी दिएपछि गत मे १ मा पक्राउ गरी अनुसन्धान थालिएको थियो । प्रहरीले गत बिहीबार अदालतमा उपस्थित गराउँदा त्यहाँ पनि आफूले यस अभियोग गलत भएको जवाफ दिएको गुरुङले बताए ।

गुरुङ जेलबाट छुटेलगत्तै कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्माको निवासमा आएर बसेका थिए । राजदूत शर्माले दूतावास र अन्तर्राष्ट्रिय सहयोगपछि दोर्जेको रिहाइ भएको बताएकी छिन् । 'उनको जेल राख्नुपर्नेको कारण, अवस्थाबारे बताइदिन दूतावासले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको थियो ।

उनको विषयमा अन्तर्राष्ट्रियस्तरमा चासो पनि बढेको थियो,' उनले कान्तिपुरसँग भने, 'सबैको पहलमा रिहाइ भएको हो ।' गुरुङले १६ वर्षदेखि विभिन्न १० वटा देशमा रसायन विज्ञान विषय पढाइसकेर ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई पढाउन उनी दुई वर्षअघि कतार आएका थिए । वर्षपिच्छै सेवाको नवीकरण हुने उनको दोस्रो करार अवधि यही जूनमा सकिँदै थियो ।

गुरुङले दुई महिनाअघिबाट केही विद्यार्थीले जिस्क्याउन थालेको बताए । 'चिङच्याङ चुङ, ज्योकी च्यान, आ, ऊ भन्थे । देख्नेबित्तिकै २० मिटर टाढाबाट चिच्याउँथे,' उनले भने, 'यसबारे विद्यार्थीलाई सम्झाउन निकै प्रयास गरे । फकाए । साह्रै भएपछि हप्काउँदा त्यसलाई बिगारिदिएर मुद्दा हालिदिए छन् ।'

विद्यार्थीसँगको वादविवादमा परेपछि उनलाई विद्यालयले समेत सेवाबाट निष्कासन गरेको थियो । 'मैले सबै घटना विवरण विद्यालय प्रशासनलाई बुझाएको थिएँ,' उनले भने । कतार छोड्ने अनुमति पाएपछि गुरुङले आफू कोहीप्रति कुनै गुनासो नरहेको बताए ।

'यो मुद्दा टुंगो लागिसकेको छ,' उनले दोहा छोडनुअघि विमानस्थलमा भने, 'अब यहाँबाट बाहिर निस्कन पाए हुन्छ । उनीहरूले गरेको/नगरेको विश्लेषण गरेर, बसेर यस्तो गरिदिएको हुन्थ्यो भन्नुभन्दा पनि मलाई यसबारे चासो नै छैन ।'

 

 

 

प्रकाशित मिति: २०७० वैशाख ३१ ११:१९ 

Read Full Discussion Thread for this article