Posted by: metta April 19, 2013
Save Sajha Bus
Login in to Rate this Post:     0       ?        
 http://www.ekantipur.com/nep/2070/1/6/full-story/366474.html
 

व्यबसायीद्धारा साझा बसको बिरोध

काठमाडौ, वैशाख ६ - उपत्यकाका यातायात व्यवसायी आफ्नो सिन्डिकेट तोडिने भयले साझा यातायात चलेको केही दिनमै त्यसविरुद्ध लागेका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले त्यसको नेतृत्व गरेको छ ।

आफूसँग सल्लाह नगरी सरकारले रुट इजाजत दिएको भन्दै उनीहरूले यातायात व्यवस्था विभागमा बुधबार उजुरी दिएका छन् ।  वैशाख १ देखि कलंकी-विमानस्थल र नयाँ बसपार्क-लगनखेल सेवा सुरु गरेको साझा बस सञ्चालनको साता नबित्दै सर्वसाधारणबीच लोकप्रीय बनेको छ । उसले विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ । महिला र अपांग सिटको आरक्षण लक्षित वर्गलाई मात्रै दिने गरेको छ । सिटभन्दा बढी १५ जना मात्रै उभ्याउने गरेको छ । उभिएर यात्रा गर्दा डण्डीमा समाउनु पर्दैन । डोरीमा हात घुसाउन मिल्ने व्यवस्था छ ।

यात्रुको सुरक्षाका लागि निश्चित बस स्टपको ट्रयाकमा मात्रै रोक्ने र गाडीमा हुने लुटपाट, पकेटमार संलग्नलाई नियाल्न सीसी क्यामरासमेत जडान गरेको छ । यात्राको क्रममा परेको समस्या सुनाउन पैसा नलाग्ने टोल फ्री नम्बर पनि सबैले देख्ने ठाउँमा राखेको छ । साझाको सेवाले निजी यातायात व्यवसायीले वषौर्ंदेखि चलाउँदै आएको थोत्रा बस, जथाभावी भाडा असुली, ट्राफिक नियम उल्लंघन, चालक र सहचालकका 'दुव्र्यवहार'मा अंकुश लाग्ने अनुमान गरेका छन् । राजधानीका थोत्रा सार्वजनिक सवारीको सिन्डिकेटका कारण कोचाकोचमा यात्रा गर्न सेवाग्राही बाध्य छन् । सिटमा बस्दा कपडामा दाग लाग्ने, सिटका फोहोर खोल, सवारी चालक र परिचालकको रुखो व्यवहार, विद्यार्थी छुट दिन आनाकानीलगायतले यात्रु दिक्क छन् । विद्यार्थी छुट दिँदा खुद्रा पैसा नभएको भन्दै फिर्ता नदिने बहाना पनि गरिन्छ । स्तरीय सेवा दिएर सर्वसाधारणको मन जित्नुको सट्टा यातायात व्यवसायीले सडक नै निजीजस्तो गरेर साझालाई दिएको रुट इजाजत खारेजी गर्नुपर्ने माग गरेका हुन् । साझा सञ्चालनपछि अन्य व्यवसायीलाई असर गरेकाले वषौर्ंदेखि चल्दै आएको गाडी सरकारले खरिद गरिदिनुपर्नेसम्मका माग राखिएको हो ।

सरकारले रुट इजाजत दिँदा यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सहकार्य नगरेको बाहिरी रूपमा भन्ने गरे पनि व्यवसायीले संगठित भएर लादेको सिन्डिकेट सरकारले तोडेपछि विरोधमा उत्रिएका हुन् । 'सहरी क्षेत्रको सार्वजनिक यातायात सेवा व्यवस्थित गर्ने हाम्रो पनि चाहना हो,' महासंघका वाग्मती अञ्चल संयोजक धर्मराज रिमालले भने, 'तर सहकार्य र छलफलबिनै परमिट दियो ।'

नयाँ बसपार्कबाट महाराजगन्ज हुँदै रत्नपार्क आउने कान्तिपुर यातायात र विमानस्थल भित्रको थोत्रा ट्याक्सीले साझाको बढी विरोध गर्ने गरेको विभागले जनाएको छ । विमानस्थल भित्रैबाट साझाको सेवा पाउने भएपछि वर्षौं पुराना थोत्रा ट्याक्सीको कमाइ घट्ने भएपछि विरोध गरेका हुन् । महासंघले पनि स्तरीय सेवा प्रदान गर्ने साझाको विरोध गरेर गलत गरेको उपभोक्ताको भनाइ छ । यातायात व्यवस्था विभागमा महासंघले बुधबार बुझाएको ज्ञापन पत्रमा साझाको रुट इजाजत खारेज हुनुपर्ने, तीन वर्षसम्म १६ भन्दा बढी बस दर्ता गर्न नपाउने, साझाले सेवा सुरु गरेको रुटमा चलाउँदै आएको सवारीलाई असर परेकाले राज्यले क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखिएको छ । थोत्रा बसमा यात्रुलाई न्यूनतम सेवासमेत उपलब्ध नगराएर सरकारले तोकेको भन्दा बढी भाडा लिने निजी सवारीले सिन्डिकेट लाद्न खोजेको उपभोक्तावादी संघसंस्थाले जनाएका छन् । साझाको तुलनामा निजीले प्रदान गर्ने सेवा सर्वसाधारणले बाध्यताले मात्रै चढ्ने गरेका छन् ।

'सेवा छनोट गर्न पाउनु उपभोक्ताको अधिकार हो,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'साझालाई रोक्न खोज्नु कार्टेलिङको अर्को रूप हो । बजार प्रवेश निषेध रोक्नु भनेको उपभोक्ताले पाउने स्तरीय र सुलभ सेवामाथिको रोक हो ।' साझा सञ्चालनपछि वषौर्ंदेखि एकलौटी रूपमा कमाउँदै आएको भाग खोसिने र रुटको मूल्य घट्ने व्यवसायीमा त्रास छ । यात्रुको चाप हुने रुटको व्यवसायीले लाखौंमा किनबेच गर्ने गरेका छन् । 'साझा हटेपछि त्यस्ता ठाउँमा पनि सेवा दिने गरी सवारी थप्यौं । त्यहीअनुसार लगानी गर्‍यौं भन्दै गुनासो गर्न आउन थालेका छन्,' विभागका एक अधिकारीले भने, 'आफ्नो पकडमा रहेको पेसा, व्यवसायमा अरूले पनि हात हालेपछि विरोध गर्नु स्वाभाविक हो ।' विभागका महानिर्देशक शरदचन्द्र पौडेलले साझाको विरोध गर्दै व्यवसायीले माग पत्र दिएको बताए । व्यवसायी प्रतिनिधि र साझाका व्यवस्थापन पक्षलाई राखेर छलफलसमेत गराएको उनले जनाए । 'साझाले प्रवेशसँगै अन्य व्यवसायीलाई असर गरेको होला । तर उपभोक्ताले छानेर उपभोग गर्ने अवसर पाउनुपर्छ,' पौडेलले भने, 'यसले सार्वजनिक यातायातको क्षेत्रमा देखिएको समस्या सुधार गर्न मद्दत पनि गर्न सक्छ ।' एकले अर्काको विरोध गर्नुभन्दा सबैले मिलेर सर्वसाधारणलाई सहज र सस्तोमा यात्रा गर्ने वातारण बनाउनुपर्ने उनले बताए । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले स्तरीय सहरी सार्वजनिक यातायातको व्यवस्था गरे ४० प्रतिशत यात्रु थपिन सक्ने बताए । 'त्यसको पहिलो फाइदा निजी व्यवसायीलाई पुग्नेछ,' उनले भने ।

निजी व्यवसायीले रुट इजाजत नै खारेजीको माग गरे पनि साझा भने आफ्नो सेवालाई शुक्रबारदेखि अझ व्यवस्थित गर्ने तयारीमा छ । दिउँसो थन्क्याएको सबै बसलाई शुक्रबादेखि दिउँसो पनि गुडाउने भएको छ । यसले साझाको सेवा पाउन बढीमा आधा घन्टा कुर्नुपर्ने बाध्यता अब घट्ने भएको छ । 'यात्रुको रेस्पोन्स राम्रो छ, सेवालाई अझ चुस्त पार्छौं,' दीक्षितले भने, 'हामी एक्लो वृहस्पति बन्ने होइन, १६ वटा बसले अरूलाई असर पार्दैन । थोरै काम गरेर विश्वसनीयता कायम गर्ने र स्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएका छौं ।'

 

 

प्रकाशित मिति: २०७० वैशाख ६ ०८:५५ 

Read Full Discussion Thread for this article