Posted by: Rahuldai February 26, 2013
एक रुपैयाँको लाल मोहन !!!!
Login in to Rate this Post:     15       ?         Liked by
 एक रुपैयाँको लाल मोहन

हिजो कुखुरा बाजेको जन्म दिन . कुखुरा बाजे अर्थात प्रफुल्ल, कुखुराको बिषयमा विद्यावारिधि गर्दैगरेकाले सोही अनुसार घरेलु नाम रहन गएको. अड्डाबाट फर्किने बेलाँ “ आज मर्स्याको पसलमा छिरम है, केही ग्रोसरी गर्नु छ “ भन्ने मेसेज आयो. अड्डा नजिकैको इन्डियन ग्रोसरी पसलमा गएँ. कुखुरा बाजे त्यहीं कुरी राख्या .

“दाइ आज मेरो बर्थ डे “  बाजेले धक नमानी भने . “लौ बधाई र शुभकामना – अर्को बर्थ डे सम्ममा झ्याई होस्” – मैले आफ्नो शुभाशिष दिएँ .

“भरेको भात संगै बिशेष गर्ने हैन त ? लौ के खाने आज ? “ मैले कुराको थालनी गरें .

“अहिले समोसा खुवाउनु दाई , मर्स्याको पसल आए पछी त्यो तातोतातो समोसाले तान्छ मलाई .”

“समोसा त अहिले खुवाउला भरे के खाने ?”

“लाल मोहन खाने दाई, बाहुन न ठहरिएँ . जहाँ गुलियो त्यहाँ बाजे भुलियो “.... हाहाहा . कुखुरा बाजेको सदा झैँ रसिक पारा .

अन्य सरसामान सहित लालमोहन अर्थात गुलाबजामुन एक क्यान र समोसा २ गोटा नि किनियो . समोसा चाही पसल बाहिर नै झ्वाम .

“थुक्क !! मर्स्याले चिसो समोसा दिए छ.” बाजेको आक्रोसमा समेत ठट्यौली थियो .

भान्साको जिम्मेवारी नि बाजेकै थियो. खसीको मासु भात खुवाउछु भन्दै पहिलेइ नै गोअट मिट किनेर ल्यैसक्या रहेछ.

भात खाइयो ढ्याउ गर्दै . लाल मोहन अरु मित्रहरुको लागि सरप्राइज प्राइज थियो . मन तातो हुने गरी माइक्रोवेभ गरेर लाल मोहन पस्किंदा अरु दुइ मित्रहरु चकित भएका थिए. बडा मिठो लालमोहन है भन्दै दुइ ट्वाक भात संगै अरु ५ ओटा मोहनलाल हजम पारे अर्को साथीले . लाल मोहन महात्म्य सुनाउन थाले अर्कोले . पुल्चोकमा पढ्दा नयाँ लाइब्रेरी अगाडीको क्यान्टिनमा लाल मोहन साहुको आँखा छली झ्वाम पार्दा तातो परेर तालु पोलेको रमाइलो किस्सा सुनाए .

लाल मोहनको रमाइला किस्साहरु सिलसिलामा म भित्रको एउटा कहानी मुख सम्म आउँदा नि भनिन . बाजेको जन्म दिनको त्यो रंगिन पललाई बिथोल्न चाहिन. तर त्यो लाल मोहनले भने मलाई पछ्याई रह्यो.

 

कुरो छ किलास पढ्दाको हो . पूर्ब ब्याबसायिक शिक्षा भन्ने बिषय पढ्नु पर्थ्यो. सिकर्मी, डकर्मीको काम , खेती र किसानीको काम को साथ साथै पाक शिक्षा समेत पढ्नु पर्ने. त्यति बेलाको शैक्षिक थिंक ट्यांकहरुले यति सोच्न सकेन कि ती बिषय भनेको पढाउने हैन सिकाउने कुरा हो तर ६ किलास मा हैन हाइ स्कूलमा हो . खैर, पढ्नु पर्ने पढिन्थ्यो अझ भनुं घोकिन्थ्यो, बेला बेला खोकिन्थ्यो.

पाक शिक्षाको पालो आए पछी पूर्ब ब्याबसायिक पढाउने संगीता म्याडमले क्रान्तिकारी घोषणा गर्नु भयो – शुक्रबार हाफ छुट्टी पछी लालमोहन र रसभरी बनाउन सिकाउने र बनाएर सबैले खाने... .

खान न नि पाउने सिक्न न पाउने, सोह्र माथि सत्र , सब दंग ...

“ लाल मोहन र रसभरी बनाउन खर्च लाग्ने भएकोले सप्पैले एक एक रुपैया लिएर आउने “ मिस को यो घोषणाले भने म लगायत अरु केहीको मुटुमै हथौडा ठोकेको थियो.

ब्वाइजको पैसा राहुलले र गर्ल्स को पैसा रश्मीले उठाएर बिहिबार सम्म मलाई दिने . थप कार्यादेश मै माथि ? आउनु स्वाभाबिक थियो . किलासको फस , सकेन र थर्ड सबै गर्ल्स थिए. त्यस पछीको चौथो पोजिशनमा यहि राहुले. यसमाने मा अघोषित मनिटर.

सबको नाम लेख्दै एक एक रुपैया जम्मा गर्दै गएँ. तर आफ्नो नाम लेख्न सक्ने हैसियत भएन म संग त्यति बेला. एक रुपैया ... त्यति बेला पनि धेरै हैन त्यो. तर परिस्थितिजन्य कारणले त्यो हजारौंको मुल्यमा थियो एक रुपैयाँ. कमाउने बुबा अस्पतालमा इन्तु न चिन्तु अवस्थामा. घरको चिसो चुलो आमाको गरगहना झोसेर गरम पारिराखेको बखत,  फगत एक रुपैयाको मूल्य पनि अमुल्य थियो.

कसरी एक रुपैया जम्मा गर्ने, कुनै उपाय देखि रहेको थिएन. आमा संग मागुं कि ? एक मनले भन्यो . हैन हैन त्यो १ रुपैया बाबाको ओखातिमा काम आउछ , अर्को मनले साउती गर्र्यो.  कुना काप्चा खोजखाज गरें . साठी पैसा जम्मा भो . दिमागमा अचानक दिब्य ज्योति आयो .. पूजा कोठीमा ... भगवानलाई चढाइएको ...

द्रुत गतिमा बुइँगल ( घरको माथिल्लो तल्ला ) मा लागें . खोसरखासर गर्दा अर्को न्हैन त्या ( ३० पैसा) भेटियो . एक एक पैसा पटक पटक गन्दा नि कहिले ९० हुने कहिले उनान्नब्बे हुने . निराश निराश थिएँ . बिहिबार, पैसा बुझाउनु पर्ने. १० पैसा त हो नि आमा संग माग्छु भन्ने सोचमा थिएँ. त्यो दिन बिहानै आमा अस्पताल गैसक्नु भएको रहेछ, फर्किने ठेगान हुँदैनथ्यो . अर्को फसाद . के गर्ने के नगर्ने? गरिबी र परिस्थितिले फेरी अर्को घोडे लात हान्यो. थचक्क बसें . किलास हाप्न न न मिल्ने, मनिटर र पैसा उठाउने जिम्मेवारी बोकेको निरही राहुले .

९० पैसालाई ससुम्सुम्याउँदै एक इपिसोड रोएँ . १० पैसा बाटोमा भेटियोस प्रभु, निष्ठुरी दैबलाई पुकारें. झ्याल बाहिर टोलाउँदै गर्दा पुन बीर  सिंह साहुको घरमा काम गर्ने आशमाइ तताजु ( तताजु = दिज्यू) तौला ( जन्म दिनमा बनाइने तील को लड्डु ) सहित चिबा ( चैत्य )मा पूजा गर्न आएको देखें . पुन बीर सिंह साहुको घरमा कसैको बर्थ डे हुनु पर्छ . दूर क्षितजमा आशाको किरण पलायो . अब धौ बजी दिन्छ . धौ बजी अर्थात दहि च्युरा – जन्म दिनको उपलक्षमा दही च्युरा, फलफुल एक-दुइ टुक्रा , तौला एक ओटा र प्राय १ पैसा सहित टोलका केटा केटीहरुलाई बाड्ने नेवार समुदायमा चलन अद्यापि छदै छ. तर पुन बीर सिंह साहु को घरबाट दिने धौ बजीमा भने घटीमा १० पैसा हुने अनुभवले हौस्यायो . त्यसो त ४ किलास पुगे पछी कसैको घरमा धौ बजी लिन गएको थिएन. अलि ठुलो भएको ४-४ किलास पढ्ने जस्तो . तर त्यो दिन ६ किलास पढ्ने ढडडु लाजै पचाएर बसें . कुन बेला “ हे मस्त धौ बजी का वा “ ( हे केटाकेटी हरु धौ बजी लिन आउ ) भनेर आशामाई तताजूले आवाज दिनु होला र दौडिएर पुगुँ भनेर कानेगुजी सफा गर्दै बसें.

बल्ल साढे नौ बजे, आशमाइ तताजु को चीर प्रतिक्षित आह्वान गुन्जियो. एक निमेष मै पुन बीर सिंह साहुको आँगनमा , स्कूल मा कहिलेइ फस नभए नि आज  फस भएँ . धौ बजी लिएँ . मानौ एउटा ठुलो लडाईं जितें. धौ बजी भन्दा नि त्यो १० पैसाको पित्तलको ढ्याकलाइ हेरी रहें. धौ बजी खाइन, दही च्युरामा लतपतिएको पहेलो ढ्याकलाई धोएर जतन का साथ गोजीमा राखें र स्कूल तिर लागें . खुशीको सीमा रहेन . आफ्नो नाम सबै भन्दा अगाडी गर्बका साथ लेखि दायाँ तिर लेखें –एक रुपैयाँ .

अस्तु !!!

Last edited: 26-Feb-13 11:55 AM
Read Full Discussion Thread for this article