Posted by: cybernepali January 7, 2013
कलेजमा मिनिस्कर्ट हटाउने
Login in to Rate this Post:     0       ?        

कलेजमा मिनिस्कर्ट हटाउने आचारसंहिता बन्यो, कार्यान्वयन भएन

-शरद शर्मा

काठमाडौं, २३ पुस । प्लस टुका छात्राहरूलाई मिनिस्कर्ट प्रतिबन्ध गर्न सरकारले दुई महिनाअघि तयार गरेको आचारसंहिता कार्यान्वयन हुन सकेको छैन । शिक्षा मन्त्रालयले कार्यान्वयन गर्न पठाएको संहिता उच्च माध्यमिक शिक्षा परिषद्मा थन्किएको छ भने पुसको मुटु कठ्यांग्रिने जाडोमा पनि विद्यार्थी छोटो र हिपहप पहिरनमा कजेल जाने गरेका छन् ।

शिक्षा मन्त्रालयले चालु शैक्षिक सत्रदेखि मिनिस्कर्टमा प्रतिबन्ध लगाउने योजनासहित आचारसंहिता तयार गरेको थियो । विद्यार्थीले अहिले लगाउने गरेका छोटा र हिपहप लुगा छाडा देखिन थालेको चर्को गुनासो आएपछि मन्त्रालयले कलेज ड्रेसको निश्चित मापदण्ड तोकेर आचारसंहिता बनाएको थियो । प्लस टु तहमा छोटा र हिपहप लुगा, मोबाइल र मोटरसाइकल प्रतिबन्ध गर्न निर्देशिकामा भनिएको छ ।
आचारसंहिताअनुसार छात्राहरूले घुँडा देखिने मिनिस्कर्ट लगाउन पाउने छैनन् । स्टर्क कम्तीमा पनि घुँडाभन्दा २ इन्च तलसम्म हुनुपर्नेछ । त्यस्तै, चुज र हिपहप लुगा पनि प्लस टुमा लगाउन पाइने छैन । विद्यार्थीले पाइन्ट चुज गरेर लगाउने भएकाले आचारसंहितामा पाइन्टको मोताको मापदण्ड नै तोकिएको छ । पाइन्टको मोता कम्तीमा पनि १६ इन्च चौडाइ भएको हुनुपर्ने छ । त्यस्तै, पाइन्ट र स्कर्ट कमरभन्दा कम्तीमा १ इन्च माथिबाट लगाउनुपर्ने छ ।
त्यस्तै, विद्यार्थीले नेकभन्दा १ इन्च तलसम्म खुला भएको पोसाक लगाउन नपाउने आचारसंहितामा उल्लेख छ । नेकभन्दा एक इन्च तलसम्म मात्रै सर्टको बटम खोल्न पाइनेछ । विद्यार्थीले कमरमा लगाउने बेल्ट पनि आफूखुसी बजारमा पाइने फेसनेबल लगाउन पाउने छैनन् । डेढ इन्चभन्दा चौडा बेल्ट लगाउन नपाइने आचारसंहितामा उल्लेख छ । टाईको गाँठो नेकसम्म अनिवार्य हुनुपर्ने छ । पोसाकसँग मिल्ने कोट, स्विटर, ज्याकेट, मफलर तथा जुत्ता–मोजा विद्यालयले तोकेबमोजिमको रंग र डिजाइनको मात्रै लगाउन पाइने आचारसंहितामा व्यवस्था गरिएको छ ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले मन्त्रालयले तयार गरेको आचारसंहिता कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाए । आफूहरूले पटक–पटक छोटा लुगामा प्रतिबन्ध लगाउन माग गरेको उनले बताए । ‘हामीले तत्काल छोटा कपडामाथि प्रतिबन्ध लगाउन भनेका थियौँ तर किन हो अहिलेसम्म कार्यान्वयन गरिएको छैन,’ भण्डारीले भने । उमावि परिषद्को लापरबाहीका कारण कलेजहरूले छोटा लुगामाथि प्रतिबन्ध नलगाएको उनले बताए ।
उमावि परिषद्का प्रवक्ता नारायण कोइरालाले आचारसंहिता चाँडै कार्यान्वयन गरिने बताए । ‘छोटा पोसाकमा बढी विकृति बढेको छ, अब चाँडै कलेजलाई लागू गर्न परिपत्र पठाउँछौ,’ उनले भने । स्थानीय प्रशासनलाई विद्यार्थीलाई कलेज ड्रेसमा मोटरसाइकल चलाउन रोक लगाउन पनि परिपत्र पठाइने उनले बताए ।
मन्त्रालयले तत्काल कार्यान्वयन गर्न निर्देशन दिए पनि उमावि परिषद्ले आचारसंहिता पुन: अध्ययन गर्न परिषद्कै सहसचिव डम्बर बतासको संयोजकत्वमा समिति बनाएको थियो । सो समितिले पनि छोटा कपडासँगै मोबाइल र मोटरसाइकलमा तत्काल प्रतिबन्ध गर्न सिफारिस गरिसकेको छ ।
माविमा पनि प्रतिबन्धको तयारी
मन्त्रालयले निजी विद्यालयका माध्यमिक तहमा पनि मिनिस्कर्ट र हिपहप लुगामा प्रतिबन्ध लगाउन तयारी गरिरहेको छ । विद्यालय तहका लागि शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेको संयोजकत्वमा गठित समितिले तयार पारेको निजी विद्यालय सञ्चालनसम्बन्धी निर्देशिका मन्त्रालयलाई बुझाएको छ । तर, यो अझै स्वीकृत भएको छैन ।
निर्देशिका स्वीकृत भएपछि माध्यमिक तहका विद्यार्थीले पनि मिनिस्कर्ट र चुज तथा हिपहप पाइन्ट लगाउन नपाउने निर्देशक पाण्डेले बताए । ‘निर्देशिका स्वीकृतको प्रक्रियामा छ, स्वीकृत हुनासाथ लागू गर्छौं,’ उनले भने ।
निर्देशिकामा कक्षा ८ सम्मका विद्यार्थीका लागि पाइन्टको मोता १२ देखि १४ र माध्यमिक तहका विद्यार्थीका लागि १६ इन्च निर्धारण गरिएको छ । निर्देशिका कार्यान्वयन आएपछि विद्यार्थीले कमरभन्दा कम्तीमा १ इन्चमाथिसम्म पाइन्ट र स्कर्ट लगाउनु पर्नेछ ।

Read Full Discussion Thread for this article