Posted by: cybernepali January 21, 2013
Nepali politics in San Francisco, Nepal Congress wins
Login in to Rate this Post:     0       ?        
रामचन्द्र भट्ट, सानफ्रान्सिस्को (अमेरिका), माघ ८- नेपालमा संसदीय चुनाव कहिले गर्ने टुंगो नभइरहेको समयमा अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका नेपालीहरुले भोट हालेर चुनावको तिर्सना मेटेका छन्। क्यालिफोर्नियाको उत्तरी भागमा बस्ने नेपालीहरुको संस्था 'नेपलिज इन नर्दन क्यालिफोर्निया (नान्स)' को नेतृत्व यसपटक चुनावबाट चयन भएको छ। नान्सको नयाँ नेतृत्वको लागि उत्तम कार्की र प्रेम लामाको दुई प्यानलबीच चुनाव भएको थियो।

सानफ्रान्सिस्कोको एलिस स्ट्रिटमा भएको चुनावी कार्यक्रममा नेपालीहरुले बिहान साढे ८ बजेदेखि चुनावको लागि लाइन लागेका थिए। उनीहरुले सामाजिक संस्था भए पनि चुनावी माध्यमबाट नेतृत्व चयन हुँदा काम गर्ने उत्साह हुने भएकाले टीका लगाउने प्रथा अन्त्य गर्नका लागि मतदान गरिएको बताए।

चुनावमा नेपाली कांग्रेस निकट कार्कीको प्यानल विजयी भएको थियो। कांग्रेस निकट नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाको एकताको प्रभाव यसपटक नान्सको निर्वाचनमा देखिएको छ। एकतापछि बे एरियाको नामले परिचित सानफ्रान्सिस्कोको सबैभन्दा ठूलो नेपाली संस्थामा कांग्रेसले पकड जमाएको छ।

विगत २० वर्षदेखि अमेरिकामा बसोबास गर्दै व्यबसायीको समेत पहिचान बनाएका कार्की नेपाली कांग्रेसका नेता बलबहादुर कार्कीका नातेदार हुन्। उनले आफ्नो कार्यकालमा नेपाली भवन (नेपाली कम्युनिटी सेन्टर) बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालीबीच सम्पर्क, सहयोग बढाउने र आफ्नो भाषा संस्कृतिको संरक्षणका लागि कम्युनिटी सेन्टर बनाउने योजना नयाँ कार्यसमिति गरेको छ। नेपाली कम्युनिटी सेन्टर स्थापनाका लागि दुई वर्षअघि महापुराणसमेत आयोजना गरिएको थियो। त्यसक्रममा दुई लाख ६० हजार अमेरिकी डलर संकलन भएको थियो। त्यसमध्ये नगद ६० हजार डलर संस्थामा प्राप्त भइसकेको छ।

शनिबार भएको अधिवेशनले कार्कीको नेतृत्वमा निर्वाचित १५ सदस्यीय कार्यसमिति चयन गरेको छ। निर्वाचित प्रथम उपाध्यक्षमा चन्द्र शेरचन, द्वितीय उपाध्यक्षमा चन्द्र फुयाल, महासचिवमा रविन्द्र राई, सचिवमा सुजित सिंह र कोषाध्यक्षमा नारायण पोखरेल छन्। सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएका हुन्।

सदस्यहरुमा सुरज गुरुङ, रमा शर्मा, गेलु शेर्पा, कृष्ण भुजेल, बबिता सिटौला, सुरेश केसी, मिनु थापा, बालकृष्ण आचार्य, देबराज राई निर्वाचित भएका छन्। नान्सलाई अमेरिकाभरि रहेका नेपाली संस्थाहरुमध्ये सबैभन्दा बढी सदस्य भएको संस्थाका रुपमा लिइन्छ। नान्समा एकहजार आठसय नेपालीहरु सदस्य छन्। यसमध्ये शनिबार भएको निर्वाचनमा एकहजार एकसय ६९ मत खसेको थियो।

स्थानीय समयअनुसार आइतबार बिहान मत गणना सम्पन्न गरेर परिणाम घोषणा गरिएको थियो। निर्वाचितलाई निर्वाचन समितिका प्रमुख यज्ञ नेपाल, नान्सका पूर्व अध्यक्षहरु गोपाल खड्की, धनप्रसाद दवाडीले प्रमाणपत्र वितरण गरेका थिए।
अमेरिकामा क्यालिफोर्नियामा भारतीयले आफ्नो कम्युनिटी सेन्टर बनाएर विभिन्न क्रियाकलापमा संलग्न छन्। १९ वर्षअघि स्थापना भएको नान्सलाई आगामी दिनमा अझै सक्रिय बनाएर लैजाने प्रतिबद्धता नयाँ कार्यसमितिले व्यक्त गरेको छ।

Read Full Discussion Thread for this article