Posted by: caliber19 January 18, 2013
जुआरी (कथा)
Login in to Rate this Post:     0       ?        
 जुआरी (कथा) भाग ३ 
 
 
.. जस्लाई उस्ले पुजेकोथियो - आज उस्लाई नंग्याउनु पर्नेभयो । 
 
 
रि - रितु पांडे, खगेन्द्र देव पांडेकी कान्छी छोरी । पुलिष्टरको फराक लाएर चुङी खेल्दा र बार्हहाते उफ्रिंदासम्म सबै ठिकैथियो तर जवानीले दस्तक दिन थालेसी र जमुने भञ्ज्याङ छोडेर काठमाडौंमा एघार कलास पढ्न थालेसी; न उस्लाई रितु मन पर्‍यो नत पांडे ! उ परिवर्तित भै - ऋचा पाण्डे मा ! 
 
 
खगेन्द्र देवको जुंगा र जिउज्यान मात्र ठुलो थिएन, उन्का काला कर्तुतहरु पनि ठुलै थिए । कती निमुखाहरुलाई मर्दा-पर्दा गर्जो टार्दिने काम त गर्थे सुरुमा तर, पछी ब्याज्को स्याज र स्याज्को प्याज लाएर घर-खेतै उठिबास लाएर मुग्लान भस्साउन माहिर थिए पांडेजी । जमुने भञ्ज्याङमा थोरै मात्र थिए, जस्का तमसुक र लालपुर्जा उनिकाहां धितो थिएनन् । 
 
 
बार्हैमाश कुलो लाग्ने बारीजती उन्कै, मन्सुली धान फल्ने खेतजती उन्कै, गाउंमा पत्थरले छाएको तीनतले घर पनि मात्र उन्कै । जन्मदै थाप्लोमा रिण बोकेर आउने कती कमाराहरु पनि उन्कै हुन्थे - बाउ बराजुले जीवनभर घोटिएर पनि चुकाउन नसकेको बडा अच्म्मको पुश्तैनी प्रशाद प्राप्त भएका । ति केवल आफ्ना कर्म कोस्न जान्दथे; बाघले मासु खाने त भो नि भनेर चित्त बुझाउंथे । माथितिर घुमेको जुंगामा मैनले ताउ दिएर, बुट्टेदार लबेदामा हात पुछ्दै पांडेजी गर्जन्थे, "हेर् जुठे, पैसो त चाइन्जो म तैंले भनेजती नै खन्खनी गनेरै दिम्ला; तर चाइन्जो भाका नाघ्यो भने फेरी साउबाले घरमा ताला ठोके भन्न पाउंदैनस् नि ।" 
अर्को जुनी कुकुर हुनुछैन साउबा, म धर्म किन छोडुंला र ? जुठे दुई हात जोडेर अघिल्तीर टुक्रुक्क बस्दै बिन्ती बिसाउंथ्यो, तर भगवान-भरोशे बिचरो जुठेलाई के था' - अर्को जुनी त के, अर्को साल बेलैमा पानी परेन भने मात्र पनि उस्ले कुकुरकै सरी जुनी बांच्नेछ भनेर । 
 
 
गाउंकै चन्द्रे घर्तीका बाउछोराले बनाइदेको सिसमको पलङ र माइली दमैनीले तकिदिएको चार किलोको डसनामा पनि राम्रो निन्द्रा पर्थेन पांडेजिलाई; आत्म-सुद्धीकालाई अनेक पूजा-अर्चना गर्थे । कालीका खांट्टीका भक्त थिए, रुद्री-चण्डी नित्य अलाप्थे, बर्षको एक बार सत्यनारानको पूजा लाउंथे र समय मिलाएर बाहिरफेरका देवीदेवतालाई पनि खुशी पार्ने कोशीस गर्थे । छोइ-छिटोका पनि उस्तै कट्टर थिए उनी, भरसक कहींकतै बाट बिटुलो नहुने कोशीस गर्थे; केही कुकर्म (?) भो भने कालीमाताले फेरी अर्कै कोही कज्याइं गर्ने भक्तको सृस्‍टि गर्दिन्छिन भन्ने डर उन्को ! 
 
 
तेही धर्म-कर्मले होला शायद, हातमा बर्बर्ती ठेला उठाएर पनि दुईछाक हातमुख जोर्न धौ पर्ने र तालुको कपाल खुईलिनेगरी भारी बोकेर पनि शिरमाथी छानो नहुनेहरुको आंशु नलागेको उन्लाई ! 
 
 
ऋचा तर योसब कुराबाट टाढै थिई । शोक न सुर्ता, भोक न भकारी भन्या जस्तो; उस्लाई घरमा खान पाइयाथ्यो, बाहिर खेल्न पाइयाथ्यो । तर ति दिन धेरै टिकेनन्, अचम्म हुंदै गयो, उस्लाई भोक लाग्न छोड्यो - चुङी, बार्हहाते र गोट्टा खेल्न नि मन लाग्न छोड्यो ! एता र उता कोल्टे फेर्दा नि निन्द्रा लाग्न छोड्यो ! 
 
 
उस्लाई अब घण्टौं एैना हेर्न मन लाग्न थाल्यो, कपाल र उचाइमा उस्लाई खास्सै गुनासो थिएन, चिउंडोको देब्रेतिर सानो कोठी त भगवानले उस्लाई बरदानै द्या जस्तो लाग्थ्यो तर आंखीभौंलाई एतातिर अलिकती उखेलेर त्यो पोस्टकार्डकी दिब्या भारतीको जस्तै बनाम्की जस्तो लाग्न थाल्यो, माथिल्लो ओंठ अलिकती मोटो भैद्या भए हुने भन्ने लाग्न थाल्यो, गाला गौंगोरो हुनुभन्दा यां माथितिर अलिक रातो-रातो भए हुने जस्तो लाग्न थाल्यो, निधार नि थोरै ठुलो भा भए हुने जस्तो लाग्न थाल्यो ! 
 
 
यि झिना-मसिना मात्र चाहना थिए, मुल तिर्सना थियो - आठ कलासमा संगै पढ्ने त्यो खाइलाग्दो झिल्केले आंखा लाइदे हुन्थ्यो भन्ने लाग्न थाल्यो । 
 
 
कश्तुरी आफ्नै बासना खोज्दै रनबन भौंतारिन्छ रे, उस्लाई नि तेस्तै भा हो, भगवानले उस्लाई खास्साकै रंगरुप दिएकै हुन्; दोष लाउने ठाउँ थिएन । तर, हिन्नेले नाक थुन्दै हिन्देपछी, बासनाको के गर्नु ? बडा बदमाश थियो त्यो झिल्के, उस्को ध्याउन्न कि त आफ्नी आमैलाई खुशी पार्नुमै हुन्थ्यो कि भने पढाईमै ! केटीहरुलाई त फुट्या आंखाले नि नहेर्ने कस्तो निठुरी होला त त्यो आइते ! 
 
 
ऋचा मैसाप भने कैले गाजल लाएर जान्थिन्, कैले कपाललाई माछीकांडे बाटेर जान्थिन्, कैले रातो गुलाब स्युरेर जान्थिन्; एक दिन त सिउंदो शुरु हुने र निधार सक्किने भागमा, शिन्दुर हो कि टिका हो जस्तो देखिने नि लाएर गैन् - तई हेरेन मुरदारले ! 
 
 
आनन्द, आज म पनि तिमीसंगै जान्छु है ! एक दिन अती नै भएर, छुट्टी पछी ऋचाले भनी । 
ला, म त दगुर्दै पो जान्छु त, घांस काट्न जानुछ । था'छ, हाम्रो धर्की त ब्याउने छ नि ? आइतेले सुनलाई नुनसँग मिसाउंदै घांस र बाख्रिको कुरो गर्‍यो । ऋचालाई खुटा बजारी-बजारी मुख छोड्न मन लाथ्यो तर, "ए" मात्रै भनी; आइते बत्तियो । 
 
 
भएन अब, पढाई-लेखाइमा नै मरिहत्ते गर्ने प्राणीलाई अब केही पढ्ने सामाग्री नै दिनुपर्यो भन्ने सोच पलायो एक रात ऋचा मैसापलाई । उस्लाई अली-अली तरकिब थाहा थियो, मायालुलाई चिट्ठी कसरी लेख्छन् भनेर, सुरु गरी :- 
 
समय - रातको ११ बजे 
वातावरण - सुन्सान 
याद - केवल तिम्रै 
 
मेरो प्यारो आनन्द 
पत्र लेख्ने खाश कारण त केइ थेन (?) तर पनि यो सेतो पन्नामा निलो डट्पेनले मेरो मन्को बह पोख्दैछु .. 
क्रमश: (लु है, आज एत्तिनै भ्याएं, रिशानी माफ होस्, भोली राखुम्ला बांकी) 
 
Read Full Discussion Thread for this article