Posted by: fucheketo March 27, 2013
आशा दिदी
Login in to Rate this Post:     10       ?         Liked by
भाग-१
 म पात्रमा नायकत्व कति जरुरी छ ?मेरो कलमले अघि वढ्दा वढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न वाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन।

कथा भन्दा थोरै अघि,

एयरपोर्ट डिलेभएका फ्लाइटको कारणले गर्दा हुनुपर्छ भिडभाँड थियो।आकृतिहरु दिमागमा छाप वनाउन नपाइ देखिँदै विलाउँदै थिए।भिँडभित्रका झुण्ड,उपझुण्डहरु कोहि रमाइरहेका थिए,कोहि गम्भिर देखिन्थे।गम्भिर हुनेहरु प्लेन डिले भएकाले हुनुपर्छ। मनमनै सोचेँ, किन आएँ आज एयरपोर्टमा चाँडो। म एक घण्टा अघि आएँ,फ्लाइट एक घण्टा डिले भयो । के गर्ने होला दुइ घण्टा? समय अचम्मको हुन्छ, जति खाली भयो त्यति गह्रुंगो हुन्छ!

"फ्लाइट डिले भो नि त केटी !"
उसलाई केटी भन्न मलाई रमाइलो लाग्छ।शुरु शुरुमा उ अचम्म मानेर हेरेकी थिई। तर पछि उसले मलाई र मैले दिएको विशेषण दुवैलाई अंगाली!
सुधालाई सुचना दिनु आवश्यक थियो । बेक्कारमा अतालिन्छे, मोवायल स्विच अफ भएको वेला पर्यो भने त झन् उसको होशले ठाउँ छोड्छ।तर आवश्यकतावोध भन्दा पनि मेरो लत भन्नुपर्छ, दुइ चार घण्टा ,दुइचार घण्टामा मोवायलका टेक्स्ट,फेसवुकका प्राइभेट म्यासेज वा कल जे वाट भएपनि मैले सुधासँग शव्द साटासाट गर्नुपर्छ। कहिलेकाहिँ जिस्किनुपर्छ , कहिलेकाहिँ ठूस्केकी उसलाई मनाउनु पर्छ। मलाई थाहा छ, उ रिसाएकी हुन्न तर पनि म उसलाई मनाइ टोपल्छु, किनकी मलाई थाहा छ मैले धेरै मेहेनत नगरी उ रमाउनेछे।

 कहिलेकाहिँ म आफुलाई उसको नजरवाट हेर्न खोज्छु। मलाई थाहा छ, ममा औसत पुरुष भन्दा वढी केहि छैन।वरु कम होलान, केहि दुर्गुण होलान् । तर जव जव म आफुलाई उसको आँखावाट हेर्न खोज्छु, आफुमा स्वाभिमान देख्छु, एउटा अनौठो आकर्षण भएको व्यक्तित्व देख्छु , मन पगाल्न सक्ने पुरुषत्व देख्छु,खुशी हुन्छु अनि फेरि आफ्नो जीवनमैँ फर्किन्छु।कसैको जीवनमा आफ्नो उपस्थितिले पार्ने फरकमा रमाउनु नै माया होला शायद!

"किन र ?" उसको निन्याउरो आवाज फर्कियो। मोवायलमा निराशा चुहियो सुधाको!
"वेदरको प्रोव्लेम भने, तिमी सँग भेट हुन नदिने षड्यन्त्र गरे जस्तो लाग्यो !" मैले उसको निराशा हलुक्याउन खोजेँ!
"म त तँपाइ आउने होला भनेर अफिस छोडिदेँ आजको !" उसले हाँस्दै भनी ! उसले गुनासो पोखेको हुनुपर्छ उसको प्रतिक्षाप्रति।उसको म तिमीलाई माया गर्छु भन्ने शव्द छनौट पनि अचम्मको छ। उ भन्दिन तर म उसले नभनेको वुझ्छु।जहाँ मौनता रमाइलो हुन्छ , त्यो पल शव्दहरु कुरुप हुन्छन् मौनताको सुन्दरताको अघि।
"कि कुद्दै आउँ त ?"
"अलि टाढै पर्छ होला, भो छोड्दिनु गल्नुहुन्छ!" उ खितित्त हाँसी । मलाई सन्तोक भयो।
"ल वेलुका सम्ममा आइपुग्छु, खास त्यहि भन्नलाई फोन गरेको । राखे है मैले! " मैले फोन काटेँ, यताउति हेरेँ कसैले सुनेका त छैनन् नि भनेर! अनि चुरोट कक्ष तिर लागेँ।
*************** ************** *************** *************  ***********
"तिमीले चुरोट खान अझै छोडेको छैनौ है ?" आवाज मधुरो थियो। अनि पुरानो पहिचान बोकेको पनि !
"आशा दिदी ! वाट ए प्लिजेन्ट सरप्राइज !" मैले भने पनि मलाई थाहा छैन यो भेट सुखद थियो वा थिएन, तर सरप्राइज भने अवश्य थियो।
"कता ?" 
"घर हिँडेको दिदी !"
"अल्लारेहरुको घर हुन्न नि आकाश , तिमीले नै भन्थ्यौ हैन र ?"
आशा दिदी थोरै मुस्कुराउनुभयो। मैले वहाँको अनुहार नियालेँ। पुरानो अनुहार भन्दा पृथक केहि थिएन। करिव एक वर्ष भयो होला भेट नभएको ! परिवर्तन खासै थिएन। अझै पनि उसरी नै मुस्कुराउनु हुन्थ्यो । अझै पनि गहिरा शव्दहरुमा जिस्किनुहुन्थ्यो। परिवर्तन त ममा थियो। किन एउटै आकाशका दुइ पाटामा घामले फरक फरक असर गर्छ ?

"मान्छे सँधै अल्लारे रहँदैन नि त दिदी !" म पनि वहाँको मुस्कानको साथ दिँदै मुस्कुराएँ।घर शव्द मात्र होइन।घर भौतारिनेको लागि स्थिरता हो। घर वाँध हो,परखाल हो अनि दुइ मुटु जोड्ने पुल पनि। 
"विहे गर्यौ कि के हो ?" वहाँले आश्चर्य मान्नुभयो ! आश्चर्य मानेकोमा मलाई आश्चर्य भएन, छवि नै त्यस्तै वनाएको छु मैले। छाप नै त्यस्तै छोडेको छु मैले! म जे देखाउन चाहन्छु, संसारले त्यहि न देख्छ। रंगहरु त मैले छान्ने हो मेरो इन्द्रेणीको। कुन गाढा हुन्छ, कुन फिक्का हुन्छ त्यो त मेरो क्यान्भास कोराइमा फरक पर्छ।
मैले टाउको हल्लाएँ।
"अचम्म छ, तर खुशी लाग्यो ! "

वुद्द एयरवाट पोखरा जाने विमानमा पाल्नु हुने यात्री महानुभावहरु कृपया गेट ए तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ!
सँधै झै सुमधुर आवाजमा एउटी युवतिको ध्वनि गुन्जियो!

"ल म लागेँ, यु मेड अ गुड डिसिजन फाइनल्लि !" आशा दिदीले आफ्नो व्याग उठाउनु भयो !
"दिदी तँपाइले मलाई परिवर्तन गरिछाड्नु भयो, हुन त मैले माफि माग्न नमिल्ने हो !तर गर्न सक्नुहुन्छ भने तँपाइले मलाई माफ गर्नुहोला !" वोल्न गाह्रो भएको थियो! तर वोले पछि हलुका भयो मनवाट भार हटे जस्तो!
"कमअन! इट्स ओके! मान्छे पल पल फरक हुन्छ! त्यो तिम्रो हैन पलको दोष थियो !" मेरो दुइ काँधमा हात राख्दै जवाफ आयो आशा दिदीको !
विस्तारै भिँडमा आशा दिदि हराउनु भयो। मेरो दुइ घण्टा अव खाली छैन! त्यसमा अतितले समय पाएको छ!

क्रमश:
 
Read Full Discussion Thread for this article