Posted by: _____ April 25, 2013
आन्तरिक र बाह्य चेपमा संघीयता
Login in to Rate this Post:     0       ?        
 

आन्तरिक र बाह्य चेपमा संघीयता

डा. गोविन्दबहादुर तुम्बाहाङ
 
 
(0 Votes)
 
 
 
 
 
 
 
govinda
 
संविधानसभा आफ्नो मूल एजेन्डा भएको दाबी गर्ने एमाओवादीका उपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ जेठ १४ गते सभाको विघटनसँगै मंसिर ७

 

गतेका लागि एकपक्षीय रूपमा संविधानसभाको निर्वाचनको मिति तोकेका थिए । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न नसकिने कुरामा उनलाई पूर्ण विश्वास भए तापनि सकुन्जेल

 

सत्तामा टाँसिरहने मनसायले उनले यसो गरेका थिए । तर विपक्षी दलहरू सशक्त रूपमा आन्दोलनमा उत्रने भएपछि उनको त्यो योजना लामो समयसम्म टिक्न सकेन । अन्त्यमा प्रमुख शक्तिको सहमतिमा आगामी असारमा निर्वाचन गर्नेगरी सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा पूर्वसचिवहरू सम्मिलित ११ सदस्यीय चुनावी मन्त्रिपरिषद गठनसँगै उनी सत्ताबाट बाहिरिन बाध्य भए । तर यो चुनावी मन्त्रिपरिषदले असारमा निर्वाचन नगराउने कुरा पक्कापक्की भइनै सक्यो । के यो सरकारले मंसिरमा चुनाव गराउन सक्ला भन्ने चर्चा चारैतिर चल्न थालेको छ । यसका आन्तरिक र बाह्य  कारणहरू छन् ।

हाम्रो मुलुक चीन र भारत दुई शक्तिशाली  देशहरूशीच रहेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको

स्थायी सदस्यको हैसियत बोकेको चीन विश्वकै सम्पन्न र शक्तिशाली राष्ट्र हो । त्यस्तै भारत पनि सुरक्षा परिषदमा सदस्यता पाउने सङ्केत पाइसकेको उदीयमान विश्व शक्ति हो । कुनै समय युद्ध पनि लडिसकेका यी राष्ट्रहरू एसियामा आफ्नो प्रभुत्व जमाउने कुरामा आन्तरिक रूपमा प्रतिस्पर्धामा छन् ।

नेपालमा यी दुई मुलुकको आआफ्नै स्वार्थहरू छन् । चीन नेपाली भूमिबाट ऊ विरोधी गतिविधि खासगरी स्वतन्त्र तिब्बतका लागि आन्दोलन नहोस् भन्ने चाहन्छ । नेपालमा राजतन्त्र मजबुत रहुन्जेल प्रत्यक्ष रूपमा राजनीतिक परिदृश्यमा उसको उपस्थिति देखिएन । तर राजतन्त्रको समाप्ति भई संघीय प्रदेशहरूको कुरा उठ्न थालेपछि ऊ परम्परागत शैलीलाई तोडेर आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्न खुल्ला रूपमा नै अगाडि आउन थालेको देखिन्छ । उसको बुझाइमा पहिचानको आधारमा संघीय प्रदेशहरूको निर्माण स्वतन्त्र तिब्बतको आन्दोलनलाई चर्काएर स्वतन्त्र तिब्बत कायम गराउने युरोपियन युनियन र अमेरिकी रणनीति हो । र यसमा भारतको पनि अप्रत्यक्ष रूपमा समर्थन रहेको छ । तिब्बतका सीमावर्ती क्षेत्रमा आत्मनिर्णय सहितको स्वतन्त्र नेपाली प्रदेशहरू निर्माण भएमा हाल भारतमा निर्वासित जीवन बिताइरहेका धार्मिक नेता दलाई लामा र उनका चेलाहरू त्यहाँ बसेर चीनविरुद्ध गतिविधि गर्नेछन् । र तिनीहरूलाई केन्द्र सरकारले चाहेर पनि हटाउन सक्ने छैन । त्यसैले आफूले नेपालमा संघीयता नै नचाहेको कुरा निकै अघि आफ्ना प्राध्यापकबाट उसले व्यक्त गरिसकेको छ । ऊ अहिले यहाँका राजनीतिक दलका नेताहरूलाई प्रयोग गरेर आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्न उद्यत देखिन्छ । त्यसैगरी भारत नेपाली भूमि आफ्ना विरोधी आतङ्ककारीहरूको आश्रयस्थल नबनोस्, यहाँबाट उनीहरू आफ्नो भूमिमा प्रवेश गरेर विध्वंसात्मक गतिविधि गर्न नपाउन् ।

जाली भारुको कारोबार गरेर भारतको अर्थतन्त्र तहसनहस गर्न नपाउन् र नेपाली भूमिबाट भारतीय माओवादीहरूलाई टेवा पुर्‍याउने कार्य हुन नपाओस् भन्ने चाहन्छ । यसको अतिरिक्त ऊ नेपालको रक्षा, परराष्ट्र र जलस्रोतको विषय आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । नेपाल र भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई व्याख्या गर्दै ऊ नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न चाहन्छ । र आफ्नो स्वीकृतिविना कुनै मुलुकबाट हातहतियार तथा अन्य सैनिक सामग्रीहरू ल्याएको र आफ्नो

बाहेक अन्य मुलुकको गतिविधि यहाँ बढेको देख्न चाहँदैन । यी कुराहरू प्रा. एस.डी. मुनीले समेत 'नेपाल इन ट्रान्जिसन' भन्ने पुस्तकमा प्रकाशित आफ्नो लेखमार्फत व्यक्त गरेका छन् ।

परराष्ट्र मामलामा भारत नेपाललाई आफ्नो अनुकूल हिँडाउन चाहन्छ । नेपालको जलस्रोतलाई आफ्नो अधीनमा राखी नेपाललाई आफ्नो उत्पादन बिक्री गर्ने एकछत्र बजारका रूपमा विकसित गराउन चाहन्छ । त्यतिमात्र होइन, भारत नेपालको समग्र मधेस एक प्रदेशमात्र बनोस् भन्ने चाहना राख्छ । यो कुराको पुष्टि उसका कूटनीतिक अधिकारीले केही समयअघि वीरगन्जमा व्यक्त गरेका विचारबाट प्रस्ट हुन्छ । पहाड र हिमालमा धेरै प्रदेश बनाउने योजना चीनलाई कमजोर बनाउने अभिप्रायःबाट निर्देशित छ भने मधेसलाई एक प्रदेशमात्र बनाउने योजना भारतलाई अखण्ड राख्ने मनसायबाट अभिप्रेरित छ । यी उसका चाहनाहरू जुन दलले पुरा गर्छ, उसले त्यही दललाई सहयोग गर्छ । यता नेपाली जनतामा पनि संघीय प्रदेश निर्माण गर्ने सम्बन्धमा ठूलो विभाजन छ । आदिवासी जनजातिहरू आफ्नो थातथलो, भाषा र संस्कृतिलाई आफ्नो पहिचानको रूपमा मान्छन् ।

विगतका शासन व्यवस्थाले यी कुरालाई दमन गर्दा आफूहरू राज्यको मूल प्रवाहबाट किनारा र पृष्ठभूमिमा परेको ठान्छन् । अतः उनीहरू पहिचानबाहेक राज्य पुनःसंरचनाको अर्को आधार नै हुन नसक्ने तर्क अघि सार्छन् । यता बाहुन, क्षत्री, ठकुरी, संन्यासी आदि पहाडी आर्यहरू (केही राजनीतिक दलमा प्रतिबद्ध बाहेक) पहिचानमा आधारित संघीयतामा आफूलाई असुरक्षित देख्छन् र यो  शब्द उच्चारण गर्ने जमात देख्ने बित्तिकै उनीहरूलाई जातिवादी भएको आरोप लगाउँदै जातीयताले राष्ट्र टुक्रिने कुराको ठोकुवा गर्छन् । उनीहरू भित्री रूपमा राजा महेन्द्र र वीरेन्द्रको भौगोलिक नक्साङ्कन र नामाङ्कनलाई रुचाउँछन् । पहिलेका पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश मान्ने र तिनीहरूको नाम नदी, हिमाल आदिको नामबाट जुराउने वा पहिलेको जस्तै पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल प्रदेश राख्न चाहन्छन् । तर प्रतिगामीको बिल्ला भिरिने डरले मात्र उनीहरू सशक्त रूपमा अगाडि आउनसकेका छैनन् ।

 

सुषुप्त रूपमा त पृथ्वीनारायण र जङ्गबहादुर हुँदै महेन्द्रसम्म उनीहरू आइसकेका छन् । विडम्बना नै भन्नुपर्छ, नेपालका राजनीतिक दलका नेताहरूमा भारतको समर्थन नपाई प्रधानमन्त्री बन्न सकिँदैन भन्ने मानसिकता छ । अतः भारतलाई खुसी पार्न उनीहरू जस्तोसुकै राष्ट्रिय स्वार्थलाई पनि त्याग्ने प्रतिस्पर्धामा छन् । अरुण तेस्रो जलविद्युत आयोजनाजस्तो नेपालीको भाग्य फेर्ने महत्त्वपूर्ण आयोजना विश्व बैंकलाई पत्र लेखेर तुहाउने काम गर्नु सुरुका दिनहरूमा एमालेले देखाएको भारतप्रतिको भक्तिभाव थियो भने 'बिप्पा' सम्झौता गर्नु र  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा दिने प्रयास गर्नु भारतलाई रिझाउन गरिएको डा. बाबुराम भट्टराईका पछिल्ला दिनका निन्दनीय कार्य थिए ।  परिस्थितिलाई हेर्दा यहाँका नेताहरू हरेक कुरामा विदेशीको मुख ताक्ने प्रकृतिका देखिन्छन् । त्यसैगरी  विदेशीहरू पनि संघीयता चाहने र नचाहने पक्षमा उभिएका छन् । तर निरीह नेपाली जनता के

गर्ने ? भन्ने निर्णय गर्न नसकी रणभुल्लमा छन् । यस्तो परिस्थितिमा राजनीतिका अनुभव नभएका प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा बनेको पूर्वकर्मचारीहरूको मन्त्रिपरिषदले असारमा त के मंसिरमा समेत चुनाव गराउन नसक्ने कुरा अहिलेसम्मका यसको गतिले स्पष्ट पारिसकेको छ । यदि चुनाव भइहाल्यो भने पनि राज्य पुनःसंरचनाको विषयमा पुगेपछि त्यसैमा अल्झिएर संविधान लेख्ने काम बिथोलिनेछ । जबसम्म संविधान लेख्ने काम नेपाली दिमाग र नेपाली हातबाट अघि बढ्दैन, तबसम्म त्यो सम्भव हुने छैन ।

 

यसको निम्ति सबैभन्दा पहिले राजनीतिक दलका नेताहरू पराधीनताको मानसिकताबाट मुक्त हुन जरुरी छ ।

लेखक नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) मा आबद्ध छन् ।

Read Full Discussion Thread for this article