Posted by: metta December 21, 2012
airport मा loot कम्पनि
Login in to Rate this Post:     0       ?        
 http://nayapatrika.com/index.php?option=com_content&view=article&id=7992:2012-12-22-03-47-50&catid=56:cover-story&Itemid=75
अध्यागमनका महानिर्देशक र निर्देशक पनि लुटमा 
नवराज मैनाली/नयाँ पत्रिका
काठमाडौं, ६ पुस 
साउदीबाट फर्किएकी युवती लुटिएको र बलात्कारको घटनामा अध्यागमन विभागका महानिर्देशक र निर्देशकसमेत छानबिनको घेरामा परेका छन् । अनुसन्धानका क्रममा विभागका महानिर्देशक सुरेश अधिकारी र लेखनाथ पोखरेलको संलग्नता देखिएको हो । 
युवतीलाई धम्क्याएर पैसा लिई छुटाउने काममा माथिल्ला अधिकारीको संलग्नता देखिएको छ । स्रोतका अनुसार 'सेटिङ'पछि महानिर्देशक अधिकारीले युवतीलाई पक्राउ परेको तेस्रो दिन नै मुद्दा नचलाई धरौटीमा रिहा गर्न आदेश दिएको अनुसन्धानमा खुलेको छ । 
वैदेशिक रोजगारका लागि अर्काको पासपोर्टमा साउदी पुगेकी ती युवतीलाई र्फकने क्रममा अध्यागमनले पक्राउ गरेको थियो । अध्यागमनका प्रहरी र कर्मचारीद्वारा सम्पत्ति लुट्नुका साथै उनीमाथि बलात्कार 
भएको थियो । ६ मंसिरमा फर्किएकोमा दुई दिन थुनामा राखी धम्क्याएर पैसा असुली विभागका प्रहरी तथा कर्मचारीले उनलाई छुटाएका थिए । 
घटनामा संलग्न अध्यागमन विभागमा कार्यरत प्रहरी जवान र नायब सुब्बा पक्राउ परिसकेका छन् । सबै सम्पत्ति लुटेपछि प्रहरी जवान परशुराम बस्नेतले धम्की दिई गेस्टहाउसमा लगेर बलात्कारसमेत गरेका थिए । विभागका नायब सुब्बा सोमनाथ खनाललाई भने प्रहरीले ठगीमा मुद्दा चलाएको छ । सोही घटनामा अध्यागमन विभागको मुद्दा शाखामा कार्यरत अधिकृतद्वय रामप्रसाद कोइराला र टीकाराम पोखरेल निलम्बनमा परिसकेका छन् । उनीहरूलाई ठगी मुद्दामा प्रहरीले पक्राउसमेत पुर्जी काटिसकेको छ । 
स्रोतका अनुसार पक्राउ परेकी युवती 'घुस' दिएर छुट्न तयार भएपछि सो कुरा महानिर्देशक समक्ष प्रस्ताव राखिएको थियो । 'महानिर्देशकबाट सहमति आएपछि सबै कुरा मिलाई उनलाई छुटाएको देखिन्छ,' अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । अर्काको पासपोर्टमा आफ्नो फोटो परिवर्तन गरेर विदेश गएकाले युवतीलाई राहदानी ऐनअनुसार फौजदारी मुद्दा चल्ने प्रावधान छ । 
पक्राउ परेकी युवतीलाई जीवनभर जेलमा सड्नुपर्ला भनेर धम्क्याउँदै जवान बस्नेतले बार्गेनिङ गरेका थिए । जेलमा बस्नुभन्दा तीन हजार नौ सय रियाल तिरेर निस्कन उनी सहमत भएकी थिइन् । सो कुरा जवान बस्नेतले विभागको मुद्दा शाखाका नासु खनाललाई राखेका थिए । पोखरेलले अधिकृत टीकाराम पोखरेललाई सो प्रस्ताव सुनाएका थिए । पोखरेलले माथिल्ला अधिकारीसँग अनुमति लिएपछि युवती छुट्ने निश्चित गरिएको थियो । 
युवतीसँग प्रत्यक्ष रूपमा रकम भने बस्नेतले लिएका थिए । बस्नेतले बौद्धको एक मनी एक्सचेन्जमा युवतीसँग लिएको तीन हजार नौ सय रियाल साँटेको प्रहरीले जनाएको छ । त्यसरी ८६ हजार नेपाली रुपैयाँमा ७० हजार मात्र आएको भन्दै उनले अधिकृतद्वय पोखरेल र कोइरालालाई हिसाब देखाएका थिए । त्यसमध्ये आठ हजार उनी आफैँले मागेर राखे भने २० हजार रुपैयाँ युवतीको धरौटीको नाममा राखिएको थियो । बाँकी ४२ हजार रुपैयाँ अधिकृतद्वय पोखरल र कोइरालालगायतका कर्मचारीले बाँडेको जवान बस्नेतकै बयानमा उल्लेख छ । 
घुस लिएर युवतीलाई छुटाएपछि जवान बस्नेतले भोजपुर पठाइदिने भन्दै पुरानो बर्सपार्क लिएर गएका थिए । तर, पूर्व जाने बस छुटिसकेको भन्दै उनले गेस्टहाउसमा राखेका थिए । त्यहाँ मदिरा पिई उनले युवतीसँग यौन प्रस्ताव राखेकोमा नमानेपछि पुनः मुद्दा चलाउने भन्दै धम्की दिएर बलात्कार गरेका थिए । भोलिपल्ट युवतीसँग रहेका सम्पूर्ण सामानसमेत लुटेर एक हजार रुपैयाँ भाडा दिएर घर पठाएको पीडितको जाहेरीमा उल्लेख छ । 
विदेशबाट फर्किएकी छोरी रित्तो हात घर फर्किएपछि सोधपुछ गर्दा उनले सबै कुरा खोलेकी थिइन् । युवती घटनाको दुई सातापछि मितदाइसँग काठमाडौं आई न्यायको लडाइँमा लागेकी थिइन् । 
ती युवतीले २९ मंसिरमा उनले आफ्नो सम्पत्ति लुटापाट गरी प्रहरीले बलात्कार गरेको भन्दै सिंहदरबार प्रभागमा ठाडो निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा सिंहदरबार प्रभागले १ पुसमा जवान बस्नेतलाई पक्राउ गरेको थियो । बस्नेतको बयानका आधारमा प्रहरीले नासु लेखनाथ खनाललाई पक्राउ गरेको थियो । बस्नेत पक्राउ परेलगत्तै फरार भएका खनालले दुई दिनपछि गृह मन्त्रालयमा आत्मसमर्पण गरेका थिए । मन्त्रालयले उनलाई प्रहरीमा बुझाएको थियो । 
बस्नेत र खनालकै बयानका आधारमा अधिकृतद्वय पोखरेल र कोइरालासमेत तानिएका हुन् । उनीहरूलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेका उनीहरू हाल फरार रहेको बताइएको छ । तर, प्रहरीले पक्राउ गर्ने चासो देखाएको छैन । गृहको सोधपुछमा उनीहरूले आरोप अस्वीकार गरेका छन् । 
स्रोतका अनुसार दुवै अधिकृतले युवतीका मितदाइ मनोज आलेमगरलाई भेटी पैसा फिर्ता गरिदिने भन्दै उजुरी फिर्ता लिन दबाब दिएका थिए, तर नमानेपछि उनीहरू फरार भएका हुन् । 
घटनाको विषयमा गृह मन्त्रालयले पनि सहसचिव भोला सिवाकोटीको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ । छानबिन रिपोर्ट आएपछि संलग्नताका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने गृहप्रवक्ता शंकर कोइरालाले बताए । घटनामा घुसको लेनदेन भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गर्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीको प्रतिआतंकवाद सेलले पनि घटनाको अनुसन्धान गरिरहेको छ । 
पीडित युवतीले सुरुमै आफ्नो चार हजार पाँच सय रियाल प्रहरीले लुटेको दाबी गरेकी छिन् । विदेशबाट फर्किंदा आफूसँग आठ हजार पाँच सय रियाल रहेको र चेकजाँचका नाममा प्रहरीले झोलाबाट रियाल चोरेको उनको आरोप छ । 
अन्य घटना स्विकारे पनि जवान बस्नेतले चार हजार पाँच सय रियाल लुटेको भने अस्वीकार गरेका छन् । बलात्कारको घटना सम्बन्धमा बिहे गर्ने सर्तमा आफूले शारीरिक सम्बन्ध राखेको दाबी उनले गरेका छन् । बलात्कारमा परेकी पीडित युवती गर्भवती भएको मेडिकल रिपोर्ट आइसकेको छ ।
Read Full Discussion Thread for this article