Posted by: _____ February 11, 2013
सैनिक प्रोफेसर
Login in to Rate this Post:     2       ?         Liked by
 

सैनिक प्रोफेसर


 
16
 

एलबी क्षेत्री- सन् १९६५ मा भारतको इलाहावाद बोर्डबाट तृतीय श्रेणीमा एसएलसी पास गरी जीव विज्ञान पढ्न आइएस्सी भर्ना भए पनि बीचैमा छोड्नु पर्‍यो। त्यसपछि म चितवन आइपुगेँ। माताजी र दुई भाइ २०२२ सालमै चितवन आइसकेका थिए। ०२४ सालतिर म धनौजी, पटिहानी निमाविमा शिक्षक थिएँ। शिक्षक भएर आफूलाई सीमित राख्न मन मानेन वा महत्वाकांक्षाले कुनै निर्देशित दिशातर्फ लतार्दै थियो- ०२६ सालतिर पुनः भारत फर्किएँ। वीर नेपालीहरूले छाती नाप्न पाएको थलो गोरखपुरको कुनराघाट पुगेँ। बाउ-बाजेले गर्दै आएको पेशामा नै आफूलाई समर्पित गर्दै सैन्य जीवन आत्मसात गरेको थिएँ। २० अक्टोबर १९६७- कपडा फुकाली कुनराघाट सैनिक भर्ती केन्द्रमा ४७ किलोको भार र २९ इन्चको छाती देखाएर भारतीय सेनाको आरटिलरी विभाग अन्तर्गत भर्ती भएको थिएँ।

सन् १९६९ मा डेढ वर्षे प्रशिक्षणका लागी आर्मी क्लर्क ट्रेनिङ स्कुल औरंगावाद (महाराष्ट्र) पुगियो। १९६६ का आइएस्सी पढ्दाको सम्झना आउँथ्यो। मेरो स्काडमा उत्तर प्रदेशको एउटा साथी थियो हरिशचन्द्र मिश्र। हामी दुवैले एकै वर्षमा इलाहावाद बोर्डबाट हाइस्कुल उत्तीर्ण गरेका रहेछौं- ऊ प्रथम श्रेणीमा, म तृतीय श्रेणीमा। बाल्यकाल उत्तर प्रदेशको बलिया जिल्ला रसडा भन्ने तहसिलमा बितेको थियो। मिश्रा इलाहावादको सम्पन्न ब्राह्मण परिवारको। म साधारण जागिरे नेपाली परिवारको।
प्रशिक्षणका लागि औरंगावाद पुग्दा रेलवे स्टेसनमा हामी सैनिक बसको प्रतीक्षामा थियौं। गुन्टामाथि बसेर किताब पढिरहेको थिएँ।
'तुम नेपाली हो क्या?' 
एउटा अपरिचितबाट अचानक ‘तुम' को सम्बोधनले झस्किएँ। ऊ पनि आर्टिलरीकै रहेछ। त्यहाँ धेरैजसो पैदल सेनाका सैनिक छात्र थिए। कताकता खुसी पनि लाग्यो। ऊ पनि मलाई आर्टिलरीकै हो भनी चिनेर आकर्षित भएको रहेछ। 
'तुम पण्डित हो क्या?' म गुन्टाबाट उठ्दै सोधेको थिएँ। स्टेसनबाट प्रशिक्षण केन्द्र बीस किलोमिटर टाढा रहेछ। बाटोमा ऊ बोलिरहन्थ्यो, म भने भविष्यको कल्पनामा डुबिरहन्थेँ। 
हाम्रो दुई सय जनाको ब्याच रहेछ। उही दिन साँझ हाम्रो प्रवेश परीक्षा भयो। ५०-५० जनाको सेक्सन छुट्याउनका लागि। हामी दुवै ‘ए' सेक्सनमा पर्‍यौं। प्राप्तांकको आधारमा मेरो ८, उसको रोल नम्बर २९। पछि उसले भनेको थियो- 'रोल नम्बर-वम्बर कुछ नही है। 'ए' सेक्सन मे है, वही काफी है। हम तुम्हारी तरह सिरियस नही है न।'
मेरा अरु पनि साथी थिए तर ऊ मसँग धेरै नजिक भयो। केही दिनपछि मलाई सोधेको थियो- 'हमको तुम्ने ब्राह्मण कैसे पहचान लिया?' जवाफ नदिई मैले नै सोधेँ- 'तुम्ने हमको नेपाली कैसे पहचान लिया?'
'तुम्हारा नाक चपटा है, इसलिए। तुम्हारे पिताजी चौकिदारी करते होेगे?' उसले फेरि सोध्यो। उसलाई नेपालीहरूबारे साधारण ज्ञान रहेछ।
'जी हाँ, मेरे पिताजी स्टेट बैंक अफ इन्डियामे सेकुरिटी गार्ड हैं।' मैले भनेँ। 
'तुम्ने बताया नही, हमको कैसे पहचाने कि हम ब्राह्मण है।'
'तुम्हारी सकल भिखारियो जैंसी है, इसलिए।'
उसको मुहारमा हाँसो छायो। गर्वका साथ भन्यो- 'ब्राह्मणो ने हमेशा क्षेत्रीयोंपर राज किया है, तुम्हे पता है कि नही?'
'ब्राह्मणोका पेट हमेशा क्षेत्रीयांेके दान पर भरता है, पता है कि नही?' मेरो पनि प्रश्न तेर्स्याएँ। 
केहीबेर चूप लागेर भन्यो- 'देखो ब्राह्मण ब्राह्मण होता है। क्षेत्रीय दुसरे नम्बर पर आता है। बडे लोगांेकी बडे बाते होती है। तुम नही सम्झोंगे क्षेत्री।'
....
तीन महिनापछि पहिलो आधिकारिक परीक्षामा मैले तेस्रो स्थान पाएँ, ऊ धेरै पछि थियो। 
एकदिन उसले भनेको थियो- 'तुम्तो इसतरह पढ्ते हो जैसे पढाइका भूख मिटा रहे हो।' ममा रहेको रिक्तताको संवेदनशीलतालाई उसले छोएको थियो। मैले जवाफ दिएको थिइनँ वा मसँग जवाफै थिएन! 
उसको मनमा जे लाग्थ्यो भनिहाल्थ्यो। कहिलेकाहीँ म रिसाउथेँ पनि। ऊ भन्थ्यो- 'बडे लोगो कि बडी बाते होती है छत्री। ये सब वात तुम नही सम्झांेगे।'
ब्यारेकमा हाम्रा खाट सँगै थिए। साँझ ६ देखि ७ बजेसम्म खानाको समय। १० बजेसम्म अध्ययन। कहिलेकाहीँ खाना खान ऊ अबेला गर्थ्यो र म कराउँथे- 'ओ ब्राह्मण, ओ पण्डित, ओ मिश्रा, खानेका सिटी बजगया। आज तुम उपवास बैठोगे क्या?'
ऊ दगुर्दै आइपुग्थ्यो। हामी लाइनमा मिस्टिन र प्लेट लिएर उभिन्थ्यौं। त्यतिबेला ऊ भन्थ्यो- 'देखो क्षेत्री, तुम कुछ भी कहो, तुम्हारे हिस्सेका दो रोटी जबतक मै न खालू तो मुझे तसल्ली नही होगी। अरे भाइ ब्राह्मण है। मागकर खाना हमारा अधिकार है। और माग किस्से रहेहै क्षत्रीयों से हि ना?'
प्रशिक्षणका दिनमा एक मिस्टिन भात र चारवटा रोटी हुन्थ्यो। मलाई भातमाथि दुई रोटी भए पुग्ने। दुईवटा मिश्रालाई दिन्थेँ। ऊ भन्थ्यो- 'तुम्हारा दो रोटी लिया तो क्या हो गया? किसका लिया? क्षत्रीयका ना? देखो छत्री, जब-जब ब्राह्मणो ने खाया है, क्षत्रीयोका हि तो खाया है। राजा हरिशचन्द्रने तो पूरा राजपाठ ब्राह्मणोको देदिया था। तुम तो बस दो रोटी क्या देते हो अपने आपको राजा हरिशचन्द्र या दानवीर कर्ण समझने लगते हो। छोटे लोगो कि छोटी बाते। तुम नही समझोगे छत्री।'
राति अध्ययनको बेलामा पनि ऊ बोलिरहन्थ्यो। म 'यु सट अप १ु भन्दै झपार्थें। भुइँमा काम्लो ओछ्याएर बाक्सालाई टेबल बनाएर अध्ययन गर्थ्यौं। क्याप्टेन, मेजरहरू प्रत्येक निरीक्षणमा आइरहन्थे। कम्पनीका पदाधिकारीहरू हाम्रो अध्ययनको निगरानी राख्थे। एकपटक कम्पनी हाकिम मेजर कुशाग्रले म र मिश्राको खाटनेर उभिएर आफ्नो जुनियर अफिसरलाई भनेका थिए- 'क्षेत्री वर्कस् भेरी गुड। सि, हाउ मेनी बुक्स हि रिडस्। हि इज भेरी ट्यालेन्ट ब्वाय'। 
मिश्रा भन्थ्यो- 'हिन्दीमे एक कहावत है छत्री। नालायक बेटेका बस्ता (झोला) हमेशा भारी होता है।' 
दोस्रो त्रैमासिक परीक्षामा मिश्राले राम्रो गरेन, र सेक्सन ‘सी' मा पुग्यो। मलाई नरमाइलो लाग्यो। ब्यारेक बदली हुने बेलामा उसले भनेको थियो- 'देख लेना छत्री मै फिर आउँगा, सेक्सन ‘ए' मे ही आउँगा।' सेक्सन र ब्यारेक बदले पनि अन्य समयमा, खाने बेलामा, आइतबार दिनभर हामी सँगै हुन्थ्यौं।
अर्काे त्रैमासिक परीक्षामा त उसले ‘ब्याच टप' गरेछ! फस्ट ब्वायको रोल नम्बर एक सहित ऊ फेरि सेक्सन ‘ए' को ब्यारेकमा आयो। उसले मेरै छेउको खाट रोज्यो। मैले मनमनै सोचेको थिएँ- बाहुनका छोराले कस्सिएर पढ्यो भने सबैलाई माथ दिँदोरहेछ, संसार जित्दो रहेछ। त्यस रात उसलाई जिस्क्याएको पनि थिए- 'ए पण्डित, अबकी बार तुम्हारा चुटिया (टुप्पी) एरियलका काम करगया लगता है। ब्राह्मन्डका सारा ज्ञान हासिल करलिया। पूरे ब्याचको टप करदिया।' त्यसपछि उसले यति मात्र भन्यो- 'बडे लोगोकी बडी बाते, छत्री तुम नही समझांेगे।'
सन् १९७१ मार्चमा हाम्रो औरंगावादको प्रशिक्षण समाप्त भयो। भारतको नासिकरोड भन्ने ठाउँमा हामी आर्टिलरीका क्लर्क (लिपिक) हरूलाई विशेष प्रशिक्षणका लागि नासिक पठाइयो। मिश्रा र म सँगै थियौं। विशेष प्रशिक्षणको विषयमा मैले लेखा र उसले भण्डार रोजेको थियो। उसले भण्डारबाट कहिले फलफूल, कहिले बिस्कुट, कहिले दालमोठ लुकाएर ल्याउँथ्यो। कहिले त मासु पनि ल्याउँथ्यो, हामी स्टोभमा पकाएर खान्थ्यौं।
तीन महिना सकिएपछि म ६४ मैदानी तोपखानाका लागि पोस्टिङ भएँ। ऊ सय पर्वतीय तोपखानामा। छुट्टिने बेला दुवैका आँखा रसाएका थिए।
...
सन् १९८४ मा मैले सेनाबाट स्वेच्छिक अवकाश लिएँ। १९८४-१९८६ ताका पटना विश्वविद्यालयमा स्नातकोत्तर पढ्दा एकजना नेपाली रानाजीसँग परिचय भएको थियो। उहाँ पन्जाब नेसनल बैंकमा कार्यरत। हामी एउटै घरको वल्लो-पल्लो कोठा भाडामा लिएर बस्थ्यौं। १९८७ मा मेरो स्नातकोत्तरको पढाई सकिंदा उहाँ पनि सरुवा भई गोरखपुर पुग्नुभएको थियो। १९९१ मा म र मेरी म्याडम ठूली छोरीलाई जिब्रोको समस्या भएकाले गोरखपुर लिएर गएका थियौं। गोरखपुर विश्व बी परिसरमा रहेको पञ्जाब नेसनल बैंकको एउटा शाखामा गएर मैले रानाजीको बारेमा मेनेजरसँग सोधें। उहाँ मुख्य कार्यालयमा हुनुहुँदोरहेछ। बैंकबाट बाहिर निस्किँदा मोटो मान्छे पान खाँदै भित्र आउँदै थियो। हामी दुवै रोकियौं। हेराहेर भयो। केही बेरपछि ऊ बोल्यो- 
'तुम क्षेत्री होन?'
'तुम मिश्रा?' 
गम्लङ्ङ अंगालियौं। ऊ पनि धेरै खुसी थियो। 
'भाभी जी आपसे मिलकर बडी खुसी हुई,' भन्दै हात जोड्यो। 
मैले सोधें- 'रिटायर तो हो चुके होगे मिश्रा। आजकल क्या करते हो?'
उसको मुहारमा अचानक परिवर्तन छायो। उही पुरानो औरंगावादको मिश्राजस्तो। भन्यो- 'देखो क्षेत्री हाइस्कुल पास करके हमलोग आर्मीमे गये। आर्मीमे रहते ही मैने प्राइभेट फारम भरके आइए पास करलिया था और पन्ध्र वर्षतक आर्मीमे रहा फिर आर्मी छोड्दी। फिलहाल थोडी बहुत पेन्सन भी मिलजाती है। मजेकी जिन्दगी गुजार रहा हूँ। 'नाओ अ डेज् आइ एम अ टाइपिस्ट र्क्लक इन पन्जाब नेसनल बैंक अफ इन्डिया' और तुम सुनाओ। तुम क्या कर रहे हो?'
केहीबेरको शून्यतापछि मैले भनें- '१८ वर्षतक तो फौजमे ही काम किया, फिर नोकरी छोड्दी, और पटना विश्वविद्यालयसे एमए किया।' मैले पर्समा राखेको भिजिटिङ कार्ड दिँदै भने, 'नाउ आइ एम अ युनिभर्सिटी प्रोफेसर। त्रिभुवन युनिभर्सिटी, नेपाल' उसको अनुहारको हाँसो मलिन हुँदै गयो। मेरो काँधमा आफ्नो दाहिने हात राख्दै भन्यो- 'हाँ, बडे लोगांेकी बडी वातें। ये मै नही समझुँगा प्रोफेसर छत्री।'

 
Read Full Discussion Thread for this article