Posted by: _____ February 18, 2013
विहे किन गरेको थाहा छैन’
Login in to Rate this Post:     0       ?        
 

‘विहे किन गरेको थाहा छैन’

  • विवाहित जोडी र चेपाङ् परिवारलाई प्रहरीको जिम्मा

 
(3 Votes)
 
 
 
 
chepang child
उमेर नै नपुगी विवाह गरेका चेपाङ चार बाल बालिकाहरु । तस्विर: पोषनाथ अधिकारी
 

धादिङ , फाल्गुन ७ - दस वर्षीया प्रमिला चेपाङको १२ वर्षीय सोमबहादुर चेपाङसँग विवाह भएको एक महिना बितिसकेको छ । तर, प्रमिलालाई आफ्नो श्रीमानको नाम नै थाहा छैन । गोठालो जाँदा  सोमबहादुरले मलाई मन पर्यो भनेपछि विवाह गरेको प्रमीला बताउँछीन् । उनीहरु दुवैलाई विहे किन गरेको थाहा छैन । प्रमीला र सोमबहादुरलाई जस्तै बुद्धलाल र मुना चेपाङ पनि विहेको विषयमा त्यति जानकार छैनन् । घरको काम गर्न श्रीमती ल्याउनु पर्छ भन्ने सुनेको भरमा १५ वर्षका बुद्धलालले १४ वर्षकी मुनालाई विहे गर्यो ।

यी दुई जोडी धादिङ जोगिमारा घुस्राङका हुन् । यिनीहरुले विहे गरेको एक महिना वितिसकेको छ । चार कक्षामा पढ्दै गरेको बुद्धलाल र २ कक्षामा पढ्दै गरेको सोमबहादुर दुबैले विहे पछि खुलेर आफ्नो श्रीमतीसँग गफ गरेका छैनन् । श्रीमतीसँग बोल्न बाबुआमाको लाज लाग्ने बताउने बुद्धलाल भन्छन्, ‘माया त बाबुआमाको भन्दा श्रीमतीको लाग्छ तर लाज लाग्छ बोल्नै सक्दिन ।’ अरुसँग बोल्नै लाजमान्ने यी चेपाङ बालबालिका विहे कस्तो भयो थाहै नभएको बताउँछन् । विवाह पछि अव भारी बोक्ने, बारी खनजोत गर्ने काम गरेर परिवार पाल्ने योजना बनाएका छन् दुवैले । भएको कपडा शरीरमा लगाउन बाबुआमाको सहायता चाहिने सोमबहादुर भन्छन्, ‘श्रीमतीलाई खुसी राख्न बाख्रा चराउन जान्छु ।’

दुलही बनेर बुद्धलाल र सोमबहादुरका घरमा भित्रिएका मुना र प्रमीला दुबैलाई जन्मघर छोड्दा नरमाइलो लागेको छ । विवाह गर्नु पर्छ भन्ने थाहै नभए पनि केटा पक्षले मागेपछि घरबाट गर भनेकाले विवाह गरेको उनीहरु बताउँछन् । कक्षा २ मा पढ्दै गरेकी प्रमीला सोमबहादुरले आफूलाई माया गर्ने गरेकाले खुसी भएको बताउँछीन् । अर्की १४ वर्षीया बालिका मुना आफ्नो श्रीमानले बुद्धलालले दुख गरेर भएपनि पाल्छु भनेको बताउँदै आफूले पनि उसलाई माया गर्ने बताउँछीन् ।  

वालविवाह गराएको अभियोगमा स्थानीय गाउँलेले उनीहरु सहित परिवारलाई प्रहरीको जिम्मा लगाएको छ । उनीहरुको परिवारलाई बालविवाहको मुद्धा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । आफ्नो बाबुआमालाई प्रहरीले थुने प्रहरी कार्यालयको ढोका अगाडि बसेर रोइदिने हालै विवाह गरेका दुई जोडीको योजना रहेको छ । सानै उमेरमा आफ्ना बाल बालिकाले विवाह गरेको थाहा पाएपनि बालविवाह गराउँदा सजायँ हुन्छ भन्ने थाहा नभएको सोम बहादुरका पिता चन्द्र बहादुर बताउँछन् । बाल विवाह गरेको अभियोगमा प्रहरी कार्यालयमा हिरासतमा रहेका चन्द्र बहादुर भन्छन्, ‘चेपाङहरुको संस्कृति यस्तै हो, आफूलाई त थाहै भएन । प्रहरी कार्यालयमा आएपछि थाहा पाएँ । अब सबैलाई जानकारी गराउँछु ।’ चन्द्रबहादुर जस्तै बुद्धका पिता दलबहादुर र मूनाका पिता भीमबहादुरलाई पनि आफ्ना बाल बालिकाले विवाह गरेको त्यति मन परेको छैन तर बाल विवाहका कारण कानुनी कारबाही हुन्छ भन्ने बल्ल थाहा भएको बताउँछन् ।

धादिङ जिल्लामा बसोबास गर्ने चेपाङहरु बालविवाह आफ्नो पुरानो संस्कृति भएको ठान्दछन् । चेतनाका हिसाव निकै पछाडि रहेका चेपाङ जस्तै धादिङका कुमाल, दराई लगायतका जातिहरुमा बालविवाहलाई परिवारले मान्यता दिनाले समस्याका रुपमा रहेको छ ।

 

Read Full Discussion Thread for this article