Posted by: fucheketo February 12, 2013
सावित्री
Login in to Rate this Post:     0       ?        
सावित्री (भाग-४)
 "हिजो को लागि सरी !"
उ वाटो मैँ थियो। सावित्रीलाई कुरेर वसिरहेको । मलाई कथामा उसको उपस्थिति प्रति माया लागेर आउँछ। उ मात्र माया गर्न जान्दथ्यो। माया गर्नु एउटा कुरा अनि प्रदर्शनको भुक्तभोगि यो संसारमा माया देखाउनु अर्को कुरा ! देखीएको माया हुँदैन, नदेखिँदा माया मानिँदैन, मानिनु र हुनु अर्को कुरा।

सावित्रीले उसलाई एकटक लगाएर हेरी ।उसको वढेको दाह्री , खवटे अनुहार, पोलिस्टर को खुम्चिएको धर्के शर्ट अनि तेस्रो वटन थोरै चोइटिएको। सावित्रीले नचाहँदा नचाहँदै भए पनि रोहनलाई सम्झी । रोहन सावित्रीको नशा नशा मा थियो, उसको दिमागमा व्याप्त थीयो । एउटा लत वनेर। उसको शरिर नियाल्दै रोहन सँग दाँज्दै सावित्रीले सोची यो शरिर पक्कै पनि रोहन जत्तिको मादक छैन।

"ठिकै छ !" सावित्रीले अघी वढ्दै भनी। 
"मलाई तँपाई सँग केहि कुरा गर्नु छ , यदि तँपाईले अनुमति दिनुहुन्छ भने !" सावित्रीलाई फर्किन कर लाग्यो । 
"हुन्छ !" उसले धेरै वेर सोचेर जवाफ फर्काई। त्यो सोचको गणितमा रोहन घर आउने समय सम्मको गणना पर्यो।
"म सँग चिया खान जानुहुन्छ , अलि पर ?" उसले एउटा अर्को आग्रह थप्यो। सावित्रीको मन यसपाली थोरै पग्लियो। उसले स्विकारोक्ति जनाउँदै टाउको हल्लाइदिई।
"खोइ त कुरा गरेको ?" सावित्रीले मौनता चिर्दै वाटोमा प्रश्न राखेकी थिई।
"कहाँवाट शुरु गरौँ , सोच्दैछु !!" उसले पनि आफ्ना पाइलाले भुईँमा छोडेका अवशेष खुट्याउँलाझै गरेर घोसे मुन्टो लगाउँदै जवाफ फर्कायो।
" मलाई जे कुरा पनि छिटो भएको मन पर्छ, जे वाट शुरु गरे पनि हुन्छ!!" सावित्रीले मुस्कुराउँदै उसको तनाव घटाउने प्रयास गरी। उ पनि हाँस्यो। गम्भिरता वोक्रो उक्किएपछि देखिएको स्वच्छन्द उ सावित्रीलाई गम्भिर उ भन्दा मन पर्यो।

"दुइटा चिया !!" वाटोमै कित्ली र स्टोभ लिएर जेनतेन गुजारा चलाइरहेकी एउटी आइमाईको दोकानमा लिएर गएको थियो उसले । छेवैको दुइटा मुढामा दुइजना वसे। चियाको वाफले माहौल न्यानो वनायो। सावित्रीले सोची, कहिलेकाहिँ आइमाइ हुँदा शक्तिशाली हुइन्छ, माया पाइन्छ अनि साथ पाइन्छ, मेहेनत विना प्रशंसक पाइन्छ।सावित्रीलाई आफू हुनुमा गर्व महसुस भयो। उसले चिया सुरुप्प पारी आफ्नो आँत नै तातो हुने गरेर।

"त्यो घरमा म काम गर्छु ।" सावित्रीले अचानक आफै कुराको शुरुवात गरी। उसले ध्यानपुर्वक सुनी रह्यो। मानौँ उ शव्दहरुलाई पनि स्पर्श गर्न चाहन्छ।
"म यहाँकी होइन, तर मलाई कता कता शहर मन पर्न थालेको छ,अनि शहरका मान्छेहरु पनि!!" उ एकछिन रोकिइ।" मलाई थाहा छ तिमी मलाई नियाली रहन्छौ, मेरो प्रतिक्षामा रहन्छौ ,मैले सवै थाहा पाएकी छु!!"

उ यसो भन्दै गर्दा भित्रै देखि खुशी थीई । विजयी महसुस गरेकी थिई ।सावित्री आफ्नो शक्ति पहिलो चोटी उपयोग गरेको महसुस गरेकी थीई। उसलाई पहिलोपल्ट कुनै सम्वन्धमा आफ्नो प्रभुत्व महसुस भएको थियो। उसको वुढो त उसको वुढो नै भइहाल्यो, उ भन्दा कान्छो रोहनको अघि पनि त उ लाटिएकी थिई,मात्र अह्राएको टेर्ने न थिई उ आखिर!!

" मैले तिमी भनेकोमा चित्त त दुखेको छैन हैन ?"
एकटक लगाएर सावित्रीलाई हेरी रहेको उसको क्रमभंग गर्ने गरी अनि प्रश्न तेर्स्याई । के जवाफ दिओस् विचरा, उ त मात्र सुन्न चाहन्छ, सावित्रीले उसको मौनता वुझोस् भन्ने चाहन्छ।अनि रह्यो सवाल तिमी र तँपाइको, सावित्रि उ सँग वोली त्यसको सट्टामा उ जुनसुकै सर्वनामको साटफेरमा पनि तैयार थियो। उसले छैन भन्ने भावमा टाउको हल्लायो।चिया सिद्दिएको थियो। दुवै फेरि घरतिर फर्किए।
"तिमी असाध्यै सोझो छौ,वुझ्यौ ?" सावित्रीले हाँस्दै घरछेउ आएपछी आफ्नो फैसला सुनाई। साँझपख सावित्रीको अनुहारमा अनौठो लालि देख्यो उसले।
"कसरी थाहा भयो तँपाईलाई?" उसले तँपाई भन्न छोडेन,अझै।
"मलाई पनि तिमी नै भने हुन्छ, कस्तो वुद्दु मान्छे होला!!"
सावित्री रिसाए जस्तै गरी। उ सोचमा पर्यो।
"हुन्छ म तिमीलाई अवदेखी तिमी नै भन्छु !!"
उसले सोझो स्वरमै जवाफ फर्कायो।
"किन र ? मैले भनेको जे पनि मान्छौ ?" सावित्रीले उसको हात समाउँदै प्रश्न राखी ।
"जे पनि !!" उसले पनि सावित्रीको हात नियाल्दै जवाफ फर्कायो।
"भोलि देखि सँधै भेट्ने है ?? अहिलेलाई म जान्छु !!" सावित्रीले उसका हात छोड्दै कुरो टुंग्याई अनी घरतिर लम्किई ।सावित्रीको जीवन त्यहि वाटोका दुइ पाटा जस्तै वाँडिए।सावित्री त्यहिँ पिंग खेलिरहन्थी । कहिले उसको पाटोमा, कहिले रोहनको पाटोमा।

**************** ***************** ************** ************** *********

रातको निष्पट्ट चिर्दै रोहन फेरि सावित्री सुत्ने खाटमा घुस्रियो।रोहनको त स्पर्श,सुवाष सवै सावित्रीले चिन्थी।
"छ्या कति चिसो खुट्टा!" सावित्रीले सिरिंग हुँदै भनी।
रोहन वोलेन। चुपचाप वसिरह्यो। अचम्म थियो। दिउँसो भेटिने केटाको मौनताले उसको मन जितेको थीयो।तर रोहनको मौनता उसलाई विझ्यो।उ त रोहनले वोलिरहोस्, उसलाई जिस्क्याइरहोस् भन्ने न चाहन्थी आखिर!!
"तँलाई एउटा कुरा सोध्नु छ !!" अँध्यारोमा पनि रोहनको असन्तुष्टी देखि सावित्रीले त्यतिखेर। उसलाई डर लागेर आयो। आखिर उ रोहनलाई पनि त छोड्न चाहँदैन थी।
"सोध्नु न!" उसले विस्तारी जवाफ फर्काई।
"को हो त्यो पान पसलको केटो?" 
सावित्री झसंग भई। उसलाई पसिना आए जस्तो भयो।
"दाजु हो, गाउँको !!" अनकनाउँदै जवाफ फर्काई। उसको झुटमा रोहनले विश्वास गरोस् भनेर भगवान सँग प्रार्थना गरी।
"हुन्छ तेरो दाजु !!" रोहनले नपत्याए जस्तो गर्यो।
"कसम, तँपाइको मासु खाने !! तँपाइ वाहेक अरुको वारेमा सोचेकी पनि छैन मैले" उसले झुटो कसम समेत खाइदिई। आफु स्वार्थी वनेकोमा पहिलो चोटी सावित्रीलाई ग्लानि पनि भयो। तर पनि उ रोहनलाई हार्न चाहन्नथी। कुनै पनि शर्तमा !!
"दिदीले हाँस्दै हात समातेको पनि देखेकी रे !!" रोहन नपत्याउन छोडेन।
"दाजुनै हो भन्दा पनि नपत्याउने!!" सावित्रीले आफ्नो अन्तिम अस्त्र छोडी। थोरै रिसाए झैँ गरेर।
"नरिसा न!!" रोहन थोरै कमलो भएर उसलाई अँगालो मार्दै भन्यो।
"यो चाहिँ तँपाइको दिदीले देख्नुभयो भने के हुन्छ नि?" सावित्री लाडिई।
"यो अँध्यारोमा !!!" रोहनले उसलाई अझ जोरले कस्यो।सावित्रीलाई आफुले जिते जत्तिकै भयो। भोली देखी उ सँग भेट्ने ठाउँ वदल्नु पर्ला उसले मन मनै सोची।
क्रमश:
 
Read Full Discussion Thread for this article