Posted by: fucheketo February 4, 2013
Login in to Rate this Post:
2
?
Liked by
यो कथा शुरु गर्नु अघी , कथाकी पात्र अघिल्लो चार पुरुष नामक कथावाट सापट लिएको अनुरोधका साथ
http://sajha.com/sajha/html/index.cfm?threadid=100526
भाग-१
http://sajha.com/sajha/html/index.cfm?threadid=100526
भाग-१
कथाका स्वरुप एक हुन्नन् । कथा त भन्ने मान्छेको भावना अनुसारले वंगिन्छ। कथा त एउटा ऐना हो सुनाउने मान्छेको मनको । उसको मनमा के खेलिरहेको छ , कथा त्यसै अनुसार चित्रण हुन्छ।कथा वाचकले धमिलिएको दिनमात्रलाई पनि रात वनाउन सक्छ अनि जुनलागेको रातलाई समेत दिन मानिदिन सक्छ। यो कथा को अर्को पाटोको हो । यो सावित्रीको कथा हो ।
सावित्री, नाम उसको वाउले राखेको, पण्डितजीले सा वाट उठ्ने नाम राख भनेर अनुमति दिएपछि। हुन त साह्रै खुशी थिएन सावित्रीको वाउ, छोरो चाहिएको थियो उसलाई । त्यसैले होला नाम पनि पुरुषको सुरक्षा गर्न सक्ने स्त्रीको राखिदियो। मृत्युको मुखवाट पनि पुरुषलाई तानेर ल्याउन सक्ने स्त्री वनाइदियो नाम राखेर । जन्मेको एघार दिन देखी नै उ सावित्री वनी ।
वाउको चिया पसल थियो गाउँको विचभागमा, वसेर चाहिने नचाहिने कुरा काट्नेहरु सवै उसैको वाउको चियापसलमा थुप्रिन्थे। पैसा हुने पैसा दिएर चिया खान्थे, नहुने पैसा नदिइ जान्थे।वाउ लाई आफ्नो व्यापार गर्ने तरिका देखेर आफैलाई दिक्क लाग्थ्यो। उ सोच्थ्यो मान्छेले शरम पचाएपछि केहि लाग्दैन,अनि उ सँग आँट पनि छैन नदिनेलाई "ओई पैसा दे!!" भनेर माग्ने।एक अर्थमा सावित्रीको वाउ डरछेरुवा थियो। परिस्थितिले हारेको थियो। त्यसैले त उ सहनशिल थियो। समयको मार आरामले पचाइदिनथ्यो, सहिदिन्थ्यो। सावित्री छ वर्षको हुँदा देखी नै उसले चिया पसलमा सघाउँथी।चियाका भाँडाहरु वटुल्थी, जानी नजानी सफा गर्थी।जीवनले उसलाई पोख्त वनाउँदै लगेको थियो। हुन त विहानको स्कुल थियो उसको तर स्कुल सकिना साथ चियापसलमा हाजिरी जनाउँथी। छोरो खोजेको वाउले छोरो भन्दा डेगिलो आड पाएको थियो सावित्रीको रुपमा। सात कक्षामा हुँदा उ पहिलो चोटी फेल भइ, त्यस पछि कहिल्यै पास भइन किनकी उसले त्यसपछि जाँच दिइन। उसलाई पढाइ प्रति नै दिग्दार लागेर आयो। उसले पढाइ छोडिदिइ, तर त्यो चियापसलको लागि भने निकै नै फाइदाको विषय वन्यो।सावित्री ठूली हुँदै गई। चियापसलमा मान्छे चिया खान मात्र नभइ सावित्रीलाई हेर्न समेत आउन थाले। पैसा नतिर्ने हरु पनि सावित्रीको नजरमा गिरिने डरले पैसा तिर्न थाले।
सावित्रीको व्यवहार भने ग्राहकको उमेर अनुसारले भिन्न हुने गर्थे ।समग्रमा भन्ने हो भने उसमा व्यापारको सुझवुझ थियो। सानै उमेर मा नै उसले उसको वाउको कमीकमजोरी वाट के गर्न हुन्छ र के गर्न हुन्न सिकेकी थिई ।उ जिस्केर हुने ठाउँमा जिस्किन्थी, रिसाएर हुने ठाउँमा रिसाइदिन्थी। चिया पसलमा आउने हरु उसले रिसाएर राती भएको समेत मन पराउँथे। हेर्ने हरु भन्थे रिसले सावित्रीमा मादकता थप्थ्यो, जसले उ अझ खुल्थी अनी विछट्टकी राम्री देखिन्थी, जसको अघि सवै अवाक हुन्थे।
एक दिन उसका वाउले उसको लागी केटा छाने।केटो गाउँकै थियो। केटोको घरनै हेर्ने हो भने सावित्रीको घरभन्दा धनी नै मान्छेको छोरो थियो। विहे अघिनै पनि कहिलेकाहिँ त्यो चियापसलमा आउँथ्यो ।सावित्रीलाई हेर्थ्यो, जिस्किन्थ्यो। सावित्रीको वाउले यी सवै देखेका थीए , तर देखेर पनि नदेखे झैँ हुन्थे। शुरुमा ख्याल ख्याल वाट शुरु भएको सम्वन्ध एकै उमेरका विपरितलिंगी हुनाले होला झांगिन वेर लागेन।हुन त शुरुमा केटाले उसको घरपरिवार विरुद्द जान मानेको थिएन तर अन्त्यमा जीत सावित्रीकै भयो । उसको जीवनमा पहिलो पुरुष आयो।
केटो हट्टाकट्टा थियो । एसएलसि पास गरेको ।क्याम्पस गएर छोडेको ।उसको वाहुपाशमा जव जव सावित्री वेरिन्थी उ संसार विर्सन्थि, केटोको छाति उसलाई चट्टान लाग्थ्यो, हात तरवार लाग्थे अनि मुटु उसको निम्ति मात्र पग्लिने मैन। उसका दिन चाँडै चाँडै विते जस्तै लाग्थे उसलाई ।रातमा पनि जव उसको छातिमा उ टाउको राखेर सुत्दथी ,उसलाई सिरानी चाहिन्नथ्यो। केटोको छातिको ढुकढुकीले सावित्री सावित्री भनी वोलिरहेजस्तो लाग्थ्यो उसलाई।जीवन यति रमाइलो गरी वित्ला भनेर सावित्रीले सपनामा पनि सोचेकी थिइन।घरमा काम पनि खासै गर्नु पर्दैनथ्यो, चिया पसलभन्दा पनि कम।
तर समयले कोल्टे फेर्यो। विहे गरेको थोरै समयमा उसका ससुरावा ले संसार छोडे। केटो इलमी नहुनाले काम पाउन सकेन। सावित्रीले फेरि काम गर्नु पर्ने भयो। सावित्रीले निकालेको घरखर्चमा दुइजनाको गुजारा चल्न थाल्यो। त्यो सम्म पनि सावित्रीले चित्त वुझाएकै थिइ । तर विस्तारै विस्तारै उसको वुढो राती राती हराउन थाल्यो। आउँदा पनि दंगदंग्ती रक्सी गनाउँदै आउँथ्यो।कहिलेकाहिँ सावित्रीलाई रिसको झोकमा पिट्थ्यो।सावित्री आफ्नो भाग्यलाई सराप्थी। दुइदिनको रमझममा हराएर ठूलो अध्यारोमा आफूले आँफैलाई धकेले झै लाग्दथ्यो उसलाई।एक दिन उसको वुढो घर आएन । भोलिपल्ट नै गाउँमा गाइँगुइँ चल्यो । उसको वुढो भट्टिकी साहुनीलाई लिएर हरायो। भन्नेहरु भन्थे दुवै इन्डिया तिर भागे ।अव फर्किन्नन् । यमराजको हातवाट समेत वुढालाई तान्न सक्ने नाम पाएकी सावित्रीले भट्टीवाल्नी सँग हार मान्नुपर्यो।
उ फेरी वाउकै चियापसलमा फर्की।चियापसलमा आउनेहरुको नजर फेरियो।उनीहरुको नजरमा अव सावित्रीवाट चाहे भन्दा वढी पाउने चाह थपियो। कसै कसैले त मुख फोरेर नै सोधेपछि उसको वाउले हार माने।सावित्रीको काकाले निकास निकाले। सावित्रीलाई गाउँवाट टाढा पठाइदिने। चिनेजानेका मान्छेको सहयोगवाट शहरको एउटा घरमा सावित्रीले काम पाई । खाने वस्ने सुविधा त्यसै घरमा नै हुने गरी।
यति वेर सम्ममा नै पढ्नेलाई विश्वास लागिसकेको हुनपर्छ । कथाले स्वरुप फेर्छ , आयाम फेर्छ । एकै मान्छे का भिन्न कोणहरु हुन्छन्। सावित्री निरिह थिई, विचरी थिई , अनी एक्ली थिई। भरिएर उसको जीवन फेरि खाली भएको थियो। खुशीका अंशहरुले सपना जस्तै उसका साथ छोडेका थिए । जीवनले उ सँग क्रुर खेल खेले जस्तै लाग्थ्यो उसलाई। कहिलेकाहिँ सपनामा विउँझिन्थी । आफूलाई गाउँमा भेट्दिनथी। न वाउसँग पाउँथी,न उसको वुढो सँग ।चिसो खाटमा उ एक्लै लड्थी । अनी उसले पाएको अंगालो कसरी गुम्यो भनेर सोच्थी। आफ्नो गल्ति पत्ता लाउन खोज्थी पत्ता लाउन सक्दिनथी, धेरैजसो ननिदाइ रात वित्थ्यो।
पहिलो चोटी उसले आफ्नो कथा आफ्नो मुटु खोलेर त्यहि घरकै दिदीलाई सुनाइ। त्यो घरकी दिदी दयालु निस्किन सुनीरहिन्। अनि सक्छेस् भने मुद्दा हाल न त भनेर सल्लाह दिइन्। सावित्रीले आफ्नो वुढोको अनुहार सम्झी , अचानक कता कता वाट माया पलाएर आयो। सोची कसरी पो हालौँ मुद्दा त्यसलाई? जीवन भर उ सँग वस्न पाउने कति भाग्यमानी होला! उसलाई त्यो भट्टिवाल्नी प्रति नै रिस उठ्यो। "आइमाइ विगार्ने आइमाइ नै हुन्" उसले मनमनै सोची ।
समय वित्दै गयो त्यो घरका मान्छे उसलाई आफ्ना लाग्दै गए । एक जना वुढा मान्छे ,उसलाई आफ्नै वुवा जस्तै लाग्थे। ति वुढा मान्छेकी छोरी दिदी , अहिले सम्म विहे नगरे पनि परिपक्व थिइन । केटा यस्ता हुन्छन्, केटा यस्ता हुन्छन् भनी उसलाई सुनाइ रहन्थिन। सावित्री सोच्थी हो शहर भनेको शहर नै हो यहाँ सवै कुरा थाहा पाउने दिदी जस्तै मान्छे भेट्टिन्छन् । अनि त्यो दिदी को भाइ मन छुने गोह्रो चिटिक्क परेको अग्लो घुम्रीएको लामो कपाल भएको । सावित्री जव जव उसलाई हेर्थी , उसलाई हेरीरहुँ जस्तो लाग्थ्यो। आफ्नो वुढोलाई सम्झिन्थी अनि तुलना गर्थी यि दुई मध्ये को राम्रो होला ? खुट्याउन सक्दिनथी, छोडिदिन्थी।
क्रमश: