Posted by: _____ April 25, 2013
नजिकिँदो अँध्यारो
Login in to Rate this Post:     0       ?        
 

नजिकिँदो अँध्यारो

हामीजस्ता नृशंस र मूर्ख जनतालाई लिएर पृथ्वीनारायण शाहले जुन नेपाल बनाए, त्यतिबेला तिनलाई कति गाह्रो भयो होला, आज कल्पनै गर्न सकिन्न र सम्झँदै कहाली लाग्छ !!

 
(5 Votes)
 
 
 
 
 
 
Saurav
 
गिरिजाप्रसाद कोइराला पंक्तिकारको कुरा सुनेर बुर्लुक्कै उफ्रिए त्यतिबेला । उसले भनेको थियो- नेपाली वामपन्थीहरू माक्र्सवाद पढेर वामपन्थी भएका होइनन् । आफू दक्षिणको उग्र हस्तक्षेपको विरोधी रहेको, तर नेपाली कंग्रेसले दक्षिणपट्टि नै तीव्र झुकाव राखेकाले वामपन्थी हुन बाध्य भएका छन्, अधिकांश । तपाईंहरूले त्यो झुकावलाई जति कम गर्नुहुन्छ, उति कंग्रेसका निम्ति निरन्तर सत्ताको ग्यारेन्टी भइरहन्छ । त्यो स्थितिमा एमालेलाई फुटाउनै किन पर्थ्यो ?

उनले मेचबाट करिब-करिब आधी उठेर र दुइटै हात तलतिर झट्कारेर तिखो स्वरमा भने- तपाईं हामीलाई दक्षिणमुखी भन्नुहुन्छ ? हामी जति छौं, त्योभन्दा उनीहरू कति दक्षिणमुखी छन्, हेर्दै जानुहोला !

उनी सही थिए नभन्दै मोहन वैद्य र चित्रबहादुर केसीमा रहेको नृपेन्द्र चक्रवर्ती चरित्रजस्ता केही नगण्य अपवादहरू बाहेक वामपन्थीहरूमा सर्वहारा आचरणसमेत देशले २०४६ सालपछि नै देखेन । दक्षिणको बन्दुक खोसेर उसैसँग लड्ने भन्ने उग्रवादी कुरा अरु लतारिन र झुक्नका लागि खनिएका बंकरहरू थिए भनेर स्पष्टै भयो । महाकाली सन्धिमा कम्युनिष्ट एमालेको क्रियाकलापदेखि 'देश कुनै पनि बेला मर्ज र सब-मर्ज' हुनसक्छ भन्ने निर्लज्ज घोषणामा कम्युनिष्ट माओवादीसम्मका अनुहार उदांग भए । गिरिजा कोइराला सही नै थिए ।

छिमेकका व्यंग्य चित्रकार राजेन्द्र पुरीले तीन साताअघि जब स्टालिनको पहिलो पञ्चवषर्ीय योजनाका लगानीकर्ता नै पश्चिमा ब्यांकरहरू थिए/आफ्ना बाबुआमाका नामभन्दा बढी वामपन्थीहरूले घोक्न मनपराउने रोजा लक्जेम्बर्ग नै पश्चिम परिचालित थिइन्/चीनको वर्तमान आर्थिक क्रान्तिका आन्तरिक परिचालकहरू पश्चिमा ब्यांकरहरू नै हुन् भनेर सविस्तार लेखे 'वामपन्थ' विदेशी योजनाको स्वदेशी मकुन्डो हुने गर्दोरहेछ भन्ने धारणा व्यापक भएको छ । अब त आफूहरू एकपछि अर्को गर्दै अर्बपति भइसकेपछि पुँजीवादी क्रान्तिको बाटोबाट समाजवादमा पुग्ने घोषणासमेत बिनालाज र संकोच सार्वजनिक भइसकेको छ । गिरिजा कोइराला सर्वथा सही थिए ।

होइन रहेछ सात सालसँगै एउटा सय वर्ष पुरानो उखान मर्‍यो भन्ने ठानियो- देशका कंगाली नेपालका बंगाली । तर त्यसपछि पनि आततायी विदेशीलाई सताएर भन्दा नेपालीलाई नै सताएर र मारेर नेता र क्रान्तिकारी हुने विचित्रको बहादुरी रचियो- भन्दा सहिद, बहादुर, क्रान्तिकारी भनिन्छ । तर विदेशीलाई होइन, सोह्र हजार नेपालीलाई नै मारेर र मराएर । अनि पश्चिम नेपालमा भएका आक्रमणहरूमा दक्षिण भारतीयहरू नै सामेल गराएर, बंगलादेशी डक्टरहरू भर्ती गरेर ।

यसैको रूपान्तरण हो, त्रिविको अठ्ठाइसौंं दीक्षान्त समारोहमा कतैको नपाएर नर्वेको नागरिकलाई प्रमुख अतिथि बनाइयो । एमाओवादीको अधिवेशनमै नर्वेजियन प्रतिनिधि थिए । आखिर इथियोपिया फुटाउने र श्रीलंका फुटाउन खोज्ने इरिक सोलेहाइमले माओवादी धनानन्दसँग जंगलमै छँदा ओस्लोदेखि हटलाइन सम्पर्क राख्दै आएकै हो । अनि संसारले नरुचाएको र भारतले प्रतिबन्धित गरेको पिसकोरको लागि फेरि बाटो खोलियो, अनमिनको ठाउँमा कार्टर सेन्टरलाई उभ्याउन खोजिँदैछ, क्लिन्टन फाउन्डेसन आउने भएको छ, युरोपियन युनियनले चुनावको पर्यवेक्षण गर्ने औपचारिक निम्ता खोजी नै सकेको छ ।

उतिबेलाको विवाहमा खाँडो जगाउँदा कतै कुनै नेपालीको थाप्लामा ठ्याक भनिएको थिएन, कुइरेका थाप्लामा मात्रै खाँडो ठ्याक ठ्याक-ठ्याक भनिन्थ्यो । वैद्य, बिजुक्छे, मैनाली जस्तालाई छोडेर बाँकी कम्युनिष्ट राष्ट्रवाद यति घिनलाग्दो, अश्लील र कुम्भिपाक नरकमा पुगिसकेको छ, जसको व्याख्या गर्नु नै दुष्कर छ । मरेको बंगालीले नेपालीको टाउकोमा टेक्छ भन्ने उखान सकिएको रहेनछ, अरू ज्वलन्त हुँदै गएको रहेछ ।

तत्कालीन मन्त्री कुवेर शर्मालाई एउटा अति सानो भेलामा पंक्तिकारले कानमा सुस्तरीमात्र भनेको थियो- वामपन्थीहरू गुप्तचर हुन् भनेर एउटा मन्त्रीस्तरको मानिसले हचुवामै सार्वजनिक रूपमा भन्नुहुन्छ ? शर्माजीले झनै ठूलो स्वरमा पूरै भेलाले सुन्ने गरेर भने, 'के कुरा गर्नु'भा ? मलाई विश्वेश्वर कोइरालाले भनेको कुरा हो । भएकै कुरा भनिदिएँ ।' र आज त्यो आरोप अधिकांश र शीर्षस्थ वामपन्थीहरूकै मामिलामा स्पष्ट हुँदै गयो । जब वैद्य गुटले त्यसलाई खुला गरिदियो । अर्थात् त्यो आरोप सत्य रहेछ । नहोेस् पनि कसरी ? माक्र्स विदेशी, एंगेल्स विदेशी, लेनिन विदेशी, स्टालिन, माओ सबै विदेशी । बासी विदेशी अनुहार घरमा टाँगेपछि बदरीनाथ भट्टराईको 'ताजा स्वदेशी नास्पाती' मीठो कसरी होस् ?

रोलवालाहरू रामवरण यादवको देशप्रेम उदाहरणीय छ अवश्य । न भूतो न भविष्यति किसिमको । तर बनारस र दिल्लीमा उनी उल्टो टोपी थाप्न गएयता गणतन्त्र संस्थागत गर्ने भन्ने कुरा आकाशको फलजस्तै भएको छ । ज्ञानेन्द्र र पारसका कुरा नगरौं, मानदेव र जयस्थिति मल्ल राष्ट्रप्रमुख भएको भए त्यसरी जान्थे ? भन्ने जिज्ञासा उठ्छ नै ।

अर्काेतिर प्रज्वल्लशमशेर राणाले राजपरिवारको रक्षा आफ्नो दायित्वभित्र नपर्ने कुरा गरेको दिन नै आफ्नो परमाधिपतिको ज्यानसमेत जोगाउन नसक्ने त्यस शक्तिप्रति देश र जनताले भरोसा छाडिसकेको हो । इतिहास हेरेरमात्रै अनुराग रहेको हो त्यसप्रति । अर्थात् नेपालमा अहिले शक्तिको मियो छैन ।

भारतले संस्थागत गर्न चाहेको गणतन्त्र र पश्चिमले संस्थागत गर्न चाहेको धर्मनिरपेक्षता दुइटैले नेपाललाई कुन भविष्यमा धकेल्नेछन्, भयानक अन्योल छ । भाजपाको हिन्दु गणतन्त्र बनाउने योजना झनै साम्राज्यवादी खेलको गोटी हो । नेपालमा भनिरहिने शिवसेना महादेवको सेना होइन, महाराष्ट्रियन शिवाजीको सेना हो । अर्थात् भारतीय नागरिक बनिसकेका नेपाली मूलकाहरूले आसन्न भारतीय निर्वाचनमा भाजपालाई मत हाल्नु आत्मघात गर्नु हो ।  

अर्थात् यस्तो अवस्था भनेको शक्तिको मियोका रूपमा रामवरणको ठाउँमा कालान्तरमा परमानन्द, महन्थ, राजेन्द्र, पटनाका कदमकुआँका देवेन्द्र बाबुका छोरा, काका कालेलकरका छोरा, नटवरसिंहका छोरा, कुसाभाउ ठाकरेका छोरा, अशोक मेहताका छोरा, श्यामशरणका छोरा, केभी राजनका छोरा, सूदका छोरा आदिको रोलक्रम नै पूरा हुँदा-नहुँदा सार्वभौम सत्तामाथि नै पूर्णविराम लाग्ने हो ।

केही नलागे वामपन्थीहरूले 'सुपि्रम सोभियत प्रेसिडियम'लाई मोडलका रूपमा लिने कुरा अवश्य गर्नेछन् । र माओवादी अरौटोमा रूपान्तरित नेपाली जनकंग्रेसले इरानलाई हेरेर 'रिभोलुसनरी काउन्सिल'लाई शक्तिको मियोका रूपमा स्थापित गर्नुपर्छ भन्नेछ । तर यी दुवै नेपाली निरोका सिबिलियन 'पि्रआटोरियन गार्ड्स' वा राणाकालका बिजुली गारतबाहेक हुने छैनन् । जनताको स्वार्थ, राष्ट्रको स्वार्थ बेवारिस नै भइरहनेछ ।

'शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउने' (२९ चैतको सगरमाथा रेडियोमा रामचन्द्र पौडेलको वाक्यांश) जस्ता शब्दभण्डारसमेत माओवादीबाट लिइसकेको नेपाली जनकंग्रेसले कम्युनिष्टहरूसँग मिल्नै हुँदैन भन्ने विश्वेश्वर कोइरालालाई जुन परित्याग गरेको छ, त्यसले यो देशलाई सत्तामा नेपाली होइन, विदेशी रोलवालाहरूलाई नै स्थापित गर्नेछ । -माथि भनियो, राम्रा र सही कम्युनिष्ट अवश्य छन्, तर नगण्य) प्रतीक्षारत छन् मतदाताहरू, उसले आफ्नो चार तारा झिकेर कहिले हँसिया र हथौडा त्यसमा स्थापित गर्ने हो । मौन दर्शक भएका छन् मतदाताहरू, कसरी पूर्वकम्युनिष्टहरू देउवा, 'सिलौटा' र पौडेलले नेपाली कंग्रेसको माओवादीकरण गरे । विचरा सुशील र विचरा विश्वेश्वरपुत्र कोइरालाहरू !

बाबा पाखण्डी

अघिल्लो कुनामा बाबा पाखण्डीको तस्वीर छापिएको र पछाडि पिटर गिरीलाई संरक्षक मानेको राप्रपाको पोष्टरमा चित्रित भारतीय क्यालेन्डरका श्यामकर्ण घोडाहरू कुन गन्तव्यमा पुग्ने हुन् ? बुझिनसक्नु छ । दैलेख घटनामा बाबुराम सरकारलाई नै साथ दिएपछि वैद्य गुटको विभाजन नाटकमात्रै हो भन्ने तर्कले जुन बल पायो, वर्तमान सरकारलाई समर्थन गरेपछि राप्रपाको नाइटो पनि दिल्लीमै छ भन्ने तर्क पनि प्रमाणित भयो । यसरी राष्ट्रिय स्वार्थका वकिलहरूदेखि नै दुवै धार आफै अलपत्रजस्ता भएका छन् ।

ठूलो स्वर पस्कनसकेकाले ड्यास माओवादी र फोरमलाई चार दलले आफ्नो सिन्डिकेटको सदस्यता दिने संकेत छ । सके तर्साउँला नभए भागौंला चरित्रको यो सिन्डिकेटले राप्रपाको स्वरलाई भने गणना गरेको छैन । त्यसको कारण भावी पुस्तालाई दिने सपनातीत योजना र आशा आफूसँग नहुनु नै हो भन्ने गैरकंग्रेस र गैरवामपन्थी दलहरू किन बुझ्दैनन् ? भविष्यको उज्यालो दिन नसक्ने टर्चलाइटको पुरानो ब्याट्रीमा मात्रै कोही कसरी रमाउन सक्छ ? त्यहाँनिर वर्तमान सरकारलाई उसको समर्थनको औचित्य नै के ?

अमेरिकी संघीय अदालतका प्रधानन्यायाधीशले एक अन्तर्राष्ट्रिय सम्मेलनमा बे्रजनेभकालीन सोभियत प्रधानन्यायाधीशलाई सोधेका थिए- अनातोली मार्चेन्कोलाई तीन-तीनपल्ट निधारमा ट्याटु गर्दै साइबेरिया निर्वासित गर्ने प्रावधान तिम्रो कुन कानुनमा छ ? भलै त्यसैगरी विश्वको कुनै पनि प्रधानन्यायाधीशले रेग्मीलाई अहिलेसम्म सोधेको छैन- एकैपल्ट प्रधानन्यायाधीश र मन्त्रिपरिषदको अध्यक्ष हुन तिमीलाई कुन न्यायशास्त्रले दिन्छ ?

तर राप्रपाको समर्थन किनभने महेन्द्र र ज्ञानेन्द्र दुवै मन्त्रिपरिषदका अध्यक्ष पनि भए । जबकि त्यही हुनपुग्दा नै राजतन्त्रको अलोकपि्रयताले सगरमाथा नाघेर पार गर्‍यो भन्ने कुराको हेक्का अझै छैन । अब मुख्य परीक्षा नियन्त्रक र विद्यार्थी युनियनको सभापति एउटै व्यक्ति, प्रमुख निर्वाचन आयुक्त र प्रहरी महानिरीक्षक एउटै व्यक्ति, बगरे र सर्जन एउटै व्यक्ति हुने व्यवस्था यो सरकारले गर्छ भने पक्कै पनि राप्रपालाई आपत्ति नहोला ।

विकल्पका कुरा

सुशील कोइराला प्रधानमन्त्री भएको भए एउटी उपप्रधानमन्त्रीको बंगलादेशी ज्वाइँलाई नेपालको एक नम्बर डन हुनका निम्ति निम्त्याइने थियो । अर्काे उपप्रधानमन्त्रीलाई दार्फुरको मामिलामा आफूलाई मुछेर जेल पठाउन सक्ने कागजातहरू जलाउने मौका मिल्थ्यो । एमालेतर्फको अर्काे उपप्रधानमन्त्रीको व्यापारीहरूबाट पाइरहेको आफ्नो 'पे-रोल' हैसियत अरु बढ्थ्यो । स्थानीय चुनाव कता ? संसदको चुनाव कता ? पानी आएनको गुनासो कता ? अस्पतालहरू निर्माणका कुरा कता ? महँगी नियन्त्रणका कुरा कता ? कोइरालाको ठाउँमा अर्काे राजनीतिज्ञ प्रधानमन्त्री भएको भए पनि त्यही हो ।

यस्तो सरकारको निर्माण गर्न पुग्नु गलत अवश्य हो । तर दुई ठाउँबाट चुनाव हारेर पनि प्रधानमन्त्री हुनपुग्ने पात्रले नै विरोध गर्नुको नैतिकता के ? एमालेका तीनवटा सरकारमध्ये पछिल्ला दुई निकृष्टमा पर्छन् । यसै पनि पहिलो वीरेन्द्रको, दोस्रो गिरिजाको र तेस्रो पुष्पकमल दाहालको निगाह, कृपा र अपूर्व भिक्षादानमा बनेको हो । दुई करोडका निम्ति पार्टी फुटाएर फेरि स्यालजस्तो घुस्रन पुग्ने 'हवल्दार डाँका'को छवि भएका नेताहरू छन् त्यसमा । सीताराम यचुरीलाई निम्त्याएर संसदको गरिमा ध्वस्त पार्दा केही गर्न नसक्ने पार्टीले अहिले माओवादीको विकल्पमा सक्कली कम्युनिष्ट हामी हौं भन्नुजस्तो विसंगति अर्काे नहोला । कुनै भावी प्रधानमन्त्रीले देशविरुद्ध घात गर्दैन, जुन विश्व ब्यांकलाई अरुण तेस्रोमा लगानी नगर्न पत्र लेखेर राष्ट्रघात गरेको देखियो ।

निर्वाचनको ढोका

१. कार्यकर्ता, २. पैसा, ३. नकारात्मक भए पनि एकपछि अर्काे के गर्ने ? भन्ने योजना, ४. अन्तर्राष्ट्रिय समर्थन र ५. सत्तामाथिको पकड- यति पाँचवटा यस्ता कुराहरू एमाओवादीसँग छन्, जो आफूसँग छैनन् भनेर कंग्रेस र एमालेले नै बुझेको लाग्दैन ।  अरु साना पार्टीका कुरा छोडौं । अर्थात् विदेशीले माओवादीलाई अघि सारेर सत्ताकब्जा गरिसक्यो, यीचाहिँ बालुवाभित्र टाउको लुकाइरहेछन् ।

यसको दूरगामी अर्थ हो, १. कोशी उच्चबाँधलाई स्वीकृति, २. सुपुर्दगी सन्धिमा हस्ताक्षर, ३. विमानस्थलहरूमाथि विदेशी सैनिक नियन्त्रण, ४. विराटनगर र नेपालगन्जमा थप महावाणिज्य दूतावासहरू, ५. अरू ४० लाखलाई नागरिकता, ६. उत्तरी सीमामा संयुक्त निगरानी पोष्टहरू, ७. पञ्चेश्वर र जलस्रोतसम्बन्धी अन्य योजनाहरूमा दक्षिणी एकाधिकार, ८. स्टि्रप म्यापमा हस्ताक्षर, ९. बिप्पाको कार्यान्वयन, १०. कूटनीतिक नियोगहरूमा राजदूत नियुक्तिमा लैनचौरको अनिवार्य स्वीकृति, ११. संयुक्त राष्ट्रसंघीय मतदानहरूमा उसकै प्याटर्नमा मतदान, १२. शान्तिसेनामा नेपाली सेनाको दक्षिणकै कमाण्डर, १३. संयुक्त राष्ट्रसंघको स्वीकृतिमा सिंहदरबारको चोकमा उसको झण्डा फहराउन स्वीकृति आदि अनगिन्ती कुराहरू स्वाभाविक भएर जानेछन् । किनभने कथित संविधानसभामा बहुसंख्यक तराईमूलका नै हुनेछन् अर्थात् दोहोरो नागरिकता लिएका नक्कली तराईवासी । तर रैथाने तराईवासी भने हुने छैनन् । त्यसका निम्ति भरपर्दा सहयोगी वामपन्थीहरू छँदैछन् । अबको निर्वाचन त्यसैका लागि हुँदैछ । तर यो यस्तो ढोका हो, जसबाट छिर्दिन भन्न कुनै प्रजातन्त्रवादीले सक्दैनन् । भन्न मिल्दैन ।

अनि यी दलहरू निर्वाचनको गलपासोबाट छिर्ने तर ज्यान पनि नजाने उपायको खोजीमा छन् । जेठ-असारमा चुनाव भए ज्यान जाँदैन कि, मंसिरमा भए जाँदैन कि भनेर अड्कल ज्योतिषमात्रै चलिरहेछ, यिनीहरूबीच । मतदाताबीच आफ्नो स्थान के छ, कसैलाई थाहा छैन । 'सेफोलजी' -आँकडाको आधारमा गरिने पूर्वानुमान) विपक्षीलाई हराउन पनि दक्षिण र पश्चिमले मनोवैज्ञानिक अस्त्रका रूपमा प्रयोग गर्छन् भन्ने पनि यिनलाई हेक्का छैन । कुहिरोको काग छ, पूरै देश । पशुपतिनाथले रक्षा गरुन् ।

सुडान विभाजनमा बान की मुनले जस्तो खुसी कसैले व्यक्त गरेन । किनभने ऊ आफै विभाजित कोरियाको एक इसाई । अरूको देश विखण्डित हुँदा खुसी हुने झगडाप्रेमीलाई बुद्धका नाममा लुम्बिनी निम्त्याउन १० लाखको हस्ताक्षर पठाउने अभियान चलाउँछौं हामी, भूपी शेरचनका वीर तर बुद्धु गोर्खाली !

हामीजस्ता नृशंस र मूर्ख जनतालाई लिएर पृथ्वीनारायण शाहले जुन नेपाल बनाए, त्यतिबेला तिनलाई कति गाह्रो भयो होला, आज कल्पनै गर्न सकिन्न ! सम्झँदै कहाली लाग्छ !! फेरि प्रार्थना गरौं, पशुपतिनाथले रक्षा गरुन् !!!
http://www.ekantipur.com/nep/2070/1/12/full-story/366879.html

Read Full Discussion Thread for this article