पार्टी कोषका लागि अर्थमा सरुवा आतंक
Posted by weekly reporter in देश on February 28, 2013 9:40 am
काठमाडौं, फागुन १७ । निजामती सेवा नियमावलीको ठाडो उल्लंघन गर्दै अर्थमन्त्री वर्षमान पुनले सरुवा अभियानलाई तीव्र पारेपछि कर्मचारीहरू आन्दोलन गर्ने तयारीमा जुटेका छन्। अर्थ मन्त्रालयअन्तर्गतका कमाई हुने विभिन्न निकायमा तीन साताअघि २२ जना उपसचिवको सरुवा गरिएको थियो भने यसै साता दुई सय शाखा अधिकृतको सरुवा गर्ने तयारी तीव्र पारिएको छ।
कृष्णनगर भन्सार प्रमुख निमाम्सु अधिकारीलाई तातोपानी भन्सार कार्यालय प्रमुख, तातोपानी भन्सार कार्यालयका प्रमुख निर्मलहरि अधिकारीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। निमाम्सु राजश्व अनुसन्धान विभागका निर्देशक भरत सुवेदी जस्तै खान, खुवाउन र समयअनुसार चरित्र परिवर्तन गर्नसक्ने कर्मचारी मानिन्छन्। अर्थमन्त्री पुनका दाहिने हात भएर काम गरिरहेका सुवेदीकै डिजाइनअन्तर्गत सरुवा गरिएको समाचार स्रोतले जनाएको छ।
सरकारको दिनगन्ती सुरु भइसकेका कारण पैसा जम्मा गर्ने अन्तिम अवसरका रूपमा विभिन्न भन्सारलगायत ठाउँमा व्यापक सरुवा गरिएको हो। सबैभन्दा बढी रकम संकलन गर्नसकिने भन्सार कार्यालयमध्ये वीरगन्ज र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि तातोपानी भन्सार पर्दछ। नेपाली कांग्रेसको सरकारका पालामा खाँटी कांग्रेसी कार्यकर्ता बनेर लामो समयसम्म तातोपानी भन्सार कार्यालयमा बिताएका भरत सुवेदी ‘२२ भाइ कर्मचारी’ का रूपमा चर्चित छन्। २०५९ भदौमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने २२ जना कर्मचारीहरूको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मार्दा सुवेदी झ्यालबाट भाग्न सफल भएका थिए। भारतलगायत विभिन्न मुलुकमा करोडौंै रुपैयाँ बराबरको सम्पत्ति थुपारेका सुवेदी यतिबेला अजय सुमार्गीपछि एमाओवादीका सबैभन्दा ठूला लगानीकर्ता मानिन्छन्। लगानीकर्ता मात्र होइन, अर्थ मन्त्रालयको कर्मचारी प्रशासन उनकै नियन्त्रणमा रहेको कर्मचारीहरू बताउँछन्।
अर्थसचिव शान्तराज सुवेदी, आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्मा र राजस्व अनुसन्धान विभागका निर्देशक सुवेदीलाई समावेश गरी अर्थमन्त्री पुनले आर्थिक संकलनका लागि बलियो टिम बनाएका छन्। कर्मचारी सरुवादेखि लिएर व्यापारीहरूसँग डिल गर्ने जिम्मेवारी भने सुवेदीले नै एकलौटी रूपमा पाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। उनले निमाम्सु अधिकारीलाई मासिक एक करोड रुपैयाँ बुझाउने कबुल गरी तातोपानी भन्सार पठाएको बताइन्छ। अन्य भन्सार प्रमुखको हकमा भने अग्रिम पेस्की लिइएको स्रोतले जनाएको छ। पेस्की रकम एक करोड रुपैयाँदेखि माथि रहेको बताइन्छ।
इमानदारीपूर्वक रकम उपलब्ध गराइरहेका कारण वीरगन्ज भन्सार विभाग प्रमुख रामहरि अर्यालको कुर्सीमाथि भने घुनपुत्ला लाग्न पाएन। तर त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटालाई भने नेपालगन्ज खेदिएको छ। विराटनगर भन्सार कार्यालयका प्रमुख विनोदबहादुर कुँवरलाई राजस्व तालिम केन्द्रमा थन्क्याइएको छ। नेपालगन्ज भन्सार कार्यालय प्रमुख पुरुषोतम श्रेष्ठलाई मन्त्रालय तानिएको छ। मेची भन्सार कार्यालयमा मुक्ति पाण्डे र भैरहवा भन्सार कार्यालयमा कुलराज ज्ञवालीलाई प्रमुख बनाइएको छ। त्यस्तै, राजेन्द्र दाहाललाई विराटनगर भन्सार प्रमुख बनाइएको छ। भन्सार विभागका निर्देशक कमलबहादुर राजलवटलाई राजस्व अनुसन्धान विभाग र करदाता सेवाकेन्द्र बानेश्वरका खिमबहादुर कुँवरलाई राजस्व अनुसन्धानमा सरुवा गरिएको छ।
निजामती सेवा नियमावलीविपरीत सरुवा गर्दा कर्मचारी आन्दोलित हुने र अदालतमा समेत मुद्दा पर्ने भन्दै सामान्य प्रशासन मन्त्रालयले सहमति दिन आनकानी गरेको थियो, तर सामान्य प्रशासनको यो आनाकानी एक साता पनि टिक्न सकेन। प्रधानमन्त्री पत्नी हिसिला यमीको एक कल टेलिफोनपछि सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले तत्काल सहमति पत्र दियो। २२ जना उपसचिवको सरुवापछि अदालतमा मुद्दा पनि नपरेको र कर्मचारीहरू आन्दोलनमा समेत नउत्रेकाले अर्थमन्त्री पुनको टिमले थप उत्साहित हुँदै दुई सय शाखा अधिकृतको सरुवा लिस्ट तयार गरेको छ। उक्त लिस्टलाई गत शुक्रबार सचिव सुवेदीले अन्तिम रूप दिएका छन्। आगामी बिहीबारभित्र दुई सयजना शाखा अधिकृतको सरुवा गर्ने निर्णय कार्यान्वयन भइसक्ने समाचार स्रोतले जनाएको छ। निजामती सेवा नियमावलीमा आर्थिक वर्षको पहिलो दुई महिनाभित्र मात्रै कर्मचारीको सरुवा गर्नसकिने व्यवस्था छ।
http://www.weeklynepal.com/2013/04/15/finance-ministry/
राजस्वका हाकिमको भेनासँग साउती
Posted by admin in प्रमूख समाचार, बजार on April 15, 2013 3:36 pm
काठमाडौं। लामो समयदेखि जगेडामा थन्क्याइएका इमानदार सहसचिव खुमराज पुञ्जालीलाई मन्त्री शंकर कोइरालाले राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएपछि अर्थ मन्त्रालयभित्र खैलाबैला नै मच्चियो। नवनियुक्त महानिर्देशक पुञ्जालीले पनि आफ्नो इमानदारिताको कदरस्वरूप पुरस्कृत गरिएको ठान्दै मन्त्री कोइरालालाई भेट गर्दै भने– ‘म इमानदारितापूर्वक काम गर्छु, तर भरत सुवेदीलाई चाहिँ अन्यत्रै सरुवा गर्न पाए भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुन्थ्यो।’
मन्त्री कोइरालाले ‘तपाईको समस्या म समाधान गरिदिउँला, मिलेर काम गर्नाेस्’ भनेर पठाइदिए। मन्त्री कोइराला भरत सुवेदीका भिनाजु हुन् भन्ने कुरा पर्सिपल्ट मात्रै पुञ्जालीले थाहा पाए। इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंकले ९० करोड रुपैयाँ राजस्व छली गरेको प्रकरण छानबिन गर्न राजस्व अनुसन्धान विभागका निर्देशक भरत सुवेदी विगत एक वर्षदेखि सक्रिय छन्। सुरुमा १० करोड रुपैयाँको मागबाट वार्ता सुरु गरेकोमा वर्ल्ड लिंकका प्रतिनिधि तीन करोड तिर्न तयार भएका थिए, तर समस्या सुल्झेन। कोइराला अर्थमन्त्री भएपछि वर्ल्ड लिंकका सञ्चालकहरू सुवेदीलाई कामै नलाग्ने ठाउँमा सरुवा गराइदिने कसरतमा जुटे। जसको जिम्मेवारी भाष्करराज राजकर्णिकारलाई दिइयो। सुवेदीको सरुवा अभियान बोकेर मन्त्री भेट्न गएको उक्त टोली त्यतिबेला हिस्स पर्योर, जतिबेला सुवेदी र मन्त्री कोइराला नाताले सालाभेना हुन् भन्ने थाहा पायो।
हुन त उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराजले मन्त्रीलाई यस्ता दुई/चार उद्योगको समस्या हल गर्दा १५ करोड प्राप्त हुने केही व्यापारीलाई बताएका छन्। त्यो रकम आफंै खान्छन् कि उनले मन्त्रीलाई दिन्छन्? त्यो हेर्न बाँकी छ।
सुवेदीको निर्देशन नमान्ने महानिर्देशक राजस्व अनुसन्धान विभागमा टिकिरहन सम्भव छैन। सकेसम्म सोझो र मूर्तिवत् भूमिका निर्वाह गर्ने सहसचिवलाई विभागको महानिर्देशक बनाई आफूले हालीमुहाली गर्ने अभियानअन्तर्गत यतिबेला जन्मजय रेग्मीलाई सरुवा गरी पुञ्जालीलाई ल्याउन सुवेदी सफल भएका छन्। तर आफू सुवेदीका कारण महानिर्देशक भएको कुरा समयमै थाहा पाउन नसक्दा पुञ्जाली रनभुल्लमा परे। राजस्व अनुसन्धान विभागलाई सञ्चालन गर्ने सुवेदीको तरिकाबारे महानिर्देशक पुञ्जालीलाई एक सहयोगीले यसरी विवरण सुनाए–’कुन–कुन व्यापारीले भन्सार नतिरी सामान नेपाली भूमिमा छिराए भन्ने कुरा भरत सरले तुरुन्तै सूचना पाउनुहुन्छ। उहाँको आँखा र कान छल्न सक्ने क्षमता कुनै पनि तस्करहरूको छैन।
त्यसैले सबै तस्करहरूले भरत सरसँग सुमधुर सम्बन्ध स्थापित गरिसकेका छन्। भरत सरसँग रहेको गोप्य मोबाइल सेटमा घन्टी बनेपछि मात्र अक्सर गरेर तस्करहरूले बेलुकीपख धुलिखेेल र थानकोट हुँदै सामान काठमाडौं भित्र्याउँछन्। जबसम्म भरत सरको गोप्य मोबाइलमा घन्टी बज्दैन, तबसम्म मालवाहक ट्रक काठमाडौ उपत्यकामा भित्र्याउन मिल्दैन भन्ने कुरा तस्करहरूले राम्रोसँग बुझेका छन्। यसबापत भरत सरले प्रतिट्रक २५ हजार रुपैयाँभन्दा बढी रकम लिन मान्नुहुन्न।’
सहयोगीको यति विवरण सुनेपछि पुञ्जालीले औंला भाँच्दै सोधे–काठमाडौंमा दैनिक कति यस्ता मालवाहक ट्रक भित्रिन्छन् नि? सहयोगीले फ्याट्ट जवाफ दिए– ‘थानकोटबाट करिब तीन सय, धुलिखेलबाट चाहिँ ठेगान हुन्न, कहिले एउटा पनि भित्रिदैनन् कहिले सयवटासम्म भित्रन्छन्।’