Posted by: ashishme January 28, 2013
अमेरिकी र बेलायती दूतावासमै बिजुली चोरी
Login in to Rate this Post:     0       ?        
काठमाडौं, १४ माघ
काठमाडौंमा रहेका बेलायती र अमेरिकी दूतावासले नै बिजुली चोरी गरेको खुलेको छ । भदौदेखि महसुल बढे पनि दुई दूतावासले नयाँ मूल्य समायोजन गर्न दिएका छैनन् ।
लैनचौरमा रहेको बेलायती दूतावास र कान्तिपथको फोहोरा दरबारमा रहेको 'अमेरिकन रिक्रियसन सेन्टर'मा समयको आधारमा बिलिङ हुने -टिओडी) मिटर राखिएको छ । बढेको महसुल समायोजन गर्न गएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई यी दुई निकायले पटक-पटक फर्काइदिएका छन् ।
महसुल समायोजन गर्न नदिने र पुरानै दरको महसुल मात्र तिर्ने दुवै निकायले विद्युत् अनधिकृत रूपमा प्रयोग गरेको -चोरेको) भनेर प्राधिकरणले किटान नै गरेको छ । 'चोरी' भनेर किटान गरे पनि उनीहरूको विद्युत् लाइन भने काटिएको छैन ।

अमेरिकी रिक्रियसन सेन्टरमा अमेरिकन राजदूत, दूतावासमा कर्मचारी र तिनका छोराछोरीका लागि स्विमिङ पुल, हेल्थ क्लबलगायतका मनोरञ्जनका सुविधा छन् । ठूलो मात्रामा बिजुली खर्च हुने यो ठाउँमा विद्युत् प्राधिकरणले तोेकेको होइन, अमेरिकी अधिकारी आफूखुसी महसुल तिरिरहेका छन् । अमेरिकी अधिकारीले त सुरक्षाको
कारण देखाउँदै प्राधिकरणका कर्मचारीलाई मिटर रिडिङ गर्नसमेत दिँदैनन् । उनीहरूले आफैँ रिडिङ गरी बिल तिर्ने गरेको प्राधिकरण स्रोतले बताएको छ ।
टिओडी मिटरमा पिक, अफ पिक र अन्य समयमा फरक-फरक महसुल दर निर्धारण गरिएको हुन्छ । महसुल बढेपछि मिटरलाई 'रि-प्रोग्रामिङ' गरी नयाँ दरमा हिसाब निकाल्ने गराउन प्राधिकरणले प्रयास गरिरहेको छ । तर, भदौदेखि यता पटकपटक आग्रह गर्दा पनि दूतावास र सेन्टरका कर्मचारीले नमानेपछि विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले 'आवश्यक सहयोग गरिदिन' औपचारिक आग्रह गरेको छ ।

'रि-प्रोग्रामिङ गर्न नदिई दूतावासले पुरानै महसुल भुक्तानी गरिरहेका छन्, यसबाट प्राधिकरणलाई ठूलो आर्थिक घाटाका साथै बिजुलीको पनि चोरी भइरहेको छ । मौखिक रूपमा पटकपटक आग्रह गर्दा नमानेपछि टिओडी मिटरको रि-प्रोग्रामिङका लागि आवश्यक सहयोग गरिदिन केही दिनअघि औपचारिक रूपमै आग्रह गरेका छौँ,' प्राधिकरणका एक अधिकारीले भने ।

१ भदौबाट लागू हुने गरी विद्युत् महसुल निर्धारण आयोगले बिजुलीको भाउ बढाएको थियो । आयोगले टिओडी मिटरको प्रयोग भइरहेको पुरानो व्यवस्थालाई परिवर्तन गरेको थियो । साँझ ६ देखि राति ११ बजेसम्म पिकआवर मान्ने पुरानो व्यवस्थालाई परिवर्तन गरी साँझ ५ देखि ११ लाई मानिएको छ । पिक समयमा ११ः२५, अफ पिक समयमा ५ः७० र अन्य समयमा १०ः२० रुपैयाँ कायम गरिएको छ । यसअघि महसुल क्रम ९ः००, अफ पिक ५ः४५ र अन्य समयमा ७ः८५ रुपैयाँ थियो ।
बढेको महसुलका आधारमा बिलिङ गर्न पहिले कायम गरेको समयलाई रि-प्रोग्रामिङ गर्नुपर्छ । रि-प्रोग्रामिङ गर्न प्राधिकरणका कर्मचारी मिटर राखिएकै स्थानमा ल्यापटप, निरीक्षण र्फम, स्क्रु ड्राइभरलगायतका साधन लिएर जानुपर्छ । त्यसैलाई सुरक्षा खतरा भन्दै प्राधिकरणका कर्मचारीलाई भित्र पस्न दिइएको छैन ।
'एकपटक अमेरिकी दूतावासले बोलायो हामी गयौँ, गेटबाहिर एक घन्टाभन्दा बढी कुरायो, मोबाइल फोन, बेल्ट सबै खेल्न लगाएर भित्र बल्लबल्ल पस्यौँ, तर एकछिनपछि ल्यापटप लग्न पाइँदैन, मिटरको रि-प्रोग्रामिङ गर्न पाइँदैन भन्दै फर्काए,' प्राधिकरणका अधिकारीले भने, 'भदौबाट कोसिस गरेको प्रवेश गर्नै दिँदैनन्, हाम्रो अपमान मात्र भएको छ ।'

टिओडी मिटरलाई रि-प्रोग्रामिङ गर्न आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्राधिकरणले पठाएको पत्र अमेरिकन दूतावासले सुरुमा बुझ्नसमेत नमानेको प्राधिकरण स्रोतले बतायो । 'चिठी नै बुझ्न मानेका थिएनन्, धेरै अनुरोध गरेपछि बल्लबल्ल चिठी बुझे,' स्रोतले भन्यो ।

यसअघि दूतावासले रि-प्रोग्रामिङ गर्न नदिएपछि परराष्ट्र मन्त्रालयमार्फत प्रयास गर्ने विषयमा पनि छलफल भएको थियो । यो विषयमा कर्मचारीहरूले वितरण तथा ग्राहक सेवा -पूर्व)का तत्कालीन महाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेलको ध्यानाकर्षण गराएका थिए । तर, पौडेलले कुनै प्रयास गरेका थिएनन् । अहिले उनलाई जिम्मेवारीबाट हटाएर कार्यकारी निर्देशकको कार्यालयमा हाजिर गराइएको छ ।

बेलायतको दूतावासभित्र रहेको मिटरलाई बि्रटिस काउन्सिलमा सार्न र विद्युत्का कर्मचारीको सहज पहुँच बनाउन पनि प्राधिकरणले प्रयास गरेको थियो । तर, सुरक्षाको कारण देखाउँदै दूतावासले यसलाई अस्वीकार गरेको छ ।
Read Full Discussion Thread for this article