Posted by: fucheketo February 14, 2013
सावित्री
Login in to Rate this Post:     0       ?        
 Serial, baramase, timimero sathi- Thanks a lot,
Baramase..lets see if your guess goes right or not since i m ending it today ;)

सावित्री(अन्तिम भाग)

सावित्रीको मनमा द्वन्द चल्यो। नसोचेको, नचिताएको प्रस्तावमा उ घेरिएपछि आफ्नै मनमा पर्खाल लाउन चाहेकी थिई। कोकुन भित्रको मान्छे आफुलाई सवैभन्दा सुरक्षित ठान्छ। तर कोकुन खसेर जव आँतमा उज्यालो पर्छ त्यसवेला दुइवटा वाटो हुन्छन् उसको अघी, पहिलो त्यो प्रकाशमा संसार नियाल्ने, अर्को आँखा चिम्लेर अझै कोकुनमा रहेको भ्रम आफ्नो मनमा छर्ने, सावित्रीको अन्तर्द्वन्द त्यसैमा थियो।उसले हुन्न भनेको खण्डमा घरवाट वाहिर निकालिनु पर्ने हो की भन्ने डर पनि त थियो आखिर। हुन्न भनेको खण्डमा उ कथाका तिन पुरुष सँग एकै चोटी छुट्टिने दोसाँधमा थिई । त्यो त उसको लागि विछोड भन्दा पनि कैयौँ गुणा दुखदायक हुन्थ्यो।

************* ************** ************* ************* *************** *
उसले मैनवत्ति जलाई। उ सुत्ने ठाउँको वल्व फ्युज भएको छ, करिव एक महिना देखि, उसले प्रकाश चाहेकी थिईन त्यो कुनामा। त्यो कुनाको अँध्यारोमै त त्यो कुनाको आकर्षण थियो। त्यो फ्युज भएको वल्वको पनि त्यहि भएर महत्व थियो। उसैको मनको अँध्यारो कुना जस्तै थियो त्यो कुनामा पनि । उ लुक्ने कुना, रमाउने कुना, अँध्यारो प्यारो भएको कुना, रोहनको स्वामित्व भएको कुना।

"के भयो, किन चाहियो वत्ति तँलाई ?" रोहनले उसका कपाल खेलाउँदै प्रश्न राख्यो।
"तँपाइको अनुहार नहेरेको नै धेरै भयो वावु ! कहिलेकाहिँ त अँध्यारो देखी वाक्क लागेर आउँछ, दिउँसो तँपाईलाई देख्न पाए कस्तो हुन्थ्यो जस्तो लाग्छ।" उसले रोहन तिर पुलुक्क फर्किदै जवाफ फर्काई।रोहनको अनुहार लाई मैनवत्तिले पुरा उज्यालो वनाउन सकेको थिएन। आधा भाग मैनवत्तिको अँध्यारो प्रकाशमा पहेँलिएको थियो, आधा उनीहरुका गोप्य भेटघाट जस्तै अँध्यारो थियो अझै पनि। दाह्री थोरै थोरै उम्रिएर गालालाई अझै आकर्षकता थप्दै थिए।
"के देखिस् त मेरो अनुहारमा?" रोहनले प्रश्न राख्यो।
" म अनुहारवाट तँपाइको मुटु सम्मको वाटो खोज्दैछु,अझै भेट्टाएकी छैन !!"
"नचाहिने, काहिँ अनुहारवाट पनि मुटु सम्मको वाटो भेटिन्छ?"
"भेटिन्छ त ,आँखावाट हुन्छ ! थाहा छैन तँपाइलाई ? निष्ठुरीहरु मात्र त्यो वाटो रोकेर वस्छन् " आफु भित्रको द्वन्द लुकाउँदै उसका आँखा मा नियाल्दै उसले जवाफ फर्काई।
"मेरो आँखामा त तँ नै देखिन्छेस् नि !!" रोहनले सावित्रीको गाला मा आफ्नो हात राख्दै उसलाई वुझाउन चाह्यो। उसलाई निष्ठुरी शव्द मन पर्दैन।उसले त मात्र आवश्यकता साटेको हो। 
"तँपाई मेरो साथ चाहनुहुन्छ ? वा मलाई ??" सावित्रीले रोहनको आँखामा आँखा जुधाउँदै प्रश्न राखी।
"दुवैमा फरक के छ?" रोहनले आफ्नो हात गालावाट हटाएर खाटमा राख्दै सोध्यो।प्रश्न उसलाई विझेको थियो।जानी जानी वुझ पचायो उसले!
"धेरै छ वावु, धेरै छ !!" उ एकैछिन चुप भई । पग्लिएको मैनवत्ति फेरि जम्न थालेको थियो,मैनवत्तिको पुछारमा ।धरातलमा फर्किएपछि त सवै आफ्नै स्वरुपमा आउनुपर्ने वाध्यता होला। सावित्री पनि त जीवनको राप र तापले पग्लिएको मैन जस्तो नै त थिई। जति जति जीवनको धरातल नजिक फर्किएकी थिई, जमेकी थीई, जड भएकी थिई स्थायित्व को खोजीमा।

"मैले त्यो केटा ,गाउँको दाजु हो भनी तँपाईलाई ढाँटे !!!!" सावित्रीले धेरैवेरको मौनता पछि रोहनलाई आफ्नो सत्यता दर्शाउन चाही ।
रोहन वोलेन, मात्र सावित्रीलाई हेरिरह्यो। उसको अनुहार रातो हुँदै आएको मैनवत्तिको प्रकाशमै देखियो।कहिलेकाहिँ साना वाक्यहरु सुचनाका पहाड लिएर आउँछन्।ति वाक्यका अक्षर अक्षर मान्छेको मन सँग कुश्ति खेल्ने गरी, मान्छे पछार्ने गरी शक्तिशाली हुन्छन् ।रोहन पछारिएको थियो अक्षरहरुकै फौजको अघी। अनी आफ्नो मौनता सँग नै भिँड्दै थियो। 

"को हो त त्यो ?" धेरैवेरको सोच पछि रोहनले प्रश्न राख्ने सामर्थ्य वटुल्यो।
"नजिकै वस्छ !! तरकारी पसलमा भेट भएको , मलाई पहिल्यै देखेको रे, मलाई कुरेर वसिरहन्छ, म सँग मात्र समय विताउन चाहन्छ रे !!"
"अहिले किन साँचो भन्दैछेस् त?" रोहन अझ रातो भयो। उ रिसाउनु पर्ने हो वा होइन उसलाई छुट्याउन गाह्रो भयो।
"किन की म जान्न चाहन्छु, तँपाई जीवन भर मलाई चाहनुहुन्छ कि यो ओछ्यानका चार खुट्टा भित्र मात्र ?" सावित्रीले आफ्नो सम्पुर्ण इच्छा पोखिदिई।सावित्री आफ्नो दोस्रो पत्र खोलिन। चौथो पुरुषको आगमन प्रति त रोहन अझै अनभिग्य नै थियो। रोहन शान्त भयो विस्तारै ! पानी खायो नजिकै फिल्टर वाट झिकेर!! 
"तँ के चाहन्छेस् त ?" रोहनले एक छिन घोरिएर फेरि सावित्रीलाई प्रश्न राख्यो।
"मेरो लागि तँपाइ एउटा लत वन्नु भएको छ , म यसमा क्रमभंगता चाहन्न!! कुनै शर्तमा पनि !! म तँपाईको शरिरमा आफुले भ्याएसम्मको निरन्तरता चाहन्छु। " सावित्री विस्तारै कठोर वन्दै गई। उसको अघि रोहन निक्कै कान्छो, अपरिपक्व देखियो त्यो रात। पहिलो चोटी सावित्रीले रातमा समेत आफ्नो विजयध्वज गाड्न चाहि।

"म नवाँडिउ कसैसँग पनि भन्ने तेरो रहर हो भने मेरो पनि त त्यस्तै होला " उसले रुखो जवाफ फर्कायो।
"सुविधाको सम्वन्धमा निरंकुशता थोपर्न सक्ने मेरो सामर्थ्य कहाँ!"
"कहिलेकाहिँ तेरा शव्दहरु मलाई अवाक वनाउँछन्, जे तेरो इच्छा!!" रोहन लाचार वन्यो। हो यो सुविधाको सम्वन्ध थियो। ति पल वाहेक एकले अर्काको अधिकार क्षेत्रभित्र नछिर्नु त त्यसको पहिलो शर्त हो। किन सोचेन रोहनले त्यति ?
"यो त मेरो कथाको एउटा पाटो थियो, मेरो कथाको पाटो अर्को पनि छ !!" सावित्री ले पग्लिएको मैनलाई आफ्नो हातले खेलाउँदै जवाफ फर्काई। धागोको कालो ठूलो मोममै तैरिरहेको थियो।
"के नै पाटो हुन सक्छ र ,अव !!" रोहनले हारेको स्वरमा जवाफ फर्कायो। उसको पुरुषत्वले अर्को पुरुषको उपस्थिति स्विकार्नु पनि उसको लागी त युद्द हार्नु समान थियो।
"आज विहान तँपाइको वुवा सँग कुरा भयो,वहाँ अर्को विहा गर्ने अरे, केटी को खोजी म मा आएर रोकिएछ!!" सावित्रीले अन्तिम सत्य वाट पर्दा उठाई। अनी चुप भई।रोहन एकछिन मौन रह्यो। सावित्रीको भाव विहिन अनुहार हेर्यो।कोहि किन पथ्थर हुन्छ ? हो उ स्वार्थी भई, स्वार्थले आत्मा खान्छ ,मन ढुंगो वनाउँछ। उ जड हो, उ जिवित छैन, कोहि मृत कुरा गर्दैछ कुनै स्वार्थमा रोहन सँग ।
 "तँ स्वार्थी होस् ! पुरुषकी भोगी होस्, तेरो वुढोले तँलाई छोड्यो ठिक गर्यो!!" रोहन अनाहकमा चिच्यायो
"दुनियाँ मायामा स्वार्थ देख्छ, म त स्वार्थलाई नै माया भन्छु !!" सावित्रीले विस्तारै जवाफ फर्काई। कोठाको मैन पग्लिएर निभ्यो, विस्तारै अँध्यारोले फेरि आफ्नो साम्राज्य फिजायो।
समाप्त:
 
Read Full Discussion Thread for this article