Posted by: caliber19 December 20, 2012
उपहार (कथा)
Login in to Rate this Post:     1       ?         Liked by
 उपहार (कथा) भाग २ 
 
 
मैले नि एत्तिकै गाइदिएं ... तुम अगर साथ देनेका वादा करो मै युंही मश्त नग्मे लुटाता रहुं ... । 
 
 
यो गीतले कत्तिका मनमा घण्टी बजी सक्या रैछ, आफु भने - बेखबर ! जे होस् दिनहरु हंसी-मजाकमै बितिरहेका थिए, म तेसैमा चित्त बुझाईराको थिएं । अनी हाम्रो ब्याचमा अलिक नमुना प्राणीहरु नै जम्मा हुन पुगिएछ; कोही किताबमै आंखा गाढेर पिल्लर र भित्तोतीर ठोक्किंदै हिंड्थे, कोही एनालग क्यामेरा घांटिमा झुण्ड्याएर कुकुरको घुमेको पुच्छर पनि बडो उत्सुक्ताकासाथ फोटो खिच्दै हिंड्थे, कोही "भर्खर चार चोटि त भो" भन्दै भेटैपिच्छे भेटेजतीसँग हात मिलाउंदै हिंड्थे, कोही "c मा coding गरो' त" भनेर classwork द्या बेलां powerpoint मा पानको पात र pagemaker मा 'सुचना ! सुचना !! सुचना !!' बनाइ बस्थे । हामी भने microsoft ले certified गरेका भन्दानी अझ उच्च कोटिका मिस्त्री बन्ने धुन्मा हुन्थिम् । 
 
 
गुरुले र मैले एक-एकवोटा डेस्कटप किन्याथिम्, अलिक भाग्यमानी पुस्ता रइछम् हामी, १७ वोटा floppy ले OS हाल्नुपर्ने र command promt मा computer चलाऊनुपर्ने बाध्यता थेन, custom assemble गरिएका GUI डेस्क्टपहरु छ्याप्छ्याप्ती पाइन थाल्याथे । तर बांदर बेसी जान्ने भो भने आफ्नै कुन्नी केजाती च्याप्पिन्छ भन्थे, मतीको घैंटोमा बिर्को लाएसी इन्द्रेका बाउ चन्द्रेकोनी के लाग्छ र ? हप्तैजसो हामीले कुनै न कुनै नविन प्रगती हाशिल गरि रन्थिम्; कैले hard disk को jumper भांचिन्छ, कैले fan चुंडिन्छ, कैले RAM को slot कुच्चिन्छ, कैले processor को pin बांगिन्छ .. उपलब्धिहरु त कति-कती । पढाई र प्रोजेक्टको नाम लिनासाथ धन्न घरबाट पैसा पठाइदिहाल्नाले तई  हाम्रो अनुसन्धान अबिरल चलीराथ्यो । 
 
 
भेडा भेडासँग, बाख्रा बाख्रासँग भन्याझैं भगवानले नि कता-कताबाट ठ्याक्कै उस्तै-उस्तै मनुवाहरुलाई एकठाउंमा जुराइदिंदा रेछन् । हाम्रो ग्रुपमा सबैलाई लगभग सब्थोक चल्ने । सबका गोजिमा धेर-थोर द्रब्यको बास नि भईराख्ने अनी त जहाँ-जतिखेर-जे भन्यो; बास् .. सब रेडी ! ग्रुप मध्यमा हामी ३ जना पुलिङ्गहरु भ्याली बाहिरका थेम् भने शरु, रुबी, रिया र जिना रैथाने थिए । शरु अलिक टम ब्वाय टाइपकी थि, केटाहरुसँग जोल्टिंदै हिंड्नु र अलिक छाडा मानिने शब्दह्ररु बोल्नु उस्कालागी दाल-भात नै थियो । रुबी घरानीया खान्दानकी थि, उस्का हरेक साईनोपात पछी हजुर र वाक्य पछी बक्स्यो झुण्डिन्थे । हामी भने उस्लाई ट्युबलाइट भन्थिम्, अलिक सुस्त मनस्थितीकी जस्ती थि; उसँग जोक गर्नु बेकार जस्तै हुन्थ्यो, कैले बुझ्दै बुझ्थिन कैले धेरैपछी बुझ्थी । ग्रुपमा कौवाको फुल चोर्ने जस्ती रिया नै थि, सायद ब्यापारी बाउकी छोरी भएरनी होला । लुगाफाटो र श्रिङ्गार पटार पनि चिटिक्क कै हुन्थ्यो उस्को । जिनाको पुर्खेउली घर कास्कीतीरै भएनी बाबा रिटायर्ड भएसी भर्खर-भर्खरै मात्र काठमाडौं  झरेका रे । 
 
 
मेरा बाउ सरकारी कारीन्दा भैहाल्नुभो, गुरु डा. साबको सुपुत्र, जीवनको पिताजी चाइं नेताजी पर्नुभो; देशको लागि वा आफ्नो बैंक ब्यालेन्सका लागि नेताजीले के-कस्तो त्याग र बलिदान दिनुभाथ्यो - उबेला हाम्रो सरोकारको बिषय थिएन । 
 
 
भोली तिमेरुकोमा सिडी ल्याएर फिलिम हेर्ने ल ।
बिदामा केटीहरु प्लान तयार पार्थे, हाम्लाईनी दिन क्यारी काटौं भाबेला रमाईलै हुन्थ्यो । कैले काभ्रेको भाले, कैले गण्डकीका माछा, कैले सल्यानको खसी त कैले धरानको बंगुर भनिने मुख्य परीकार पाक्थ्यो । साइडमा आ-आफुले महारथ हाशिल गरेका विशेष व्यञ्जन नि हुन्थे; उसिनेको आलु र भिजाएर भुटेको केराउमा तिलको छोप हालेर हरियो खुर्सानी र मेथिले झानेको अचार म बनाउंथे, कालो नुन र गरम मशलाले सिजनिङ्ग गरेर गुरु स्प्यारेगस फ्राइ गर्थ्यो, मसिनो गरी काटेर डिप फ्राइ गरेको आलुको भुजुरी जीवनको जिम्मामा हुन्थ्यो, फल्फुल र कांचै खान मिल्ने तरकारीहरुलाई खुबै मेहेनतले काटिसकेपछी फेरी उस्तै मेहेनतले सजाएको स्यालाड जिना तयार पार्थी, च्याउ र बकुल्लाको ग्रेभिवाला तरकारी रियाले पकाउंथी, अदुवा-लसुन्-प्याजका टुक्राहरु राखेर रुबिले पोलेको टमाटर र पुदिनाको लेदो अचार तयार पार्थी, शरु अलिक अल्छि परेकिले उस्को डिउटी भात पकाउने मात्र हुन्थ्यो । गुरुलाई र मलाई त सुर्यविनायकको खोया बिर्को र जावलाखेलको सिलबन्दी नी चल्थ्यो तर जमघटको बेला जोनी वाकरकै जुगाड गरिन्थ्यो, जिना पनि VAT 69 बोकेर आउंथी । केटीबर्गहरु फेन्टा मिसाएर प्युंथे, हामी त imported माललाई local पानीले किन बिटुलो पार्ने भनेर निटै हान्दिन्थीम् । सांच्चै कमलो मन भएर हो कि दारुको करामतले हो त्यो त दैव जानुन्, सिनेमाका सेन्टी सिनहरु हेर्दै गर्दा केटीहरु प्राय: २-४ अश्रुथोपा तुर्क्याइहाल्थे; हामी कोठै थर्कने गरी हांस्थेम्, उनिहरु लजाउंदै गाजल नै पुछिने गरी आंशु पुछ्थे । 
ओेए ! एस्तो था भेत अघी नै बाल्टी दिन्थेंनी, मोजा धुनु थियो । कसैले जोक मार्थ्यो । 
एक पेगजती त रोएरै खेर गोहोला, लौ तेस्को शोधभर्ना गरुम् । उनिहरुको जवाफ हुन्थ्यो । एवं रितले चियर्सहरु जान्थे । 
 
 
बिदाका दिनहरु मात्र नभएर उबेला हाम्रा पढाईका दिनहरु पनि उत्तिकै रमाइला हुन्थे । कक्षामा पछाडी बसेर गर्ने खास्खुशले मात्र नपुगेर क्यान्टिनमा खाजा खांदै, बुद्दी दाइकोमा चिया-चुरोट तान्दै तथा छतमा चुइङगम पड्काउंदै पनि हामी नानाभांतिका गफमै जोत्तिरा'हुन्थीम् । गुरुबा नभाको बेला whiteboard मा गीतका अनेकन मुखडाहरु, शायरीहरु, कविताका पंक्तीहरु लेख्ने र फेरी तेस्कै दोहोरी खेल्ने क्रम पनि चल्थ्यो । जीवन र रुबी नजिकिंदै थे, हामी सबलाई दालमे कुछ काला है भन्ने लाग्थ्यो । खै ! जीवनले आफ्ना दिलका गुलाबहरु त्यो सुस्तेको बंजड कालाहारीमा कसरी फुलाम्ला भनेर कल्पेको थ्यो, जेहोस् केटोको हिम्मतलाई भने हामीले दात देकैथेम् ! हामीले कती पटक कुनै प्रसँग वा परिस्थितीलाई बंग्याएर छेड्खानी पनि गर्थिम् तर सदाझैं 'गैल भैंस पानीमे' हुन्थ्यो - ट्युबलाइटले बुझे त मार्दिनु ! जीवन उस्को simplicity मन पर्छ भन्थ्यो हामीसँग तर रुबीसँग त तिम्रा आंखा र ओंठ मन पर्छ भन्दो हो, तर म बाजी ठोकेरै भन्न सक्छु, बिचरोले जवाफमा मस्कारा र लिप्ष्टिकको ब्रान्ड र मुल्य सुन्नुपर्दो हो ! फाटिमर्नु थ्यो जीवनलाई ! 
 
 
उसैगरी गुरु र रियाको बिचमा पनि केही त पाक्दै छकी भन्ने शंका गर्थे ग्रुपमा । रिया त सिरियस नोटमै इन्कार गरिदिन्थी तर गुरु भने नौ ठाउंमा भांच्चीदै, होइन भन्थ्यो; तेसैले कम्सेकम वान साइडेड त होकी जस्तो लाग्थ्यो उनिहरुलाई । यो ज्यानलाई भने कता-कता जिनाले हिन्ट देजस्तो लाग्थ्यो ! तेस्को यकिन गर्ने कुनै शस्त्र र शास्त्र त केइथेन, उस्ले पनि खुलेर केइ भन्थिन, मैले त झन आफ्नो सेफ साइड कहिलेइ छोडिन । जिस्किंदा-जिस्किंदै भने कहिलेकाइं जिनाले फ्याट्ट भन्दिहाल्थी, "तिमी जस्तो पार्टनर पाउने त हर लड्किको ख्वाब हुन्छ । कहिले जाने हो त, सफेद घोडा चढेर बसन्तीलाई लिन ?" 
के गर्नु, बसन्तीलाई लिन जांदा गब्बर सिंहले फेरी ठाकुर बनाइदेलान् भन्ने डर ! म पनि जिस्किदिन्थें । 
तर अब कलासका अरुले पनि हाम्रो बारेमा कान ठाडो पार्न थालेका थिए, कहिलेकाँहीं गुरुबाहरुले पनि अप्रत्यक्ष किसिमले सटाएर मार्नु हुन्थ्यो । पढाईरहेको बेलामा जिना र म पछाडि खुसुर-फुसुर गरेको देख्नु भो भने हाम्रो नाम नलीईकनै गुरुबा भन्नुहुन्थ्यो, "family planning का  लागी टन्नै टाइम छ हो, अहिले त पढ्ने टाइम हो ।" हामी कुन्नी कोलाई भन्या हो जसरी बाल दिन्थिम्, एकछीन सतर्क भएजस्तो गरेनी अर्को क्षण त पारा फेरी उही हुन्थ्यो हाम्रो .. आफ्नो बानी काइं नजानी ! 
 
 
एकदिन ब्रेकको बेलामा म पछाडि 'हम जाएगा' को जोक भन्दैथिएं, ग्रुप बाहिरका नि ५-७ जना थिए, अगाडिपट्टी कोही पढ्दैथे, कोही टि-स्केलले केकेजाती कोर्दैथे, जिना whiteboard मा केही लेख्दैथी । 
एसपछी के हो थाहा छ कसैलाई ? उस्ले हामीतिर हेर्दै सोधी । हामी सबले whiteboard तिर हेरिम्, अरुलाई त था भोकी भएन कुन्नी तर मैले कहिं-कतै पढेकोथें, पुरै कविता याद नभएनी जिनाले लेखेका चार पंक्तिहरु P. B. Shelley को Mutability भन्ने कविता बाट थियो 
 
we rest - a dream has power to poison sleep 
we rise - one wandering thought pollutes the day; 
we feel - conceive or reason laugh or weep 
embrace fond woe, or cast our cares away. 
 
मलाई एसपछी त राम्रोसँग था छैन तर Shelley कै अर्को पोएम बाट लेख्दिन्छु । मैले अगाडि जांदै भनें, र उस्को हातबाट मार्कर लिएर Ode to the West Wind भन्ने कविताको अन्तिम चार हरफ लेखिदिएं 
 
ashes and sparks, my words among mankind 
be through my lips to unawakened earth 
the trumpet of a prophecy, oh wind 
if winter comes can spring be far behind ? 
 
oh, thanku sweetheart ! this is too good. उस्ले मुस्काउंदै भनी । तर उस्को 'मुस्कान' र 'thanking' मा भन्दा नि मेरो दिमाग 'sweetheart' मा गएर ठोक्कियो । 
अहं - अहं अब त खुल्लेआम नै ? गुरुले बास्यो । 
त्यो पनौती दिमागमा अरु त केइ आउंदैन है ? हिंड् जाउं बाइर । हातको मार्करले झटारो हान्दै मैले भनें । 
ओेए माम्पाखाहरु ! कोइ नजाव है तिमेरु, कबाबमा हड्डी किन बन्नु पर्‍यो ? .... जस्तो ! गुरु र जीवन उठ्नै लागेका थे शरुले सातो लिई । 
लौ त पानीमरुवा महोदयहरु, म त लागें को-को आउने हो आव है ! म बाहिर निक्लें, पछी-पछी जिना आई, हामी सिंढी ओर्लंदै गर्दा अरु ४  जना पनि लुखुर-लुखुर आइपुगे, रियाको के काम बांकी छ भनेर उ उतै बसीछ । 
 
 
अर्को दिन जिनाको व्यबहारमा निकै परिवर्तन दिखियो, देब्रे हत्केलामा ब्याण्डेज गरेकिथी, घरमा स्यालाड बनाउदा हात काटिछ । संधै बाख्राको पुच्छर खा' जस्तो चटर-पटर गर्ने केटी त त्यो दिन खै किन हो सारै शान्त र गम्भिर देखिन्थी । 'के भो, सञ्चो छैन कि' भनेर मैले र अरुलेनी थुप्रै पटक सोधिम् तर उस्ले केही भाको छैन भनेर आल्टाल गरी । मलाई लाग्यो सायद महिलाहरुको मासिक समस्याको कारणले गर्दा उस्को मुड डाउन भएको होला । पहिलो पटक होला सायद, उ चुरोट तान्न बाहिर पनि आइन, मैले नि कर गरिन । हामी सदाझैं आफ्नै धुनमा हाहा-हुहु गर्दै त्यो दिन बिताइम्, हामी अन्जान थिईम् तर एउटा डरलाग्दो भावी घटनाले हामीलाई पर्खि बसेको रहेछ । 
 
कोठातीर फर्कने बेलामा जिना आफैले मेरो ब्याग खोलेर अरुले नदेख्नेगरी एउटा नोटबुक हालिदीई र ब्याग बन्द गर्दै सानो स्वरमा भनी 'रुममा' । मैले संभावित कारणहरु अनुमान गरें, बाहिर आएर चिया-चुरोट पनि नखाइ छुट्टीईम्, घरबाट आज फोन गर्ने भन्याछन छिट्टै जानु छ भनेर मैले बाहाना बनाएं; अरुले त पत्याए तर गुरुले अचम्म मान्दै हेर्यो मात्रै, जिना फिस्स हांसी मात्रै । 
 
 
कोठामा पुग्नासाथ हत्त न पत्त ब्यागबाट जिनाको नोटबुक निकालेर हेरें, प्रेमपत्र भन्नु कि प्रेमपुस्तक भन्नु; रहेछ । हाम्रो भेट भए देखिको दास्तान लेखेकी रैछ । मलाई आफु त साधारण नाक-नक्सा भाकै हरिलन्ठु जस्तो लाग्थ्यो तर उस्लाई भने कैले मेरो ब्यक्तित्वले आकर्षित पार्दो रैछ, कैले मेरो ह्युमरले खुशी पार्दो रैछ, कैले मेरो साहित्यप्रतिको रुची र ज्ञानले अच्चम्मित पार्दो रैछ, कैले मेरो जातपात र धार्मिक धारणाले प्रभावित पार्दो रैछ, कैले मेरो सहयोगी भावनाले प्रेरित पार्दो रैछ अनी कैले मसँगै जुनी-जुनी बांच्ने उस्का अनेकन मिठा सपनाहरुले उसैलाई रोमाञ्चित पनि पार्दो रैछ । 
 
 
पत्र पढि सक्काएं, एकै साशमा तर हजारौं धड्कनहरुले छाती कम्पित पार्दै । तेस्पछी झनै उदेक लाग्दो कुरा थियो; हरेक पृष्‍ठमा २-४ शब्दहरु लेखेर करीब २० पृष्‍ठमा 'हमराज' को उही गीतका चार पंक्ती लेखिएको थियो जुन मैले पहिलो पटक कक्षामा गाएकोथिएं 
 
मैने खाबोंमे बर्षों तराशा जिसे तुम वही सँगमर्मरके तस्विर हो 
तुम ना सम्झो तुम्हारा मुकद्दर हुँ मै मै समझता हुँ तुम मेरी तकदिर हो 
तुम अगर मुझको अपना समझने लगो मै बहारोंकी महेफिल सजाता रहुं
तुम अगर साथ देनेका वादा करो मै युंही मश्त नग्मे लुटाता रहुं   
 
म सहजै अड्कल काट्न सक्थें; ति पंक्तिहरु हर्ष-उमंगले उन्मत्त भएर पक्कै लेखिएका थिएनन्, बरु निकै भावुकता र पिडाले लेखिएका थिए; ति पंक्तिहरु साधारण-सस्तो स्याहीले कोरेर पक्कै लेखिएका थिएनन्, बरु तातो र रातो रगतले लेखिएका थिए । "हेरन, हिंजो जल्दबाजीमा सब्जी चप गर्दा काटियो" विहानको उस्को त्यो वाक्य र ब्याण्डेज गरेको हात, अब एउटा सुइरो बनेर मेरो मुटुमा च्वास्स रोपियो ।  
 
 
जांगर चलेको बेला म कोठा बाहिर पुगेर चुरोट खान्थें तर त्यो दिन खाटमै बसेर सल्काएं । चुरोट क्रमश: घट्दै थियो, मेरो मथिंगलमा तर्कनाहरुक्को ओइरो बड्दै थियो । के कसैले कसैलाई यो हदसम्म प्रेम गर्छ र ? या यो प्रेम नै होइन, फगत आकर्षण हो, वा मुर्ख्याइं हो ? म उस्लाई के जवाफ दिउं ? उस्को प्रस्तावलाई स्विकार्ने अथवा इन्कार्ने के आधारहरु छन् मसँग ? यदी केही छन् नै भने पनि, ति आधारहरु पर्याप्त हुन् ? जायज हुन् ? मानविय संवेदनाहरुलाई सही-गलतको तराजुमा मापन गरिनु र सार्थकताको प्रयोजनमा निर्क्योल गरिनु उचित हो कि होइन ?  मैले आफ्नी भावी संगिनिको जुन तस्विर कोरेको छु, के त्यो तस्विर जिनाकै हो त ? 
 
 
म यि र एस्तै यावत सवालहरुलाई सुल्झ्याउने क्रममा, उल्झिंदै थिएं; गुरु फ्रेश भैवरी मेरो कोठाभित्र छिर्यो । 
क्या हो, आज त लब-बर्डहरु दुबै जना किन अप्सेट नि ? 
केइ होइन यार, अल्छि लाइराछ । 
ए ! अल्छि लागेपछी त घरबाट फोन पनि आउंदो रेछ, कस्तो अचम्म है ? गुरुले अघिको मेरो झुट समात्न खोज्यो । 
के अब गोरखापत्रमै छपाउनु पर्‍यो त, लु है मलाई अल्छि लाग्यो भनेर ? अप्रष्ट प्रतिप्रश्न गरें उल्टै उस्लाई । 
लु, जांसुकै छाप्नु पर्ने हो छाप्तै गर्, आफुलाई त अर्को घांडो आइलाग्या छ, computer बुटै भएन भन्या । 
के भो त फेरी ? हार्ड डिस्कै उडाइस् कि के हो ? 
डिस्क त नजानु पर्ने यार, बरु डाटा केबल बिग्रियोकी जस्तो ला'छ । तेरो लगुम् एकछिन, तं नचलाऊने भए ? 
लैजा खोलेर, त्यां ड्रअरभित्र booting file को हरियो floppy होला, त्यो नि लैजा न । 
हैन यो संधै खोलीरने ठांडोलाई पनि किन सप्पै screw कसेर राख्या हो ? गुरुले भुत्भुताउंदै chassis खोल्यो र data cable र floppy समातेर बाहिरियो । 
 
 
के गुरुलाई अघिको नोटबुक प्रसँग भन्नुपर्ने थियो ? उ बाहिरिना'साथ मेरो दिमागमा अर्को प्रश्न भित्रियो । हैन, केही सिमित कुराहरुलाई दोस्ती यारीको सिमारेखा भन्दा बाहिरै थन्क्याउंदा उपयुक्त हुन्छ कि जस्तो लाग्यो । फेरी, सायद; म भोली जिनालाई 'i love you too' पनि त भन्दिन होला ! हो, सायद; जिना समक्ष म उस्को प्रस्ताव स्विकार गर्न नसक्ने क्षमा चढाउने छु ! कारण ? सायद; हामी एक-अर्काका निम्ती बनेका होइनौ । प्रेम अन्धो हुन्छ भन्छन्, धेरै हदसम्म यो सत्यलाई म पनि आत्मसात गर्छु किनकी प्रेममा मानिसले जात-पात, धनी-गरिब, कुरुप-सुन्दर; केइ नि हेर्दैन । गधीपे दिल आया तो परी क्या चिज है, भन्छन् । तर त्यो दिल आउनुमा, त्यो अन्धोपनामा; कुनै पनि क्षण, कसैसँग पनि र कारण जेसुकै भए पनि - कुनै एक अलौकिक तत्व वा जादुले काम गर्नुपर्ने हुन्छ । अनी न मानिस धर्मका ठेकेदारहरुलाई चुनौती दिन पनि तम्सिन्छ, घर-परिवार र सिंगो समाजसँग एक्लै भिड्न पनि जोस्सिन्छ, र परीआएमा ज्यानै दिन पनि अघी सर्छ । सायद; तेही जादुले जिना मन्त्रमुग्ध भैसकेकिथी, तर म अछुतो थिएं । सायद; अब जिनाले चाहेर पनि त्यो जादुको प्रभावबाट उम्किनु जती असम्भव थियो, मैले चाहेर अब त्यो जादुको प्रभावलाई जबर्जस्ती अप्नाउनु पनी उतिनै गाह्रो थियो । र, यो ढोंगिपना म गर्न चाहन्नथें पनि । 
 
 
बिरालोको घांटिमा घण्टी कल्ले बांध्ने ? भन्या जस्तो, मुख्य समस्या आएर टुंगियो; जिनालाई के भनेर सम्झाउने ? no, i don't love you. मात्रै भन्ने मन मेरो फिटिक्कै थिएन । आखिर उ मेरो मिल्ने साथी थि, एसर्थमा जरुर मेरो माया र सहानुभुती उप्रती थियो, अनी कुनै जघन्य अपराध पनि त गरेकी होइन उस्ले कसैलाई प्रेम गरेर र मनको कुरा भनेर, तेस्कारण पनि उ hurt नहोस् भन्ने चाहन्थें म । हे प्रभु ! म के गरुं ? धरानतिर घम्सा-घम्सी हुंदा कि २-४ मुड्की बजाइन्थ्यो कि त २-४ मुड्की खाइन्थ्यो, केही क्षणमा जित-हारको टुंगो भैहाल्थ्यो । त्यो द्वन्द त साह्रै सजिलो लाग्यो अहिले सम्झेर ल्याउंदा ! अन्तरमनको द्वन्दमा बडा कठिन हुने रेछ, टुंगोमा पुग्न । 
 
 
अर्को दिन धरमर-धरमर भाको भारी मन बोकेर लागें म कलेजतीर । परबाटै देखें बुद्दी दाइकोमा जिना चुरोट तान्दै बसेकी ! मेरा पाइलाहरुको वजन गर्हौं भाको र चाल सुस्त भाको जस्तो एक्कासी भान भो । गुरुलाई सांच्चै नै चुरोट खाने मन थिएनकी, हाम्रो हिंजोको अप्सेट-पनाको केही गेस गर्याथ्यो कुन्नी, "मैले त भर्खरै मात्रै २टा तानेको, मुख तितो-तितो भैराछ, म त लागें है ।" भन्दै भित्रतीर हानियो, जिना उही हिंजो जस्तै फिस्स हांसी मात्र । 
ल दाई चिया । म एउटा सुर्य सल्काएर तेहीं अगाडि काठको बेन्चमा बस्दै भनें । देब्रेतिर फुर्‍र धुंवा फाल्दै जिनालाई पुलुक्क हेरें, उ ओंठ नखोलीकन मन्द-मन्द मुस्काउंदै मलाई नै क्वारक्वार्ती हेरिरहेकी रैछ ! लौ फसाद ! मेरो मुटु अब जोडजोडले धड्किन थाल्यो, साश पनि छातीभीत्रै कतै अड्क्या जस्तो भो । लौ जा त ! भन्ने सोचेर स्वाइं-स्वाइं ४ पपमै चुरोट सक्काएर फालें, टाउको भनन्न भा जस्तो भो, आज त खोइ !  चुरोट नि लाग्या जस्तो भो ! 
क्रमश:  
 
Read Full Discussion Thread for this article