Posted by: metta December 21, 2012
airport मा loot कम्पनि
Login in to Rate this Post:     1       ?         Liked by
Very sad to read this news; no justice in Nepal.

http://www.onlinekhabar.com/?p=22869

एयरपोर्टमा लुटिने युवतीले पैसा पाइनन्

आफन्तको वयान गृहद्वारा अस्वीकार, आशंका जन्मियोः पीडित

६ पुस काठमाडौं । साउदी अरबबाट नेपाल र्फकने क्रममा प्रहरी र अध्यागमन कर्मचारीबाटै लुटिएकी युवतीले अझैसम्म आफूबाट लुटिएको लाखौं रकम फिर्ता पाएकी छैनन् । रकम लुट्ने भनिएका प्रहरी र कर्मचारी यतिबेला प्रहरीकै नियन्त्रणमा छन् । लुटिएको रकम भागवण्डा गरेका भनिएका अध्यागमनका ठूला कर्मचारीलाई भने अहिलेसम्म कारवाही भएको छैन ।

हनुमानढोकाका एसपीले वयानका लागि पत्रसहित गृहमन्त्रालय पठाएका पीडितका आफन्तलाई गृहमन्त्रालयका सहसचिव भोलाप्रसाद शिवाकोटीले पीएमार्फत् हप्कीदप्की गरेर वयानै नलिई फिर्ता पठाएको गुनासो पीडित पक्षले गरेको छ ।

मंसिरको पहिलो साता एयरपोर्टबाटै लुटिएकी ती युवती यतिबेला आफ्नो लुटिएको धन फिर्ता गराउन काठमाडौंमा दौडधूप गरिरहेकी छन् । तर, नेपालमा न्याय ढीलो पाइन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रहरीले अहिलेसम्म उनलाई कर्मचारीबाट लुटिएको धन फिर्ता दिएको छैन । प्रहरी पर्शुराम बस्नेतको बलात्कारमा परेको बताउने युवतीको पेटमा तीन हप्ताको गर्भ रहेको डाक्टरी रिपोर्ट आएपछि त्यसलाई फाल्ने कि राख्ने भन्नेमा पनि उनी अलमलमा परेकी छन् ।

‘मैले अहिलेसम्म पैसा र सामान केही पनि फिर्ता पाएकी छैन ।’- पीडित युवतीले शुक्रबार अनलाइनखबरसित भनिन् । मसँग भएको ९ हजार ३ सय साउदी रियल लुटेकोमा अहिलेसम्म मैले फिर्ता पाएकी छैन । अध्यागमनका नायब सुब्बा सोमनाथ खनालले ३९ सय मात्रै लगेको हो भन्दै फिर्ता दिन खोजेका थिए, मैले मेरो सबै रकम चाहिन्छ भनेकी छु ।’ पीडितको थप गुनासो गर्दै भनिन्- ‘प्रहरी पर्शुराम बस्नेतले मैलेमात्रै खाएको होइन, माथिका हाकिमलाई पनि दिएको छ भनेर भोजपुरमै फोन गरेर आधा रकममात्रै भए पनि लिन आइज भनेर मलाई बोलाएका हुन् । तर, उनीहरु दाजुको सहायताले पक्राउ परेपछि प्रहरीले अहिलेसम्म मलाई पैसा फिर्ता गराएको छैन ।’

तीन वर्षपछि नेपाल आएकी युवतीको पासपोर्टमा नाम फरक परेपछि प्रहरी पर्शुराम बस्नेतले साथमा रहेको ९ हजार ३ सय रियलका साथै सामानसमेत आफैंले राखेर गंगबुस्थित एक होटलमा लगी जबर्जस्ती करणी गरेको आरोप लगाउँदै युवतीले हनुमानढोकामा उजुरी दिएकी छन् । यो घटनामा अध्यागमनका कर्मचारी सोमनाथ खनाल र प्रहरी पर्शुराम बस्नेत पक्राउ परिसकेका छन् भने अध्यागमनका अधिकारी टीका पोख्रेल र रामप्रसाद कोइराला पनि छानविनको दायरामा तानिएका छन् ।

Read Full Discussion Thread for this article