Posted by: fucheketo March 7, 2013
मैले सुनेको अन्तिम कथा
Login in to Rate this Post:     2       ?         Liked by
 Thanx Serial,Keep reading,कथा सँगै वग्दै जाउँम् न कता जान्छ भनेर नसोचिकन, अनि पो रमाइलो, मलाई त थाहा छैन कथा कता जाने भनेर  ;)

भाग-३

"
तँपाइहरु चन्द्रमालाई शितल भन्नुहुन्छ, त्यो अर्काको प्रकाशमा टल्किएर रमाउने आडम्वरी!" उसले विचमा आफ्नो कुरालाई कता मोड्यो मैले पत्ता लाउन सकिन। उसको श्रीमतिको हत्यामा त्यो आडम्वरी चन्द्रमाको हात छैन पक्कै पनि। तर कुरो साँचो थियो, चन्द्रमामा आडम्वर थियो !

"सिताकै कुरा गरौँ न !" मैले झर्किँदै भनेँ।मेरो दुखेको टाउको निको भएको थिएन।

"सिताका धेरै साथीहरु थिए, केटी साथी केटा साथी !" उ रोकियो। उसको आँखा थोरै खुम्चियो, निधारमा मैले पढ्न नसक्ने केहि रेखाहरु देखा परे। उसको विश्रामलाई मैले इर्ष्याको नाम दिएँ। इर्ष्या स्थिर हुनै पर्छ किनकी जव मान्छे चलायमान हुन्छ, उ केहि छोडेर अघि वढ्छ,हिँड्दा उसले त्याग सिक्छ। त्यसैले इर्ष्या स्थिर हुनै पर्छ।

"के भयो त उसका केटा साथिहरु भएर !" मलाई अचानक उसको इर्ष्यामा रमाउन मन लाग्यो।

"हुन त केहि नहुनुपर्ने हो !" उ मलाई हेरेर खिस्स हाँस्यो। मेरो रमाइलो उसको हाँसोले खोसेर लग्यो।

"अनी ?"

"मैले एक दिन वाटोमा सिता खित्का छोडेर हाँस्दै घर फर्केको देखेँ, हुन त मलाई उसको मुस्कानमा कुनै गुनासो थिएन , तर उ कसैले सुनाएका चुट्काहरुमा हाँस्दै थिई, मैले सोचेँ त्यो मुस्कानमा म छैन, न म उ सँग मुस्काउन सक्छु, न मैले मुस्काउने वनाउन सक्छु । मैले फैसला गरेँ त्यो मुस्कानमा मलाई मेरो आधिपत्य चाहियो। त्यहि दिन सिताको वुवालाई गएर भनेँ मलाई तँपाइकी छोरी सँग विहे गर्ने मन छ !"

उसले कथाको पहिलो अध्याय समाप्त गर्यो शायद। सिता र उसको विहे कसरी भएको थियो। यति सुनेपछि मैले मनमनैँ सोचेँ । मैले धेरै सम्भावनाहरु केलाएँ। एउटा जटिल सम्वन्ध, के हो त त्यो ? माया ? मलाई चित्त वुझेन,हैन यो माया होइन । इर्ष्या मात्रै ? नहुनुपर्ने हो , किनकी इर्ष्या जहिले पनि छायाँ वनेर आउँछ कसैको साथमा आउँछ, माया सँग आउँछ, सम्वन्ध सँग आउँछ वा स्वार्थ सँग आउँछ। यहाँ त माया हो भन्ने मै मेरो चित्त वुझेको छैन।

************** *************** *********** ************ ********* ***************

"जिवन सँधै सरल किन हुँदैन ? " मैले मायालाई सोधेँ। कोठामा म र उ सँगै वसेका थियौँ। उसको ध्यान ममा थियो थिएन थाहा छैन किनकी उसको आँखा टेलेभिजनमा थियो। उसले म्युट वटन थिचि, म पनि चुप भइसकेको थिएँ। मौनता विचमा मलाई पुलुक्क हेरी।

"किनकी हामीलाई जटिलता मन पर्छ, सरल भयो भने त्यो जिवन हो भन्ने मै हामी विश्वस्त हुन सक्दैनौँ! त्यहि भएर होला !" उसले मेरो कपाल सुम्सुम्याई। म लुटपुटिएँ उसको काखमा।

"के ले ल्यायो त यो प्रश्न ?" उसले प्रतिप्रश्न गरी ।

"एउटा कथा थियो, जुन तिमीले सुन्न चाहिनौ !"

"त्यो कथा किन वारम्वार हाम्रो घरको ढोका ढक्ढक्याउँछ? मैले रोक्न खोज्दा खोज्दै पनि झ्याल वाट छिर्न खोज्छ ?" उ थोरै ठुस्किइ।

"मलाई थाहा छैन माया, त्यो कथा मैले भनेको पनि टेर्दैन !" मैले घुमिरहेको पंखालाई नियाल्दै जवाफ फर्काएँ।

"मेरो लागि छोडिदेउ एकैछिन त्यो कथालाई !! तिम्रो दुखेको टाउको निको भएको छैन हैन ?" उसले मलाई प्रश्न गरी।

"डक्टरले भनेको स्ट्रेस वढी भएर हो रे !" मैले ढाँटिन, मलाई थाहा छ सुनेपछि उ चिन्तित हुनेछे। एकछिन घोरिइनेछे,अनि एकैछिन मलाई सम्झाउनेछे।

"किन लिन्छौ त यति धेरै स्ट्रेस?"

"किनकी हामीलाई जटिलता मन पर्छ!" म खिस्स हाँसे।

****************** *************** ******************** ************ ************

डक्टर मेरो रिपोर्ट हेरेर घोरिएको थियो। उसका टेस्टहरु म वुझ्दिनथेँ,उसका अक्षर त कुरै नगरौँ, कुरुक्षेत्रमा लडिरहेका,क्षत विक्षत भएका , मलाई त्यो प्रेस्कृप्सन नै रणभुमी जस्तो लाग्थ्यो। त्यहि भएर म पढ्ने प्रयास गर्दिनथेँ।

"केहि त छ, जे मैले पत्ता लाउन सकिरहेको छैन !" उसले हारेको स्वरमा भन्यो। म थोरै डराएँ।

"किन डक्टर साप?"

"त्यो दवाइले काम गरिरहेको छैन!"

"अव के गर्नुहुन्छ त ? पावर वढाउनुहुन्छ ?"

मलाई आजक धेरै निन्द्रा लाग्न थालेको छ। वाटोमै सपना देख्छु। सपनामा पनि रंगहरु मात्र देख्छु ।एउटा रंग अर्को मा घुल्छ अनि अर्कै वन्छ। स्पष्ट केहि देख्दिन ,चिच्याउँछु अनि विउँझिन्छु,आफैलाई अचम्म लाग्छ , वाटोमा चिच्याएकोमा !! यता उता हेर्छु, कहिलेकाहिँ केहि जोडी आँखाले नियालिरहेका हुन्छन्, ग्लानी हुन्छ, कहिलेकाहिँ नियाल्ने आँखा हुन्नन्, छुटकारा पाए झैँ लाग्छ।

"तँपाइ अझै कमजोर महसुस गर्दै हुनुहुन्छ ?"

उसले मेरो कमजोरी पत्ता लगाएर पनि म वाट स्विकारोक्ति चाहेको थियो।

"तँपाइको दवाइले काम नगरेपछी म कमजोर त हुने नै भएँ नि!" म थोरै झर्किएँ।

"कहिलेकाहिँ मन दवाइ भन्दा पनि वलियो हुन्छ ! त्यहि भएर मात्र सोधेको !"

उसले आखिर मेरो मनमैँ कमजोरी थोपर्यो।

"सिधै उपचार गर्न सक्दिन भन्नुस् न ! म अर्काकोमा जान्छु !" म आवेशमा आएँ।

" म सकेसम्मको प्रयास गर्छु तर जवसम्म तँपाइ आँफै ठीक हुन चाहनुहुन्न , म पनि त केहि गर्न सक्दिन !"

मैले घडी हेरेँ। मलाई ढिलो भइसकेको छ। मैले सिताको कथा सुन्नु छ।

" हुन्छ म पनि प्रयास गर्छु, तँपाइ मेरो दवाइको पावर पनि वढाइदिनुस् !त्यसो गरे भने म पक्कै ठीक हुँला, म अहिले लागेँ !"

मैले जुरुक्क उठ्दै जवाफ फर्काएँ।
क्रमश:

Read Full Discussion Thread for this article