Posted by: Geology Tiger February 21, 2013
सरस्वती माता मलाई शक्ति देउ
Login in to Rate this Post:     4       ?         Liked by
म पढ्छु,
म पढेको पढ्यै छु ।
आफू भन्दा ठूलो कितावको भारी बोकेर
पाठशाला जान शुरु गरेदेखि आजसम्म
निरन्तर पढिरहेको छु,
किताब पनि अनि जीवन पनि ।
म पढ्छु ज्ञानको कुरा, विज्ञानको कुरा,
धर्मशास्त्र र दर्शनशास्त्रको कुरा,
म अर्ती र उपदेश सुन्छु,
प्रवचन र भाषण सुन्छु ।
म सुन्छु
गुरु र पण्डितका कुरा,
दार्शनिक र विद्वानका कुरा,
पत्रकार र राजनीतिज्ञका कुरा ।
मलाई थाहा छ
के राम्रो अनि के नराम्रो ?
कुन कालो र कुन सेतो ?
म सबै छुट्याउन सक्छु ।
म ठुल्ठुलो कुरा गर्छु,
ज्ञानगुनको कुरा गर्छु,
असल बन्नुपर्छ भनेर
म सबलाई सिकाउछु ।

तर कताबाट हो कुन्नी
एउटा झुटको किरा,
एउटा लोभको किरा,
एउटा पापको किरा,
एउटा रिसको किरा,
एउटा अहम्को किरा,
स्वात्त मेरो मस्तिष्कमा छिर्छ,
अनि उखर्माउलो मच्चाउन थाल्छ ।
यार्सागुम्बाको लार्भामा चढेको फङगस जस्तै
बिस्तारै मलाई नियन्त्रणमा लिन थाल्छ ।
अनि म निर्देशित हुन्छु ।
म कालोलाई सेतो मात्र होइन
रंगीचंगी देख्छु ।
म जे सोच्छु,
म जे भन्छु,
र म जे गर्छु,
उचित त्यसैलाई मान्छु,
सत्य त्यसैलाई जान्छु ।
मैले पढेको र जानेको ज्ञानहरु,
मैले बुझेको र सिकेको विज्ञानहरु,
कुनै कुनामा मुन्टो लुकाएर बस्छन् ।
अनि जब त्यो किराले उपद्रो मच्चाउन छोड्छ,
म झल्यास्स हुन्छु ।
एउटा पराजित मन लिएर
आत्मग्लानीको अनुभूति गर्छु ।
अनि मनमा एउटा प्रण गर्छु,
अब कहिल्यै पराजित हुने छैन ।
तर फेरि यस्तै हुन्छ,
सधैं सधैं यस्तै हुन्छ ।

हे सरस्वती माता!
तिमीले मलाई ज्ञान धेरै दियौ,
अब मलाई शक्ति देउ ।
यदी तिमी आफूले दिएको ज्ञानलाई
निरिह र पराजित देख्न चाहन्नौ भने
त्यो झुटको किरासँग,
त्यो लोभको किरासँग,
त्यो पापको किरासँग,
त्यो रिसको किरासँग,
त्यो अहम्को किरासँग,
संघर्ष गर्ने शक्ति देउ
पराजित गर्ने शक्ति मलाई देउ ।
अनि हामी सबैलाई देउ ।।
Read Full Discussion Thread for this article